आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


११ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

योगीको सपथ

योगी आदित्यनाथले उत्तर प्रदेशमा मुख्यमन्त्रीको दोश्रो कार्यकालको सपथ ग्रहण गरेका छन् । राजधानी लखनउमा आयोजिग भव्य समारोहबीच उनले सपथ ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीसहित, गृहमन्त्री अमित शाह, राजनाथ सिंह, भारतीय जनता पार्टी भाजपाका अध्यक्ष जेपी नड्डासहितका नेताहरूको उपस्थितीमा उत्तर प्रदेशकी गभर्नर आनन्दीबेन पटेलले योगीलाई सपथ ग्रहण गराएकी हुन् ।

योगीसँगै केशवप्रसाद मौर्य र ब्रजेश पाठकले उप मुख्यमन्त्रीको सपथ लिएको जनाइएको छ ।

लखनउको अटलविहारी वाजपेयी रंगशालामा आयोजित सपथ ग्रहण समारोहमा हराजौं भाजपा कार्यकर्ता एवम् आम नागरिकको उपस्थित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भाजपा र साझेदार दलहरूले उत्तर प्रदेशमा गत महिना विभिन्न ७ चरणमा भएको निर्वाचनमा ४०३ मध्ये २७३ सिटमा जित हासिल गरेका थिए । चुनावमा भाजपा एक्लैले २५५ सिट जितेको थियो । त्यहाँ सरकार बनाउन २०२ सिट भए पुग्छ ।

योसँगै योगीको नेतृत्वमा भाजपाले दोश्रो पटक सरकार गठन गरेको हो ।

युरोपले ढिला गरेको जेलेन्स्कीको टिप्पणी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणलाई रोक्न युरोपेली मुलुकहरूले ढिला गरेको टिप्पणी गरेका छन् । बेल्जियमको राजधानी ब्रसेल्समा बसेको युरोपेली परिषद्को सम्मेलनलाई भिडियोमार्फत् सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले यस्तो बताएका हुन् ।

‘तपाईँहरूले प्रतिबन्ध लगाउनु भएको छ, हामी कृतज्ञ छौँ । यो निकै शक्तिशाली कदम हो ।’ उनले भने, ‘तर यो केही ढिला भयो‘ त्यतिबेला मौका थियो ।’

युक्रेनमाथि आक्रमण गर्नु पूर्व नै रुसमाथि प्रतिबन्ध लगाइएको भए सायद रुस पछि हट्ने उनको भनाइ थियो ।

उनले रुसबाट युरोपतर्फ सिधै ग्यास लैजान बनाइएको नोर्डस्ट्रिम २ पाइपलाइनलाई अगाडि नै रोकेको भए ‘रुसले ग्यास सङ्कटको सिर्जना नै नगर्ने’ समेत बताए ।

त्यसपछि युक्रेनलाई युरोपेली युनियनको सदस्यता दिन आग्रह गर्दै उनले भने ‘कृपया आइन्दा ढिलो नगर्नुहोला ।’

नयाँ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको पुष्टि

उत्तर कोरियाले नयाँ किसिमको क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले ह्वासोङ्– १७ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको जनाएको हो ।

यसअघि बिहीबार दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक अन्तरमहादेशीय ब्यालेष्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षण गरेको दाबी गरेको थियो । जापानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक घण्टाको उडान भरेको उक्त क्षेप्यास्त्र ६ हजार किलोमिटरको उचाइमा पुगेको थियो ।

यस्तै, ११ सय किलोमिटरको दूरी पार गरी यस क्षेप्यास्त्र जापानी जलक्षेत्रमा पुगेर खसेको थियो । विशेषज्ञहरूका अनुसार पछिल्लो पटक परीक्षण गरिएको क्षेप्यास्त्रले १३ हजार किलोमिटर टाढासम्म मार हान्ने साम्मर्थ्य राख्छ ।

यही दाबीलाई पुष्टि गर्दै केसीएनएले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको प्रत्यक्ष निर्देशनमा क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ । केसीएनएले आणविक युद्ध रोक्नका लागि यो क्षेप्यास्त्रले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।

‘प्रजग कोरियाको नयाँ रणनीतिक हतियारले विश्वलाई नै हाम्रो रणनीतिक सैन्य बलको शक्तिबारे फेरि एक पटक अवगत गराएको छ ।’ सर्वोच्च नेता किमलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ । उत्तर कोरियाले आफूलाई प्रजातान्त्रिक जनगणतन्त्र कोरिया भन्ने गरेको छ ।

उत्तर कोरियाले परीक्षण गरेको ह्वासोङ– १७ क्षेप्यास्त्र पहिलो पटक सन् २०२० मा उत्तर कोरियाली सैनिक परेडमा सार्वजनिक गरिएको थियो । यो क्षेप्यास्त्र यसअघि सन् २०१७ मा उत्तर कोरियाले परीक्षण गरेका ह्वासोङ १५ र ह्वासोङ १४ भन्दा शक्तिशाली रहेको बीबीसीले जनाएको छ ।

ईयू– अमेरिका उर्जा सम्झौतामा हस्ताक्षर

अमेरिका र युरोपबीच उर्जासम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन युरोप भ्रमणमा रहेका बेला यो उर्जा सम्झौतामा हस्ताक्षार भएको हो ।

सम्झौताअनुसार अमेरिकाले युरोपेली युनियन ईयूमा थप १५ अर्ब घनमिटर ग्यास आपूर्ति गर्नेछ । यो वर्षको अन्त्यबाट अमेरिकाले युरोपतर्फ थप १५ अर्ब घनमिटर तरल प्राकृतिक ग्यास (एलएनजी) पठाउने विषयमा सम्झौता भएको बीबीसीले जनाएको छ ।

हाल ईयू रुसी उर्जामा निर्भर छ । युरोपमा ग्यास उपभोगको ४० प्रतिशत रुसले आपूर्ति गर्दै आएको बताइन्छ । युक्रेनमाथि रुसले आक्रमण गरेसँगै ईयूले यसअघि नै रुसी ग्यासको निर्भरतालाई यो वर्षको अन्त्यसम्म दुई तिहाईले घटाउने स्पष्ट पारिसकेको छ ।

कोरोना भाइरसको महामारीका कारण उसैपनि उच्च रहेको उर्जाको मूल्य युक्रेनमाथि रुसी आक्रमणसँगै अकाशिन पुगेको छ । यही क्रममा युरोप उर्जाका लागि नयाँ विकल्पको खोजीमा रहेका कारण पछिल्लो सम्झौतालाई निकै महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उर्जाको भुक्तानी क्रिप्टोकरेन्सीबाट स्वीकार गर्ने रुसको विचार

क्रिप्टोकरेन्सीमार्फत तेल र ग्यासको भुक्तानी स्वीकार गर्ने विषयमा रुसले विचार गरिरहेको खुलासा भएको छ । रुसको युनाइटेड रसिया पार्टीका नेता पाभेल जभाल्नीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार रुसले ‘सहिष्णु मुलुकहरू’ ले रुसी तेल र ग्यासको भुक्तानी बिट्कोइन क्रिप्टोकरेन्सीमार्फत गर्न सक्नेबारे विचार गरिरहेको हो ।

रुसी संसद्को उर्जा समितिका प्रमुख रहेका उनले उर्जा निर्यातबाट प्राप्त भुक्तानीको वैकल्पिक बाटो खोजिरहेको बताएका हुन् । चीन र टर्कीले ‘रुसमाथि प्रतिबन्धात्मक दबाब’ नदिएको भन्दै यस्ता सहिष्णु मुलुकले रुसी उर्जाको भुक्तानी क्रिप्टोकरेन्सीमार्फत् गर्न सक्नेबारे विचार भइरहेको उनको भनाइ छ ।

‘हामीले चीनसँग राष्ट्रिय मुद्राहरू रुबल र युआनमा कारोबार गर्न प्रस्ताव गरिरहेका छौं । टर्कीसँग लिरा र रुबलमा कारोबार हुनसक्छ ।’ उनले थपे, ‘हामी क्रिप्टोकरेन्सीमा पनि कारोबार गर्न सक्छौँ ।’

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘असहिष्णु मुलुकहरू’ ले रुसी ग्यासको भुक्तानी रुसी मुद्रा रुबलमा नै गर्नुपर्ने बताएका थिए । युक्रेनमाथि आक्रमण गरेयता निरन्तर ओरालो लागिरहेको रुसी मुद्राको साख जोगाउनका लागि रुसले यस्तो कदम चालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमाथि रुसी आक्रमण लगत्तै अमेरिका, बेलायत, युरोपेली युनियनजस्ता आर्थिक महाशक्तिले रुसमाथि आर्थिक प्रतिबन्धको घोषणा गरेपछि यो वर्ष रुसी मुद्राको भाउ २० प्रतिशत सम्म घटेको छ ।

यद्यपि रुसको उर्जा निर्यातमा भने कमी नआएको र रुस अझै ग्यासको विश्वमा सबैभन्दा ठूलो र तेलको दोश्रो ठूलो निर्यातकर्ता रहेको बताइएको छ ।

यद्यपि क्रिप्टोकरेन्सी स्वीकार गर्ने रुसी कदमले विश्व उर्जा बजारमा उर्जाको मूल्यमा ठूलो हलचल आउने विश्लेषकहरूको भनाइ छ । यो वर्षमात्रै बिट्कोइन क्रिप्टोकरेन्सीको भाउमा ३० प्रतिशतको उतारचढाव आएको छ ।

यसबाहेक चीनजस्ता मुलुकमा बिट्कोइन प्रतिबन्धित रहेकाले यसबारे पनि अन्यौल रहेको बीबीसीले जनाएको छ ।

चिनियाँ विदेशमन्त्रीको भारतमा उच्चस्तरीय भेटवार्ता

नेपाल आउनुअघि भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटवार्ता गरेका छन् । उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डल सहितका शीर्ष अधिकारीसँग हैदरावाद हाउसमा भेटवार्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग दोभलकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेका थिए । दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए ।

भेटवार्ताका क्रममा भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि छलफल भएको जनाइएको छ ।

दक्षिण एसियाली देशको भ्रमण गर्ने क्रममा उनी बिहीबार बेलुका भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् । यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको उदीयमान अर्थतन्त्र भएका मुलुकहरूको समूह ब्रिक्सको सम्मेलनका लागि निमन्त्रणा दिन चिनियाँ विदेशमन्त्री भारत आएको बताइएको छ ।

भारत आउनु अघि उनी पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठनको बैठकमा सहभागी भएका थिए । इस्लामावादपछि उनी एकाएक अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगरी पाकिस्तानमा संसद्को बैठक स्थगित

प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै नगरी पाकिस्तानी संसद्को बैठक स्थगित गरिएको छ । शुक्रबार प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव संसद्मा दर्ता गर्ने कार्यक्रम थियो ।

तर, राष्ट्रिय सभाका सदस्य खयाल जमान, पूर्व राष्ट्रपति रफिक तरार एवम् सिनेटर रहमान मल्लिकको निधन भएका कारण शोक व्यक्त गर्दै संसद्को बैठक स्थगित गरिएको जनाइएको छ । बैठकका क्रममा उनीहरूप्रति शोक व्यक्त गर्न कुरआन पढेर प्रार्थाना गरिएको थियो ।

जमानको गत फेब्रुअरी १४ मा, तरारको गत मार्च ७ मा एवम् मल्लिकको गत फेब्रुअरी २३ मा निधन भएको थियो । संसद्का सभामुख असद कैसरले आगामी सोमबारसम्मका लागि संसद्को बैठक स्थगन गरिएको घोषणा गरे ।

सांसदको निधनपछि बस्ने बैठकका क्रममा कुनै प्रस्ताव दर्ता नहुने मान्यताअनुसार बैठक स्थगित गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

खाद्य पदार्थको मूल्य बढ्ने

विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले युक्रेनमा जारी युद्धका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दाबी गरेकी छिन् । बेलायती पत्रिका गार्जियनसँगको अन्तरवार्तामा उनले यस्तो खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा रहेको बताइन् ।

उनले खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि चेतावनी दिइन् । ‘यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,’ उनले भनिन् ।

खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्ने पनि उनको चिन्ता छ । विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै उर्जा सङ्कट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने भन्दै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावले यसलाई बढाउने बताइन् ।

महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिइन् ।

मालीमा हिंसात्मक घटनामा कमी आएन

गत वर्षको पछिल्लो छ महिनामा पश्चिम अफ्रिकी मुलुक मालीमा कम्तिमा ८ सय ८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ ।

मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन मिनुस्माले प्रकाशित गरेको प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ ।

दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ । आतंककारी संगठन अल कायदासँग आबद्ध जमआत नस्रत अल–इस्लाम वाल मुस्लिमिन जस्ता हिंसात्मक समूहहरूबाट हुने मानवअधिकार उल्लङ्घनका घटनामा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

प्रतिवेदनअनुसार हिंसात्मक घटना मालीको मध्य भागमा पर्ने विशेषगरी बन्डियागरा, डोएन्ट्जा, मोप्टी, गाओ, टिम्बुक्टू जस्ता क्षेत्रहरूमा किन्द्रित थियो । सन् २०१२ मा देशको उत्तरमा तुआरेग विद्रोह शुरु भएयता मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक सङ्कटको सामना गरिरहेको छ ।

पृथकतावादी विद्रोह, इस्लामिक अतिवादीको जिहादी आक्रमण र अन्तर सामुदायिक हिंसाका कारण हालसम्म हजारौंको ज्यान गएको छ भने अरु हजारौं विस्थापित भएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ९ : ११ बजे

पाकिस्तानी टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित चार खेलाडी हटाइयो

काठमाडौं । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पुर्व कप्तान बाबर आजमसहित

दोलखामा दुई बस ठोक्किए, चार जना घाइते

दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना

तनहुँमा डेंगु र भाइरल ज्वरोका बिरामी बढे, भुइँमै राखेर उपचार

तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेङ्गुका

दशैं मनाउन गाउँ गएकाहरु काठमाडौं फर्किन थाले (तस्बिरहरू)

काठमाडौं । बडादशैं अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल

झापामा दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको