‘मलाई सम्मान र पुरस्कारको लोभ छैन’ « Khabarhub

‘मलाई सम्मान र पुरस्कारको लोभ छैन’


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नेपाली भाषा, कला र संस्कृतिको सम्वर्द्धन र संरक्षणका लागि कवि, गीतकार तथा नाट्यकर्मी पुरु लम्सालले आफ्ना सिर्जनामार्फत् योगदान पुर्याउदै आएका छन्। उनी आफ्ना कृतिमार्फत् समाजमा लुकेका तर वास्तविक विषयवस्तुलाई समेटेर सकारात्मक रुपान्तरणका लागि कलम चलाइरहेका छन्। हालसम्म लम्सालका तीन दर्जन भन्दा बढी गीत रेकर्ड भएका छन्। उनका नाटक संग्रहमा ठूलीका सपनाहरू, अर्को ओरालो, देश हराएका मान्छेहरू, पानीघट्ट, नौगेडी, देउकाशी र मनझाँक्री प्रकाशित भइसकेका छन्। यस्तै गजल संग्रहमा आधा जलेको खप्पर प्रकाशित छ। २०७३ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत भएका कवि पुरु लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंशः

कला क्षेत्रमा नाटक वा संगीत अथवा लेखनको माध्यमबाट तपाईंले दिनुभएको योगदानबाट उपलब्धि के पाए जस्तो लाग्छ ?
के पाए भनेर प्रश्न गर्ने हो भने मैले धेरै कुरा पाएकी छु। आज मलाइ पुरु लम्साल भनेर मेरो देशका जति पनि आदरणीय दर्शक स्रोताले हुनुहुन्छ। उहाँहरुले मलाई मेरा सिर्जनामार्फत चिन्नु भएको हो। मेरो नाटकले चिन्नु भएको हो। मेरो गीतले चिन्नु भएको हो। मेरो गजलले चिन्नु भएको हो। मैले धेरै भन्दा धेरै भगवान रुपी आदरणीय स्रोता पाएको छु। त्यो नै मेरो सबै भन्दा ठूलो उपलब्धि हो।

पछिल्लो समय के काममा व्यस्त हुनुन्छ ?
अहिले म सांगीतिक कामहरु नै गर्दै आएको छु। केही गीतहरु रेकर्ड भइरहेका छन्। यो सँगसँगै केही नाटकका कामरु गर्दै छु। किताबको तयारीमा छु। ‘पैया’ भन्ने नाटक सार्वजानिक गर्ने अन्तिम चरणमा पुगेको छु। त्यस्तै डकुमेन्ट्रीका कामहरु पनि गर्दैछु।

यी सबै विधाको लागि समय कसरी मिलाउनु हुन्छ ?
मान्छेहरुको काम गर्ने इच्छा शक्ति भयो भने काम गर्न सकिन्छ। मैले फरकफरक क्षेत्रमा काम गरिरहेको छैन। मैले कलाको क्षेत्रमा काम गरिरहेको छु। मैले साहित्यको क्षेत्रमा काम गरिरहेको छु। मैले गीतको क्षेत्रमा काम गरिरहेको छु। भाषा, साहित्य, संगीत र संस्कृति अत्यन्तै ठूलो समुन्द्र हो। म त्यही समुन्द्रमा छु, यतिबेला। क्षेत्रगत हिसाबले फिजारिएको होइन। यी सबै एउटा मूल खम्बा हो। यही भित्र रहेर मैले जानेको र सकेको काम गर्दै छु।

तुुलनात्मक हिसाबमा नेपालमा कला, संगीत र साहित्यको विकास भए पनि त्यसको सम्मान, महत्त्व र प्रोत्साहन नभएको गुनासो सर्जकले गरिरहन्छन्, यसलाई तपाईं कसरी लिनुहुन्छ ?

यसलाई कसरी लिने भन्ने कुरामा फरक पर्छ। विकास कुन कुरालाई लिने भन्ने पनि आउँछ। टिकाउका हिसाबले जहाँ बाच्न सक्ने आधारहरु तयार छन् कि छैनन् भन्ने किसिमले कुरा गर्ने हो भने त्यो एउटा पाटो रहन्छ भने लेखन अथवा सिर्जनाका हिसाबले त्यहा अन्तर्राष्ट्रिय स्तरका सिर्जना बनेका छन् कि छैनन् भन्ने कुरामा पनि बहस गर्न सकिन्छ।

कति समय किन सिर्जना विवादित हुन्छन् ?
मान्छेले कहिँ पढेका कुरा उनीहरुको मष्तिष्कमा यसरी छाप परिरहेको हुन्छन्। जुन कहिलेकाही अन्जान रुपमै मिलिरहेको हुनाले पनि विवादित हुने गरेका छन् भने कुनै नियतवस नै मिलाइरहेका हुन्छन्। अलिकति प्रचार प्रसार हुन्छ अथवा विवादास्पद कुराहरुमा परेर हिट हुन चाहने मान्छेहरुले सिर्जना खोज्दैन। उनीहरुले अरुको नक्कल गरेर त्यसैबाट कोही आफूलाई स्थापित गराउन खोज्छन्। कोही म आफ्नै सिर्जना गरेर परिचित हुन चाहन्छु भन्ने हुन्छ। कुनै बेला अन्जानवस मिल्न जाने कुरा एउटा भयो। तर, कसैले नियतवस नै फलानोको चार लाइन गीत सारेर चर्चामा आउने मनसाय हुन्छन् होला।

पछिल्लो समय अरुको सिर्जनालाई आफ्नो भनेर प्रचार प्रसार गर्दै हिँडेको गतिविधिहरु पनि देखिरहेका छौँ, कलाक्षेत्रमा अन्य यस्ता धेरै नकारात्मक घटनाहरु देखिरहदा यसलाई किन रोक्न सकिरहेका हुँदैनौँ ?
हामीसँग त्यति धेरै बलियो नीति छैन। प्रतिलिपि अधिकार भन्ने पाटो तिर हामी सर्जकहरु त्यति धेरै चासो पनि राख्दैनौ। विदेशतिर प्रतिलिपि अधिकारको जति सहज अवस्था छ। नेपालमा खासै छैन। त्यसैले मुद्दा मामिलामा फस्नु भन्दा मान्छेलाई प्रत्यक्ष रुपमा भेटेर कसरी सम्झौता गरेर कुन बिन्दुमा पुगेर सहमति गर्न सकिन्छ भन्नेतिर लाग्छौँ। त्यस्ता विषयवस्तुले पनि संस्कार मौलाउन सक्ने सम्भावना अथवा एउटा दुर्घटना गर्न सक्ने सम्भावना हुनसक्छ। यस्ता कुराबाट हामी जस्ता युवा पुस्ता अलि सचेत हुन जरुरी छ। किनभने हामी अत्यन्तै पौराणिक व्यक्तित्वका गीत, साहित्य र सिर्जना सुनेर हुर्किएका हौं। त्यसैले यस्ता कुरामा हामी धेरै संवेदनशील हुनु जरुरी छ।

अन्य धेरै रचनामध्ये ‘एउटा वर्जित कवि’ अत्यन्तै रुचाइएको र विवादास्पद हुन पुगेको पनि थियो, यो रचना के कुराबाट प्रभावित छ ?
अहिले देश संघीयतामा गयो। हरेक प्रदेशको राजधानी छ। यो भन्दा अगाडि चाहिँ काठमाडौं भन्दा बाहिर बस्नु हुने साथीले राजधानी र मोफसल भन्ने एउटा भाषा प्रयोग गर्नुहुन्थ्यो। साहित्यिक कार्यक्रमको शिलशिलामा झन्डै ६० वटा जिल्ला घुमेको छु। त्यति बेला धेरै साथीहरुको मूल धारको साहित्यसँग त्यसैगरी मूलधारको संचारसँग सहज पहुँच थिएन। अहिले जस्तो त्यति धेरै सामाजिक संजाल पनि थिएनन्। र, साहित्यिक सिर्जना गरिरहने मान्छेको त्यो खालको पहुँच त थिएन नै। काठमाडौंमा बस्नु हुने सर्जकमध्ये पनि केहि सीमित मान्छेको मात्रै मूल धारका संचारसँग राम्रो सम्बन्ध भएकै कारण कसैको हरेक दिन गीत बज्थ्यो। हरेक हप्ता अन्तर्वार्ता हुन्थ्यो। कहिले हरेक महिना समाचार छापिन्थ्यो। तर, जुम्लामा बसेर पनि त्यतिकै स्तरीय लेखन गर्ने सर्जकलाई त्यस्तो अवसर थिएन भन्न खोजेको काठमाडौँ बाहिरलाई अहिले पनि यहाँका मूल धारका भनिने संचारमाध्यम र प्रकाशनले त्यति स्थान दिदैनन्। यिनै कुराहरुबाट प्रभावित छ ‘एउटा वर्जित कवि’।

समसामयिक विषयवस्तुलाई समेटिएर रचिएको यो कविता किन विवादित हुन पुग्यो जस्तो लाग्छ ?
यसमा वास्तविकता छ। म भन्छु नेपालमा सर्जक चार किसिमका छन्। एउटा सर्जक छन्। समालोचकले ओहो ! एकदम स्तरीय लेख्यो उत्पातै राम्रो लेख्यो भनेर बोकिदिएको सर्जकहरु– चाहे त्यो गीतको सवालमा होस्, चाहे त्यो कविताका सवालमा होस्, चाहे त्यो संगीत सिर्जनाका सवालमा होस्। चाहे त्यो गायन, गजल लेखक वा अन्य धेरै कला सम्बन्धीका कुरामा होस् आफू भन्दा अग्रज अथवा समीक्षक समालोचकले ओ हो गज्जब लेख्यो भनेर वा वा गरेर बनाइदिएका सर्जकहरु छन्। दोस्रो किसिमका सर्जक संचार माध्यमले बनाइदिएका छन्। कोही आफैले फोन गरेर त्यो गीत बजाउन लगाएर आग्रह गर्ने सर्जकहरु पनि छन्। तेस्रो सर्जक अखबारले बनाइदिएका छन्। आजको अंकमा जसको कविता प्रकाशित भएको हुन्छ। अर्को अंकमा पनि उसैको बारेमा लेखिएको देख्छौ। एउटा किसिमको सर्जक छ, जो लेखिरहन्छ जसलाई प्रचारको भोक पनि हुँदैन। उसलाई यति मात्र थाहा छ। सिर्जना गर्ने काम उसको धर्म हो। यो मैले लेखेको कविता यहि चौथो सर्जकहरुमाथि केन्द्रित रहेर लेखिएको कविता थियो। अन्य अरु स्थानमा पर्ने व्यक्तिहरुले विवाद गर्ने नै भए।

यो भनिरहदा तपाईं कुन स्थानको सर्जकमा पर्नु हुन्छ ?
म त्यति हल्ला गर्न रुचाउदिन। म आफ्नै गतिमा चुप लागेर लेखिरहन्छु। मलाई कहिले काही हल्ला गर्नुपर्छ कि जस्तो पनि लाग्छ अनि म यसो सम्झिन्छु केका लागि ? मेरो रचना जसले पढ्नुपर्ने हो त्यो मान्छेसम्म पुगे हुन्छ। जसले सुन्नुपर्ने त्यहाँ पुग्नुपर्छ। मलाई कुनै पुरस्कारको लोभ छैन। मलाई कुनै सम्मानको लोभ छैन र कुनै प्रमाण पत्रको खोस्टा बोक्नु छैन भने मैले केका लागि लेखिरहेको छु भने मेरा रचनालाई जो मान्छेलाई प्रभाव पार्नुपर्ने हो ती मान्छेसम्म पुगे भयो। मलाई कुनै ‘बिग हाउस’का सम्पादकलाई रिझाउनु छैन। म सीमान्तकृत समुदायका कुरा लेख्छु। तिनीहरुकै पक्षमा बोल्छु। मेरा कविताहरु तिनीहरुप्रति नै समर्पित हुन्छन्। त्यसकारण जँहा पुग्नु पर्ने हो त्यहा पुर्याउछु। आफ्नै किसिमिले काम गरिरहेको हुन्छु। मलाई प्रचार प्रसार पनि गर्नु छैन। मलाई त्यो अनावश्यक नाटक देखाउनु पनि छैन। अझै पनि भन्छु मेरा धेरै गीत रेकर्ड भएका छन्। मेरो औभाग्य हो मेरो शब्दमा रहेको गीत संयोगले प्रेमध्वज जस्तो गायकले अन्तिम पटक गाएर देहावसान हुनुभयो। मेरो लागि त्यो अत्यन्तै ठूलो उपलब्धि हो। तर, मैले कुनै पत्रिकासँग अन्तर्वार्ता गरिन र कुनै रेडियोमा गएर अन्तर्वार्ता दिएर प्रचार गरिन।

मैले भन्न खोजेको मेरो काम हल्ला गर्ने होइन। मेरो काम सिर्जना गर्ने हो। र, त्यो सिर्जनाको प्रतिफल तुरुन्तै भेटिने चिज होइन। तपाईंले अहिले सिर्जना गरेर अहिले नै प्रतिफल खोज्न थाल्नुभयो भने आज लक्ष्मीप्रसाद देवकोटा बाच्दैन थिए। राष्ट्रकवि माधव घिमिरे बाँच्ने थिएनन्। हिजोको लागि मात्र सम्झेर गर्नु भएको थियो भने बालकृष्ण सम रहनु हुँदैनथ्यो। हामी आज किन अग्रजलाई सम्झिछौ भने हिजो उहाँहरुले गर्नु भएको सिर्जना आज हामीमाझ बाँचिरहेको छ। हामीले बाच्नु पर्ने आजको पुस्ताको लागि होइन भोलिको पुस्ताको लागि हो।

कविता ‘प्रेमिका र देश’ के कुराबाट प्रेरित भएर लेख्नु भयो ?
हरेक सिर्जनामा सर्जकले बाचेको परिवेश हुन्छ। यो मेरो दाबा त होइन। तर, मान्यता हो र मलाई विश्वास पनि छ। यो कुरा धेरै सर्जकमा लागुहुन्छ। म यहाँ बसेर चन्द्रमाका कुरा लेख्न सक्दिन। किनभने त्यो कल्पनाका कुरा हो अथवा म यँहा बसेर अमेरिकाका कुरा लेख्न सक्दिन। हुन त अहिले प्रविधिको जमाना छ। जसले गर्दा केहि हदसम्म लेख्न सकिएला तर महसुस गर्न सकिँदैन। ‘प्रेमिका र देश’ मैले धेरै ठाउँमा वाचन गरे। तर यो लेखनको पृष्ठभूमि कतै खुलाएको छैन। यो कविता मैले २०७० सालमा लेखेको कविता हो।

मेरो एउटा साथी फ्रान्सबाट नेपाल आउनुभयो। नेपालमा सामूहिक खेतीबारे रिसर्च गर्न आउनुभयो। उहाँलाई मैले सक्ने सहयोग गरेँ। उहाँलाई मसँग भेट्नु अघि केही घटनाक्रमहरु घटेका थिए। जुन घटनाक्रमले उहाँलाई आम नेपाली मान्छेहरु प्रती एउटा दृष्टिकोण बनेका थिए। मलाई भेटेपछि ती दृष्टिकोणका सीमाहरु सबै भत्किए। र, उहाँले मलाई यदि तिमी चाहन्छौ भने म तिमीलाई मेरो देशमा लिएर जानसक्छु भन्ने प्रस्ताव राख्नुभयो। मैले भने तिम्रो प्रस्तावको लागि धन्यवाद। तर, म यो देश छोडेर जान सक्दिन। किनभने म तिमीलाई भन्दा बढी यो देशलाइ माया गर्छु। उहाँलाई मैले दिएको जवाफ यही थियो। त्यतिबेला लेखेको कविता हो यो। यो कविता अंग्रेजी र फ्रेन्चमा पनि अनुवाद गरिएका छन् र अब बंगालीमा पनि हुँदैछ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ५२ बजे

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट

काठमाडौँ – विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको

वीरगञ्जका सबै विद्यालयमा सूचना अधिकारी तोक्न महानगरको निर्देशन

वीरगञ्ज-  वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा

भ्रष्टाचारको प्रभाव कम्युनिस्ट आन्दोलनमा देखा पर्दैछ : माधवकुमार नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान

अमेरिकाको फ्लोरिडामा शक्तिशाली आँधी, जनजीवन कष्टकर

काठमाडौँ – अमेरिकाको फ्लोरिडामा शक्तिशाली तुफानसहितको समुद्री इयान आँधीका कारण

कपुरकोट जिप दुर्घटनामा ज्यान गुमाउनको संख्या नौ पुग्यो

सल्यान – सल्यानको कपुरकोटमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या