काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः
१. जबराविरुद्धको प्रमाणहरू ३ दिन भित्र उपलब्ध गराउ निर्देशन
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छानविन गर्न बनेको संसद्को महाअभियोग सिफारिस समितिले राणाविरूद्धका आरोपका प्रमाणहरू तीन दिन भित्र पेश गर्न निर्देशन दिएको छ ।
समितिको सचिवालयले आज सार्वजनिक सूचना जारी गरि तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सरोकारवाला व्यक्ति र निकायलाई आग्रह गरेको हो ।
समितिको ८ भदौको बैठकले महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा सरोकारवालासँग प्रमाण, कागजात माग गर्ने निर्णय गरेको थियो ।
२. अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड
गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका छन् ।
जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’ मा मन्त्री खाणले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने जोड दिएका हुन् ।
सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको र यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गृहमन्त्री खाणले जानकारी दिए ।
३. राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने प्रचण्डको विश्वास
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।
सुनसरीको धरान जाने क्रममा विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरेका हुन् ।
राष्ट्रपतिले सुरक्षाकर्मीसँग पनि भेटेको र राजीनामा दिने चर्चा पनि चलेको सन्दर्भमा बोल्दै उनले त्यो अस्वभाविक रहेको बताए ।
४. निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौंमा आज भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै नेता सिहंले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन निष्पक्ष र धाँदलीरहीत हुनुपर्नेमा जोड दिए ।
उनले अहिले कांग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँधलीरहित निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताएका हुन् ।
५. कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु
नेपाली कांग्रेसले आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु हुँदैछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचारप्रसारका लागि कांग्रेसले देशव्यापी रुपमा संगठन सुदृढीकरण र प्रचार प्रसार अभियान सञ्चालन गर्न लागेको हो ।
अभियानका लागि कांग्रेसले केन्द्रीय समितिबाट ७७ वटै जिल्लामा प्रतिनिधिहरू खटाएको छ । नेताहरू अभियानका गतिविधि गर्न जिल्ला-जिल्लामा पठाइसकेको छ ।
सो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउने छन् ।
६. एमालेको केन्द्रीय कमिटी बैठक सुरु
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठक आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा केन्द्रित रहने जनाइएको छ ।
आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरूको सपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड ,लगायत ११ एजेण्डा रहेका छन् ।
समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने कार्यसूची रहेको प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
७. काठमाडौंका सबै वडामा भूमिगत पार्किङको अनुगमन हुने
काठमाडौं महानगरपालिकाले सबै वडा कार्यालयहरूलाई भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरूको अनुगमन गर्ने निर्देशन दिएको छ । वडा कार्यालयहरूले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानगरले योजना बनाएको हो ।
अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न पनि महानगरका मेयर बालेन साहले वडाध्यक्षहरूलाई आग्रह गरेका छन् ।
८. व्यापारी आफैँले हटाउन थाले पार्किङबाट पसल
काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरू हटाउन थालेपछि ठूला व्यापारिक भवनहरूले आफैं पार्किङ खाली गर्न थालेका छन् । बानेश्वरमा यूएफओ ब्रान्डको पसल चलिरहेको व्यवसायिक भवनको पार्किङ क्षेत्र खाली गर्न थालिएको छ ।
महानगरले ताकेता गरेपछि व्यवसायी र घरधनीले स्वतःस्फुर्त रुपमा पार्किङ खाली गर्न थालेका हुन् ।
९. नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ५७ जना अतिवादी मारिए
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सेनाको कारबाहीमा ५७ जना अतिवादी हतियारधारी मारिएका छन् । गएको दुई हप्तायता सो क्षेत्रमा यहाँको सेनाले जारी राखेको कारबाहीका क्रममा ५७ जना हतियारधारी मारिएका समाचारमा जनाइएको छ ।
नाइजेरियाको सेनाका प्रवक्ता मुसा दनमादानीले सो कुराको जानकारी दिएका हुन् । नाइजेरियाका दुई उत्तरपूर्वी प्रान्त बोर्नाे र योबेमा सो कारबाही गरिएको थियो ।
१०. नेपाल र केन्याबीचको दोस्रो खेल आज
पाचौं टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली केन्याबीचको दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज आज हुने भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्याको सामना गर्ने भएको हो ।
खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
प्रतिक्रिया