देशैभर स्थानीय तहको कर्मकाण्डी चुनाव सम्पन्न भएको छ। परिणाम भने कतै लौरो कतै हलोको चमत्कार देखिएको छ। दलहरुले यसलाई आधार बिनाको नाटक भने पनि अब यिनै झस्केका छन्। कतै श्रीलंकाको जस्तो नेताको घर घेरिने पो हो कि। अति सर्वत्र बर्जयेत् भन्ने उखान छ, हाम्रो समाजमा, चिनी पनि धेरै खाए तीतो हुन्छ। पुराना पुस्ताका नेताले अब सन्यास लिएनन् भने आउने चुनाव यिनका लागि जीवनमरण नै हुनेछ। सक्रिय भएर काम गर्ने बेला इन्धन बचाउने नाममा बिदा थपिएको छ। जसको सबै तिरबाट विरोध भइराखेको छ।
आफू उग्राएर पुग्दैन रुख्खा सुख्खा, खोले फाँडो खोज्न बजार चाहार्नु पर्ने र बेरोजगारीले सताइएको समाज लगातारको बिदाले थला परेको छ। लुम्बिनीमा नेतृत्वले जे हर्कत् देखायो, देश सुतेको र्याल काढेर निदाएको स्पष्टै भयो। गणतन्त्रमा पूmल वर्षा गरिन्छ सायद् त्यो पूmल पनि विदेशबाटै आयात भएको हुनुपर्छ। विगत डेढ, दुई दशकमा हातमुख जोर्ने सबै सामान आयात नै भएको हो।
निर्वाचन आयोगले कछुवा गतिले मत परिणामा निकाल्दैछ। कतै लुटिएको मतपेटिका धेरैपछि मात्रै फेला पर्दै, कतै परिणाम घोषणा भएको चार दिनपछि त्यहीँको मतपेटिका पाइँदै, कस्तो राज्य संयन्त्र रहेछ। कतै अख्तियारले निलम्बनमा राखेको वडा अध्यक्ष पार्टी परिवर्तन गरेर विजयी बने। चुनावी प्रक्रियाको धज्जी उडेको होइन र यो ? कैलालीका एक उम्मेदवार कंग्रेसबाट विजयी हुँदा निलम्बनमा परे। माओवादीबाट उठ्दा तिनै विजय भए। ठूला दलबाट दिक्क भएको कैलालीमै नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ।
पूर्वप्रम भइसकेकाले गोरखामा आचारसंहिता विपरीत खुला मतदान गरे भने त्यसै जिल्लामा हराएको मतपेटिका चार दिनपछि भेटियो, महोत्तरीमा मतपरिणम भएको चार दिनपछि अर्को मतपेटिका भेटियो। गन्दै नगनेको, त्यसैले चुनाव कर्मकाण्डी भयो। हेटौँडाको भूटनदेवी स्कूलको मतदान केन्द्रको मतपेटिकामा मतदाताले ‘चोर नेतालाई नो भोट’ भनी मतपत्रमा लेखेर हालेको पाइयो।
दलको महाधिवेशनमा एक नेताले भनेका थिए ‘हिजोआज गाउँ टोलमा कोही नेता आए भने कुन चोर आएछ हँ’ भन्ने गरेका छन्। यसको जवाफमा गणतन्त्रका सम्बाहक ओलीले ‘बाच्छो हो हिँड्न जानेको छैन’ भन्ने जवाफ दिएका थिए। त्यही सन्दर्भमा ‘हामी चोर हौँ त ?’ भन्ने गणतन्त्रका अर्का सक्कली नेता प्रचण्डले ‘हो हो’ भन्ने जवाफ पाएका थिए। आखिरमा ओलीको गृहनगर दमकबाट त्यही बाच्छो विजयी बन्यो मेयरमा र बालकोटको गृहनगरबाट पनि ओलीलाई साथ मिलेन, अन्तै गयो भोट।
प्रचण्डको मत चितवनको माडीमै खेर गयो, गृहमन्त्री, प्रधानमन्त्री अन्य सबैको दबाबमा छोरीलाई भरतपुर दाइजो दिन तयार भए। गणतन्त्रले दिएको उपहार परिवारवाद, नातावाद, कृपावाद धेरै छ । कतै यो चुनावमा फरक दलबाट एउटै परिवार श्रीमान्, श्रीमती नै आए ‘जय नेपाल र लाल सलाम’ एउटै घरमा त्यसैले यो प्रणाली बहुदलीय होइन। निर्दलीय हो, संसदमा जोडी त अहिले पनि झण्डै ५ दर्जन छन्। हात्तीका दुई दाँत, चपाउने र देखाउने फरक, लोकतन्त्रमा सिद्धान्त र व्यवहार फरक छ हामीकहाँ।
चुनावको पूर्व सन्ध्यामा बेरोजगार भएर वदेश छिरेका युवाबाट तारन्तर फोन आइरह्न्थ्यो। ‘ल है यसपालि त लौरो बालेन्द्र साह।’गणेशमाने अघि भनेका थिए, काठमाडौँमा लौरो उठाए पनि जितिहाल्छ। कांग्रेसले उनकै बुहारीलाइ दियो टिकट, परिणाम पक्षमा देखिएन। उता राजाका पालामा मेयर भएका स्थापित गणतन्त्रमा विस्थापित हुनुपर्ने तर ओली विस्थापित नभएजस्तै स्थापितलाई स्थापना गर्न खोजियो।
बाबुको काज किरिया नगरी प्रधानमन्त्रीको माग गर्न दाम राख्न जाने माधवकुमार नेपाल पनि यो चुनावमा घर जलाएर खरानीको टीका लाउनु परेको भन्दै गाला चाउरी पार्दैछन्। दलका हस्तीको मनमा लौरो बज्रिरहेको र हलोले जोतिदेला भन्ने डर पसेको छ। कसैलाई फकाउनका लागि पनि सूर्यको चिनो दिएका छन्। नेपाली जाँगरिला हुने हुन् भने कसिलो करको मार, देश किचिने गरी लगाइएको विदेशी ऋण, उठ्नै नसक्ने गरी भएको व्यापार घाटाविरुद्ध लड्नैपर्छ।
चुनावमा कोटेश्वर, कलंकी, चाबहिलबाट दलले ओसारेका मतदाता देखेर टिठलाग्यो। निर्वाचन आयोगको आचारसंहिता त्यहाँ लागेन, भात भान्साको कुरो यहाँ आएन। मतदाता जागरुक भएर आफैं भोट खसाल्न जानुपर्ने बेलामा दलको हारगुहार अनुसार मतदाता गए। यो बिडम्बना हो। इमान्दारले मतदानका लागि पैसा लिएनन्। कसैले पैसा लिए तर भोट अन्तै हालेछन्। देशैभर अघिल्लो चुनावमा ७४ प्रतिशत भोट खसेकोमा अहिले ६४ प्रतिशत मत खस्यो रे त्यसमा पनि जागरुक बस्ने काठमाडौँमा ५२ प्रतिशत। प्रणालीप्रति निराशाको अवस्था हो यो, काठमाडौँमै १० प्रतिशत मत बदर भयो। झापा, वीरगन्ज जस्तो सचेत नागरिक बस्ने जिल्लामा २५ र ५३ प्रतिशत बढी मत बदर हुन्छ भन्नुको तात्पर्य श्री ३ राणाको पन्जाबाट मुक्त हुने खोजेझैँ देशले दलबाट मुक्ति चाहेको देखिन्छ।
७७ जिल्लामा एक चौथाई जिल्लामा मतदान सहज भएन। ५३ वटा केन्द्रमा मतदान अवरुद्ध हुनु, दुई दर्जन अश्रु ग्यासको प्रहार, मतदान अधिकृत नै पिटिनु, गोली चल्नु, कर्मचारी घाइते हुनु, उम्मेदवारकै घरमा विस्फोट हुनु, मतदान गर्न हिँडेका मतदाता एक दुई होइन दर्जनौँ दुर्घटनामा परेर स्वाहा हुनु, मतदान केन्द्र अपांगमैत्री नहुनु, पानीको प्रबन्ध नहुनु, मतदान गरेकै ठाउँमा वृद्धको मृत्यु हुनु, मतदान अति खर्चिलो हुनु, समयमै परिणाम पस्कन नसक्नु यो देशको दशा नै हो। देशमा रोग, शोक, भोक बाँकी नै छ र नागरिक आक्रोश चुलिएको छ। वर्षभर महाधिवेशन भन्दै दिन बिताउने, अर्को वर्ष चुनावी वर्ष भन्ने, आफ्नो पोजिशन थाहा पाएपछि मात्रै संसद अवरोध हटाउने, वर्षमै दुईपल्ट संसदलाई कोमामा लग्ने, अदालती परमादेशबाट ब्यूँताएर प्रधानमन्त्री ठाडै नियुक्ति गर्ने यस्तो लोकतन्त्र र गणतन्त्र सायद यहाँमात्रै हो।
रातरातै एकतर्फी ताली बजाएर निस्केको संविधान आएदेखि नै नेपालीको आँसु बगेकै हो। त्यसअघि झन् बढी आँसु बगेको हो। संविधानका धारा पनि एक अर्कामा विरोधासपूर्ण छन्। जसले जसरी व्याख्या गर्दा पनि हुने स्थिति देखिएको छ।
७० वर्षमा ७ पटकसम्म संविधान जारी गर्न हुने अचम्मको खेल छ देशमा। विकसित देशमा एउटै संविधानले वर्षौ वर्षसम्म चलेको छ। छिमेकी भारतमा पनि दर्जनौँ संविधान छोटो समयमा आएका छैनन्। त्यहाँका जनता कति छन्, भूगोल कत्रो छ, २० करोड कतै, र कतै १० करोड माथिका जनता भएका स्थानमा एउटा प्रदेश छ। अब हामीले यसमासमेत बहस गर्नुपर्ने देखिन्छ।
प्रतिक्रिया