देखासिकीले सचेत बन्दै उपभोक्ता « Khabarhub

देखासिकीले सचेत बन्दै उपभोक्ता


१० आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ– केही वर्ष पहिलेसम्म व्यास-६ सिसाघाट निवासी ५६ वर्षीया देवका नागिलालाई दैनिक उपभोग्य खाद्यान्नको गुणस्तरबारे खासै चासो थिएन । जेठो छोरा राजनको निमन्त्रणामा चार महिना अष्ट्रेलिया बसेर आएपछि भने उनमा परिवर्तन देखिएको छ । नागिला जस्तै विदेशको देखासिकीले खानपान शैली बदल्ने अहिले गाउँघरमा अधिकांश भेटिने गरेका छन् । 

कुनै पनि खाद्यान्नको उत्पादन, म्याद समाप्त मिति हेर्ने र खुला स्थानको खाद्यान्न खाँदै नखाने बानी बसालेको नागिलाले बताइन् । ‘पहिले मलाई जे पनि खान पाए भइहाल्थ्यो भन्ने लाग्थ्यो’, उनले भनिन्, ‘परीक्षण गरेर मात्रै खानुपर्ने रहेछ भन्ने अष्ट्रेलियामा पुगेपछि देखियो । त्यसैले अचेल हत्तपत्ति बाहिरको खान्न भने पनि हुन्छ ।’

‘अष्ट्रेलियामा सडक किनाराको फलफूलसमेत कसैले नखाने रहेछन्’, नागिलाले भनिन्, ‘किन नखाएको भनेर छोरालाई सोधेको त जाँचेर खानयोग्य भए मात्र खाने चलन छ रे । तर हाम्रोमा हामीलाई खान पाए भयो । खराब खानेकुराले स्वास्थ्यमा ठूलो हानी गर्ने रहेछ भन्ने कुरा बुझियो ।’ नेपालमा तरकारी, फलफूल, मिठाई, खुला मसला जथाभावी राख्ने चलन भएकाले ती खानेकुरा खाँदा सचेत हुन नागिलाले सबैलाई आग्रह गरिन् ।

व्यास–२ दमौली निवासी ५१ वर्षीया कृष्णदेवी अधिकारीको दैनिकी पनि फेरिएको छ । खाद्यान्न पसलमा मसला किन्दै गर्दा भेटिएकी अधिकारीले प्याकेटमा अंकित उत्पादन र सकिने मिति हेरेर मात्र खाद्यान्न किन्ने गरेको बताइन्। ‘सडक पेटीमा खुला ठाउँमा राखेर धुलाम्य भएका खानेकुरा खान्न’, उनले भनिन्, ‘खानै परे प्याकेटमा राम्रोसँग लेबल हेरेर मात्रै खानेकुरा किन्ने गरेको छु ।’

केही वर्ष पहिले छोरा मिलनले बोलाएर अष्ट्रेलिया र छोरी सन्ध्याले बोलाएर अमेरिका घुमेर आएपछि खाद्यान्नमा सचेतना बढेको अधिकारीले बताइन् । ‘हामीहरू खानेकुरामा खासै ख्याल गर्दैनौँ’, उनले भनिन्, ‘जथाभावी खाएपछि शरीरमा असर धेरै हुन्छ भन्ने हेक्का गर्नुपर्ने रहेछ ।’ क्यान्सर जस्तो खतरनाक रोगको मुख्य कारण पनि जथाभावी विषादी हालेको खानेकुराले गर्दा हुने आफूले थाहा पाएको अधिकारीले बताइन् । तरकारी राम्रोसँग पानीमा पटकपटक धुने गरेर मात्र खाने गरेको उनले जानकारी दिइन् ।

पसलमा आउने ग्राहकले खुला राखिएको खाद्यान्नभन्दा प्याक गरिएको खाद्यान्न किन्नेक्रम बढ्दै गएको व्यापारीको भनाइ छ । उपभोक्ता अधिकारको सवालमा स्वयं बिक्रेता सचेत बन्दै गएपछि आफूहरुलेसमेत खुला खाद्यान्न बिक्री कम गर्दै गएको तनहुँ खुद्रा व्यवसायी संघका अध्यक्ष परमेश्वर गुप्ताले बताए । ‘ग्राहकले अचेल खुला किन्न छाडेर लेबल भएको सामान किन्ने गर्छन्’, सङ्घका अध्यक्ष गुप्ताले भने, ‘ग्राहकको रोजाइ नै लेबल भएको खाद्यान्नमा पर्न थालेपछि हामीले पनि खुला बिक्रीलाई कम गर्दै गएका छौँ ।’ खुला खाद्यान्नलाई आफूहरूले सिसाभित्र राखेर बिक्री गर्ने योजना बनाएको व्यास नगरपालिका-३ दमौलीस्थित गुप्ता किराना पसलका सञ्चालनसमेत रहेका उनले बताए । 

तनहुँको दमौली, दुलेगौँडा, डुम्रे, खैरेनीटार, भिमाद, आँबुखैरेनी जस्ता मुख्य बजारमा करिब ५०० खुद्रा पसल रहेको तनहुँ खुद्रा व्यवसायी संघले जनाएको छ । जिल्लाभरि खाद्यान्न र तरकारी गरी दैनिक करिब ३० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघले जनाएको छ ।

युरोपलगायत विदेशमा रहेका आफन्तलाई भेट्न जाँदा देखासिकीले उपभोक्ता सचेतना बढेको आफूले पाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख प्रशान्त पोखरेलले बताए । ‘प्रायः अनुगमनका क्रममा विदेशमा यस्तो हुने रहेछ भन्ने कुरा उपभोक्ताले भन्छन्’, पोखरेलले भने, ‘उपभोक्ता अधिकार गम्भीर विषय हो भन्ने हेक्का धेरैलाई हुँदै गएको छ ।’

तनहुँ, गोरखा, लमजङ, मनाङ र पूर्वी नवरपरासीमा गरिने अनुगमनका क्रममा आफूहरूले लेवलमा उत्पादन र सकिने मिति प्रष्टसँग देखिनेगरी उल्लेख भएका खाद्यान्न मात्र बिक्री गर्न बिक्रेतालाई भन्दै आएको कार्यालय प्रमुख पोखरेलले बताए । आफूहरूले मिठाई, मसलालगायतका दैनिक उपभोग्य सामग्री खुलारूपमा बिक्री नगर्न र बिक्री गर्नु परे सिसाभित्र राखेर मात्र बिक्री गर्न भनेको उनले जानकारी दिए । 

–पूर्ण विके रासस

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  २ : ४१ बजे

पाकिस्तानको ऋण र दायित्व एकै त्रैमासिकमा १२२ खर्ब रुपैयाँले बढ्यो

काठमाडौँ– पाकिस्तानको कूल ऋण एवम् वित्तीय दायित्व १२२ खर्ब पाकिस्तानी

बालिकाका लागि आत्मरक्षा तालिम

काठमाडौँ- महिला हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा बालिकाका

नवौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई सम्मान

काठमाडौँ- गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता

कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष

प्राधिकरणले सुदूरपश्चिममा विद्युत् आपूर्ति सुधार गर्न पूर्वाधार विस्तार गर्ने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत्