हारमा ‘ह्याट्रिक’ वा ‘हिपहिप हुर्रे’ ? | Khabarhub Khabarhub

हारमा ‘ह्याट्रिक’ वा ‘हिपहिप हुर्रे’ ?

चुनौतीका दुई पहाड : अन्तर्घात र एमाले !



काठमाडौं। झापा-१ मा लगातार दुई पटक चुनाव हारिसकेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक ‘हारमा ह्याट्रिक’ गर्लान् या विजय माला पहिरेलान् ? यो धेरैको चासोको केन्द्र बनेको छ। झापाको चुनावी सरगर्मीबीच यो प्रश्नको उत्तर मंसिर ४ पछि मात्र प्राप्त हुनेछ। तर, शर्मा भने तेश्रो पटकको निर्वाचन आफूले जितेरै छाडनेमा दृढ देखिन्छन्। उनको आत्मविश्वास पहिलाभन्दा झन् बढेर गएको छ। पहिला आफूलाई यसै क्षेत्रमा पराजित गर्ने माओवादी केन्द्रका नेता राम कार्कीको समेत यो पटक उनलाई समर्थन छ।

‘२०७० को निर्वाचन मेरो लागि परिचयको राजनीति बन्यो। २०७४ को निर्वाचन अनुभव हासिल गर्ने अवसर बन्यो। अब २०७९ सालको निर्वाचन चाहिँ परिणाम हासिल गर्ने हुनेछ’, उनको विश्वास छ।

‘आफ्नै गाउँ फर्की आएँ’
दुई पटकसम्म निर्वाचन हारेकाले पार्टी भित्र र बाहिरका शुभचिन्तकले समेत उनलाई झापा-१ को साटो काठमाडौं-५ या सर्लाहीबाट उम्मेदवार बन्न सुझाव नदिएका होइनन्। मिडिया बजारमा शर्मा काठमाडौंबाट उम्मेदवार बन्ने चर्चा व्यापक थियो।

बजारमा चलेका यावत चर्चा परिचर्चालाई चिर्दै शर्माले गत भदौमै ट्वीटरमार्फत् आफू झापा-१ बाटै खडा हुने घोषणा गरिदिए। झापाप्रतिको अगाध प्रेम झल्काउने उनको टवीट्मा भनिएको थियो, ‘फेरि प्रस्ट्याउँ-बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर, मान्छे म मेची र निन्दा किनारकै हो। काठमाडौं-५ मा चुनाव प्रचारमा पुग्नेछु। तर, उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ लिएर झापामै उम्मेदवार बन्नेछु। प्रेम उता, घरजम यता कुरै हुन्न।’

‘२०७० को निर्वाचन मेरो लागि परिचयको राजनीति बन्यो। २०७४ को निर्वाचन अनुभव हासिल गर्ने अवसर बन्यो। अब २०७९ सालको निर्वाचन चाहिँ परिणाम हासिल गर्ने हुनेछ’, उनको विश्वास छ।

यो घोषणाअघि शर्माले काठमाडौं-५ का विभिन्न क्षेत्रको भ्रमण गरेर अनुकुलता र औचित्य आंकलन गरेका थिए। झापाबाटै तेश्रो पटक खडा हुनुको कारण खुलाउँदै उनले हालैको एक टीभी अन्तर्वार्तामा भनेका छन्, ‘काठमाडौं-५ घुमेर हेर्दा मलाई लाग्यो, मैले काठमाडौबाट जितेको खण्डमा म ठूला बिल्डिङ र बैंक ब्यालेन्स भएकाहरुको सांसद हुँदोरहेछु। तर, मैले टोकला चिया कमानमा चिया टिपीरहेका भाउजूहरुको पसिना गुमाउने रहेछु। धुलाबारी, चारआली र काकडभिट्टामा रिक्सा कुदाइरहेका दाइहरुको प्रेम गुमाउँदोरहेछु। बाहुनडाँगीमा हात्तीको समस्या भोगीरहेका दिदी बहिनी, दाजुभाइ गुमाउँदोरहेछु। बुद्धशान्तिमा धनीपूर्जा नपाइरहेका र मलाई पर्खिरहेका नागरिक गुमाउँदो रहेछु। आफ्नै गाउँ फर्किआएँ आएँ भने झैं म झापा फर्किएको हुँ।’

शर्माले ‘आफ्नो गाउँ फर्किआएँ’ भन्ने नेपाली चलचित्रको गीतको पंक्ति बारम्बार उल्लेख गर्नुको पनि विशेष राजनीतिक अर्थ छ। झापा-१ मा उनका निकटतम प्रतिद्वन्द्वी अग्नी खरेल बाहिरबाट आएका उम्मेदवार हुन्। यसअघि पनि बाहिरबाटै आएका राम कार्कीले जितेका थिए। त्यसैले सांकेतिक अर्थमा पनि ‘झापाको विकास गर्न झापाकै विश्वप्रकाश आयो’ भन्ने सन्देश उनी दिइरहेका छन्।

उनले भन्ने गरेका छन्, ‘हुन त मसँग सजिलै जित्ने ठाउँबाट उठनसक्ने विकल्प थिए। टिकट वितरणको जिम्मेवारीमै थिएँ। जहाँबाट पनि खडा हुनसक्थे। तर, मैले झापा नै रोजेँ। किनकी, आमाबाट पिटिएको बच्चा रुँदै रुँदै आमाकै पछि लाग्छ। झापा-१ मेरो लागि आमा हो। जतिपटक हारे पनि म आमाकै पछि लागेँ। चुनाव हारे पनि सम्पर्कमा पुगिरहे। झापाको विकासका काममा जोडिइरहे।’

चुनौतीका दुई पहाड
झापा-१ मा शर्माले चुनौतीका दुई पहाड छिचोल्नुपर्नेछ। पहिलो त एमालेको गढ भत्काउने चुनौती, अर्को चाहिँ कांग्रेसकै ‘अन्तर्घाती’हरुलाई मनाउने चुनौती। पार्टीको आन्तरिक राजनीतिमा छलाङ लगाउन सफल महामन्त्री शर्मा संसदीय प्रतिस्पर्धामा भने पराजित हुँदै आउनुमा यीनै दुई चुनौती मुख्य फ्याक्टर हुन्।

२०७० र २०७४ को चुनावमा झापा-१ मा पराजित शर्मा तेस्रो पटक यही क्षेत्रबाट एमालेका प्रभावशाली नेता अग्नी खरेलसँग प्रतिस्पर्धा गर्दैछन्। खरेल पनि चानचुने उम्मेदवार हैनन्। झापा गृह थलो भएका पूर्व प्रधानमन्त्री केपी ओलीका ‘कोटरी’का यी नेता ओलीकै कृपाले कानून मन्त्री र महान्यायाधिवक्ता भइसकेका छन्।

पहिलो संविधानसभामा राष्ट्रपतिबाट र दोश्रो संविधानसभामा समानुपातिक पद्धतीमार्फत् सांसद भइसकेका खरेल पनि राजनीतिका भेटरान खेलाडी नै मानिन्छन्। २०४८ यतादेखि नै ‘झापा जिल्ला लालकिल्ला’को नारा गुञ्जने झापा एमालेको घना प्रभुत्व भएको जिल्ला हो।

शर्माले चुनौतीका दुई पहाड छिचोल्नुपर्नेछ। पहिलो त एमालेको गढ भत्काउने चुनौती, अर्को चाहिँ कांग्रेसकै ‘अन्तर्घाती’हरुलाई मनाउने चुनौती। पार्टीको आन्तरिक राजनीतिमा छलाङ लगाउन सफल महामन्त्री शर्मा संसदीय प्रतिस्पर्धामा भने पराजित हुँदै आउनुमा यीनै दुई चुनौती मुख्य फ्याक्टर हुन्।

हुन पनि २०५६ र २०६४ को चुनावबाहेक यो क्षेत्रमा सधैं एमाले उम्मेदवारले जित्नै आएका छन्। २०७४ मा वाम गठबन्धनका आधारमा माओवादी केन्द्रका राम कार्कीले जितेका थिए।

झापा-१ मा कुल एक लाख बीस हजार ३ सय ७५ मतदाता छन्। हालैको स्थानीय निर्वाचनमा प्राप्त मतको हिसाब गर्ने हो भने अहिले सत्ता गठबन्धनभन्दा एमाले-राप्रपा गठबन्धन करीब आठ हजार मतले अगाडि छ। अतः मतको यो अंक गणितलाई आफ्नो पक्षमा पार्ने चुनौती शर्मासँग छ।

अर्को मुख्य टाउको दुःखाइको विषय झापा कांग्रेसको आन्तरिक किचलो पनि हो। झापामा कांग्रेस नेता पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला गुटले शर्मालाई पार्टी राजनीतिदेखि संसदीय राजनीतिसम्म असहयोग गर्दै आएको कसैबाट छिपेको छैन।

कांग्रेसमा व्याप्त ‘शर्मा भर्सेस सिटौला’को अवस्थालाई चिर्न नसक्दा शर्मालाई नै घाटा पर्नजाने देखिन्छ। स्थानीय निर्वाचनमा मेची नगरपालिकाको मेयरमा सिटौला निकट जिल्ला उपसभापति केशवराज पाण्डे खडा हुन चाहेको भए पनि शर्माकै जोडबलमा उनको अभिष्ट पुरा भएको थिएन। ‘अन्तर्घात’मार्फत् शर्मालाई संसदमै हराएर सिटौला र पाण्डे समूहले यसको बदला लिने प्रयास नगर्ला भन्न सकिन्न।

हो, एमालेभित्रको घात-अन्तर्घातको खेलले भने केही हदसम्म शर्माको यो अभाव पूर्ती गर्नसक्छ। किनकी, झापा-१ मा टिकटका दाबेदार एमाले नेता रवीन कोइराला अहिले बाहिरबाट आएका अग्नी खरेललाई हराउन खुलेरै विरोधमा उत्रिएको देखिन्छ।

पार्टीभित्रको होस् या एमालेभित्रको। घात-अन्तर्घातको खेलको कुनै भरोसा हुँदैन। जित्ने भनेको आफ्नै बलबुतामा हो। त्यसैले आफ्नो व्यक्तित्व, शालिन बोली र व्यवहार, रैथाने उम्मेदवार र भोलि प्रधानमन्त्रीसम्म हुनसक्ने व्यक्ति भन्ने प्रचारबाजी र लोकप्रिय छविको आडमै शर्माले चुनाव जित्ने आशा राखेका छन्।

एमालेका अग्नी खरेललाई पराजित गरेको खण्डमा उनी यो अग्नी परीक्षामा पनि सफल हुनेछन् र उनको यात्रा सिंहदरबारतिर मोडिनेछ। सायद यही संभावना र आशाले पनि झापालीले यसपाली आफैलाई जिताउने दृढ विश्वास शर्मामा देखिन्छ।

२०२७ पुस ६ गते झापाको शान्तिनगरमा जन्मिएका शर्मा २०३७ सालको विद्यार्थी राजनीतिदेखि नै राजनीतिमा होमिएका हुन्। त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका शर्मा विद्यार्थी कालमै नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भए।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्य भएका उनी पार्टी प्रवक्ता हुँदै अहिले महामन्त्रीसम्मको यात्रा तय गरेका छन्। पार्टीको यात्रामा छलाङ लगाएका शर्माका लागि संसदीय राजनीति ‘अग्नी परीक्षा’मा छ। एमालेका अग्नी खरेललाई पराजित गरेको खण्डमा उनी यो अग्नी परीक्षामा पनि सफल हुनेछन् र उनको यात्रा सिंहदरबारतिर मोडिनेछ। सायद यही संभावना र आशाले पनि झापालीले यसपाली आफैलाई जिताउने दृढ विश्वास शर्मामा देखिन्छ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १० : ०३ बजे

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार

डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु

दोलखा– रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ