काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. गठबन्धनको बैठक आज पनि
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ। यसअघि हिजो दिनभरजसो छलफल भए पनि सहमति जुटेको थिएन। बालुवाटारमा बसेको बैठकमा दलहरु पुरानै अडानमा रहेपछि सहमति हुन सकेको छैन।
२. कोइराला समूहले आज काठमाडौँमा खबरदारी सभा गर्दै
नेपाली कांग्रेसमा टिकट वितरणमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै नेता शेखर कोइराला समूहले आज काठमाडौँमा खबरदारी सभा गर्ने भएको छ। बानेश्वर ब्याक्वेटमा आज दिउँसो १ बजेलाई खबरदारी भेला आयोजना गरेको नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिए। समानुपातिक सूचीमा देउवाले एकलौटी गरेको कोइराला समूहका नेताहरुको आरोप छ। टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्दै देउवामाथि थप दबाब बढाउन भेला गर्न लागिएको नेताहरुले बताएका छन्।
३. दसैँ अघि नै आचारसंहिता लागू
मंसिर ४ गते एकैचरणमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि अब आचारसंहिता लागू गर्ने निर्वाचन आयोगले तयारी गरेको छ। विगतमा पनि दुई महिनाअघि आचारसंहिता लागू गरेको अभ्यास समेत रहेको र यसपटक दसैँ–तिहार जस्ता चाडपर्व नजिकै आएका कारण पनि आचारसंहिता छिट्टै लगाउने आयोगको तयारी छ। निर्वाचन आउन अब ५७ दिन मात्रै बाँकी छ। आयोगले आचारसंहिता लागू गर्नका लागि प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुसँग छलफल थालेको छ। आयोगले भोलि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र अन्य मन्त्रीहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गर्न समय माग गरेको जनाएको छ।
४. एमालेमा पार्टी प्रवेशको संख्या १ लाख पार
नेकपा एमालेले विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गर्ने नेता कार्यकर्ताको संख्या एक लाख नागेको जनाएको छ। पार्टी प्रवेशको संख्या १ लाख पार गरेको भन्दै आज काठमाडौं र मधेस प्रदेशको राजधानी जनकपुरमा ‘पार्टी प्रवेश महोत्सव’ गर्दैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा– २ को तीनकौरिया चौकमा आयोजना हुने कार्यक्रममा प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ। यसअघि पनि धनुषामा प्रतिनिधि सभाका तीन निवर्तमान सदस्यहरु एमालेमा प्रवेश गरिसकेका छन्।
५. आजबाट खुलामञ्चमा पार्किङ
काठमाडौँको न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ। असोज ८ गते देखि फूलपातीसम्म बिहान १० बजेदेखि खुलामञ्चमा पार्किङको व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले चाडबाडमा दुर्घटनारहित यात्राका लागि शुभकामना व्यक्त गर्दै काठमाडौँको न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागू गरिएको जनाएको छ।
६. गोविन्द केसीको समर्थनमा प्रदर्शन
स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज काठमाडौँमा प्रदर्शन गरिने भएको छ। विभिन्न क्षेत्रका व्यक्तिको उपस्थितिमा माइतीघर मण्डलामा आज मध्याह्न १२ बजे प्रदर्शन गर्न लागिएको हो। १० दिनसम्म धनगढीमा अनशन बसेपछि स्वास्थ्य अवस्था जटिल र जोखिमपूर्ण बनेपछि केसीलाई बुधबार त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो। केसीका माग पूरा गर्ने सम्बन्धमा गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षबीच वार्ता बसे पनि वार्ता निष्कर्षविहीन बनेको छ।
७. मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
साइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई नगरपालिका–४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका– ४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेका छन्। दुर्घटनामा परी कनकाई–४ निवासी रामबहादुर अधिकारी घाइते भएका छन्। मेची राजमार्ग अन्तरगत मेचीनगर–१२ स्थित पिपलडाँगीमा गए राति उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको प्र १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको झापा प्रहरीले जनाएको छ।
८. वडाध्यक्षलाई प्रशिक्षण
जनताका काम र दैनिक प्रशासनिक छिटो छरितो सम्पादन गराउन रसुवा जिल्लाका वडाध्यक्षलाई पहिलो पटक प्रशिक्षण दिइएको छ। बागमती प्रदेश सुशासन केन्द्र एवं जिल्ला समन्वय समितिको आयोजनामा पाँच गाउँपालिकाका सबै नवनिर्वाचित वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालनसम्बन्धी पहिलो पटक दुई दिने अभिमुखीकरण प्रशिक्षण प्रदान गरिएको हो। जिल्लाका २७ वडाध्यक्षमध्ये २५ जना सहभागी भएका र उनीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण, राजस्व सङ्कलन, प्रतिवेदन तयार, माइन्युटबुक तथा मुचुल्का लेखन, योजना तर्जुमा, नागरिकता प्राप्तिको लागि सिफारिस गर्ने तरिकाजस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको जिल्ला समन्वय अधिकारी शर्मिला कार्कीले जानकारी दिनुभयो।
९. इरानमा हिजाब विरोध प्रदर्शन
इरानमा हिजाब विरोधमा भएको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५० पुगेको छ। आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी महसा अमिनीको विषयलाई एक सातादेखि फैलिएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुगेको हो। हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द अमिनीको मृत्यु भएको थियो। खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रदर्शनका क्रममा इस्लामिक गणतन्त्रमा पोसाकसम्बन्धी कडा नियम र त्यसलाई लागु गर्नेहरूविरुद्धको विरोधमा महिलाहरूले आफ्नो टाउकोमा लगाउने स्कार्फ समेत जलाएका छन्।
१०. इटाली र हंगेरीको जित
यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी पराजित भएको छ। समूह चरण अन्तर्गत गए राति जर्मनीलाई हंगेरीले १–० गोल अन्तरले हराएको हो। हंगेरीलाई जित दिलाउन एडम सजलाईले निर्णायक गोल गरे। यस जितसँगै हंगेरी समूहको शीर्ष स्थानमा उक्लिएको छ। लिग ए समूह ३ को हंगेरीले ५ खेलमा १० अंक जोडेको छ। जर्मनी ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। यस्तै अर्को खेलमा भने इंग्ल्यान्ड इटालीसँग १–० गोल अन्तरले पराजित भएको छ। यस जितसँगै इटालीले ५ खेलमा ८ अंक जोडेको छ।
प्रतिक्रिया