मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग « Khabarhub

मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेस प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् । हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालवाहक रेल समेत सञ्चालन गरिए भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा समाधान आयात हुने तथा त्यसबाट महँगीसमेत नियन्त्रणमा आउने उद्योगी व्यवसायीको भनाइ छ ।

छलफलमा उद्योगी व्यवसायीले तत्कालका लागि दैनिक पाँच-छ ट्रक मालसमान आयात गर्ने र पछि क्रमश : बढाउँदै जाने भएकाले मालवाहक रेल सेवा घाटामा नजाने दाबी गरेका थिए । ‘अहिले चलिरहेको रेल सेवामै हामीले मालवाहक रेल सेवा पनि चलाउन माग गरेका छौँ’, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बोकुमार साहले भने, ‘नेपाल रेल्वे कम्पनीका पदाधिकारीले मालवाहक रेल चलाउन आफूहरु सकारात्मक रहेको र तत्कालका लागि जनकपुरधाममा कति परिमाणमा मालसमान ल्याउन सकिन्छ भनेर उद्योगी व्यवसायीसँग यकिन गरेर तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।’ तथ्याङ्ककै आधारमा मालवाहक रेल सेवा सञ्चालन गर्न अन्य निकायसँग समन्वय गरी निर्णय गर्ने नेपाल रेल्वे कम्पनीका पदाधिकारीले आश्वासन दिएको उपाध्यक्ष साहले बताए।

छलफलका क्रममा उद्योगी व्यवसायीबाट आएका सुझाव, सल्लाहका आधारमा मालवाहक रेल सेवा सञ्चालनको तयारी गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । ‘भारतबाट दैनिक कति परिमाणमा मालसमान ल्याइन्छ भनेर तथ्याङ्क मागेका छौँ’, उनले भने । तथ्याङ्क उपलब्ध भएपछि प्रक्रिया अघि बढाइने झाको भनाइ छ ।

गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा नियमित रुपमा सञ्चालन हुँदै आएको छ । दैनिक जयनगरबाट बिहान ८ : ३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १० : ३० र साँझ ५ : १५ बजे रेल छुट्ने गर्छ । यात्रु चढाउन र झार्न सात ठाउँमा स्टेशन-हल्टको व्यवस्था गरिएको छ ।

कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेशनको व्यवस्था छ । रेल सेवा सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए ।

कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ । वातानुकुलित सेवातर्फ भने रु ४५० भाडादर कायम गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ११ : ३० बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण