आयोगले गरेका सिफारिसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण     | Khabarhub Khabarhub

आयोगले गरेका सिफारिसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण    


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय मानवअधिकार आयोगले गरेका सिफारिसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आयोगको २२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सिफारिस कार्यान्वयनका लागि कार्यदल गठन भइसकेकाले कार्यान्वयन हुने बताएका हुन् ।  उनले आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कमजोर नबनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

“आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार प्रतिबद्ध छ”, उनले भने, “आयोगको स्वतन्त्रता र स्वायत्ततासमेत केन्द्रित गरी आयोगको ऐन संशोधनलाई सरकारले प्राथमिकतामा राखेर संसद्मा पेस भएकाले उक्त ऐनबाट आयोग अझ सशक्त हुने छ ।”

गृहमन्त्री खाणले द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तिमा सरकार प्रतिबद्ध रहेकाले सङ्क्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र पीडित परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्‍याइने बताए । उनले नागरिक तथा राजनीतिक अधिकारको संरक्षण तथा सम्मानका लागि सुरक्षा निकाय एवं कानुन कार्यान्वयन गर्ने सरकारका अङ्ग प्रतिबद्ध रहेको जनाउँदै मानवअधिकार उल्लङ्घनका घटना न्यूनीकरण हुँदै गएको भनाई राखे ।

 गृहमन्त्री खाणले सरकारले दण्डहीनता अन्त्य गर्ने तथा मानवअधिकार उल्लङ्घनप्रति शून्य सहनशीलताको नीति लिएको भन्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूतिका लागि मानव अधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । सरकारको पाँचौ मानवअधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य भइरहेको उनको भनाइ छ ।

 आप्रवासी कामदारले भोगेका यातना, दुर्व्यवहार, श्रम शोषणलगायतका समस्याको समाधानका लागि विदेशस्थित कूटनीतिक नियोगको क्षमता सबलीकरण गर्दै, अन्तर्राष्ट्रिय संस्था, एनआरएन लगायतसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा क्षेत्रीय प्रतिबद्धताको कार्यान्वयनतर्फ सरकार गम्भीर रहेको बताए ।

 गृहमन्त्री खाणले नेपालजस्तो विकासोन्मुख देशमा जलवायु परिवर्तनका कारण सङ्कटपूर्ण अवस्थामा रहेका नागरिकको मानवअधिकारको सम्मान र परिपूर्तिको विषय राष्ट्रिय दायित्वको मात्रै नभएर अन्तर्राष्ट्रिय समुदायको दायित्व रहेको उल्लेख गर्दै सो सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सम्झौताअनुरूपको दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको जिकिर गरे ।

 उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रलाई चुस्त दुरुस्त बनाइएको दावी गरे । उनले अपराधमुक्त समाज निर्माण गर्न नागरिक समाज, सामाजिक सङ्घसंस्था, राजनीतिक दल, मानवअधिकार रक्षकहरूको सहयोगको अपेक्षा सरकारले गरेको बताए ।

 कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगका सिफारिस पूर्णरुपमा कार्यान्वयन नभएको गुनासो राखेका छन् । “आयोगका सिफारिसलाई कार्यन्वयन गराउन आयोगले सरकारलगायतका सम्बद्ध निकायसँग निरन्तर संवाद र छलफल गरिरहेको छ, आयोगका सिफारिस प्रभावकारी कार्यान्वयनका लागि सरकारबाट समिति गठन हुनुलाई सकारात्मकता लिएका छौँ”, उनले भने, “आयोगका सिफारिस पूर्ण कार्यान्वयन गरेर पीडितले न्याय पाउने छन् ।”

 उनले मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष मगरले स्थानीय तहको निर्वाचनमा मानवअधिकारको दृष्टिकोणले आयोगले ७७ जिल्लाको अनुगमन गरेको जनाउँदै चाँडै नै प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

 उनका अनुसार यस वर्ष वैशाख मसान्तसम्म आयोगमा मानवअधिकार हननका ११२ उजुरी दर्ता भएको र चालु आर्थिक वर्षका ३३९ उजुरीमाथि निर्णय भएको छ । उनले आयोगले र अन्य आयोगबीच मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागि समन्वय तथा सहकार्यसम्बन्धी साझा रणनीति ढाँचा तर्जुमा भई कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले अझै पनि राज्य नागरिक अधिकार पालनामा उदासिन रहेको बताए ।

 

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ६ : २८ बजे

भारतको थोक मुद्रास्फीति नोभेम्बरमा १.८९ प्रतिशतले सङ्कुचित

नयाँ दिल्ली – भारतको थोक मूल्य सूचकाङ्क (डब्लुपीआइ) नोभेम्बरमा १

बुटवलमा औद्योगिक व्यापार मेला हुने

लुम्बिनी – बुटवलमा यही मङ्सिर ३ गतेदेखि औद्योगिक व्यापार मेला

स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन

काठमाडौं – पश्चिम नेपालमा हालै गरिएको गरिएको एक अध्ययनले स्थानीय

नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका हिमाली क्षेत्रमा

एकीकृत समाजवादीको बैठक : महासचिव भुसालले तयार गरेको कार्ययोजना पारित

काठमाडौं – नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालले तयार पारेको