दिक्तेल-गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो « Khabarhub

दिक्तेल-गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो


९ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ । ठेकेदार कम्पनीको लापर्वाहीका कारण वर्षौंदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला-फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो । 

करिब रु ५५ करोड ८७ लाख लागतमा विसं २०७७ साउन १० गतेभित्र सक्नेगरी विसं २०७३ साउन ११ गते सम्झौता गरे पनि कालोपत्रको काम अपुरै राखेकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको गाईघाट-दिक्तेल सडक योजना कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । 

योजना प्रमुख खकुरेलका अनुसार खोटाङको फोक्सिङटार-सिम्पानी कालोपत्रको काम ठेक्का लिएको निर्माण कम्पनी देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीसँगको ठेक्का सम्झौता तोडिएको हो ।

त्यस्तै उदयपुरको अँधेरीखोला-फोक्सिङटार सडकखण्डको ठेक्का सम्झौता पनि तोडिएको जनाइएको छ । मैनाचुली-शिद्धिसाइ प्रकाश जेभीले करिब रु ११ करोड १७ लाखको लागतमा कालोपत्र सम्पन्न गर्नेगरी विसं २०७८ चैत २८ गते सक्ने गरी विसं २०७५ भदौ १४ गते ठेक्का सम्झौता गरेको थियो । 

कालोपत्रका लागि ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि बेवास्ता गरेकाले ठेक्का तोडिएको खकुरेलले बताए । गाईघाट–दिक्तेल सडक अन्तरगतकै सिम्पानी-माहुरे (२३ किलामिटर) सडकखण्डको कालोपत्र गर्ने काममा पनि ठेकेदार कम्पनीको ढिलासुस्ती भएको स्थानीय बासिन्दाले बताएका छन् ।

विसं २०७७ असार २९ गते सक्नेगरी विसं २०७३ असार २० गते सम्झौता भएको थियो । उक्त योजनाको फेरि आगामी असार मसान्तसम्ममा म्याद थपिएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइले बताए । 

सडक कालोपत्रको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र सडकमा कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । उक्त सडक कालोपत्रको काममा सहभागी स्थानीय कामदारले अझै पनि पारिश्रमिक तथा होटल र पसलको भुक्तानी पाउन बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइँपाका वडाध्यक्ष दिनेश राईले बताए ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गको सडक कालोपत्रको ठेक्का तोडिएपछि निर्माणाधीन सडक अलपत्र परेको छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१ मा शिलान्यास गरेको दिक्तेल–गाईघाट सडक निर्माण गरेको २८ वर्षसम्ममा पनि कालोपत्र नहुँदा हिउँदको समयमा करिब छ महिनामात्र सञ्चालन हुँदै आएको छ ।

दिक्तेल–गाईघाट एक सय ४२ किलोमिटर सडकमध्ये एक सय एक किलोमिटर सडकखण्ड कालोपत्र गर्न तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विसं २०७३ मा रु दुई अर्ब ६८ करोड बजेट विनियोजन गरेका थिए। ठेकेदार कम्पनीले अलपत्र पारेको उक्त सडक कहिले, कसले कालोपत्र सम्पन्न गर्ने भन्ने अन्यौलता सिर्जना भएको छ । 

दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोसीमा निर्माणाधीन पक्की पुल बिहीबारबाट सञ्चालनमा ल्याइएको छ । फोक्सिङटारमा निर्माणाधीन मोटरेवल पक्की पुल सञ्चालनमा आएसँगै जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत सहजता हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।

सुनकोसीमा मोटरेवल पक्की पुल नहुँदा करिब छ महिना पूर्वी तराईसँगको सिधा सम्पर्कविच्छेद हुँदै आएको थियो । फोक्सिङटारमा मोटरेबल पक्की पुल सञ्चालनमा आए पनि निर्माणाधीन सडकको काम पूरा हुने अवस्था छैन । 

हिउँदमा धुलो र वर्षामा हिलोका कारण करिब छ महिना अवरुद्ध हुँदै आएको उक्त सडकखण्डमा पक्की पुल बने पनि उपयोगविहीन हुने देखिन्छ । फोक्सिङटार पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भएको थियो । 

– केदार मगर रासस

 

प्रकाशित मिति : ९ पुस २०७९, शनिबार  २ : ३८ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग