सेनाको जागिर छाडेर नेपालकै पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री | Khabarhub Khabarhub

सेनाको जागिर छाडेर नेपालकै पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री

खेलाडीपछि रेफ्री र समाजसेवी अशोक खड्काको कथा


१३ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निरन्तरको संघर्ष र लगावले मानिसलाई आफ्नो लक्ष्यसम्म पुर्‍याउँछ। जसरी भारतीय अभिनेता बबन इरानीले आफ्नो कलाकारिता यात्रा ४५ वर्षमा सुरु गरेका थिए । त्यसैगरी एसियाकै पहिलो तेक्वान्दो अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काको पनि करिअर रोचक छ ।

तेक्वान्दोमा लगाव सानै देखिनै थियो । खड्काले १२ वर्षको उमेरमा प्रशिक्षक बनेर अर्को नौलो कीर्तिमान बनाए । सानै उमेरमा खेलप्रतिको रुचिले उनलाई यो सफलता दिलाएको हो । परिवारको कहरले उनले नेपाली सेनामा जागिर खाए । तर तेक्वान्दोको हुँटहुँटीले उनलाई छोडेन । सेनामा नाम र पद दुवै पाइरहेका थिए । तर मन अशान्त थियो । त्यसैले उनले आफ्नो लागि नै बनेको पेशा तेक्वान्दोमा फर्कने निर्णय गरे । अनि सेनाको सहायक सेनानीको जागिर छोडे ।

‘आज म जहाँ आइपुगेको छु । त्यो सबै परिवारको साथ र सहयोगले गर्दा नै हो,’ उनी भन्छन्, ‘खेलप्रतिको मोहले जागिर त्यागेँ । परिवारलाई समय दिन नसके पनि परिवारबाट कुनै गुनासो सुन्नु र भोग्नु नपरेकोमा उनी खुसी छन्।

उनी सँगैको साथी विकास मल्ल सेनाका मेजर भइसकेका छन् । खड्का भन्छन्, ‘सेनाको जागिर छाडेर पछुतो छैन । तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल भएको छु । यसैमा गर्व गर्नुपर्छ । यो सफलतामा परिवारको साथ‚ सहयोग र हौसलालाई बिर्सनु हुँदैन ।’

खड्का कागेश्वरी मनोहरा नगरपालिका आलापोट २ मा मध्यम परिवारमा जन्मिएका हुन् । उनी घरको सन्तान मध्येको कान्छो सन्तान हुन् । कान्छो भएर सबैको माया पनि पाए । पहिले देखिनै कान्छो सन्तान भएर पुलपुलिएको भएर सेनाको जागिर छोडेको हो ? उनको जवाफ छ, ‘होइन, मेरो तेक्वान्दोको लगावले हो ।

जून आत्मसन्तुष्टि मैँले अहिले महसुस गरिरहेको छु । त्यो सेनामा हुँदा कुनै पनि दिन पाउन सकिनँ । परिवारका पाँच सदस्यमध्ये बुवा र दाइ ठेकेदारी काम गर्नुहुन्छ । आमा घरायसी काममा व्यस्त रहनुहुन्छ । एउटा दिदी घरबारे हुनुहुन्छ ।’

सानैमा एकदिन आमाको हात समाएर हिँड्दै गर्दा सेतो लुगा लगाएर हिँडेका बच्चा देखेर उनमा उत्सुकता जाग्यो । अनि यो खेलप्रतिको पाइला सुरु भयो । यो उत्सुकता र सेतो लुगाको आकर्षणले तेक्वान्दोमा रुचि जगायो । र म पनि यही लुगा लगाएर खेल्न जान्छु भन्ने ऊ बेलाको सोचले आमालाई लुगा किनिदिन लगाएको र आमाले तेक्वान्दो कक्षामा पठाउनु भएको खड्का सम्झिन्छन् ।

उनको तेक्वान्दोमा लगाव यति धेरै थियो कि खेल्दा जहिले पनि डबल प्रमोसन पाउँथे । अनि थुप्रै मेडल पनि जितिसकेका छन् । त्यही रुचि, लगाव र मेहनतले खरिएका खड्का तेक्वान्दोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित समेत छन् ।

२०५० सालपछिको खेल यात्रा

२०५० सालदेखि तेक्वान्दोमा सर्मपित खड्काले अहिले पनि यसैलाई निरन्तरता दिँदै आएका छन् । राष्ट्रिय टिममा छनोट भएपछि पढाइ छाड्नुपर्‍यो । उनी भन्छन्, ‘मलाई पढाइले भन्दा पनि खेलले नै अगाडि बढायो, मेरो बाल्यकालदेखिको सपना पुरा भएको छ । तर बितेका २८ वर्षका उतारचढाव भने निक्कै धेरै छन् ।’

कहिले पैसा भएन । आफ्नो मोटरसाइकल बेचेरै समस्या टार्नुपर्‍यो । जीवन नै खेलमा जोडिएकाले मोटरसाइकल ठूलो विषय नै बनेन । बाधा अवरोध हटाउँदै र टार्दै अगाडि बढेकै कारण अहिले प्रगतिका पाइला र चिन्हहरू घरमा अटाइ–नअटाइ छन् । तेक्वान्दोका छैटौं डन ब्ल्याक बेल्ट रहेका उनले सन् २०१३ मा कोरियाबाट अन्तराष्ट्रिय प्रशिक्षकको कोर्स गरेका हुन्। उनले विश्वको ३४ वटा भन्दा बढी देशहरूमा खेल खेलिसकेका छन् ।

जब सफलता हात पार्न चुकिन्छ…

श्रीलंकामा भएको १० औँ दक्षिण एसियाली खेलकुदमा छनोट भए पनि सागमा खेल्न नपाउँदा मन सारै रोएको खड्का अहिले पनि सम्झिन्छन् । प्रशिक्षणका क्रममा उनको खुट्टा भाँच्चिएको थियो । त्यस समयमा उनी डिप्रेशनमा समेत पुगेका थिए। त्यस बेला उनी २३ वर्षको थिए। २३ वर्षकै उमेरमा खुटटाको शल्यक्रिया १४ पटक भैसकेको थियो । उपचारमा झैझमेला खेप्नुपरेको थियो ।

सरकारबाट पनि कुनै सहयोग नपाउँदा उपचारमा कठिनाइ भयो । तर विभिन्न दबाबपछि उपचार समिति गठन भयो र उनको उपचार गरिएको हो । १३ महिनासम्म अस्पतालको बेडमा सुत्नु पर्दाको पीडा उनको बिर्सन नसक्ने क्षण बनेको छ । उनको खेलप्रतिको मोहले गर्दा अस्पतालमा रहँदा पनि विभिन्न माध्यमबाट प्रशिक्षार्थीहरूलाई प्रशिक्षण गराइराखेका थिए ।

तीन वटा विधा (गेरोगी, पुम्से र पारा)मा खल्ने उनी अस्पतालको बसाइपछि गेरोगी विधा खेल्न नसक्ने भए। फाइट गर्न नसक्ने भएपछि पुम्से (प्रदर्शन)मा मात्रै भाग लिन थाले। अस्पतालपछिको पहिलो खेल धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुद रहेको थियो ।

त्यस खेलको पुम्से विधामा स्वर्ण पदक जिते । त्यसपछि उनले कोरियन एम्बासेडर कपमा रजत पदक, अस्ट्रेलियन गोल्ड कोस्ट ओपन थाइल्यान्डमा भएको च्याम्पियनसिपमा तेस्रो हिरोज, कोरियामा भएको आठौँ विश्व एक्सपोमा स्वर्ण पदक प्राप्त गरे ।

लखनउमा भएको खेलमा खेल्दै जाँदा आफूले आठ शुन्यले हराइरहेको बेला फेरि त्यही ठाउँमा लागेर खुटटा भँचियो । तर पनि आफ्नो खुटटा घिर्सादै खेलिनै रहे पछि सफलता हासिल भयो । उपचार पछि भयो । उनको त्यो खेल धेरै नै उत्कृष्ट रहयो ।

खेलाडीपछि अन्तर्राष्ट्रिय रेफ्री बन्दाको संघर्ष

सन् २०१८ मा मुम्बाईमा उनले गेरोगी र पुम्सेका परीक्षा एकैपटक पास गरे । यो नेपालका लागि गौरवको कुरा थियो । यी दुईवटै विधामा पास गर्ने एक्लो पहिलो तेक्वान्दो निर्णायक नेपालीले पाएको थियो ।

साथै त्यही पुम्से विधामा उनी उत्कृष्ट निर्णायक पनि घोषित भए । सन् २०१८ मा अष्ट्रेलियामा पारा कोर्स गरेर अन्र्तराष्टिय निर्णायक बन्न योग्य भए ।

तेक्वान्दोसँगै व्यवस्थापनको जिम्मेवारी

काठमाडौंको डाँचीमा नेप्लिज तेक्वान्दो एकेडेमीको सञ्चालन गर्दै प्रशिक्षक र निर्णायको भूमिका निर्वाह गर्दै आएका खड्काको काँधमा अर्को जिम्मेवारी थपिएको छ । खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् । उनी प्रशिक्षक र निर्णायकका रूपमा बढी व्यस्त छन्।

वेल्जियन कपको उत्कृष्ट रेफ्री

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टायरलेस हिरोज वेल्जियन कप २०२० मा उत्कृष्ट निर्णायक घोषित भएका थिए । वेल्जियम तेक्वान्दो महासंघको आयोजनामा भएको प्रतियोगितामा खड्का उत्कृष्ट चुनिएका हुन् ।

प्रतियोगितामा विभिन्न राष्ट्रका १० निर्णायक सहभागी थिए । भर्चुअल प्रतियोगितामा पुम्से र हाइ स्पिड किकमा प्रतिस्पर्धामा भएकोमा खड्काले दुवैमा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

जब अर्को लाइसेन्स हातमा पर्‍यो…

तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नति हुन करिब तीन वर्ष लागेको उनी बताउँछन् । तेक्वान्दोको र्याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाई प्राप्त गरेको अंकका आधारमा अशोक एक तह माथि उक्लेका थिए ।

तेश्रोबाट दोश्रोमा उक्लिन कम्तीमा ८ अंक आवश्यक पर्दछ । करिब ३ वर्षको अवधिमा अशोकले ७ प्रतियोगिता र ३ रिफ्रेसर कोर्स (एक अनलाइनसहित)मा सहभागिता जनाएर १० अंक प्राप्त गरे।

तेक्वान्दोमा योगदान

अशोक खड्काले तेक्वान्दोलाई नै आफ्नो कर्म बनाएका छन्। उनले यौन हिंसामा परेका नानीहरूलाई ४ वर्ष निःशुल्क तेक्वान्दो सिकाएका छन् । काठमाडाँैको डाछिँमा तेक्वान्दो कै पहिलो एकेडेमी खोलेर त्यहाँबाट राम्रा खेलाडी निस्केका छन् भने सञ्जु शाही र अस्मिता नगरकोटि जस्ता थुप्रै खेलाडीहरूले देश बाहिर स्वर्ण जित्न सफल भइसकेका छन् ।

खड्काले मुलपानीको डोजाङबाट एसियन गेम खेल्ने खेलाडी पनि उत्पादन गरेका छन् । उनी भन्छन्, ‘तेक्वान्दो सिक्छु भन्नेको लागि म जहिले पनि मन, तन, धन लगाएर सहयोग गर्नेछु ।’ उनले हाल ३ वटा स्कुल, ३ वटा अनाथ आश्रम, रक्षा नेपाल तथा विभिन्न आर्मी सैनिकहरूलाई पनि सिकाउँदै आएका छन्।

सामाजिक कार्य

खड्का सामाजिक संघ संस्थामा पनि आवद्ध छन् । उनले युएस वेष्ट कोष्ट तेक्वान्दो सघं, पोर्टल्यान्ड अमेरिकाको तत्वाधान तथा दान अमेरिकन तेक्वान्दो युनियन पोर्टल्यान्डको आयोजनाबाट संकलित रकम कोरोना भाइरसबाट अति प्रभावित ठाउँमा सहयोग गर्ने, विभिन्न अनाथालयमा रहेका खेलाडिलाई सहयोग गर्ने र आफूले पाएको पारिश्रमिकबाट पनि कटाएर अति दुख पाएकालाई सहयोग गर्दै आएका छन् ।

साथै उनले मानिसलाई मात्र नभएर कोरोनाको महामारीमा पशुपतिको बाँदर, गाईवस्तुलाई पनि खाना दिएका थिए। यसअघि भूकम्प गएको बेलामा पनि उनले राहत वितरण गरेका थिए ।

नयाँ योजना र उद्धेश्य

सानोमा आफूले खेल्दा दुःख थियो । दुःख र अभावबीच निरन्तरको प्रयासले सफताका सिँढी चढ्न सफल उनले तेक्वान्दो सिक्छु भनेर इच्छा राख्ने जो कसैलाई सहयोग गर्ने बताउँछन्। कसैले पनि अभावमा खेल्न नपरोस् भन्ने उद्देश्यले तेक्वान्दो होष्टेलको व्यवस्था गर्ने उनको अबको योजना र उद्देश्य रहेको छ ।

ओलम्पिकमा आफूले खेल्न नपाए पनि त्यहाँ निर्णायक भएर खेलाउने इच्छा रहेको र सरकारले पनि यस खेललाई अरु खेललाई जस्तै ध्यान दिएर सहयोग गरेमा नेपालका थुप्रै खेलाडीहरूले नेपाललाई विश्वमा चिनाउन सक्ने उनको विश्वास छ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ११ : ३७ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले