स्टोरी

भूकम्प स्मरण : भुल्न नसकेको त्यो दिन 

By प्रदीप कार्की

April 25, 2022

काठमाडौँ- विक्रम सम्वत् २०७२ सालको वैशाख १२ गते भुल्न नसकिने दिन हो । त्यो दिन मेरो लागि मात्र नभई धेरैका लागि भुल्न कठिन दिन हुनसक्छ । किनकी त्यो दिन नेपालले सामना गरेको महाभूकम्पको कति यादहरू ताजै हुन् सक्छन्। त्यो अगाडि कहिले भूकम्पको महसुस भएको थिएन। सम्भवत मेरो जीवनको पहिलो भोगाइ त्यही थियो । वैशाख १२ गते त्यो दिन म नुवाकोटमा थिएँ । किनकी अघिल्लो दिन वैशाख ११ गते शुक्रबार म केही पत्रकार साथी तथा अग्रजहरुसँगै नुवाकोटमा आयोजना गरिएको बागमती अञ्चलस्तरीय लोकदोहोरी अवार्ड कार्यक्रम सहभागी हुन् पुगेको थिएँ । शुक्रबार अवार्डमा सहभागी हुने र शनिबार फर्किने कार्यक्रम नै थियो । नयाँ वर्षमा कतै घुमघाममा ननिस्किएकोले पनि म कार्यक्रममा लागि नुवाकोट जाने निर्णय गरेर पुगेको थिएँ ।

११ गतेको कार्यक्रम सकिएपछि बेलुकी खानपिन र रमाइलो भयो । त्यो समयमा उपत्यका बाहिर खासै अवार्ड कार्यक्रम नहुने भएकाले पनि राम्रै भिडभाड थियो । काठमाडौंबाट आयोजकले बस लगायतका सवारीसाधनको व्यवस्था गरेका थिए । कार्यक्रम सकिएपछि केही सोही दिन बेलुकी फर्किए । म लगायत केही रंग पत्रकारहरू भने  १२ गते नुवाकोट दरबार घुमेर फर्किने योजनाका साथ नुवाकोटमै बस्यौँ।

बिहान उठेर नुवाकोट दरबार पुग्यौँ । फोटो खिच्दै, डुल्दै, घुम्दै सातौँ तलामा पुग्ने क्रममा भर्याङ उक्लिँदै गर्दा रंग पत्रकार अशेष अधिकारीले मजाक गरेँ ‘यतिखेर भुइँचालो गयो भने भाग्ने चाँहि कहाँ हो? के हुन्छ होला है?’ त्यो सुनेर केही डर पनि लाग्यो तर थाहा थियो त्यो मजाक हो । भर्याङ उक्लिँदै गर्दा पुरानो भएकाले कतै भाँचिने पो हो कि ? भन्ने पनि मनमा लाग्ने गरेको थियो ।

तर, एकछिनमै माथि पुगेपछि तस्विर खिच्ने होडबाजीले त्यो संवाद भुले । दरबारबाट फर्किएपछि बट्टारको ब्यारेक नजिकको एक होटलमा खाना खाएर हिँड्ने तय थियो । हामीले खाना खायौँ र केहीबेर होटल कम्पाउन्डको चौरमा बसेर गफ गर्‍यौँ। हिड्ने तयारी भो। मसँगै रंग पत्रकारहरू सुशील पौडेल, दिनेश सिटौला, कुवेर डंगोल, दिपेशराज थारु लगायत केही माइक्रोमा फर्किने भनेर बस्यौँ ।

केही भने प्राइभेट कारमा फर्किने तयारीमा थिए । शनिबारको दिन भएकाले कसैलाई हतार थिएन । साँझसम्म काठमाडौं पुग्ने तयारी मात्र थियो । माइक्रोमा फर्किरहेका टोली गीत गाउँदै , रमाइला गफ गर्दै थियौँ । हामी आफ्नै धुनमा मस्त थियौँ । हाम्रो रमाइलो गफगाफसँग चालक पनि आकर्षित भइरहेका थिए । उनले केही स्पीड पनि बढाएका थिए । हामी गीत संगीतकै धुनमा थियौँ ।

अचानक माइक्रो रोकियो त्यो पनि पहाडको आडमा । हामीलाई लाग्यो चक्का पन्चर भयो । तर , निरन्तर हल्ली रहेपछि बाहिर हेर्यौँ । हामी नुवाकोटबाट काठमाडौं फर्किने बाटोमा थियौँ । एक तर्फ पहाड अर्को तर्फ खोला । माइक्रोबाट बाहिर देखिएको दृश्यले अत्यायो । किनकी वरिपरिका डाँडाहरूबाट घरहरू पटपट गर्दै भत्किएका आवाजहरू आइरहेका थिए। डाँडातिर हेरें धुलाम्मे देखें। धुलोको मुस्लो हावामा उडिरहेका थियो।

हामी आत्तिएर बाहिर निस्कियौँ । झन्डै ५ वा ७ मिनेट कुदेपछि एउटा खुल्ला चौरमा पुग्यौँ । त्यो दौड पनि कस्तो थियो सम्झना छैन । किनकी माथि पहाडबाट ढुँगा खस्ने डरसँगै कुदिरहेको सडकमा पहिरो जाने डर पनि । अन्तत: कुद्नु नै थियो । किनकी त्यहाँ अडिदा जोखिम झनै थियो ।  भूकम्प आएको पक्का भएपछि पहाड भन्दा पर खुल्ला ठाउँमा पुग्न भाग्यौँ । र, त्यहाँ अडियौँ । मेरो दिमागले काम नै गर्न सकिरहेको थिएन । के गर्ने अन्यौल थियो । हामी माइक्रो छाडेर भागेका थियौँ । सायद झोलाहरु सहित अन्य सामान पनि त्यहिँ थिए ।

बारम्बार आउने कम्पन र त्यहाँ देखिएको दृश्यले दिमाग स्थिर हुन् सकेको थिएन । किनकी कम्पन बारम्बार आइरहेको थियो । यतिकैमा मैंले घरमा फोन गर्ने प्रयास गरेँ । यद्दपि फोन सम्पर्क हुन निकै गाह्रो भइरहेको थियो । अनलाइन ट्राइ गरेँ। चल्यो तर दु:खद धरहरा लडेको खबर थाहा पाएँ । त्यसले पनि काठमाडौं के भयो होला ? भन्ने मनमा प्रश्नसँगै डर बढ्यो । पहिला घर सर्लाहीमा फोन सम्पर्क गरेँ । आमालाई खुल्ला ठाउँमा बस्नु भन्नसम्म भ्याएँ । तर, काठमाडौंमा सम्पर्क हुन् सकेको थिएन । बल्लबल्ल सम्पर्क भयो । यहाँ भान्जी बस्थिन् । सबै सुरक्षित रहेको थाहा पाएपछि मैंले आफ्नो जानकारी पनि दिएँ ।

अब काठमाडौं फर्किनु थियो । झन्डै ३० मिनेट पश्चात त्यहाँबाट अघि खाना खाएकै होटलमा फर्किने निर्णय गर्यौँ । किनकी बाटोमा ठाउँठाउँमा पहिरो थियो । साथै, पहाडबाट ढुँगा समेत झारिरहेका थिए । हामी माइक्रोमा फर्कियौँ । ती चालकले पनि घरमा के भयो होला ? भन्ने जानकारी नपाएपछि थ्वीको कम्पन बढ्दै  थियो यद्दपि बेस्सरी गाडी हुइक्याए । हामी कति छिटै पहिले खाना खाएको होटेलमा पुग्यौँ, सम्झना छैन । किनकी हाम्रो ग्रुपमा रहेका साथीहरुले लगभग परिवारको जानकारी पाइसकेका थिए । यद्दपि ती चालकले पाउन सकेका थिएनन् । त्यसैले आत्तिएका थिए ।

हामी खाना खाएको होटेलमा पुग्दा दिनेश डिसी दाइ, सुमन दाहाल दाइसँगै केही त्यहिँ बसिरहेका थिए । केही घण्टा हामी त्यही बस्यौं। एकपछि अर्को गर्दै निरन्तर भुइँचालो गइरहेकै थियो। बाटो अवरूद्ध भएकाले पनि हामी अन्योलमा थियौं। नुवाकोट प्रशासनले खोलाका क्रसरमा रहेका एक्साभेटर प्रयोग गरेर चुस्तीकासाथ बाटो खुलायो। त्यो बाटोमा हाम्रो साथी बन्यो, रेडियो नेपाल । प्रस्तोता हरिशरण लामिछानेले दिएको जानकारी नै हाम्रो सूचना बन्यो । भूकम्पकाबीच हामी दिनेश दाइ र सुमन दाइको गाडीमा कोचिएर फर्किदै गर्दा पनि बाटोमा बेला बेलामा रोकियौँ ।

अघिल्लो दिनको यात्रामा देखिएका बस्ती र घरहरू फर्कदाँ माटोको थुप्रो भएका थिए । हाम्रो मन त्यसै अत्तालिएको थियो । यद्दपि यात्रा गर्दै साँझमा काठमाडौं आइपुगियो । काठमाडौं प्रवेश गर्दै गर्दा सुन्धारा हुँदै आ-आफ्नो गन्तव्यमा पुग्दाका दृश्यहरु मार्मिक थिएँ । त्यसका लागि शब्द छैन । तर , उद्धारमा खटिने उद्धारकर्मीको चुस्तताले केही आश समेत थप्यो । मेरो बसोबास रहेको मैतीदेवी पुगेपछि कोठामा बस्ने अवस्था थिएन । अन्तत: नजिककै एक स्कुलमा गएर त्यो रात बसियो । त्यहाँ मान्छे धेरै थिए । बारम्बार कम्पन्न गइरहेका थिए । मान्छे आत्तिएका थिए । त्यो दिन भुल्न नसकिने दिन बनेको छ जीवनको । किनकी त्यो अनुभूति पनि अनुभूत गर्न सकिरहेको थिइन् । आज पनि त्यो दिन सम्झनामा आउँछ । सामाजिक सञ्जाल वा समाजमा रहेकाले यो दिनलाई सम्झाउने गरेका छन् । त्यसपछि त्यो दिन स्मरण हुने गरेको छ ।