कुर्था–जयनगर रेल सेवा : सिट क्षमता कम, यात्रुको चाप उच्च | Khabarhub Khabarhub

कुर्था–जयनगर रेल सेवा : सिट क्षमता कम, यात्रुको चाप उच्च


१० भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन । दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् ।

 झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । दुई रेल भए पनि नियमितरूपमा एउटा मात्रै सञ्चालन गर्न सकिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । उनका अनुसार नियमित मर्मतका लागि र एउटा रेल बिग्रँदा अर्कोले सहायता गर्नुपर्दा एउटा मात्रै नियमित सञ्चालन हुँदै आएको छ । यहाँ बसलगायतका सवारीसाधन नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति नै आकर्षित रहेका छन् । उनले भने, ‘अबका महिनामा यात्रु अझै बढ्ने भए पनि रेलको क्षमता नै कम छ ।’

यो खण्डमा रेलको पूर्वाधार विसं २०७८ चैत १९ शुभारम्भ भएर त्यसको भोलिपल्टबाट नियमित सञ्चालन भएको थियो । ट्र्याक निर्माण सकिएको र रेल सेट खरिद गरेर पनि लामो समयसम्म त्यसै रहेकाले पनि तत्काल सञ्चालन गर्नु चुनौती रहेको प्रमुख झाले बताए । उनले भने, ‘झण्डै १० वर्षदेखि त्यहाँ रेल चल्न सकेको थिएन र नेपाल भारत सीमामा रेल त्यसै छोपेर राखिएको थियो ।’

रेल खरिद पहिले नै संरचनागत सुधार गर्नुपर्ने भए पनि त्यो नगरी हतारिएर खरिद भएको प्रमुख झाले बताए । ट्र्याक बनिसकेको र रेल खरिद भएकाले जनस्तरबाट दबाब रहेको र तत्काल सुरु गर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘जनशक्ति व्यवस्थापन, रेलको वास सेन्टर, फ्युल स्टेशन, वासिङ सेन्टर बनाउनुपर्नेलगायतका संरचना विकास गर्नुपर्ने थियो । तर संरचना नबन्दै रेल चलाउन थाल्नुपर्ने भयो ।’ 

आजसम्म पनि रेलका विभिन्न संरचना बन्न बाँकी छ । यसअघिको व्यवस्थापनबाट भारतको कोनकोन रेल्वे कर्पोरेशन लिमिटेडसँग करार सम्झौता भएको भए पनि रकम अभावका कारण खरिद हुन नसकेको प्रमुख झाले बताए । आवश्यक संरचना निर्माणका लागि प्रक्रिया सुरु गर्दा रेल चलाउन झण्डै चार/पाँच महिना ढिलाइ हुनसक्ने र रेल कहिले चल्छ भनी धेरैको उत्सुकता रहेको थियो । उनले भने, ‘त्यतिबेला रेल तत्काल चलाएर आवश्यक सुधार गर्ने सोच बनाइएको थियो ।’ 

अहिले धनुषा जिल्लामा पर्ने कुर्थाबाट ३४ दशमलव नौ किमी ट्याक सञ्चालनमा छ । बर्दिबासको बिजुलपुरासम्म १७ किमीमा ट्याक निर्माण सकिएर सञ्चालन गर्न हुने भएको छ । बिजुलपुराबाट बर्दिवाससम्म १८ किमीमा पनि रेलमार्ग निर्माण हुने र अबको केही वर्षपछि ७० किमी रेल चलाउनुपर्नेछ । उनले भने, ‘त्यहाँ आवश्यकता र मागका आधारमा रेल पनि सानो रहेको छ ।’

अहिले एउटा रेलमा उभिएर र बसेर गरी झण्डै ६५० जनासम्म अटाउँछन् । अहिले कम्पनीसँग दुई थान रेल सेट रहेको छ । दुवै रेल सातामा एकएक दिन गरी दुई दिन नियमित मर्मतका लागि पठाइन्छ । आइतबार एउटा र एउटा सोमबार पठाइने गरिन्छ । मर्मतको दिनमा रेल दिनभर ‘सर्भिस सेन्टर’ हुने र चलाउन नसकिने उनले बताए । उनले भने, ‘नियमितरुपमा दुई रेल चलाउन हामीसँग तीन वटा हुनुपर्छ ।’ 

रेल सञ्चालन गर्दा यात्रुबाहक रेलसँगै मालबाहक रेल आवश्यकपर्ने प्रमुख झाले बताए । अहिले एउटा रेल दुई पटक आउने र जाने गरेकामा टिकटबाट झण्डै सात करोड आम्दानी हुन्छ । तीन पटक चलाउँदा बढीमा रु १० करोडसम्म आम्दानी हुनसक्ने र मालबाहक चल्दा थप रकम आम्दानी हुनसक्ने उनले बताए । 

अहिले रेल सञ्चालनका प्राविधिक कामका लागि भारतीय जनशक्ति करारमा काममा लगाइएको छ । आगामी दिनमा नेपाली जनशक्तिलाई तालिम दिएर दक्ष बनाउँदा महँगो तिरेर अरु देशबाट ल्याउनु ल्याउनु नपर्ने उनले बताए । 

त्यस्तै आफ्नै फ्युलिङ सेन्टर बनाउँदा थप २८ प्रतिशत कर तिर्नु पर्दैन भने वर्कसप बनाउँदा वार्षिक १० करोड जोगिन्छ । वासिङ सेन्टर झण्डै एक करोड जोगिन्छ । सरकारले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्नुपर्ने उनले बताए । उनले भने , ‘त्यसका लागि हामीले रेल विभागमार्फत मन्त्रालयमा लिखित माग गरिएको छ ।’ 

विसं २०७७ को फागुन ४ गते मन्त्रिपरिषद्ले भारतीय कम्पनीसँग सम्झौताअनुसार संरचनाका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा दिने निर्णय गरेको थियो । कम्पनीले अझैसम्म रकम नपाएको र अर्थ मन्त्रालय धाइरहेको उनले बताए  । अघिल्लो व्यवस्थापनले गरेको सम्झौताका लागि सरकारले रकम छुट्याएको थियो । उनले भने, ‘त्यही सम्झौताअनुसार नै पाउनुपर्ने  रकम पनि म आएपछि आएको छैन ।’

कुनै पनि संस्थालाई जुनसुकै काम गर्न सरकारले बीउ पुँजी दिने र संस्थालाई आफ्नो खुट्टामा हिँड्ने बनाउने प्रमुख झाले बताए । यात्रुको चाप धेरै भए पनि कम्पनीसँग किन्ने पैसा नभएको उनले बताए । दुई थान हुँदा एक थान मात्रै नियमितरुपमा चलाउन सकिएको हुँदा थप एक हुँदा नियमित दुई चलाउन सकिनेछ । थप एक थान यात्रुबाहक र एक थान मालबाहक रेल चाहिने कम्पनीले माग गर्दै आएको छ । उनले भने, ‘पैसा नभएपछि योजनाले मात्रै गर्न सकिँदैन । यति भए पनि नाफामा लैजान सकिन्छ ।’ 

रकम निकासको माग गर्दै अर्थ मन्त्रालयमा फेरि पनि फाइल पठाइएको कम्पनीले जनाएको छ । पैसा आएपछि वर्कसप बनाउन नसकिए पनि फ्युलिङ सेन्टर र वासिङ सेन्टर बनाइने उनले बताए । ती संरचना बनेपछि रु पाँच/सात करोड जोगिन्छ । नेपाली जनशक्ति नियुक्त गर्नका लागि सङ्गठन र व्यवस्थापन (ओएण्डएम) गर्न टिम बनाएको र त्यसको फाइल मन्त्रालयमा रहेको छ । मन्त्रालयबाट स्वीकृत भएपछि काम गरेर १५/२० दिनमै लोकसेवालाई दिइनेछ । उनले भने, ‘जनशक्तिलाई तालिम गरेपछि आफैँले गर्न सक्छ ।’ 

घाटा कम गर्न आवश्यक संरचना निर्माण गर्नुपर्ने, कर्मचारी नेपाली नियुक्त गरेर तालिम दिनुपर्ने र व्यवसाय योजना बनाउनुपर्ने उनले बताए । अहिले टिकटबाट उठाइएको पैसा नेपाली कामदार र पेट्रोलियम पदार्थलाई पुग्ने गरेको छ ।

विसं २०७० सम्म जयनगर–जनकपुर न्यारो गेजमा रेल सञ्चालन भएको थियो । न्यारो गेजलाई ब्रोड गेजमा स्तरोन्नति गर्न भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–वर्दिबास ७० किमी खण्डमा निर्माण सुरु भएको थियो । सो मध्ये आधा सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ३ : ३७ बजे

लेबनानमा इजरायली हवाई आक्रमण, हिजबुल्लाहका दुई सदस्यको मृत्यु

एजेन्सी – लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई

उपनिर्वाचन : संघीय लोकतान्त्रिक मोर्चाबाट रुपन्देही ३ मा नाउपाको दाबी

काठमाडौं- संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका