भरतपुर महानगरमा कांग्रेसीमाथि ‘अन्याय’, यस्तो भन्छन् नेता कार्यकर्ता | Khabarhub Khabarhub

भरतपुर महानगरमा कांग्रेसीमाथि ‘अन्याय’, यस्तो भन्छन् नेता कार्यकर्ता


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाली कांग्रेस चितवनका नेता कार्यकर्ताको हकमा यसपटक वि.सं.२०७४ साल फर्किएको छ । वि.सं.२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नपाएको चितवन कांग्रेसले यसपटकको निर्वाचनमा पनि पाएन । सत्तागठबन्धनले महानगरको मेयरको उमेदवार बन्नबाटै चितवन कांग्रेसलाई बञ्चित गरायो ।

मेयरका लागि कांग्रेसमा २५ जनाले आकांक्षा देखाएका थिए । उनीहरुले प्रति व्यक्ति तीन हजार रुपैयाँ तिरेर पार्टीमा आफ्नो मनोनयन दर्ता पनि गरेका थिए । तर, चितवनका कांग्रेसीले यसपाली पनि महानगरको मेयरमा रेनु दाहाललाई नै भोट हाल्नुपर्ने अवस्था बनेको छ ।

आफुहरुलाई अन्याय भएको भन्दै शुक्रबार नेता कार्यकर्ताले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरे । गठबन्धनको केन्द्रीय निर्णयबाट असन्तुष्ट बनेका नेता कार्यकर्ताले शनिबार महानगरको मेयरमा बागी उमेदवारी दिने घोषणा गर्ने तयारी गरेका थिए । केन्द्रीय सदस्यहरु अनुपस्थित भएपछि असन्तुष्ट पक्षले घोषणा गर्न सकेन ।

कांग्रेस नेता एवं पूर्वसांसद जगन्नाथ पौडेलले कांग्रेसलाई बचाउने ऐतिहासिक क्षण आएको बताए । ‘म के कुरामा प्रस्ट छु भने हामी माओवादीसँग मिलेर जान सक्दैनौँ । हाम्रो जित्ने ठाउँ अरुलाई दिएर पार्टीलाई कमजोर बनाइँदै छ’, उनले भने।

कांग्रेस महासमिति सदस्य मिना खरेलले कांग्रेस नेता कार्यकर्ताको जायज कुरा पार्टीले सम्बोधन गर्नुपर्ने बताउँछिन् । ‘कांग्रेस कार्यकर्ताको एउटै चाहना छ रुख चिह्नमा मतदान गर्न पाउने । यो जायज कुरा हो । यसलाई पार्टीले सम्बोधन गर्नुपर्छ’, उनले भनिन् ।

नेपाली कांग्रेस चितवनका पूर्वप्रवक्ता उद्दव लोहनीले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामा सैद्धान्तिक र वैचारिक विचलन  आएकाे बताए । गठबन्धन गरेर अरु दललाई भोट हाल्न निर्देशन दिने देउवालाई उनले पार्टीको विधानबाट रुख चिह्न हटाएर देखाउन चुनौति दिए ।

नेपाली कांग्रेस भरतपुर–१८ का वडा सभापति रामकृष्ण पण्डितले अन्यायपूर्ण तरिकाले भरतपुरमा गठबन्धन भएको बताए । कांग्रेस भरतपुर–१९ का सभापति आशराम  तामाङले विद्रोह गरेर मेयरमा उमेदवारी दिने नेतालाई काँध थाप्न तयार रहेको बताए ।

अघिल्लो चुनावमा नेता कार्यकर्ताको विरोधबीच महानगरको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाललाई कांग्रेसीले मत दिनुपरेको थियो ।

माओवादी कार्यकर्ताले मतपत्र च्यात्दा त्यसको साक्षी बसेको कांग्रेसले माओवादीसँगको गठबन्धन टुटेपछि माओवादीको विरोध गर्दै आएको थियो । पाँच वर्षपछि हुन लागेको अर्काे चुनावमा पुनः रेनु दाहाललाई नै मत दिनुपर्ने अवस्थामा चितवन कांग्रेस पुगेको हो ।

२०७४ मै भएको प्रतिनिधि सभाको निर्वाचनमा पनि क्षेत्र नं ३ मा कांग्रेसीले हलोमा मत दिनुपर्ने बाध्यता बनेको थियो । क्षेत्र नं ३ मा भरतपुर महानगरको अधिकांश भाग पर्छ ।

भरतपुर महानगरमा बसोबास गर्ने कांग्रेसीहरु बढी अन्यायमा परेका छन् । उनीहरूले लगातार तेस्रो पटकसम्म पनि आफ्नो चुनाव चिह्न रुखमा भोट खसाल्न नपाउने निश्चित छ ।

नेता कार्यकर्ताको भावना विपरीत गठबन्धनले निर्णय गरेको बताएका जिल्ला सभापति खनालले बिहीबार केन्द्रीय परिपत्र बाहिर गएर गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए । खनाल संस्थापन इतरबाट जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । चितवनमा कांग्रेसको संस्थापन इतर बलियो छ ।

२०७४ मा मेयरको टिकट पाइसकेका दिनेश कोइरालाको उमेदवारी देउवाले नै अन्तिम समयमा काठमाडौँबाटै निर्वाचन अधिकृतलाई पत्र लेखेर फिर्ता लिएका थिए । अहिले कोइराला कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ३५ बजे

भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको शतक

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलियाले भारतविरुद्ध रोमाञ्चक

बागमती र पशुपति क्षेत्रलाई स्वच्छ बनाउन छलफल

काठमाडौं – शिवपुरीदेखि बग्दै आएको बागमती नदी र नदी तटमा

उत्तराखण्डको सुरुङमा १७ दिनदेखि फसेका ४१ मजदुरको सकुशल उद्धार

उत्तराखण्ड – विगत १७ दिनदेखि भारतको उत्तरकाशी सुरुङमा फसेका ४१

कानुनमा साना उद्योग प्रवर्द्धनको व्यवस्था गर्न माग

काठमाडौं– लघु घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय

‘केपी ओली कप राष्ट्रिय क्रिकेट’को सेमिफाइनल समीकरण पूरा

कास्की – पोखरामा जारी ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’