कैलाली – हिन्दू नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो घटस्थापनासँगै बडादसैँ सुरु भएको हो । दसैँ सुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ ।
देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रही आएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी मन्दिरका पूजारी देवदत्त भट्टले बताए । मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन वर्षौँ पहिलादेखि सुरु भएको र यसले सामाजिक सद्भावको विकास सहयोग पु¥याउने उनको विश्वास छ ।
जिल्लाका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, डिलाशैनी, मेलौली भगवती मन्दिरमा सामूहिक रुपमा जमरा राखिएको छ । महारुद्र, उदयदेव, सिगास, दोगडा, केदारलगायत मन्दिरमा सामूहिक रुपमा जमरा राखिएको छ । दसैँ सामाजिक सद्भावको पर्व भएकाले यो समयमा सामूहिक रुपमा मन्दिरमा जमरा राख्ने चलन रही आएको दशरथचन्द नगरापालिका–२ का स्थानीय रमेश बोहराल बताए ।
देवीदेवताका मन्दिर जमरा राखेर सामूहिक रुपमै पूजाआजा गर्ने चलन रही आएको बोहराले जानकारी दिनुभयो। घटस्थापनाका दिन राखिएको जमरालाई धेरै जसो ठाउँमा अष्टमीका दिन काट्ने चलन रही आएको छ ।
जमरा राखिएका मन्दिरमा रातमा जाग्राम बसेर पूजाआजा गर्ने चलन रही आएको छ । जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । दसैँको अवसरमा नवरात्रि उपसाना गरेर पूजाआजा गर्ने चलन रही आएको छ । दसैँका बेला शक्तिपीठहरुमा पूजाआजा गरेमा मनकामना पूर्ण हुने जनविश्वास रहेको छ । दसैँको समयमा सामूहिक रुपमा पूजापाठ गरिने भएकाले घर बाहिर भएका, बसाइसराइ गरेर गएका पनि फर्कने गरेका छन् । यसले गर्दा गाउँघरमा रमाइलो हुने गरेको छ ।
नेपालीको महान चाँड दसैँ सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवीदेवताका मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ । देशका अन्य भागमा दसैँमा खानपिन रमाइलो गर्ने चलन रहेको भए पनि सुदूरपश्चिमका जिल्लामा पूजापाठ गर्ने, जाग्राम बस्नेलगायत चलन रहेकाले यहाँका शक्तीपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।
सुदूरपश्चिममा दसैँको बेला खानपीन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिनुभयो । सुदूरपश्चिममा मनाइने दसैँ सात्विक हिसाबले मनाइने गरेको छ ।
उनले भने, ‘सुदूरपश्चिम क्षेत्र सत्यको भूमि भएकाले यो बेला शक्तिकी अधिष्ठात्री देवी भगवतीको सात्विक हिसाबले पूजन हुन्छ । मानसरोबर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमी भएकाले यो क्षेत्रका मनाइने चाडपर्व सात्विक हिसाबले मनाउने चलन रहेको छ ।’
नवरात्र सुरु भएसँगै बैतडीका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा पूजाआजा सुरु भएको हो । धेरैजसो नागरिकले नवरात्रिको १० दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रही आएको छ । सुदूरपश्चिममा दसैँलाई गौरा पर्वसँगै जोडेर हेर्नुपर्ने र भदौमा गौरीका पूजा गरेजस्तै अश्विन शुक्ल पक्षमा पनि सात्विक हिसाबले शक्तिकै पूजा गर्ने चलन रहेको छ । पितृ पक्षबाट नै शुद्ध शाकाहारी भोजन सुरु गरेका श्रद्धालुले नवरात्रको १० दिनसम्म एकछाक मात्रै खाएर नवरात्र उपासना गर्ने गरेका छन् ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्म चारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
प्रतिक्रिया