फाइल फोटो

देश/प्रदेश

लमजुङमा २२ मतदान केन्द्र अतिसंवेदनशील

By खबरहब

April 24, 2022

लमजुङ – स्थानीय तहको निर्वाचनमा लमजुङका २२ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । १८२ मतदान केन्द्र रहेको लमजुङमा २२ वटा मतदान केन्द्र अतिसंवेदनशील, ८० संवेदनशील र २१ सामान्य मतदान केन्द्र छन् ।

जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो ।०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा वर्गीकरण गरिएको हो । लमजुङमा मतदाताको सङख्या १ लाख ३१ हजार ४ सय ९४ रहेको छ । जिल्लामा यसअघि १ लाख २२ हजार ८ सय ६ जना मतदाता थिए ।

१ सय २३ मतदानस्थलमा १ सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ ।