तनहुँका तीन हजार घरधुरीमा खानेपानी विस्तार | Khabarhub Khabarhub

तनहुँका तीन हजार घरधुरीमा खानेपानी विस्तार


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँ जिल्लामा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो । एक घरः एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार उक्त अवधिमा एघार खानेपानी आयोजना सम्पन्न भएका छन् । त्यस्तै १९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ । 

जिल्लामा हालसम्म ९२.४२ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको छ । विसं २०७८ को जनगणनाअनुसार यहाँ तीन लाख २७ हजार छ सय २० जनसङ्ख्या रहेकामा हालसम्म तीन लाख दुई हजार सात सय ९९ जना खानेपानीबाट लाभान्वित भएको खानेपानी कार्यालयले जनाएको छ ।  एक वर्षको अवधिमा पाँच हजार दुई सय २१ जना खानेपानी योजनाबाट लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारबाट उक्त अवधिमा ११  खानेपानी योजना सम्पन्न भएको छ । 

निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा कार्यालयले अपजस ब्यहोर्नुपरेको कार्यालय प्रमुख न्यौपानेले बताए। ‘निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरिदिँदा कार्यालयलाई असर परेको छ, जनतालाई स्वच्छ खानेपानी सुविधा पुर्‍याउन हामी लागिपरेका छौँ’, उनले भने।

बाढीपहिरोको असर, मर्मतमा दबाब आउनु, खानेपानी योजनामा विद्युतीय कार्य सहज नहुनु, आयोजनाको सङ्ख्याको तुलनामा न्यून बजेट विनियोजन हुनु, जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबाट आयोजनाले नसमेटेको स्थानमा पाइप तथा फिटिङ्सको माग गर्नु आदि कारणले काम गर्न असहज हुँदै आएको कार्यालयले जनाएको छ । कार्यालयले नयाँ खानेपानी आयोजनाको माग, सर्वेक्षण, डिजाइन, निर्माणकार्य कार्यान्वयन, आयोजनाको सामग्री निकासा, खानेपानी आयोजनाको निर्माणमा प्राविधिक सहयोग, आयोजनाको अनुगमन, निरीक्षण, सुपरीवेक्षण, मूल्यांकन तथा भुक्तानीलगायतका काम कार्यालयले गर्दै आएको छ । 

एकीकृत घुम्ती शिविर

तनहुँको व्यास नगरपालिकाले एकीकृत घुम्ती शिविर सुरु गरेको छ । सर्वसाधारणलाई घरदैलोमै सबै सेवा दिने उद्देश्यसहित नगरपालिकाले घुम्ती शिविर थालनी  गरेको हो । व्यास –१ स्थित वडा कार्यलयबाट सोमबारदेखि घुम्ती शिविर सुरु गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। 

 शिविर १४  वडामा पुस २० गतेभित्र आयोजना हुने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । “सर्वसाधारणलाई सेवा लिनका लागि सदरमुकामसमेत आउन नपरोस् भन्नका लागि घरदैलोमा नै घुम्ती शिविरमार्फत एकीकृत सेवा उपलब्ध गराउन लागेका हौँ”, उनले भने ।

शिविरमार्फत प्रशासन शाखा र पञ्जिकरण एकाइअन्तर्गत सामाजिक सुरक्षाभत्ताको कार्ड वितरण, व्यक्तिगत घटना दर्ता, योजना शाखाअन्तर्गत योजना सम्झौता, किस्ता सिफारिस, कृषि उपशाखाअन्तर्गत बालीमा देखापर्ने रोगको जैविक विषादी वितरण गर्ने, जनचेतना अभिवृद्धि गर्ने, तरकारीको उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिनेछ । 

स्वास्थ्य तथा जनसङ्ख्या शाखाअन्तर्गत विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको मुख र स्तन क्यान्सर परीक्षण सेवा, एचआइभी, टिबी, औलोरोग परीक्षण, कोभिड-१९ खोप सेवा, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा, दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन र पोषणसम्बन्धी सेवा प्रदान गरिनेछ ।

आयुर्वेद एकाइअन्तर्गत विभिन्न २५ किसिमका औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवासम्बन्धी ज्ञान, पशुपक्षी उपशाखाअन्तर्गत पशु स्वास्थ्य सेवाका लागि उपचार, रोग निदान, माइनर सर्जिकल सेवा, पशु स्वास्थ्यका लागि औषधि वितरण, खोप सेवा प्रदान गरिनेछ । 

महिला बालबालिका तथा समाजकल्याण उपशाखाअन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण, महिला विकाससम्बन्धी जनचेतना अभिवृद्धि प्रदान गरिने नगरपालिकाले जनाएको छ । यसअघि जिल्लाकै आँबुखैरेनी र म्याग्दे गाउँपालिकाले पनि सबै वडामा पुगेर एकीकृत सेवा प्रदान गरिसकेको छ । 

जग्गा व्यवस्थापनमा जुट्यो व्यास

तनहुँको व्यास नगरपालिका सरसफाइ केन्द्र निर्माणका लागि जग्गा व्यवस्थापनमा जुटेको छ । फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद गर्न लागेको हो । त्यसका लागि व्यास-१३ मा रहेको युगीन कृषि फार्म प्रालिको करिब ४० रोपनी जग्गा खरिद गर्न प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए। उक्त जग्गा सम्बन्धमा नगरपालिकामा प्रस्ताव आएकाले स्थानीयवासीसँग छलफल एवं समन्वय गरी खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले फोहरमैला केन्द्र बनाउन सकेको छैन । यसअघि व्यास-३ मादीस्थित भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले उक्त ठाउँ मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेँमा फोहर फाल्दै आएको छ ।

दमौली हुँदै चितवनसम्म पुग्ने बुद्धसिंमार्गमा जथाभावी फोहर फालिँदा उक्त मार्ग नै दुर्गन्धित भएको छ । फोहर फाल्ने ठाउँको अभावमा सोढेंमा लगेर फोहर फाल्नुपर्ने बाध्यता रहेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । ‘दीर्घकालीनरूपमा सरसफाइ केन्द्र बनाउने विषयमा नगरपालिका लागिपरेको छ’, उनले भने, ‘फोहर फाल्ने ठाउँ नै नभएपछि अहिले तत्कालका लागि बुद्धसिंमार्गको सोढेंमा फोहर फालिएको छ ।’

यसअघि नगरपालिकाले व्यास-१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरेको थियो । तर त्यहाँ स्थानीयले विरोध गरेपछि नगरपालिकाले त्यसबाट पछि हटेको थियो । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरूपमा फोहर संकलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर  संकलन हुने गरेको छ । नगरपालिकाले सरसफाइ केन्द्र निर्माणका लागि वालिङ नगरपालिकाले बनाएको फोहरमैला व्यवस्थापन केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो । 

 

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  १० : २७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको