दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


९ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज दिनभर हजयात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन, भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई, अधिवक्ताद्वारा प्रष्टीकरणजस्ता समाचारले प्रमुख स्थान पाए ।  यी हुन् आजका प्रमुख समाचारहरू :

अडियो सुन्नुहोस्-

हजयात्रा व्यवस्थापनमा भएको खर्चको विषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले हजयात्रा व्यवस्थापनमा भएको खर्चको बिषयमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले हजयात्रा व्यवस्थापनका सम्बन्धमा भएको खर्च लगाएतको बिषयमा भएको भनिएको अनियमितामाथि अनुसन्धान गरी निष्कर्षमा पुग्न अख्तियारलाई निर्देशन दिएको हो । बैठकले हजयात्रा व्यवस्थापनामा मुस्लिम आयोगको नेतृत्वदायी भूमिका नरहनुको कारण समितिलाई उपलब्ध गराउन पनि आयोगलाई निर्देशन दिएको छ ।

आयोगलाई उपलब्ध गराएको बजेट अपेक्षा अनुरुप नभएपनि प्राप्त उपलब्धि जनअपेक्षित नरहेको समितिको ठहर रहेको, समिति सभापति निरुदेवी पालले बताइन् । उनले समस्या समाधानमा उपलव्ध बजेटको व्यवस्थापन र उपलब्धिमा समितिको गम्भीर चासो रहेको उल्लेख गरिन् ।

उनले आयोगको रणनीतकि कार्ययोजनाले मूतरुप लिन नसकेको भन्दै मुस्लिम समुदायको समग्र हकहित अभिवृद्धिको लागि नीतिगत, कानूनी सिफारिसमा बढी केन्द्रित भई कार्यसम्पादन गर्न गराउन पनि आयोगलाई निर्देशन दिइन् ।

बैठकमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रयाप्त बजेटका कारण कार्यसम्पादनमा समस्या भएको बताएका थिए । उनले आफु सेवा सुविधाका लागि मात्र आयोगमा नभएको भन्दै प्रभावकारी कामका लागि सरकारले स्रोत साधन युक्त बनाउनुपर्ने तर्क गरे ।

बैठकमा समिति सदस्यहरुले मुस्लिम आयोगलाई क्रियाशिल बनाउनुपर्नेमा जोड दिएका थिए ।

भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले एक लाख राशिको भीमसेन थापा स्मृति पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरेको छ ।

राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले भक्ति थापा स्मृति प्रतिष्ठानका अध्यक्ष रोवबहादुर थापालाई सो पुरस्कार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले भीमसेन थापाले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गरेका थिए ।

उनले थापाले जीवनमा गरेका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन् । महत्वपूर्ण कागजात एवम् चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको उनले बताए ।

कार्यक्रममा भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुन:निर्माणको व्यवस्था मिलाइदिन आग्रह गरे ।

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज छानबिन समितिलाई बुझाइयो

अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको विषयमा नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजबारेको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ ।

प्रयोगशालाले आज समितिलाई रिपोर्ट बुझाएको हो । प्रयोगशालाले बुझाएको विवरणबारे समितिको भोलिको बैठकमा छलफल हुने सदस्य सीताराम महतोले जानकारी दिए । यद्यपि बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थमन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न भने सकेको छैन ।

निर्वतमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा सभामुख अग्नि प्रसाद सापकोटाले गत असार २२ गते विशेष संसदीय छानबिन समिति गठन गरेका थिए । छानविन समितिले १० दिनको म्याद अपुग भएको भन्दै पुन ७ दिनको म्याद थप गरिएको थियो ।

समितिका सदस्यबीच निर्वतमान अर्थमन्त्री शर्माको कल डिटेल हेर्ने/नहेर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ ।

राष्ट्रियसभा बैठकमा यी विषयमा छलफल

राष्ट्रियसभाको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सो विधेयक गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।

त्यसअघि बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै गृहमन्त्री खाँणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढने बताए । उनले नागरिकता नपाउँदा पढ्न, उद्योग धन्दा सञ्चालन गर्न, व्यवसाय दर्ता गरेर सञ्चालन गर्न समस्या भएको हुँदा विधेयक तत्काल ल्याउनुपरेको सदनलाई जानकारी गराए ।

विधेयकमाथिको छलफलमा भाग लिदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिले बहुमतले पारित गरेको विधेयक सरकारले फिर्ता गरेर नयाँ बिधेयक ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले ७ वर्ष वैवाहिक अंगीकृत नागरिकता महिलालाई दिने प्रावधानलाई हटाइएको भन्दै आपत्ती जनाएका थिए ।

त्यस्तै सांसद डा. विमला राई पौड्यालले गठबन्धनको नेताहरुको बलमिच्याइँका कारण नयाँ विधेयक ल्याएको तर्क गरिन् । पुरानो विधेयक फिर्ता लिएर सरकारले सांसदको स्वविवेक निर्णय गर्नेको पनि अवमूल्यन गरेको उनले आफ्नो भनाइ राखेकी थिइन् ।

यस्तै सांसद खिमलाल देवकोटाले नागरिकता विधेयकमाथिको कतिपय प्रावधानहरुमा पुर्नविचार गर्नुपर्ने देखिएको बताएका थिए ।

कृषिप्रधान देशमा दुई खर्बभन्दा बढीको खाद्यान्न आयात हुनु लज्जास्पद: सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले कृषिप्रधान देशमा दुई खर्बभन्दा बढीको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक बिषय भएको बताएका छन् ।

गन्तव्य परिवारद्वारा आज काठमाडौFमा आयोजित घर एक उद्यमशील सदस्य अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले कृषिप्रधान देशमा आन्तरिक उत्पादन बढाउनुपर्नेमा दुई खर्व ५० करोडको खाद्यान्न आयात हुनु लज्जास्पद र चिन्ताजनक भएको भन्दै युवाहरुलाई स्वदेशमा नै परिचालन गरि उत्पादन बृद्धिमा ध्यान दिनुपर्ने बताएका हुन् ।

नेपालका युवाहरु विदेशका हरेक निकायमा रहेको भन्दै उनीहरुलाई स्वदेशमा नै परिचालन गर्दै मुलुकको आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने उनले बताए ।

सभाभुख सापकोटाले गुन्द्रुक, जनै लगाएत पछिल्लो समय खरानीसमेत विदेशबाट ल्याउनुपर्ने अवस्था अन्त्य गरेरै छाड्नुपर्ने धारणा राखेका छन् । उनले युवाहरुको आवाजलाई राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको र त्यसको संकेत काठमाडौँ र धरानमा देखिन थालेको जिकिर गरे ।

युवाहरुको भावनालाई बुझ्न नसके मुलुक अझै पछि पर्ने उनको भनाइ छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

अधिवक्ताद्वारा प्रष्टीकरण

न्यायाधीशलाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले नेपाल कानुन व्यवसायी परिषदमा स्पष्टीकरण दिएका छन्।

अरु नै प्रसंगमा बोलेका कुराहरुलाई तोडमोड गरिएको भन्दै आफूमाथि लागेको आरोप असत्य भएको अधिवक्ता पोखरेलले दाबी गरेका हुन् । गत महिना जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले उनलाई एक साताभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना जारी गरेको थियो ।

स्पष्टीकरण पेश भइसकेपछि त्यसबारेमा अध्ययन गर्न परिषदको अनुशासन समितिको बैठक बस्नेछ । गत महिना घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि अधिवक्ता पोखरेल विवादमा परेका थिए ।

अबको दशक नेपाल निर्माण र समुन्नतिको गतिमा अगाडि बढ्छ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको दशक नेपाल निर्माण र समुन्नतिको दशकको रूपमा अघि बढ्ने बताएका छन् ।

ललितपुरमा नेपाल ललितकला संघले कला संस्कृतिको उत्थान विषयक अन्तरक्रिया कार्यक्रमलाई आज सम्बोधन गर्दै महामन्त्री शर्माले बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाएर देशमा सबै भाषा, संस्कृतिको सर्वद्धन गरेर सबै पार्टीलाईसँगै लैजान काँग्रेस सक्षम रहेको दाबी गरेका हुन् । महामन्त्री शर्माले नेपाललाई श्रीलंका नबन्ने बाटोमा, नेपाल देशलाई समुन्नतिको उचाईमा लैजाने बाटोमा नेपाली कांग्रेस पार्टी सक्षम भएको बताए ।

यस्तै उनले कलाकार राष्ट्रका गहना नभई गौरव भएकोले यस्ता भनाइहरूमा पनि परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गरे । महामन्त्री शर्माले नेपालले संसारसामु उच्च शिर राखेर समृद्धिको उचाई जित्न बाँकी रहेको भन्दै, कला, संस्कृति र साहित्यले यसमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहाल र गौतमबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा आज भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको दाहालको सचिवालयले जनाएको छ ।

भेटमा वाम एकता लगायतका विषयमा कुराकानी भएको दुवै नेताको सचिवालयले जनाएका छन् । पछिल्लोपटक नेता गौतम एकताका लागि भन्दै नेताहरूसगँ भेटघाटलाई तीव्रता दिएका छन् ।

नेपालमा एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ८४ पीसीआर परिक्षणका क्रममा ४ सय ५३ जना र १ हजार ७ सय १६ एन्टीजेन परीक्षणका क्रममा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९५ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ५ सय ३४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

अवैध कल सेन्टरमा प्रहरीले छापा मार्दा ४१ चिनियाँ पक्राउ

काठमाडौँको तीनकुनेको गैरिगाउँमा चिनियाँ नागरिकले चलाएको अवैध कल सेन्टरमा छापा हानेर प्रहरीले ४१ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १४ महिना र २७ पुरुष छन् । उनीहरुमध्ये ८ जनालाई प्रहरी वृत्त, गौशाला र अन्यलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ ।

प्रहरीले चलाएको सर्च अपरेशनका क्रममा अवरोध गर्न खोज्ने ८ महिलालाई गौशाला लगिएको हो । उनीहरुले स्काई वर्ड सर्भिस प्रा.लि.को नाममा कल सेन्टर सञ्चालन गरेका थिए ।

सो कम्पनीको नामबाट साइबर अपराध भइरहेको सूचनाको आधारमा आज काठमाडौं प्रहरी, नगर प्रहरी, प्रहरी वृत्त गौशाला र बानेश्वरले संयुक्त अपरेशन चलाएको थियो ।

दुई लाख रुपैयाँ लुटियो

मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटिएको छ ।

आज दिउँसो जनकपुरधाम–१ निवासी शर्मिला यादवको साथबाट रकम लुटिएको प्रहरीले जनाएको हो ।वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ ।

साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर उनी घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै लुटिएकी हुन् ।

उनको झोलामा दुई लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

झापामा अवैध सखुवाको काठसहित मारुती भ्यान प्रहरीको नियन्त्रणमा

झापामा अवैध सखुवाको काठसहित एउटा मारुती भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी माईधार र गैँडे सामुदायिक वनका कर्मचारीको संयुक्त टोलीले आज बिहान शिवसताक्षी १० बाट ४० क्युफिट सखुवाको काठसहित नियन्त्रणमा लिएको हो । मे १ च ११६४ नम्बरको मारुती भ्यान नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

गैँडे सामुदायिक वनबाट काठ तस्करी भइरहेको सूचनाको आधारमा संयुक्त टोलीले भ्यानमा लोड गरी काठ ल्याउँदै गर्दा बाटैबाट बरामद गरेको डिएसपी पाठकले बताए । यता भ्यान र काठ आवश्यक कारबाहीको लागि गैँडे सामुदायिक वन कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर २ जनाको मृत्यु

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ ।

मुसहरनिया गाउँपालिकामा –४ खतेवेया टोल बस्ने ३० वर्षीय जिवछ साहको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो । आफ्नो घरको मिटर बक्सबाट सिटीरिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता दाङको घोराही उपमहानगरपालिका–८ मा पनि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–८ ढिकपुर बस्ने ३२ वर्षीय सतपाल खत्रीको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो ।

आफ्नै घर बनाउन रड सीधा गर्ने क्रममा तारबाटएक्कासि करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अझै महंगी बढ्ने नेपाल राष्ट्र वैंकको सर्वेक्षण

नेपाल राष्ट्र वैंकले गरेको एक सर्वेक्षणले वस्तु तथा सेवाको मूल्यवृद्धि (महंगी) अझै बढ्ने देखाएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी ३ महिनाको अवधिमा महंगी बढेर १४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । राष्ट्र बैंकले १ हजार १४१ जना सहरी व्यक्तिहरूमाझ गरेको सर्वेक्षणमा यस्तो आंकडा सार्वजनिक गरेको हो ।

केन्द्रीय बैंकले अबको १ वर्षमा मूल्यवृद्धि १३.५ प्रतिशत पुग्ने आँकलन पनि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको ‘मूल्यवृद्धि अनुमान सर्वेक्षण’ सार्वजनिक गरेको हो ।

वि.सं. २०७९ असार २० देखि असार २७ सम्म देशका २८ सहरका ३१ बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्तामार्फत सर्वेक्षण गरेको थियो । राष्ट्र बैंकको सर्वेक्षणमा सहभागीमध्ये ९४.७ प्रतिशतले दिएको जवाफमा ३ महिनामा मूल्य वृद्धि उच्च हुने भनिएको छ ।

बैंकहरुको निक्षेप घट्यो

साउन लागेपछि वाणिज्य बैंकहरुको निक्षेपमा घटेको छ ।

असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिज्य बैंकको निक्षेप साउनमा आउँदासम्म ६३ अर्बले घटेको हो ।

साउनको ६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । यस अवधिमा बैंकहरुको कर्जा लगानी पनि घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कर्जा लगानीसाउन ६ मा आउँदा १० अर्बले घटेर ४१ खर्ब ६५ अर्बमा झरेको छ ।

कर्जा निक्षेप ६ दिनमै नै ६३ अर्बले घट्दा बैंकहरुको सीडी रेसियो ८७ दशमलव ७५ प्रतिशत पुगेको छ ।

यस्तो छ आजको शेयर कारोबार

शेयर बजार परिचक नेप्से आज पनि उकालो लागेको छ ।

नेप्से आज ५४ दशमलव ४५ अङ्कले बढेर दुई हजार एक सय ३२ दशमलव ९६ विन्दुमा पुगेको हो । दुई सय १४ वटा कम्पनीका ९९ लाख ४४ हजार ४८ कित्ता शेयर चार अर्ब १० करोड ६८ लाख १८ हजार ९ सय ४१ रुपैयाँमा कारोबार भएका छन् ।

सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रो फाइनान्स, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नारायणी विकास बैंक, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, सूर्योदय वमी लघुवित्त, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड मर्दी हाइड्रो र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड २९ लाख र अरुण काबेली जलविद्युतको १४ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार  ८ : ५५ बजे

सिंहदरबारले गाउँमा विकास होइन, भ्रष्टाचार पठायो : प्रेम सुवाल (अन्तर्वार्ता)

संघीयता कार्यान्वयनमा आइसकेपछि देखिएका आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक तमासाहरू, निराशापूर्ण

पहिरोले मुग्लिङ नारायणगढ खण्ड एकतर्फी अवरुद्ध

चितवन– मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी सञ्चालनमा आएको

लागुऔषध त्यागेर समाज सुधारक बनौँ : रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र

लमजुङ पहिरो अपडेट : चारै जनाको शव निकालियो

लमजुङ– जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चार जनाको

वर्षालाई केन्द्रमा राखेर फिल्म ‘मोदीबेनी’को पोस्टर सार्वजनिक 

काठमाडौं– नायिका वर्षा सिवाकोटीलाई केन्द्रमा राखेर फिल्म ‘मोदिबेनी’को आधिकारिक पोस्टर