निकुञ्जका खोर बाघले भरिए « Khabarhub

निकुञ्जका खोर बाघले भरिए


१२ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ । 

त्यस्तै देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन् । ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले जानकारी दिए । यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष ल्याइएका हुन् । 

यस आर्थिक वर्षमा हात्तीले दुई र गैँडाले एक जनालाई आक्रमण गरी ज्यान लिएका छन् । निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी छैनन् । कसरामा रहेको एउटा पुरानोलाई खोर मर्मत गरिँदै छ । खोरमा बाघ थपिए विकल्पको खोजी गर्नुपर्ने हुन्छ । 

तिवारीले पश्चिम चितवनको मेघौलीमा हात्तीले मान्छे मारेपछि सोही क्षेत्रमा घाइते बाघ रहेको अनुमानमा खोजी कार्य जारी राखिएको बताउनुभयो । त्यहाँ बाघ भेटिएमा राख्नका लागि पुरानो खोर मर्मत हुँदैछ । बाघको सङ्ख्या निकुञ्जमा बढेसँगै समस्यामा परेका बाघ पनि बढेका हुन् ।

सन् २०२२ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघको सङ्ख्या एक सय २८ छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने बाघको सङ्ख्या ४१ छ । देशभर बाघको सङ्ख्या तीन सय ५५ छ । उनका अनुसार सन् २०२२ मा गरिएको एक सर्वेक्षणमा निकुञ्जभित्र एक वर्ग किलोमिटरमा ९९ दशमलव ६ वटा आहाराको घनत्व रहेको पाइएको थियो । जुन राम्रो मानिन्छ । विगतका तुलनामा आहाराको घनत्व बढेको उनको भनाइ छ । बाघको पहिलो रोजाइँ जरायो हुने गर्छ । समग्र मृग प्रजाति बाघको आहारा हो । जरायोसँगै लगुना, रतुवा जस्ता वन्यजन्तु बाघले सिकार गर्दछ । ती वन्यजन्तु नपाएमा बाघले बँदेलसमेत खाने तिवारीको भनाइ छ । घाइते र नरभक्षी वन्यजन्तु बढेपछि निकुञ्जको देवनगरस्थित बरण्डाभार वनमा व्यवस्थित ठाउँ निर्माणको तयारी गरिएको छ । 

खुल्ला चिडियाखानाका रुपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैँडा, हात्ती जस्ता वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको छ । सर्वसाधारणलाई टिकट लिएर अवलोकन गराउँदा त्यसको आम्दानीले वन्यजन्तु पाल्न सकिने हुँदा सोहीअनुरूप काम अघि बढाइएको हो । हाल सो ठाउँमा कार्यालय भवन बनाइएको छ । क्रमशः खुल्ला खोर बनाउने योजना रहेको तिवारीले बताए । निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदै आएको छ ।

प्रकाशित मिति : १२ पुस २०७९, मंगलबार  ३ : ३७ बजे

गिनीमा अवैध सुन खानी बन्द गर्ने निर्णयपछि झडप, १० जनाको मृत्यु

कोनाक्री– अवैध सुन खानीमा प्रतिबन्ध लगाउने सरकारी निर्णयपछि सुरक्षा बल र

जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधार जोगाउन अन्तर्राष्ट्रिय सहयोग माग

काठमाडौँ– नेपालले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण

पर्यटकको आकर्षण बन्दै गोरखाको न्याउली झरना (तस्बिरहरू) 

गोरखा -उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, लापुबँसीस्थित न्याउली झरना पछिल्लो समय

युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त

इरानमाथि फेरि सैन्य आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले चाहेको दिशाभन्दा विपरीत