पैसा नभई पहिचानका लागि भारतबाट फर्केर नेपालमा फिल्म बनाएँ « Khabarhub

पैसा नभई पहिचानका लागि भारतबाट फर्केर नेपालमा फिल्म बनाएँ


११ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 13 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कला, साहित्य र सिनेमा क्षेत्रको एक प्रखर व्यक्तित्व प्रकाश सायमीको जन्म बुवा रत्न दास मानन्धर र आमा लक्ष्मी देवीका सुपुत्रका रुपमा सन् १९६५मा काठमाडौँमा भएको हो। सानैदेखि कला साहित्यमा रुचि राख्ने सायमी नेपाली चलचित्र निर्देशक, कवि, लेखक तथा निर्माता हुन्। सन् १९८६ देखि उनले धेरै व्यवसायिक नेपाली चलचित्रहरुमा सहायक निर्देशक र पटकथा लेखकका रुपमा काम गर्दै आएका छन्। भारतको मुम्बईबाट चलचित्र निर्माणको विषयमा अध्ययन गरेका सायमीले सन् १९९४ मा पृथ्वी नामक चलचित्रबाट निर्देशन क्षेत्रमा हात हालेका हुन्। अथाह स्मरण शक्ति भएका सायमीले छ वटा मुख्य धाराका चलचित्रहरु निर्देशन गरेका छन्। सन् २००८ मा सायमी राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा संगीतकारको प्रतिलिपी सुरक्षित गर्ने उद्देश्यले स्थापना भएको ‘संगीत रोयल्टी समाज’को उपाध्यक्ष भए । सबैसँग सक्रिय सहयोगी सायमीको थुप्रै रेडियो स्टेशनहरू र एफएम स्ठापनामा ठुलो भूमिका रहेको पाइन्छ। एफएमको टुरिस्ट पनि भन्ने सायमी अहिले उज्जालो रेडियोबाट प्रसारण हुने ‘अजर अमर गीतहरु’मा काम गरिरहेका छन्। सिर्जना र अध्ययनमा रमाउने बहु आयामिक व्यक्तित्व सायमी पुरस्कार बहिस्कार गर्नुको अर्थ आफ्नो अहम भन्दा आफ्नो समयको सम्मान होस् भन्ने सोच राख्ने गर्दछन। सायमीले कुनै पनि पुरस्कार ग्रहण गरेका छैनन्। उनका प्रकाशित कृतिहरु, चलचित्र, कला र प्रविधि बर्सादी दिनहरु, काठमाडौँ सेल्फी, नेपाली संगीतको एक शब्द, संगीतको स्वर्णिम युग, फिलिम निर्माण र निर्देशक, गालीको चिहान, अनन्त यात्रा, सिनेमा अफ द म्यान लगायत नेपाली र अंग्रेजी भाषामा थुप्रै पुस्तकहरु र विभिन्न पत्रपत्रिकाहरुमा समसामयिक लेख रचनाहरु प्रकाशित भईरहेका छन्। सायमी नेपाली भाषा, साहित्य, कला,सर्जक र संस्कृतिको नयनमा निरन्तर लागिरहेका छन्। उनै बहुआयामिक व्यक्तित्व र सिर्जनाका धनी सायमीसँग भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

तपाइँले सिर्जना यात्राको थालनी गर्दा अवस्था कस्तो थियो ?
म चाहिँ विशेष गरेर स्रष्टा र साहित्यको विधामा प्रवेश गरेको चाहिँ नाटकबाट हो। बाल्यकालमा हामी नाटक गर्थ्यौं र पछि नेपाल राष्ट्रिय प्रतिष्ठानमा पनि एक बर्षे कलाकार तालिममा अभियन सिक्यौँ। त्यसपछि साथीहरुसँग मिलेर बाहिर ‘युनाईटेड आर्टिस्ट’ भनेर एउटा नाट्य संस्था खोल्यौँ। त्यहाबाट थुप्रै नाटक गर्यौं त्यसमा मेरो लेखन निर्देशन हुने गर्थ्यो। त्यसमा हाम्रो कलाकारहरु दिपक क्षेत्रि, सोमनाथ भट्टराई, सूर्यमाला शर्मा खनाल, मिना श्रेष्ठ लगाएत धेरै कलाकारहरुसँग सहकार्य गरियो । पछि अरुको लागि पनि नाटक लेखिदिन थाले। जरुरी पर्दा अंग्रेजी नाटक, हिन्दी नाटकहरु अनुवाद गर्ने गर्थे । त्यो चाहिँ म होटेलमा काम गर्ने भएको हुनाले मसँग ओर्जी नाटकको किताबहरु हुने गर्दथ्यो। त्यस क्रममा हाम्रो साथीहरु रमेश बुढाथोकी, बद्रि अधिकारी उहाहरुसँग बढी सहकार्य गरियो।

तपाईले नाटक लेखनसँगै त्यसमा अभिनय पनि गर्नु हुन्थ्यो। अहिले भर्खरै अनुवाद पनि गर्नु भयो नाटकको । त्यतिखेर चाहिँ नाटकको अहिलेको भन्दा बढी महत्व थियो अथवा अहिले पनि उत्तिकै छ कि, कस्तो छ नाटकको ?
त्यति बेला अलिक धेरै थियो किनभने त्यति बेला पंचायती व्यवस्ठाको एउटा कुर्ने समय थियो। नाटकबाट अविव्यक्ति स्वतन्त्रताको काम हुन्थ्यो। अनि हाम्रो मित्र साथीहरु त्यति बेला सबै नाटकमा सम्बद्ध हुनुहुन्थ्यो। जस्तो अब मेरो परम मित्र दिनेश अधिकार अनि त्यस्तै गरी हाम्रो सरु भक्त अनि यता मुकुन्द्ध श्रेष्ठ, कृष्ण मल्ल हाम्रो सबैजना आफ्नो आफ्नो नाट्य समुहमा थियौँ । त्यति बेलाको व्यवस्थाको बिरोधमा हामी नाटकहरु गर्दथ्यौ। त्यसलेले गर्दा एकदम नाटकबाट मुखर विधा थियो त्यो बेला। अनि अहिले जस्तो सजिलो थिएन सेन्सर गर्नु पर्थ्यो । सेन्सर गर्नलाई त्यतिबेलाको अञ्चलादेश कार्यालयमा नाटकको पाण्डुलिपि बुझाउनु पर्दथ्यो। अनि त्यो पाण्डुलिपि पनि टाइप गरेको बुझाउनु पर्ने अनि टाइप गर्न लगाउनु पर्थ्यो । त्यतिबेला टाइप स्टुडियोहरु खोज्दै हिन्नु पर्थ्यो। अनि अहिले सम्झिदा कस्तो लाग्छ भने नाटक लेख्नु, निर्देशन गर्नु, अभिनय गर्नु भन्दा पनि त्यो अरु प्रविधिहरु, अरु प्रोसेसहरु गाह्रो थियो, त्यो समय सम्झिदा खेरि धेरै गाह्रो काम थियो ।

अहिले प्रविधि भित्रिएसँगै कत्तिको सहज भएको छ ?
अहिले सजिलो छ । अहिले त नाटक हेर्न पनि आइदिन्छन्। नाटक सेन्सरको त्यति समस्या पनि छैन। अनि ठाउँहरु पाउन पनि गाह्रो छैन। पहिला त हामी देखिनेहरु तीन चार वटा ठाउँहरु थियो । भनौँ तीन वटा ठाउँ थियो। अनि बाहिर खुल्ला ठाउँमा गर्ने चलन थियो । सडक नाटकको रुपमा। अब त्यो बेला चाहिँ बाहिर गर्दा पनि अनुमति लिनुपर्ने अवस्था थियो ।

यहाँ चाहिँ अत्यन्त अध्ययनशिल हुनुहुन्छ, तपाईले ११ वर्षमै पुस्तकालय स्थापना गर्नु भएको थियो। हो त्यो विषयमा केहि भन्दिनुस् न ?
म चाहिँ अब हुन त अब सबै पाटो आउँछ चञ्चलता पनि आउँछ बदमासी गर्ने पनि आउँछ हैन । पुस्तकसँगको मेरो अट्याचमेन्ट चाँही मेरो पिताजीले गर्दा बढ्यो । मेरो पिताजी चाहिँ कम पढ्नु भको हुनाले उहाँलाई खुब रुचि लाग्ने अनि उहाँको साथी हुनुहुन्थ्यो साहित्यकारहरु हृदय सिंह, नरसिंह प्रधान त्यतिबेला जनक लाल शर्मा, जनक हुमागाईं । उहाँ विभिन्न साहित्यकारहरुकोमा पुग्नु हुन्थ्यो । उहाँ आफु चाहिँ लेख्नु हुन्न थियो । अनि हाम्रो घरमा चाहिँ एउटा हामीले होटेल सुरु गरेको थियौँ । काठमाडौँको पुरानो अब पुरानो किसिमको एउटा रेष्टुरा थियो । त्यहाँ चाहिँ विदेशी पत्रपत्रिका, किताबहरु आइरहन्थ्यो । अनि त्यो कारणले गर्दा पनि अलिकति म अक्षरहरुसित आकृष्ट भए । अनि जुन तपाईंले ११ वर्षको घटना भन्नुभएको चाहिँ हाम्रो, जहाँ हामी बस्थ्यो । त्यो एउटा गाउँमा त्यहाँ एउटा सानो दुर्घटना भयो। त्यो दुर्घटना गर्ने मान्छेलाई सजाय दिनुको लागि चाहिँ हामीले १०० रुपैयाँ जरिवाना गरेको थियौँ । त्यो १०० रुपैयाँको चै हामीले, मैले किताब किनेर ल्याएर त्यतिबेला ‘प्रभावती पुस्तकालय’ भनेर भनेर सुरु गरियो। तर त्यो घुम्ती पुस्तकालय थियो कैले म कहाँ हुन्थ्यो कहिले अर्को साथी कहाँ हुन्थ्यो। त्यसरी त्यो पुस्तकालय सुरु गर्दा चाहिँ अलिकति प्रवाह चाहिँ जेलको पनि पर्यो। हामी नक्खु जेलको नजिक बस्थ्यौँ। अनि जेल भित्र राजबन्दीहरुले जे जे पढ्थ्यो त्यो हामीले पनि पढ्न पाउ थियौँ । त्यो हामीले त्यसरी सुरु गर्यौं।

यहाँले ४ कक्षासम्म त जेल भित्रै पढ्नु भएको, नक्खु जेल भित्रको त्यो पढाई कस्तो थियो ?
त्यो चाहिँ कस्तो भयो भने जेल भित्र रहेका राजबन्दीहरु विशेष गरेर राजनीतिक कारणले थुनिएका कैदीहरुले चाहिँ सामाजिक सेवामा हामीले काम गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेपछि उनीहरुले तीन वटा काम पाए । एउटा चाहिँ भित्र कृषि, अर्को चाहिँ शिक्षा पढाउने, र अर्को चाहिँ उनीहरुले भित्र बसेर लेख्न पढ्न पाउने अधिकार मागेपछि पढाउने काम जब सुरु गरेपछि चाहिँ त्यसमा हाम्रो परिवारबाट चाहिँ मलाई पठाइयो। अनि त्यहाँ गएर पढ्दा खेरि चाहिँ १,२,३ तिनवटै स्कुल त्यहाँ पढियो । तर त्यहाँ पढ्दा चाहिँ सर्टिफिकेट, प्रमाण पत्र केहि भएन तर अहिले सम्झिदा खेरि त्यो भन्दा बलियो चिज चाहिँ के भयो भन्दा खेरि मलाई बाहिरसम्म तान्यो। अनि म बाहिर आएर भर्ना हुने बेलामा त मसँग स्कुल पढेको कुनै प्रमाण पत्र थिएन अनि मैले फेरी यूकेजीबाट पढ्नु पर्यो। अनि तर यूकेजी पढ्दा पढ्दै मैले राम्रो गरेको हुनाले पछि एकै चोटी ४ कक्षामा भर्ना गरियो।

तपाईले १६ वर्षमै जागिरे भइसक्नु भएको थियो। तपाईंले भनौं न अब जागिर खाइसकेपछि मान्छेले जागिर छँदै छ अरु कुरामा किन लाग्नु भने जस्तो पनि मान्छेको सोच आउँछ। तर यहाँले जागिरै छोडेर फिलिमतर्फ कसरी आकर्षित हुनुभयो ?
म चाहिँ होटेलमा काम गर्थे। होटेलमा मेरो जागिर राम्रो थियो राम्रो भनेको अब आयको हिसाबले सुरक्षित हुन्थ्यो । अनि होटेलमा त्यो पर्यटकहरुले त्यो डल्लरमा पेमेन्ट गर्थ्यो। त्यो डल्लर चाहिँ हामी बाहिर झोसेतिर गएर ब्ल्याकमा बेच्थ्यौं । त्यो आम्दानीको द्वार थियो। अनि त्यति बेला देखि मलाई खुब शोख चाहिँ के थियो भने काठमाडौँमा ट्याक्सी एकदम कम चल्ने अनि ट्याक्सी चड्न एकदम शोख लाग्थ्यो मलाई । अनि मलाई मेरो साथीहरुले मेरो नाम पनि ट्याक्सी म्यान राखेको थियो त्योबेला। अनि त्यो हुँदाहुँदै एकदिन कस्तो घटना घट्यो भने साँस्कृतिक संस्थानको साँस्कृतिक प्रवंधक नारायण गोपाल गुरु आचार्यलाई चाहिँ मलाई नारायण दाई भन्थे म । उहाँले चाहिँ साँस्कृतिक एउटा कार्यक्रममा उद्घोषण गर्न बोलाउनु भयो, लिन आउनु भयो आफैँ बोलाको पनि हैन लिन आउनु भयो आफैँ। उहाँ, दिव्य खालिङ्ग र एक जना अमृत जी हुनुहुन्थ्यो। उहाँहरु तीनजना भएर लिन आउनु भयो। मैले पेशागत रुपले नारायण दाईले भनेरै गरेको पहिलो काम चाहिँ त्यो थियो। २०३९ साल पौष २७ गते त्यसमा मैले वैतनिकरुपमा दिनको ५०० रुपैँया लिएर कार्यक्रम संचालन गरेको थिए । त्यो कार्यक्रममा नेपालका र बाहिरका विशेष गरेर दार्लेजिङ्गका एकदमै प्रख्यात कलाकारहरु जस्तो अब कर्म योञ्जन, करुणा लामा, देजी बराइली त्यति बेला उहाँको चर्चित गीत थियो ‘भैसी लड्यो है माया’ । रिमला मोक्तान, पेमा लामा अनि शंखर गुरुङ ,बिनोद स्यांदेन, अरुण शिंह, लगायत थुप्रै कलाकारहरु कुन्ती मोक्तानको पहिलो नेपाल प्रवेश त्यहीँ कार्यक्रम थियो। त्यसमा मैले उद्घोषण गरे, त्यो १२ दिन चल्यो। त्यो कार्यक्रम सफल हुनुको एउटा प्रमुख कारण के थियो भने मेरो ठुलो चुनौती पनि थियो। मसंग उद्घोषण गर्ने मेरो जुन चाहिँ सहउद्घोषण चाहिँ प्रथम नेपाली चलचित्रकी नायिका भुवन चन्द हुनहुन्थ्यो, त्यो कारण पनि राम्रो गरियो । अनि अर्को मलाई चुनौती के थियो भने मलाई सबै भन्दा डर लाग्ने र इर्ष्या लाग्ने पात्र चाहिँ अब नारायण गोपाल। अब उहाँले मलाई त्यो काम दिनुभएको थियो। उहाँको अगाडी राम्रो गर्नुपर्छ भन्ने त्यो सोच भयो। अनि त्यसपछि फेरी नारायण गोपाल दाईले मलाई वासु शशिद्वारा लिखित नाटक ‘सबथोक गर्नु पर्छ’ त्यो नाटकमा बेला बेलामा बोल्नु पर्थ्यो। त्यो विज्ञान कथामा आधारित नाटक थियो। त्यो नाटकमा मलाई नारायण दाईले उद्घोषण गर्न लगाउनु भयो। अनि त्यतिबेला कस्तो थियो भने नाच घरमा चाहिँ केन्द्र बिन्दु नारायण गोपाल दाई हुनुहुन्थ्यो, एकदम शंका र प्रभावशाली व्यक्तित्व। अनि बाहिर गफ गर्ने अखडामा चाहिँ हामी हुन्थ्यौं । जस्तो अब सम्बोजित बास्कोटा, दिपक खरेल। अहिले पनि उहाँहरु मित्रवोत् मै हुनुहुन्छ। अब दिपक खरेल त त्यहाँ देखि चिनेको अहिलेसम्म पनि उहाँले मलाई प्रकाश दाई भन्नु हुन्छ मैले उहाँलाई दिपक दाई भन्छु। अनि त्यो कुनाबाट अलिकति यता आउँदाखेरी एउटा कफी शप थियो। त्यहाँ फेरी अर्को इन्टलेक्चुअल ग्रुप बस्नु हुन्थ्यो। अलिकति भित्र फेरी गल्लि थियो त्यहाँ गल्लीमा चाहिँ रक्सी खाने ग्रुप थियो हैन। म तिनवटै ग्रुपसँग मिल्थे तर रक्सी चाहिँ खादिन थिए म । मेरो बाल्यकाल नै अब कस्तो भयो भने घरमा रेस्टुरेन्ट भाको हुनाले पाइ, केक, कफी खाएर हुर्किए अनि रक्सीतिर त्यत्ति आकर्षण भईन । अब यहाँ कुरा गर्दा गर्दै नारायण दाईले के गर्यो, त्यहाँ जागिरको लागि मैले अप्लाई गरेको थिए उहाँले मलाई फेल गर्दिनु भयो। उहाँले मलाई लाग्छ अहिले पनि यसले यहाँ बसेर अल्झियो भने बिग्रिन्छ भनेर उहाँले मलाई बाहिर टन्न खोज्नु भयो किन बिग्रिन्छ भन्ठान्नु भयो भने कलाकारहरु २ रुपैँया भयो कि सट्ट भोटाहिटीको गल्लिमा जाने सट्ट २ गिलास खाइहाल्ने त्यस्तो ग्रुप थियो हैन। त्यस्तोसँग मेरो संगत थियो। अब १५र१६ वर्षको केटो बिग्रिन्छ भन्ने उहाँलाई लाग्यो होला। उहाँले मलाई एक दिन के भन्नु भयो भने तैले बाहिर जानु पर्छ भन्नु भयो त्यो उहाले किन भन्नु भयो थाहा छैन। त्यहा देखि एउटा सनक चल्यो हैन, त्यसपछि बुवालाई ढाटेर होटेल एशोसिएसनको एउटा तालिममा बम्बई जाँदैछु भनेर परिवार सबैलाई फकाएर म बम्बई गए। मेरो वास्तवमा ट्रेनिङ चाहिँ होटेल एशोसिएसन थियो । तर मैले फिलिमको लागि अप्लाई गरे। फिलिममा मैले फेरी अप्लाई गरे फेरी फेल भए, फेरी अप्लाई गरे फेरी फेल भए। मलाई विशेष गरेर फिलिम सम्पादन र डाइरेक्सनमा रुचि थियो। अभिनयको कोर्स बन्द भइसकेको थियो त्यो बेला। अनि फेल भए तेही पनि मैले स्ट्रगल गरे। त्यतिबेला बम्बईबाट हाम्रो नेपाली कलाकारहरुमा चाहिँ हाम्रो अग्रज कलाकार टिका पहाडी, भर्खरै उहाँले बम्बई छोड्नु भएको थियो । उहाँ पछि ३ जना हुनुहुन्थ्यो जस्तो उदित नारायण झा संघर्ष गर्दै थिए । मुरलीधर पनि स्ट्रगल गर्दै हुनुहुन्थ्यो, बिकेश शाही अनि त्यो भिडमा म पनि मिसिए। युजेन लामा उ पनि एउटा पात्र, उ चाहिँ अहिले पनि सम्पर्कमा छ। उहाँको चाहिँ कस्तो थियो भने कोठा फ्री थियो उहाँको घरको, उहाँले फ्लाट लिनु भएको थियो। उहाँको घर चाहिँ हाम्रो अखडा।

तपाईले मुम्बईमा फिलिमसम्बन्धि अध्ययन गर्नुभयो । अनि भारतीय फिलिमहरुमा काम गर्दा गर्दै नेपालमा आएर नेपाली फिलिममा काम गर्नु पर्छ भन्ने चाहिँ कति खेर लाग्यो ?
यो कस्तो भयो भन्दा खेरि मैले भोजपुरी फिलिम गरे । भोजपुरी गरे, सास ननद भावज भन्ने विभिन्न अरु फिलिम गरे। कुनै उद्योग भने धरमर रैछ । त्यत्ति राम्रो छैन। पन्जाबी फिलिम गरे वागड़े पानी भन्ने। तिनीहरुको पनि त्यस्तै रैछ। हाम्रो त झन् झनै नाजुक थियो। मलाई के लाग्यो भने, एक दिन मेरो गुरु वासु देव भट्टचार्यले के भन्नु भयो भने तिमीले आफ्नो देशमा गएर फिलिम उद्योग सुरु गर्यो भने तिमीलाई पुरस्कार नमिले पनि सन्तुष्टि हुन्छ। यहाँ काम गरेर पैसा कमायौं, पैसा त कमाउछौँ तर तिम्रो पहिचान जीवनभर हुँदैन भन्नु भयो तर वासु दाईसँग काम गर्दै थिए । मैले हिन्दी फिलिममा पंचवटिमा काम गर्दै थिए । उहाँकै स्नेह र सौभाग्यले मलाई नेपाल फर्किने मौका मिल्यो। अनि त्यति बेला नेपालमा दुई वर्ष वा डेढ वर्षमा एउटा फिलिम बन्थ्यो। त्यो फिलिममा फसिहाल्नु पर्थ्यो। अनि त्यस श्रृङ्खलामा मैले साइनो, तृष्णा, सपना विभिन्न फिलिममा सहायक भएर काम गरे। पछि एउटा नयाँ बिहानी भन्ने डकुमेन्ट्री गरे। त्यो डकुमेन्ट्री गर्दै गरेपछि अनि पछि आफैले फिलिम सुरु गरे ।

बलिउड र नेपालको सम्बन्ध कस्तो पाउनु भएको छ अहिले ?
बलिउड त हाम्रो गुरु देश हो । हामी जे जति छौ त्यहीँबाट सिक्छौ, सिक्थ्यौ र अहिले पनि सिक्छौ । त्यतिबेला भारतबाट जति पनि फिलिमहरु सुटिङ्ग गर्न आउथ्यो हाम्रो लागि त्यो एउटा गुरुत्वाकर्षण हुन्थ्यो । म स्कुल पढ्दा पढ्दै भागेर सुटिङ्ग हेर्न गएको थिए एकपटक, पहिलोपटक। त्यो फिलिम थियो देवानन्दको हरेराम हरे कृष्ण। अनि त्यो बेला देवानन्दको सुटिङ्ग जहाँ जहाँ हुन्थ्यो, हामी थाहा पाउथ्यौ र पुगीहाल्थ्यौ। जहिल्यै जाउलाखेलको तिब्बेतन क्याम्प, कहिले स्वयम्भुनाथ, कहिले यता चिडिया घर त्यो सबै ठाउँहरु हामीलाई थाहा हुन्थ्यो हैन। देवानन्दको त्यो फिलिम डाइरेक्सन गर्दै गर्दाको व्यक्तित्वबाट प्रवाभित भए म। उहाँको पर्सनल, उहाँको स्टाइल, उहाँको त्यो एकदमै बिगर देन लाइफ साइजको त्यो व्यक्तित्व । अनि उहाँलाई मैले एकदिन चिच्याएर बोलाए हैन। देवानन्द हाउ ओल्ड आर यू भनेर बोलाए हैन। उहाँ चाहिँ माथि सुटिङ्ग सकेर माथि जाँदै हुनुहुन्थ्यो । अनि म चाहिँ सुटिङ्ग हेर्न गएको थिए। मलाई त्यो प्रश्न सोध्ने हिम्मत कसरी आयो भने मेरो हजुरआमाको चाहिँ उहाँ फेबेरेट हिरो हुनुहुन्थ्यो । अनि आज भेटेर सोधेर आइज भन्नु भाको थियो हैन अनि हजुरआमाले त्यो सुविधा दिनु भएको थियो। अनि उहाँले माथिबाटै आएम ४७ इयर्स योङ भनेर भन्नु भयो। अनि त्यो जवाफ मैले घरमा दिए। यहीँ कुरा फेरी कस्तो रमाइलो भयो भने देवानन्द अब ८१ बर्षको उमेरमा नेपाल आउनु भयो, उहाँको पुस्तक ‘रोमान्सिन विथ लाइफ’ प्रवंधन गर्नको लागि । त्यतिखेर उहाँको बारेमा मैले बोल्नु पर्ने थियो। उहाँसंगै बसेर बोल्नु पर्ने थियो, उहाँकै अगाडी बोल्न पाए । बोल्दा खेरी यो कुरा पनि भन्दा खेरि उहाँ चकित हुनु भयो। उहाँलाई पनि रमाइलो लाग्यो होला जीवनमा त्यहि बच्चासँग उहाँ फेरी कुराकानी गर्दै हुनुहुन्छ। अनि उहाँ मन्चमा बसिराख्नु भाथ्यो अनि उठेर आएर मैले बोलेको कागज माग्नु भयो र अँगालो हाल्नु भयो र माइ फ्रेन्ड भन्नु भयो हैन। यो दुवै क्षेण कस्तो लाग्छ भने, देवानन्द बच्चामा त्यस्तो एउटा चमत्कार नायक हेर्न पाको भेट्न पाको अब कान्छा रे कान्छी रे, दम मारो दम यस्तो गीतहरुको सुटिङ्ग देखेको। अनि जीवन भर हामीले उहाँको फिलिमहरुबाट सिक्यौँ। जस्तै उहाँको फिलिम ूगाइडू, विश्वको १०० वटा उत्कृष्ट फिलिमहरु मध्ये एउटा मान्दछ । त्यो फिलिमको निर्माता उहाँ, अभिनेता, अनि उहाँसँग एकदिन मन्चमा बसियो। उहाँसंगै डिस्कस पनि गरियो। त्यो सबै कुराहरु सम्झिदा चाहिँ हाम्रो बलिउडसँगको सम्बन्ध त्यो प्रगाड छ हैन। अनि पछि फेरी हाम्रो काठमाडौँ धेरै किसिमले एउटा आकर्षणको केन्द्र हो। अब हामीलाई यथार्थवादी सिनेमाहरु बन्न थालेपछि सवान आजमी, स्मृति पाटिल उहाँहरुको अभिनय मन पर्ने हैन। उहाँहरु नेपाल आउँदा भेट्न पाउने लिस्टमा हामी नै पहिलो पर्थ्यौ। मलाई लाग्छ सवान आज्मी पहिलोपटक प्रमुख अतिथि भएर नेपाल आउँदा उहाँ २९ वर्षको हुनुहुन्थ्यो होला। पहिलो अन्तर्वार्ता मैले गरेको थिए र त्यो फोटोमा उहाँ यति यँङ्ग हुनुहुन्थ्यो र त्यसपछि उहाँ, उहाँसँग नि त्यस्तै भयो फेरी, अन्तर्वार्ताको क्रममा झगडा भयो है अनि ठुलो झगडा भयो। उहाँले त खानै फ्याक्दिनु भयो है अनि इन्टरभ्यु हुँदा हुँदै। पछि उहाँसँग बम्बईमा काम गरियो। उहाँ जुन संस्थामा हुनुहुन्थ्यो इप्टा त्यहाँ हामी पनि थियौँ। म थिए, टिका पहाडी दाई हुनुहुन्थ्यो । कुमार कान्छा, मुरलिधार दाई त्यसपछि हाम्रो सुरेश, विश्व। त्यहाँ भेट हुँदा चाहिँ उहाँ सहकर्मीको रुपमा भेट हुनभयो। अनि फेरी उहाँ नेपाल आउनु भयो एउटा प्रोग्राममा प्रमुख अतिथि भएर अनि फेरी उहाँको बारे मैले बोल्नु पर्ने थियो। यहीँ कुराहरु दोहोरीयो त्यसले गर्दा खेरि यो बलिउड चाहिँ एउटा सपनाको संसार जस्तो लाग्छ । अनि हामीसँग घटिरहने घटना पनि सपना जस्तो लाग्छ।

तपाईले नेपाली फिलिममा काम गरिरहनु भएको छ। यहाँको ६ वटा फिलिमहरु बनिसकेका छन्। ती सबै ६ वटा यथार्थ कथामा आधारितहरु हुन् ?
ती चाहिँ शुद्ध व्यवासाहिक चलचित्र हुन्। कथामा कतै कतै म पनि छु कतै कतै अतित पनि छ। त्यो हिसाबले रुचि लाग्छ। अरुले जस्तो मैले ३० वटा ४० वटा घछ वटा फिलिम बनाउन त सकेको छैन। अनि आफुलाई अभिव्यक्त गर्नको लागि सबै भन्दा सजिलो माध्यम चलचित्र लाग्यो। अनि काम सुरु गरियो तर मलाई अझैपनि साहित्यिक कृतिहरुमा उत्कृष्ट फिलिम बनाउने इच्या छ। म त्यो गर्दै पनि छु। त्यसको पहल अझै पनि त्यसको एउटा सहि वातावरण बनिसकेको छैन।

अब नयाँ के गर्दै हुनुहुन्छ तपाई ?
अहिले नयाँ त विशेष गरेर म लेखन मै बढी व्यस्त छु। मलाई एउटा नारायण गोपालको जीवनीमाथि केहि काम गर्न मन छ त्यो पनि गर्दै छु। अनि रेडियो कार्यक्रमहरु त नियमित रुपमै गर्दै आइरहेको छु। अनि हाम्रो व्यस्तता पनि हुने भनेको चाहिँ अब यो कार्यक्रमहरुमा प्रमुख अतिथि हुने र अतिथिकोरुपमा सहभागि हुने। नयाँ पुराना सबैसँग जोडिदैँ एउटा जहाँ गएपनि आफ्नो ग्यान बाड्ने हैन त्यो सहकार्य चाहिँ छदैं छ ।

उज्यालो नेटवर्क रेडियोको अजर अमर गीतहरु कार्यक्रमको योजना भनौं न यस्तो गीतहरु प्रस्तुत गर्छु भन्ने योजना चाहिँ कसरी बन्यो ?
मैले त्यो कार्यक्रम तयार पर्दाको एउटा रमाइलो घटनाको याद आउँछ। जब त्यो कार्यक्रमको प्रस्तावना लिएर म सम्बन्धित एफ एम मा गए। पहिला अहिले चाहिँ यो अजर अमर गीतहरु हो पहिला चाहिँ अजम्बरी गित संगीत भनेर चलाको थिए। अनि अझै एउटा भन्नु पर्ने रमाइलो कुरा के भने त्यति बेला मैले गीत बजाउँदा काला जहि भन्ने शब्द प्रयोग गर्थे। नेपाली भाषाका व्याकरण शास्त्रीहरुले अग्रज गीतकारहरुले मलाई उडाउनु भयो त्यति बेला। काल जहि कसरी हुन्छ गीतले पनि काललाई जित्न सक्छ भनेर भन्नु भयो तर तिनै भन्ने मान्छेहरुले प्रयोग गर्नु हुन्छ आजकाल हैन। श्री देव वरिष्ठ, वरिष्ठ गीतकारहरुले पनि त्यो काला जहि भन्ने प्रयोग गर्छन आजकाल त्यो चलेर गयो । अनि त्यतिबेला त्यो कार्यक्रम चलाउन जाँदा मैले जब प्रस्ताव गरे त्यतिबेला रेडियो स्टेशनले के भन्यो भने, तपाईंको कार्यक्रम कसले सुन्छ राति, अस्पतालमा बिरामी कुरुवा बस्नेले कि नाइट ट्याक्सी चलाउनेले भनेर सोध्यो। मैले भने, म राति मान्छेलाई नसुत्ने बनाइकन यो कार्यक्रम चलाउछु भनेर भन्दा खेरी सौभाग्यले त्यो कार्यक्रम लोकप्रिय पनि भयो। अहिले कयौँ सचिवहरु, अब डाक्टरहरु सिडियोहरु भेट्छु । उहाँहरु सबै यो कार्यक्रम सुनेर, त्यति बेला हामी कलेज पढ्थ्यौँ, टि यू पढ्थ्यौँ, होस्टेल बस्थ्यौँ भन्नेहरु धेरै भेटिन्छन् । मैले कहिँ न कहिँ त्यो कार्यक्रमबाट उहाँहरुको चाहिँ सेवा गरको रहेछु भन्ने लाग्यो एक। दोस्रो यी गीतहरु हराएर जान्थे कयौँ गीतको सम्झना पनि हुदैनथ्यो र अर्को पुस्तालाई थाहा पनि हुँदैन थियो तर सबै पुस्ताले अहिले सुन्छ भन्ने त छैन तर त्यसमध्ये पनि प्रायः ५० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत नभए १० प्रतिशत नै सुन्यो भने नि त्यसले अर्को पुस्तालाई हस्तान्तरण हुँदै जान्छ । अनि म आफैलाई पनि मैले सच्याउदै लागे किनभने मलाई पनि नेपाली आधुनिक गितसंगीतबारे यत्ति धेरै ज्ञान थिएन र मलाई पनि हुँदै गयो बढ्दै गयो, गल्ति गरे सच्याउदै गए मलाई अरुले सच्याए र मलाई अरुले झन् सिक्न बाध्य बनाए, त्यसरी यो कार्यक्रम अगाढी बढ्यो।

यो नेपाली चलचित्रको अहिलेको अवस्था र पहिलाको अवस्थाको कसरी चित्रण गर्नु हुन्छ ?
नेपाली चलचित्रको पहिलेको अवस्था चाहिँ प्रेम र आकर्षणले फिलिम बन्थ्यो। अहिले चाहिँ व्यवसाय र प्रतिस्पर्दाले फिलिमहरु बन्न थाले। अब पहिले चाहिँ निर्माता, निर्देशकको नियन्त्रणमा सिनेमा देख्थ्यो। अब अहिले वितेरक र हल वालाको अधिनमा छ। अनि पहिला कलाकारहरु निर्देशकको नियन्त्रणमा थिए। अब अहिले चाहिँ निर्देशकहरु कलाकारको नियन्त्रणमा आको छ। अहिले कलाकारले समय दिएन, फुर्सद भएन भने महिनौ रोकिन्छ। पहिला यस्तो थिएन। पहिला जस्तै कलाकारलाई पनि निर्देशकले नियन्त्रणमा राख्न सक्थ्यो। त्यति चाहिँ फरक छ तर काम चाहिँ, प्रगति चाहिँ पहिला भन्दा भईराखेको छ। किनभने प्रविधि फरक छ।

अहिले भनौँ न नेपाली चलचित्र अब हिन्दी भनौँ न भारतमा पनि चल्न थालेको छ। हैन नेपाली चलचित्र चाहिँ भारतमा पनि चल्न थालेको छ। यो चाहिँ विकास होकी यो अलिकति हाम्रो नेपाली चलचित्रहरुले पनि स्थान पाउन थालेका हुन् कि ?
यो चाहिँ हाम्रो एउटा ठुलो छलाङ लगाएको नै मान्नु पर्छ। किनभने पहिला भारतको बम्बईमा, दिल्लीमा नेपाली फिलिमहरु चल्दा ३ दिन ४ दिन भन्दा बढी हाल दिदैँन थियो। जस्तो माइती घर, चल्यो कान्छी चल्यो हैन त्यसैगरी भारतबाट बनेको नेपाली फिलिमहरु जस्तो अब बासुरी, बाच्न चाहानेहरु वा अँध्यारो उज्यालो, परालको आगो भारतबाटै बनेको भएपनि भारतमा चल्न गाह्रो भयो। तिनीहरुको बजार नेपाल भयो। तर अहिले जुन तपाईंले भने जस्तै यो स्वोरआङ्कन गरेर हिन्दीमा चल्न थालेपछि त्यो फिलिमले एउटा बजार पायो। यद्यपी, यो प्रेमगित भन्दा पहिले पनि हाम्रो पञ्चावती नेपाली र हिन्दिमा बनेको थियो। त्यसभन्दा अगाडी स्वामित्व लगानीको फिलिम भनेर भारत, पाकिस्थान, बंगलादेश, श्रीलंका मिलेर थुप्रै फिलिमहरु बन्यो जस्तै अब हामी एक हौँ, जीवन ज्योति, धर्ति आकाश अनि अभियान यी धेरै फिलिमहरु बने तर तिनीहरुको के भयो भने स्थायित्व भएन वा हामीले सहीरुपमा त्यसको रिजल्ट पाएनौँ।

तपाईले काठमाडौँमा सेल्फी लगायत थुप्रै पुस्तक हरु लेख्नु भएको छ। अनि कविताहरु पनि निकै राम्रा राम्रा कविताहरु पनि लेख्नु हुन्छ। आफ्ना लेखकीय जीवन भनौँ न कला र साहित्य जीवन समर्पित गरेको जस्तो लाग्छ। जीवनलाई फर्केर हेर्दा कस्तो अनुभूत गर्नु हुन्छ ?
मैले जति टाढा हेर्छु जति आफु हिड्दै आएको बाटोको पाइलाका डोबहरु हेर्छु र दुईटै कुरा देख्छु यता पनि म मेरो पिताजीलाई देख्छु उता पनि म मेरो पिताजीलाई देख्छु। हुन त मान्छेले धेरै आफ्नो माता प्रति आफ्नो आमाप्रति स्नेह राख्छन्। तर मेरो पिताजीमा त्यो दुईटै गुण थियो। उहाँले आफुले गर्न नसकेका असफलका सबै बोझहरु मलाई बिसाउनु भयो। र त्यसकारण मैले सायद त्यतिखेरी जिम्मेवारी पाए। अनि मेरो परिवारमा, मेरो परिवार त के मेरो परिवारकै ७ र ८ पुस्ता साहित्यकार कोहि कलमजीवी थिएन किन भने हाम्रो व्यापारिक परिवार हो। होटेल, रेष्टुरा चलाउने, अनि हाम्रो तेलको ठुल्ठुलो सालहरु चलाउने हाम्रो त्यो पारिवारिक वातावरण थियो। अनि मेरो परिवारमा अर्को एउटा पात्र हुनुहुन्थ्यो मेरो बुवाको भाई मेरो काका बद्रि कृष्ण मानन्धर, उहाँलाई पनि म धेरै धन्यवाद दिन्छु किनभने उहाँले प्रेस चलाउनु भयो त्यति बेला, ूनेपाल टाइटल प्रेसू भन्ने प्रेस भन्ने। उहाँले प्रेस चलाएपछि उहाँलाई किताब निकाल्ने रहर लाग्यो। अनि मैले पहिलो पटक मुक्तक संग्रह निकाले अनन्त यात्रा भन्ने। उहाँलाई पैसै नतिरी उधारोमा त्यो किताब निकाले। सोचे जस्तो किताब बिक्रि हुदैँन रैछ किनभने पसलेहरुले पैसा नदिने रैछ। काकासँग धेरै उधारो रह्यो त्यो कुरामा। अनि त्यसपछि मैले गीतहरु लेख्न थाले। गित लेख्नु पर्ने मेरो व्यवस्था के भयो भने म जुन कलेजमा पढ्थे रत्न राज्य क्याम्पस त्यो गायकै गायकहरुको भिड लाग्ने ठाउँ थियो क्या त्यहाँ । गायक हाम्रो प्रमोद पाण्डे, अगाडीको गायक रविन्द्र शर्मा, भुवन केसी, विजय लामा, उदित नारायण झा हैन थुप्रै गायक गायिकाहरु थियो। अनि गित चाहिँ मलाई त्यत्ति लेख्न आउंदैन थियो, सुन्थिए म। अब सौभाग्य भनौँ कि प्रेम भनौँ मैले ४० वर्ष अगाडी मन पराएको गायिका, अत्यन्तै मन पर्ने गायिका दावा ग्याल्मोको लागि गित लेख्न पाए मैले यसपाली। उहाँले एउटा यस्तो गित गाउनु भयो, बसन्त क्षेत्रिको संगीतमा तिमीसँग म हिडे भन्ने एउटा गित रेकर्ड गराउनु भयो । अनि मैले रेडियो बज्न थाले देखि नै सुन्न थालेको गायक दिप श्रेष्ठ हैन। उहाँले नै मलाई एउटा गित माग्नु भयो तर गित अरुले गाउन लागेको थियो, माया दियो माया जस्तो चिज पनि भन्ने, सैलेस शिंहले गाउन लाग्नु भाको थियो । दिप दाई र मैले पछि कसैको हुन नसक्ने म तिम्रो कहाँ हुन सकौला भन्ने गीत दियौँ । अनि बेला बेलामा मा यो कारणले पनि गीतकार भए। तर रमाइलो र अनौठो कुरा के छ भने मैले जब फिलिम बनाए मैले कैले पनि फिलिममा गित लेखिन मैले गीतकारहरुलाई नै गित लेख्न लगाए र रत्न समशेर थापा, दिनेश अधिकारी, मन बहादुर मुखिया, राजेन्द्र पौडेल हुँदा हुँदा मैले सायद,मलाई अहिलेसम्म थाहा छ विमल कोइरालाले पहिलो पटक गित लेख्नु भको मेरो फिलिममा हो, हतियारमा।

अन्त्यमा मैले सोध्न छुटाएको र यहाँलाई भन्न मन लागेको केहि कुरा छ भने छोटकरीमा भन्दिनुस् ?
तपाईं यहाँसम्म आइदिनु भयो त्यो नै एउटा सम्मान हो। यो जहाँ तपाईंसँग बसेर कुरा गर्दैछु । यो ठाउँको नाम चाहिँ गोधुली संसार। यो एउटा साहित्यिक कृतिमा आधारित हो, यो टोलको नाम। सम्भवतय नेपालमा कुनै किताबको नाममा टोलको नाम रखिएको यो पहिलो हो। यो नै सम्वेक पाठकहरुको लागि ठुलो सन्देश हो जस्तो लाग्छ मलाई।

(प्रस्तुती : यमुना सापकोटा)

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ३ : ३९ बजे

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद

नेविसङ्घ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप

काठमाडौँ: नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र

नेपालका १६ जिल्ला कुष्ठरोग मुक्त हुन बाँकी

काठमाडौँ : नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन

सोलुखुम्बु : काठ निकासीमा गिरावट

सोलुखुम्बु : सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत

‘सुरक्षित कर्णाली प्रदेश विशेष अभियान थाल्छौँ’

काठमाडौँ :कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब