विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज जेठ १३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे २७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अफगानिस्तानका आधा भन्दा धेरै जनसङ्ख्या मानवीय सहायतामा निर्भर

अफगानिस्तानमा बिग्रँदै गएको आर्थिक र मानवीय सङ्कटको बीचमा शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या मानवीय सहायतामा निर्भर रहेको बताएको छ ।

उच्चायुक्तले ट्विटरमा एक अफगान बालिकाको तस्बिर पोस्ट गर्दै लेखेको छ– ‘अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या जीवन बचाउन मानवतामा निर्भर छ । दुई मध्ये एक जनालाई थाहा छैन कि उनीहरूको अर्को खाना कहाँबाट आउँदैछ । हामी सबैभन्दा कमजोरलाई प्रत्यक्ष सहायता प्रदान गर्दछौँ । हामी शरणार्थी र विस्थापित मानिसहरूको स्वैच्छिक फिर्ताको लागि शर्तहरू प्रदान गर्न विद्यालयहरू, स्वास्थ्य केन्द्रहरू, खानेपानी आयोजनाहरू र सडकहरू निर्माण गर्छौँ जब उनीहरू तयार हुन्छन् ।’यसअघि अफगानिस्तान पुनर्निर्माणका लागि अमेरिकी विशेष महानिरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा २ करोड ४४ लाख भन्दा धेरै बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको बताएको थियो ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को प्रतिवेदन अनुसार डिसेम्बरमा ९७ प्रतिशत जनसङ्ख्याले अपर्याप्त खाद्यान्न उपभोग गरेको र उनीहरूले खान नै नखाने जस्ता अवस्थासँग जुध्न बाध्य भएका छन् । यसअघि डब्लुएफपीले आफ्नो प्रतिवेदनमा धेरै अफगानहरूले कडा भोकमरीको सामना गरेको बताएको थियो । अफगानिस्तानको राजधानी काबुलमा परिवारहरू सडकमा बस्न बाध्य भएका भन्दै निरपेक्ष गरिबी, खाद्य सङ्कट र बेरोजगारीको समस्या हालसम्मकै विकराल भएको उल्लेख छ ।

यसबाहेक देशमा खाद्य पदार्थको लगातार बढिरहेको मूल्य अफगानिस्तानका लागि नयाँ चुनौतीको रूपमा देखा परेको जनाइएको छ । तीन महिनाभन्दा छोटो अवधिमा खाद्यान्नको मूल्य झण्डै दोब्बर भएको अफगानिस्तानको समाचार संस्था खामा प्रेसले उल्लेख गरेको छ । एक बोरा पीठोको मूल्य पहिलेको तुलनामा २ हजार ८ सयदेखि ३ हजार अफगानिस्तानको मुद्रा अफगानी सम्म पुगेको छ ।

स्थानीय सर्वेक्षणका अनुसार अफगानिस्तानमा पूर्ववर्ती सरकारको पतनपछि गरिबीको दर ९५ प्रतिशत नाघेको भने ५६ प्रतिशतले दैनिक आम्दानीमा कमी आएपछि देश छाड्न खोजिरहेका छन् । यसबाहेक लाखौं अफगानहरू भोकमरीको निकट छन् ।

जो बाइडेनले गोलिकाण्ड भएको विद्यालयको भ्रमण गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले केही दिन अघि गोलिकाण्ड मच्चिएको टेक्सस राज्यको विद्यालयको भ्रमण गर्ने भएका छन् ।

२१ जनाको ज्यान जानेगरी भएको सो नरसंहारको निरीक्षणका लागि उनी यही आइतबार त्यहाँ जान लागेको जनाइएको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसले दिएको जानकारीअनुसार राष्ट्रपति बाइडेन र अमेरिकी प्रथम महिला जिल बाइडेनले आइतबार सो विद्यालयको भ्रमण गर्नेछन् । उनीहरूले उक्त नरसंहारमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा उनीहरूका परिवारलाई समवेदना व्यक्त गर्न त्यहाँ जान लागेको जनाइएको छ । केही दिनअघि अमेरिकाको टेक्सस राज्यमा रहेको प्राथमिक विद्यालयमा भएको गोली काण्डमा परी २१ जनाको ज्यान गएको थियो ।गत मंगलबार दिउँसो भएको घटनामा मारिनेमा १८ जना बालबालिका समेत रहेका थिए । घटनामा कैयौँ घाइते भएका थिए ।

टेक्सस राज्यको युभाल्डेस्थित रोब प्राथमिक विद्यालयमा एकजना किशोरले गोली चलाउँदा घटना भएको हो ।

पाकिस्तान खाद्यान्न अभावको जोखिममा
पाकिस्तानमा कृषि स्रोतहरूको अविवेकी योजना र कुप्रबन्धनका कारण देशमा चरम खाद्य अभाव देखिएको छ । ग्रामीण क्षेत्रमा जनसङ्ख्याको ठूलो हिस्सा भोकमरीमा छ ।

अधिकार र सुरक्षाका लागि अन्तर्राष्ट्रिय फोरमले जनाएअनुसार देशमा खाद्य असुरक्षाका लागि जिम्मेवार विभिन्न कारकहरू मध्ये मुद्रास्फीति र भ्रष्टाचार गम्भीर चिन्ताको विषय बनेका छन् । पाकिस्तानको घट्दो आम्दानीसँगै खाद्यान्नको मूल्यमा भएको वृद्धिले धेरै पाकिस्तानीहरूलाई खाद्यान्नमा असुरक्षित बनाएको छ । विश्व खाद्य कार्यक्रम डब्लुएफपीका अनुसार किफायती पोषण आहार प्राप्त गर्नको लागि सबैभन्दा ठूलो चुनौती देखिएको छ।  डब्लुएफपीको अनुसार लगभग ४३ प्रतिशत पाकिस्तानीहरू खाद्यान्नमा असुरक्षित छन् ।

गम्भीर कृषि नीति निर्माण गर्ने संस्था र राम्रो सरकारको अभावले पनि पाकिस्तानमा खाद्य सुरक्षामा बाधा पुगेको छ । यसबाहेक पाकिस्तान सन् २०२१ मा भ्रष्टाचार धारणा सूचकाङ्कमा १८० देशहरूमध्ये १४० औँ स्थानमा छ । पाकिस्तानमा निरन्तर खाद्य असुरक्षालाई बढाउने अन्य कारकहरू मध्ये क्षेत्रीय र वातावरणीय कारकहरूसँग सम्बन्धित छन् । देशका धेरै जमिनहरू अर्ध सुक्खा र जर्जर छन् जहाँ सजिलै खेती गर्न सकिँदैन ।

अघिल्लो वर्षको अक्टोबरमा एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) द्वारा गरिएको अध्ययन अनुसार पाकिस्तानका तीन प्रान्तहरू बलुचिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रतिकूल खाद्य असुरक्षा, गरिबी र कुपोषणको चपेटामा परेका छन् । खाद्यान्नको उच्च मूल्य, वर्षाको अभाव, खडेरी र पशुजन्य रोगले पाकिस्तानमा खाद्य असुरक्षा थपिएको छ । यसैगरी पाकिस्तानको तटीय क्षेत्रहरूमा समुद्री पानीको घुसपैठले पनि पाकिस्तानमा खाद्य सुरक्षालाई खतरामा पारेको छ । समुद्री पानीले उर्वर कृषि भूमिको उत्पादकत्व घटाउँछ । खाद्यान्न अभाव र अन्य आर्थिक समस्याहरू निम्त्याउँछ र यसले पशुधन, वनस्पति, जमिन र अन्य धेरै प्राकृतिक स्रोतहरूको जीर्णतालाई थप मलजल गर्छ ।

खाद्य असुरक्षाले महिला, बालबालिका र ग्रामीण घरपरिवारमा सामाजिक–आर्थिक असमानता निम्त्याएको छ र खाद्य असुरक्षा बढ्दो छ ।

इरानमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ पुग्यो 

इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै इरानको समाचार संस्था इस्नाले जनाएको छ । अहिलेसम्म उक्त दुर्घटनामा ३७ जना घाइते भएको जानकारी प्राप्त भएको छ ।

उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप गभर्नर एहसन अब्बासपुरले इस्नालाई बताए । अब्बासपुर र अन्य स्रोतबाट प्राप्त रिपोर्टअनुसार उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ । सरकारले उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने जनाएको छ । गत मंगलबार उक्त भवनका मालिक र ठेकेदारको पनि हत्या भएको घटनापछि १० जनालाई पक्राउ गरिएको मिजान समाचार संस्थाले जनाएको छ । निर्माणाधीन भवन अबागान शहरको भीडभाड सडकमा अवस्थित छ । यसको वरिपरि व्यापारिक तथा चिकित्सा परिसरहरू छन् ।

लेबनानमा विदेशी मुद्राको अभावका कारण अस्पतालहरू बन्द हुने खतरा
मध्यपूर्वी मुलुक लेबनानको निजी अस्पतालहरू उपकरण र औषधीहरू किन्न विदेशी मुद्राको अभाव भएका कारण बन्द हुने खतराको सामना गरिरहेका लेबनानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

अहिले बैंकहरूले नगद निकासीमा प्रतिबन्ध लगाएको बेला अस्पतालहरूले आवश्यक उपकरण तथा सामग्रीहरू किन्न अमेरिकी डलर कोष सुरक्षित गर्न असमर्थ रहेका छन्, निजी अस्पतालहरूको समूहका प्रमुख सुलेमान हारूनले भने । लेबनानको केन्द्रीय बैंक नजिकै अस्पतालका प्रतिनिधिहरूले गरेको विरोध सभामा बोल्दै हारुनले तरलता अभावका कारण अस्पतालले आफ्ना श्रमिकको अधिकार सुरक्षित गर्न नसकेको पनि उल्लेख गरे । 

उनले लेबनानको केन्द्रीय बैंक ‘सेन्ट्रल बैंक अफ लेबनान’ लाई स्वास्थ्य क्षेत्रलाई आउनै लागेको सङ्कटबाट बचाउन बैंकहरूमा अस्पतालको कोष जारी गर्न आग्रह समेत गरे । लेबनानमा चलिरहेको अभूतपूर्व आर्थिक सङ्कटले गर्दा केन्द्रीय बैंकले अमेरिकी डलर निकासीमा व्यापक नियन्त्रण गर्न बाध्य भएको छ र यसले व्यापार तथा व्यक्ति विशेष दुवैलाई बृहत् प्रभाव पारेको बताइएको छ ।

बुर्किना फासोमा भएको आक्रमणमा ५० जनाको मृत्यु
अफ्रिकी मुलुक बुर्किना फासोको पूर्वी क्षेत्रमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ ।

पूर्वी बुर्किना फासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् । त्यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरूले यो नरसंहार गरेका हुन् । सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो । अरु कैयौँ घाइते पनि भएका थिए ।

बुर्किना फासोमा गएका केही वर्षयतादेखि सुरक्षाको अवस्था नाजुक बन्दै गएको छ । जसका कारण दैनिक रूपमै नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।

श्रीलङ्काली राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय जनसमुदायसमक्ष सहयोगको आह्वान

देश गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला श्रीलङ्काली राष्ट्रपति गोताबाया राजपाक्षेले अन्तर्राष्ट्रिय समुदायलाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्नका लागि मद्दत गर्न आह्वान गरेका छन् ।

‘हामी अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेका छौं जसले सबै श्रीलङ्कालीहरूको जीवनमा गहिरो प्रभाव पारेको छ जसको परिणामस्वरूप सामाजिक असमानता उत्पन्न भएको छ ।  हामीलाई तुरुन्तै अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता छ र म श्रीलङ्काका अन्य साथीहरूलाई पनि यो कठिन समयमा मेरो देशलाई समर्थन र ऐक्यबद्धताका निम्ति अपील गर्दछु’ राजपाक्षेले भने । 

जापानको टोकियोमा भिडियोमार्फत आयोजित फ्युचर अफ एसिया कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा उल्लेख गरेको श्रीलङ्काबाट प्रकाशित हुने डेली मिरर अखबारले जनाएको छ । चरम आर्थिक समस्याका बीच श्रीलङ्काले हालै करिब ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको जनाइएको छ । त्यहाँ गलत आर्थिक नीतिहरूले देशले पर्याप्त इन्धन किन्न नसक्ने र खाद्यान्न  एवं अन्य आधारभूत आवश्यकताहरू जस्तै खान पकाउने इन्धन र ग्यासको चरम अभावको सामना गर्नुपरेको छ ।

कोभिड १९ को महामारीबाट पर्यटन उद्योगमा परेको असर र अन्य कारण विदेशी कामदारहरूको भित्री रेमिट्यान्समा तीव्र गिरावट एवम् श्रीलङ्काको उच्च ऋण दायित्वहरूसँग मिलेर अन्य घटनाहरूको कारणले बढ्दो मुद्रास्फीतिले गम्भीर वित्तीय सङ्कट निम्त्याएको छ । ‘भविष्यमा विश्वले सामना गर्ने अझ व्यापक समस्या भनेको खाद्य सुरक्षासँग सम्बन्धित छ। आगामी महिनाहरूमा खाद्यान्नको अभाव र खाद्यान्नको मूल्यमा भएको तीव्र वृद्धिले धेरै देशहरूमा ठूलो दबाब दिनेछ’ डेली मिररले राष्ट्रपतिलाई उद्धृत गर्दे उल्लेख गरेको छ ।

राष्ट्रपतिले कोभिड–१९ को महामारीपछि युक्रेन–रुस द्वन्द्वले सङ्कट थपिएको भन्दै त्यस्ता जोखिममा परेका राष्ट्रहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले मुलुकमा देखिएको सङ्कटलाई  समाधान गर्नका निम्ति राष्ट्रहरूबीचको सहकार्य बढाउनुपर्नेमा पनि विशेष जोड दिएका छन् । ‘श्रीलङ्काले सामना गरिरहेको गम्भीर कठिनाइहरू कोभिड १९ महामारीको प्रभावहरूको प्रारम्भिक सङ्केत हो  । त्यस्तै युरोपमा जारी द्वन्द्वले अन्य कमजोर राष्ट्रहरूलाई क्षेत्रीय र विश्वव्यापी रूपमा पनि असर गर्न सक्छ ।’ उनले भने ।  

राष्ट्रपतिले यस जटिल समस्यामा ध्यान दिनुपर्ने र कृषि उत्पादनलाई स्थानीय तहमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले देशवासीलाई यस्ता विकराल समस्याको सामना गर्ने उपाय खोज्न पनि आग्रह गरेका छन् । ‘जापान श्रीलङ्काको प्रमुख विकास साझेदारहरू मध्ये एक हो  र हामी आशा गर्छौ अहिले जापानबाट कोष जुटाउने सम्बन्धमा भइरहेको वार्ता छिट्टै टुङ्गिनेछ र हामीले हाम्रो अर्थतन्त्र र हाम्रो राष्ट्रलाई स्थिर बनाउन प्रयास गर्नेछौं’ डेली मिररले राजपाक्षेलाई उद्धृत गर्दे उल्लेख गरेको छ । खाद्यान्न र इन्धनको अभाव बढ्दो मूल्य र बिजुली कटौतीका कारण श्रीलङ्काले स्वतन्त्रता पछि यस पटक सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

अर्थतन्त्र राम्रो अवस्थामा नभएकाले अन्तर्राष्ट्रिय ब्याजदर बढ्ने उच्च जोखिम रहेको प्रष्ट देखिन्छ । अहिले अन्तर्राष्ट्रिय खाद्यान्नको मूल्य बढ्ने खतरा पनि उत्तिकै टड्कारो रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ८ : २० बजे

कैलाली र कञ्चनपुरमा ‘जनता आवास कार्यक्रम’अन्तर्गत २० घर निर्माण

अत्तरिया– सहरी विकास तथा भवन कार्यालय कैलालीले ‘जनता आवास कार्यक्रम’

बिटक्वाइनको कारोबारमा उच्च वृद्धि

टोकियो- अनुकूल अमेरिकी कानून र शेयरबजारमा भएको वृद्धिका कारण बिटक्वाइनले

मधेस प्रदेश लोकसेवा आयोगको दोहोरो नीतिले बढुवामा समस्या

जनकपुरधाम– मधेस प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिका कारण मधेस

लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेसमा प्रवेश, देउवाले दिए सदस्यता कार्ड

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवले नेपाली

लोमसको टिनिडाजोल ट्याब्लेज कम गुणस्तर भएको भन्दै बजारबाट फिर्ता गर्न विभागको निर्देशन 

काठमाडौं– काठमाडौंस्थित लोमस फार्मास्युटिकलद्धारा उत्पादित टिनिडाजोल ट्याब्लेट गुणस्तरहीन भेटिएको भन्दै