देशभर के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

देशभर के के भयो दिनभर ? (अडियोसहित)


१३ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
निर्वाचन आयोगको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी अन्तिम मतदाता नामावली टुंगो लगाएको छ । जस अनुसार आसन्न निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् । आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । अन्यमा १८३ जना मतदाता छन् । सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।

सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको एमालेको निष्कर्ष
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्न खोजेको निष्कर्ष निकालेको छ । आज काठमाडौंमा बसेको एमाले स्थायी कमिटी बैठकले निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा सरकारले कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिवर्तन गरेको आरोप लगाउदै निर्वाचनलाई प्रभावित पार्ने काम भएको निष्कर्ष निकालेको हो । बैठकले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोगको भूमिका अनुचित देखिएको भन्दै मतपत्रको रङ परिवर्तन गरेर हरियो बनाउने र दुई दिन मनोनयनका लागि समय दिने निर्णय सच्याउन माग गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यसअघि बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले सत्ता पक्षीय दललाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको आरोप लगाए ।

आवश्यकता अनुसार गठबन्धन गरेर चुनावमा जान काँग्रेस नेताहरूको पार्टीलाई सुझाव 
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आजपनि घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ । आजको बैठकमा पनि सोही अभियानका बारेमा धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा नेताहरूले आवश्यकताको आधारमा गठबन्धन गरेर जानुपर्ने बताएको प्रवक्ता महतले बताए ।

बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका परियोजना अगाडि बढाउन चीन सरकारसँग आग्रह 
नेकपा एमालेले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारसँग आग्रह गरेको छ । आज चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्ताका क्रममा बिभिन्न परियोजना अगाडि बढाउन आग्रह गरिएको एमाले नेता राजन भट्टराईले जानकारी दिए । एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको र एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रूपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको भट्टराईले जानकारी दिए । त्यस्तै आजै चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीसँगको भेटमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले पनि बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन अनुरोध गरेको छ ।

राष्ट्रपति भण्डारी र चिनिया विदेशमन्त्री वाङ यीबीच भेट
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरेका छन् । शीतल निवासमा भएको भेटवार्तामा नेपाल–चीन मैत्रीबारे कुराकारी भएको जनाइएको छ । ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले बहुआयमिक दुईपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरे । साथै उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा चीनले निरन्तर सहयोग गर्दै आएकामा हार्दिक कृतज्ञता व्यक्त गरे । तीनदिने नेपाल भ्रमण सकेर विदेशमन्त्री वाङ आज स्वदेश फकिएका छन् ।

एमाले सबै प्रदेशमा कमजोर: माधव नेपाल 
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै प्रदेशमा एमाले कमजोर हुँदै गएको दाबी गरेका छन् । आज काठमाडौंमा मुस्लिम इत्तेहाद संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सुदूरपश्चिममा आफ्नो पार्टी पहिलो नम्बरमा रहेको र एमाले भुईँमा पछारिएको समेत बताए  ।  उनले सुदूरपश्चिम सहित मधेस प्रदेश र कर्णाली प्रदेशमा एमालेभन्दा अगाडि रहेको धारणा राख्नुभयो । उनले एकीकृत समाजवादी सुशासनको पक्षमा रहेको र आगामी निर्वाचनमा जनताले विश्वास गर्ने बताए ।

जनताले विश्वास गर्ने गरी काम गर्नुपर्छ: राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताले विश्वास गर्नेगरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् । आज काठमाडौंमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायित्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन् । उनले स्थानीय तहमा दोहिरिन चाहनेले पनि आफूले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राखे ।

भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीको नियन्त्रणमा 
महाकाली नदीमा ढुंगा निकाल्दै नेपाली क्षेत्रमा पुगेको भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज दिउँसो दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ कलोन क्षेत्रमा महाकाली नदीमा ढुंगा निकाल्दै, धार परिवर्तन गर्दै भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेको थियो । कलोन क्षेत्रमा भारतीय जेसीबी नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले जेसिबिको चाबी नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

दुई महानगरलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्ययोजनासम्बन्धी विस्तृत प्रतिवेदन तयार गर्न दुई महानगरपालिकालाई आदेश दिएको छ ।काठमाडौंको फोहोर व्यवस्थापन नभएकोबारे दायर रिट निवेदनमा सर्वोच्च अदालतले ५ महिनाभित्र विस्तृत प्रतिवेदन तयार गर्न आदेश दिएको हो । काठमाडौं र ललितपुरमा नियमित रुपमा फोहोरमैला व्यवस्थापन गर्न के के कठिनाइ र बाधाहरू हुने गरेको भन्दै सबै बुँदाहरूका साथै महानगर र उपमहानगरपालिकाको अनुभवबाट देखिएका अन्य अवस्थाहरूमा पनि केही सुझावहरू समेत  प्रतिवेदन ५ महिना भित्र पेश गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय  तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासको आदेशमा भनिएको छ ।

नेपालमा कोरोना अपडेट 
पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ३ हजार ७ सय ८० पीसीआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा  २ सय १५ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ५ सय ५८ सक्रिय संक्रमित रहेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चितवनमा एक सिंगे गैँडा मृत फेला
चितवनमा दुर्लभ मानिएको एकसिङ्गे गैँडा मृत फेला परेको छ । माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३ सय  मिटर उत्तरमा  मृत गैँडा भेटिएको हो । आज बिहान ७ बजे २९ वर्षको भाले गैँडा मृत अवस्थामा  फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । गैँडाको खाग र खुर  भने सुरक्षित  पाइएको निकुञ्जले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैँडा मरेका छन् ।

श्रोत नखुलेको रकमसहित ३ जना पक्राउ
महोत्तरीमा प्रहरीले श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा औरही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षका धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरहीको संयुक्त टोलीले आज औरही नगरपालिकाबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ । त्यस्तै सिरहाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका ४ बस्ने ४४ वर्षीय दिलिप कुमार साह रहेका छन् ।

सर्लाहीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फुलजोर खोलामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ  । दुर्घटनामा अन्य ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधव काफ्लले जानकारी दिनुभयो । वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान पुलबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तिनपटा गाउँपालिका २ बस्ने ३० वर्षीया शिला कार्की श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने एक जना पुरुष र एक जना महिलाको भने सनाखत हुन नसकेका जनाइएको छ ।

उदयपुरमा अटो र टिपर एक आपसमा ठोक्किदा १ जनाको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका– १० देवधारमा  अटो र टिपर एक आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् ।मृत्यु हुनेमा ६५ वर्षीय दण्डीराम तिमल्सिना रहेका छन् । मदनभण्डारी राजर्मागको बेल्टार गाईघाट सडक खण्ड अन्तर्गत  आज दिउँसो उदयपुर सदरमुकाम गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको अटोलाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले ठक्कर दिएको हो ।अटोमा सवार चौदण्डीगढी नगरपालिका २ का ४८ वर्षीय शिवराज कटुवाल र वडा नम्बर ७ का विनोद कार्की घाइते भएको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

प्रदेश १ : प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय
प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकार दिँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए । योसँगै चालू अधिवेशनमै प्रदेशको नामकरणको विषय टुंगो लगाउने चर्चा अधिवेशन अन्त्यसँगै तत्कालका लागि टरेको छ ।

आगलागी हुँदा पनि प्रहरी नआएको भन्दै धनुषाका स्थानीय आक्रोशित
धनुषाको विदेही नगरपालिकाको तिनकोरीयामा गएराति एक पसलमा आगलागी भएपछि स्थानीयहरू प्रदर्शनमा उत्रिएका छन् । प्रहरी चौकीबाट १०० मिटर दूरीमा रहेको पान पसलमा आगलागी भएपनि प्रहरीले बेवास्ता गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । समयमै आगो नियन्त्रणका लागि प्रहरीले चासो नदेखाएको उनीहरूको आरोप छ । प्रहरीको बेवास्ताकै कारण पसल खरानी भएको भन्दै स्थानीय व्यापारीहरूले सडक समेत अवरुद्ध गरी प्रदर्शन गरेका छन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि भएको थियो । बाटो खुलाउन सामान्य बल प्रयोग गर्दा स्थिति तनावग्रस्त बनेको धनुषाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारले ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने
कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहनेका विद्यार्थीका लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ । एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्ययन गर्न चाहनेले आठ प्रकारका छात्रवृत्ति पाउने भएका हुन् । एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई यही ११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विन्दमान विष्टले बताउनुभयो । प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेरिनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहनदार छात्रवृत्ति उपलब्ध गराउने प्रवक्ता विष्टले जानकारी दिए ।

भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरु
भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण कार्य सुरु गरिएको हो । प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रति सेकेन्ड रहेको जनाइएको छ ।

शेयर बजार घट्यो
कारोबारको पहिलो दिन आज शेयर बजार परिसुचक नेप्सेमा गिरावट आएको छ । आज नेप्से ४१ दशमलव ४३ प्रतिशतले  घटेर २ हजार  ५ सय ७२ दशमलव ७३ बिन्दुमा पुगेको  हो  ।आज कुल  ८९ लाख  २३ हजार  १४ कित्ता शेयर  ४ अर्ब ९८  करोड ९५ लाख १४ हजार ४ सय १६ मा कारोबार भएको छ । यस दिन जीवन विकाल लघुवित्त, इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

६५० एमजी सिटामोल उत्पादनको निर्णय रोक्न निवेदन दर्ता
उपभोक्ता हित संरक्षण मञ्च  र नेपाल फार्मेसी संघले ६५० एमजीको सिटामोल उत्पादनको निर्णय रोक्न राष्ट्रिय सतर्कता केन्द्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दर्ता गराएका छन् । प्रचलित ५०० मिलिग्राम (एमजी) सिटामोलको सट्टा ६५० एमजीको उत्पादन गर्न दिने निर्णय तत्काल रोक्न दुवै संस्थाले निवेदन दर्ता गराएका हुन् । ‘औषधि क्षेत्र नियमन गर्ने औषधि व्यवस्था विभागले केही उत्पादक र व्यापारीको दबाबमा स्वार्थ समूहको लागि निरन्तर गलत निर्णय गरेको संघका अध्यक्ष अमृत खनाल र मञ्चका केन्द्रीय सचिव हरिप्रसाद मैनालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बाह्य क्षेत्र सुधार्न सरकारले तत्काल नीतिगत हस्तक्षेप गरोस् : बैंकर्स संघ
घट्दो रेमिट्यान्स, बढ्दो व्यापार घाटा, शोधनान्तर स्थिति र भुक्तानी सन्तुलनमा परेको चापजस्ता अर्थतन्त्रको वाह्य क्षेत्रमा देखिएको समस्या सुधार गर्नका लागि सरकारले तत्काल नीतिगत हस्तक्षेप गर्नुपर्ने नेपाल बैंकर्स संघले बताएको छ । बाह्य क्षेत्रमा देखिएको समस्याकै कारण तरलता अभाव र ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धाजस्ता समस्या देखिएकाले यी समस्या समाधानका लागि सरकारले नीतिगत स्पष्टता खोज्नुपर्ने संघको धारणा आएको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ५६ बजे

अस्ट्रेलियासँगको हारपछि भारतको सेमिफाइनल सम्भावना कमजोर

दुबई – अस्ट्रेलियासँगको हारपछि भारतले महिला विश्वकप टी-२० विश्वकप क्रिकेटको

ट्रम्पको र्‍यालीबाट एक बन्दुकधारी गिरफ्तार

क्यालिफोर्निया – शनिबार क्यालिफोर्नियामा भएको डोनाल्ड ट्रम्पको र्‍यालीको ठिक बाहिरबाट

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार तदनुसार

आज २०८१ साल असोज २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २८ गते सोमबार तदनुसार

महिला टी-२० विश्वकप : इङल्याण्डको लगातार तेस्रो जित

काठमाडौं – आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत इङल्याण्डले स्कटल्याण्डलाई पराजित