डिग्री होल्डर ‘आइडल’ किसान | Khabarhub Khabarhub

डिग्री होल्डर ‘आइडल’ किसान



अत्तरिया- नेपालमै कृषिमा भविष्य खोज्ने युवाको संख्या बढ्दो क्रममा छ। विदेश जाने लहर नरोकिएको भए पनि पछिल्लो समय नेपालमै व्यवसायिक कृषि गर्न युवाको आकर्षण बढिरहेको देखिन्छ। विदेशबाट आएका र अन्य पेशा व्यवसायमा लागेका युवा पनि कृषिमा आकर्षित हुन थालेका छन्।

शंकरदेव क्याम्पसबाट एमबीएस गरेका कञ्चनपुरका महेन्द्र बोहराले कृषिलाई मुख्य पेशा बनाएका छन्। परम्परागत शैलीलाई आधुनिकतामा परिवर्तन गर्दै उनी सफलतातर्फ अग्रसर छन्।

नेपाल कृषि प्रधान देश भएपनि अपेक्षित रुपमा अझै यो क्षेत्रमा शिक्षित युवाको संग्लनता देखिँदैन । शंकरदेव क्याम्पस काठमाडौंबाट एमबीएस (मास्टर डिग्री) गरेका कञ्चनपुरका हरेन्द्र बोहराले भने परम्परागत कृषिलाई आधुनिकता तर्फ डोर्याउँदै कृषिलाई आफ्नो मुख्य पेशा बनाएर सफलताको पथमा अग्रसर छन्।

२०७० सालमा डिग्री गरेका कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३३ वर्षीय हरेन्द्र कृषि अनुभव लिनका लागि सुरुमा बुवाले परम्परागत रुपमा सुरु गरेको कृषि व्यवसायमा लागेका थिए।

‘सुरुमा गाई, भैंसीपालन थियो त्यो खोर हुरीले उडायो। गाई पनि स्थानीय भएकाले त्यस फर्मलाई आधुनिकरण गर्न सम्भव देखिएन’, उनले भने, ‘केरा पनि पुख्र्यौली थियो। मैले कृषिमा काम सुरु गरेपछि सबै कृषिलाई आधुनिकारण गर्न सुरु गरेँ।’

कृषिमा आधुनिकीकरण
२०७१ सालमा गाई, भैंसी पालन व्यवसाय र केरा खेतीमा लागेका उनले घर परिवार र छरछिमेकबाट भने निकै आलोचना खेपे।
‘काठमाडौंमा डिग्री पढाएको छोरो घरमा आएर गाई गोठमा काम गर्न थाल्यो भने। छिमेकीले पनि कुरा काटे’, उनले भने, ‘तर, पनि म कृषिमा लाग्ने सोचबाट बिचलित भइन।’ त्यसपछि उनले बैंकबाट ऋण लिएर आधुनिक कृषि फार्म सुरु गरे।

‘कृषि व्यवसाय संचालनका लागि सुरुमा २० लाख कृषि ऋण लिएँ’ उनले भने, ‘त्यही पैसाले सुरुमा ५ हजार लेयर्स कुखुरा पालन गरेँ। ६ महिनापछि त्यसबाट राम्रै आन्दानी हुन थालेपछि कुखुरासँगै केरा खेती, बंगुर पालन गरेँ।’

उनले कुखुरा पालनबाट वार्षिक १५ लाखको कारोबार हुने गरेको बताए। पहिलो लटमा हालेको कुखुराले अण्डा दिने दर घटेपनि अहिले पनि दैनिक ३ हजार ५ सय देखि ४ हजार अण्डा उत्पादन हुने गरेको उनले बताए। उनले कुखुराका लागि आफैंले दाना पनि उत्पादन गर्ने मेसिन जडान गरेका छन्।

‘आफैंले दाना उत्पादन गर्दा प्रतिकिलो ५ देखि ७ रुपैयाँ सस्तो पर्न जान्छ’, उनले भने, ‘दाना उत्पादनका लागि साढे ६ लाखमा मेसिन खरिद गरेको छु। दानाका लागि आवश्यक कच्चा पदार्थ किनेर दाना उत्पादन गर्छु।’

उनले १ हजार कुखुरालाई आफैं दाना उत्पादन गर्दा नोक्सान हुने सम्भावना भएपनि बढी कुखुरा पाल्दा दाना आफैं उत्पादन गर्दा फाइदा हुने बताए।

‘ठूलो मात्रामा कुखुरा पाल्दा आफैं दाना उत्पादन गर्नु फाइदाजनक हुन्छ’ उनले भने, ‘अहिले मेरो कुखुराले दैनिक ७ क्विनटल दाना खान्छ। मैले आफैंले दाना उत्पादन गरेर प्रतिकेजी ७ रुपैयाँ बचाउँदा पनि प्रतिदिन ४९ सय जोगिन्छ।’ उनले मेसिनबाट मास दाना तयार गर्न मिल्ने बताए।

आफूले उत्पादन गरेको दाना मार्केटको भन्दा सस्तो र त्यो भन्दा गुणस्तरीय पनि बनाउन मिल्ने बताए। उनले कुखुराको अण्डाका लागि स्थानीय बजार नै प्रयाप्त भएको बताए। उनले भने, ‘उत्पादित अण्डा झलारी, गुलरीया, अत्तरियासम्म पुग्छ। कुखुराको कारोबार राम्रै छ। कुखुराबाट मासिक १२ देखि १५ लाखको कारोबार हुन्छ।’

खेरा खेतीमा छुट्टै फाइदा
४ बिघा निजी र १० बिघा जग्गा भाडामा लिएका हरेन्द्रले ५ बिघा जग्गामा केरा खेती लगाएका छन्। उनले केरा खेतीका लागि प्रतिबिघा साढे ३ लाख खर्च लागेको बताए। उनले केराबाट मासिक ७ देखि ९ लाखको कारोबार हुने बताए।

‘प्रत्येक वर्ष केराको खेती बढाउँदै लगेको छु। अझ थप ३ बिगा केरा खेती बढाउने लक्ष्य छ’, उनले भने, ‘केरा खेती गरेको १७ महिनादेखि आम्दानी दिन सुरु गर्छ। यो खेती एक पटक लगाएर ४ बालीसम्म लिन सकिन्छ। चार वर्षपछि नयाँ केरा लगाउने गरेको छु।’

केरा पकाउनका लागि उनले यसैवर्ष १ कोठे मिनी कोल्ड स्टोर (चेम्बर) जडान गरेका छन्। पशुपंक्षी तथा मस्य विकास निर्देशनालय डोटीको अनुदानमा कोल्ड स्टोर जडान गरेका उनले त्यसैमा केरा पनि पकाउन मिल्ने बताए।

‘पहिले अरुको चेम्बरमा केरा पकाउन दिनु पथ्र्यो अहिले आफ्नै चेम्बर राखेर सहज भएको छ। चेम्बर साढे ६ लाख पर्या। चेम्बरमा एक पटकमा १ सय घरी केरा पकाउन मिल्छ। मासु २ टन स्टोर गर्न सकिन्छ’, उनले भने, ‘यो मिनी कोल्ड स्टोर जस्तै हो। यसलाई चेम्बरको रुपमा पनि प्रयोग गर्न मिल्छ। च्याम्बर बनेपछि अहिले तुरुन्तै बिक्री नभए पनि समस्या हुँदैन। केही दिन भण्डारण गरेर राख्न सहज भएको छ। जसले मूल्य पाउन सजिलो भएको छ।’

बंगुर र बाख्रा पालनको योजना
२५ वटा बंगुर पालन गरेका उनले माछा पालनसंगै बंगुर र बाख्रा पालनको योजना रहेको बताए।

‘साना ठूला लगाएर २४/२५ बंगुर छन। अब बंगुरसंगै माछा पाल्ने योजना बनाएको छु। माछा पोखरी बनाएपछि बिचमा माछा पाल्ने। अनी कुखुराले खेर फालेको दान बंगुरले सदुपयोग गर्छ। बंगुर फर्मको फोहर माछाका लागि आहार बन्छ। माछा पोखरीको डिलमा बंगुर पाल्ने योजना छ’ उनले भने, ‘अहिले ड्युरोक, लेन्डस, हेम्साई जातका बंगुर छन्। यी बंगुरका माउ चितवनबाट ल्याएका हौं । बंगुरमा १० लाख लगानी लागिसकेको छ।’

२० लाखबाट सुरु गरेको फोर फक्स क्याटल एण्ड ह्याचरी (कृषि फर्म) मा अहिले १ करोड २५ लाखको लगानी भइसकेको छ। जसका लागि उनले १ करोड रुपैयाँ कृषि विकास बैंकबाट ऋण लिएको बताए।

‘१ करोड लोन छ। कृषि विकास बैंकबाट लोन लिएको हुँ। अहिले ८ लाख घटाएको छु’, उनले भने ‘सुरुमा २० लाख लोन लिएँ, १ वर्षपछि थप ३० लाख र २ वर्ष पछि थप ५० लाख लोन थपेर व्यवसाय गरिरहेको छु। अझै लोन थपेर व्यवसाय बढाउने योजना छ।’ उनले अहिलेसम्म कृषिमा राज्यबाट कुल १७ लाख जतिको अनुदान पाएको बताए।

मासिक आम्दानी लाख रुपैयाँ
उनले सबै कृषि व्यवसायबाट बार्षिक डेढ करोडको कारोबार हुने गरेको बताए। डिग्री गरेपछि बोहराले ६ महिना हिमाल हाइड्रो पावर र गोल्छा अर्गनाइजेसनमा काम गरेको अनुभव सुनाए। उक्त काममा मासिक ३० हजार आम्दानी गर्ने हरेन्द्रले अहिले भने मासिक ९० हजारदेखि १ लाख कमाउने गरेका छन्।

व्यवसायमा उनकी श्रीमतीसंगै आमाले पनि सहयोग गर्ने गरेका छन्। परिवारसँगै अन्य धेरै जनाले काम पाएका भएपनि ज्यालादारीमा पैसा दिने गरेको उनले बताए।

‘केरामा ज्यालादारीमा काम गर्ने छन्। आफैले काम गर्नुपर्छ भन्ने मान्यता राखेर मैले घरकै सबैलाई काममा लगाएको छु। आमा अण्डा टिप्नुहुन्छ। म र श्रीमती कुखुरा बंगुरलाई दाना दिन्छौं। अन्य काममा ज्यालादारी काम गर्ने मानिस लगाउछौं’, उनले भने, ‘एक जना मात्रै सहयोगका लागि नियमित काम गर्ने राखेका छौँ।’

१४ बिघामा केरा, अन्न बाली, कुखुरा, बंगुर, आँप बारी लगाएका उनको ५ बिगा जग्गा निजी भएपनि अरु १० बिघा २५ देखि ४० हजार सम्मको दरले भाडामा लिएका छन्।

‘आइडल’ किसान
काठमाडौंबाट डिग्री गरेर गाउँमै धुलोमाटोसँग रमाइरहेका हरेन्द्र गाउँका युवाका लागि ‘आइडल’ किसान बनेका छन्। हरेन्द्रले आफूले कृषि व्यवसाय सुरु गर्दा गाउँमा एक जना पनि उच्च शिक्षा हासिल गरेका युवा कृषिमा नलागेको भएपनि पछिल्लो समय शिक्षित युवा कृषिमा लाग्नेक्रम बढ्दै गएको बताए।

उनले पहिले कुरा काट्नेले पनि अहिले आफ्नो कामको सम्मान गर्ने गरेको बताए। ‘म अन्य धेरै पेसा व्यवसाय गर्न सक्ने थिएँ। तर, मैले कृषिलाई रोजेँ’ उनले भने, ‘अहिले मैले गरेको कामले धेरै युवालाई कृषिमा लाग्न प्रेरणा दिएको छ।’ उनले अहिले गाउँमा मानिसले आफूलाई उदाहरणको रुपमा लिने गरेको बताए।

‘कृषि एउटा रेपुटेड पेसा हो। गाउँमा दाइभाइ, छोराछोरी धेरै बिग्रेका छन्। तिनका आमा बुवाले अहिले उदाहरणका रुपमा मेरो नाम लिइरहेका छन्। यसले समाजमा सकारात्मक सन्देश दिएको छ’, उनले भने, ‘शिक्षित केटाले कृषि काम गर्नु र अरुले गर्नुमा स्वभाविक रुपमा फरक छ। म शिक्षित भएकाले मैले कृषि फर्ममा प्रयोग हुने औषधिका बारेमा सही जानकारी लिनसक्छु। नर्मल मान्छेलाई यो समस्या हुन्छ।’

हरेन्द्र माघ १७ गते सुदूरपश्चिम सरकारद्वारा प्रदान गरिने प्रदेशस्तरको उत्कृष्ट कृर्षक पुरस्कारबाट पनि सम्मानित भइसकेका छन्। विदेश नगई स्वदेशमै कृषिजन्य उत्पादन गरिरहेकालाई प्रोत्साहन गर्न पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय दिपायलले उनीसहित सुदूरपश्चिमका १५ किसानलाई सम्मानित गरेको थियो।

कृषिले दिएको खुशी
हरेन्द्रले कृषिमा लागेर आफू निकै खुसी भएको बताए। ‘बुवाले पनि पुरै जीवन कृषिमा बिताउनुभयो। मेरो मुख्य प्रेरणाको श्रोत बुवा नै हुनुहुन्छ। अहिले म पनि यसमा लागेर निकै खुसी छु’, उनले भने ‘अहिले बुवा कृषिमा हुनुहुन्न। उहाँका लागि सानो किराना पसल राखेको छु। पसलमै बस्नु हुन्छ।’

उनले कृषिबाट अहिलेसम्म नयाँ पक्की घर र अन्य केही सवारी साधन जोडेको बताए। उनले देशको राजनीतिक परिस्थितिका कारण किसानले कृषि पेशालाई व्यवसायीक रुपमा लान संघर्ष गरिरहनुपरेको बताए। कृषि क्षेत्रमा राज्यको नीति बलियो नभएकाले कृषि कर्म गरेको मान्छेले नै नीति निर्माण तहमा पुगे कृषकलाई सहज हुने उनको भनाइ छ।

प्रकाशित मिति : १४ फाल्गुन २०७८, शनिबार  १२ : ०५ बजे

जीर्ण महोत्तरी कारागारको जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी– महोत्तरी कारागार जीर्ण भएको छ । संघीय संसद्को कानुन,

प्रधानमन्त्री प्रचण्ड आज हेटौँडा जाँदै

काठमाडौँं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार हेटौँडा जाने भएका छन्।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको