रुसी आक्रमणको यसरी सामना गरिरहेको छ युक्रेन (फोटो फिचर) | Khabarhub Khabarhub

रुसी आक्रमणको यसरी सामना गरिरहेको छ युक्रेन (फोटो फिचर)


१६ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्‍सी– रुसले छिमेकी मुलुक युक्रेनमाथि सैनिक आक्रमण गरेको पाचौँ दिन सोमबार पनि रुसी र युक्रेनी फौजबीच भिडन्त जारी छ । रुसी आक्रमण खासगरी मुलुकको उत्तरी चेर्निहिभ र पूर्वी शहर खारकिभमा केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी फौजले आइतबार मात्रै खार्किभ शहर कब्जा गरेको जनाएको थियो । तर, कडा युक्रेनी प्रतिरोधपछि रुसी फौज पछि हट्नु परेको थियो ।

खार्किभमा युक्रेनी सेनाले ध्वस्त पारेको रुसी ट्यांकको अवशेष l तस्बिर श्रोत– टेलिग्राफ

युक्रेनबाट प्राप्त समाचारअनुसार रुसी फौजको आक्रमण कमजोर हुनुका बावजुद सर्वसाधारण र सैनिकहरु हताहत हुने जाने क्रम भने रोकिएको छैन ।
बिहीबारबाट जारी भयानक रुसी आक्रमणबाट हालसम्म ३५२ सर्वसाधारणको मृत्यु भएको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेमा १४ जना बालबालिका छन् । त्यस्तै, युद्धको चपेटामा परी ११६ बालबालिकासहित अरु १६८४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

किभनजिकै भासिलिकिभ नगरमा युद्धले क्षतिग्रस्त भवन अगाडि हिडिरहेका एक मानिस l श्रोत एएफपी

युक्रेनकी सहायक रक्षामन्त्री हाना मलायरले आफ्नो देशमाथि आक्रमणमा संलग्न ४,३०० रुसी सैनिक मारिएको दाबी गरेकी छिन् । रुसी क्षतिको विवरण फेसबुकमार्फत सार्वजनिक गर्दै युद्धको पहिलो तीन दिनको तथ्याङ्क अनुसार ४,३०० रुसी सैनिक मारिएको दाबी गरेकी हुन् ।

उनले सार्वजनिक गरेको क्षतिको विवरणअनुसार ४,३०० रुसी सैनिक मारिएको, २७ रुसी विमान खसालिएको, २६ हेलिकप्टर खसालिएको, १ सय ४६ ट्याङ्क ध्वस्त पारिएको, ७ सय ६ सशस्त्र सवारीसाधनमा क्षति पुराइएको, ४९ वटा रुसी तोप नष्ट पारिएको, एउटा हवाई रक्षा प्रणाली ध्वस्त पारिएको, ४ वटा रकेट प्रहार गर्नसक्ने प्रणाली नष्ट गरिएको दाबी गरिएको छ ।

लुहान्स्क क्षेत्रमा क्षतिग्रस्त रुसी ट्याङ्क l तस्बिर एएफपी

कठोर युक्रेनी प्रतिरोधका कारण रुसी सेनाको आक्रमणले अझै गति लिन नसकेको चर्चा चल्न थालेको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्वीर र भिडियोहरुमा बन्दोबस्तीको सामानको पहुँच नपुगेको र युक्रेनी प्रहारबाट ध्वस्त भएका कारण रुसी सैनिक सवारी साधन र उन्य सैनिक उपकरणहरु सडकमा त्यसै अलपत्र छाडिएको देख्न सकिन्छ ।

खसालिएको लडाकु विमानको भग्नावशेषमा केही खोजिरहेका युक्रेनी सैनिकहरु l तस्बिर एपी

‘रुसी फौजको आक्रमणको गति सुस्त भएको छ । तैपनि केही क्षेत्रमा सफलता हासिल गर्न उनीहरु प्रयासरत छन् ।’ युक्रेनी सेनाले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारी बमबारी हेर्दै एक युक्रेनी सैनिक l तस्बिर रोयटर्स

यता बेलायती रक्षामन्त्रालयले पनि राजधानी किभमा रुसी आक्रमण कमजोर बनेको निष्कर्ष निकालेको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयले कठोर युक्रेनी प्रतिरोधका कारण किभमा रुसी आक्रमण कमजोर बनेको जनाएको हो ।

‘पुटिको फौजको ठूलो अझै राजधानी किभबाट ३० किलोमिटरको दूरीमा अड्किएको छ । होस्तोमेल हवाईमैदान रक्षार्थ खटिएका युक्रेनी फौजको प्रतिरोधले रुसी आक्रमणलाई सुस्त बनाइदिएको छ ।’

आक्रमणको पहिलो दिन मै कब्जा गर्ने लक्ष्य लिएको भएपनि रुसी फौज उक्त हवाई मैदान कब्जा गर्न अझै असफल भएको बेलायती दाबी छ ।
बन्दोबस्तीका सामानको आपुर्तिमा पनि रुसलाई समस्या परेको बेलायती रक्षामन्त्रालयको भनाइ छ ।

खार्किबमा ध्वस्त रुसी मल्टिपल लन्च रकेट सिस्टम एमएलआरएस l तस्बिर रोयटर्स

अर्कोतर्फ रुसी आक्रमणविरुद्ध एक्लै लडिरहेको युक्रेनलाई युरोपेली साझेदारहरुबाट सहयोग आउने क्रम जारी छ । युरोपेली युनियनले रुसविरुद्ध लड्न युक्रेनलाई झण्डै ५० करोड युरो सहयोग गर्ने निर्णय गरेको छ । युरोपेली युनियनले विदेशी आक्रमणको चपेटामा परेको मुलुकलाई हतियार खरिद गरी आपुर्ति गरेको यो पहिलो पटक हो ।
यसअघि जर्मनीले युक्रेनलाई १ हजार ट्याङ्क नष्ट गर्ने एन्टीट्यांक क्षेप्यास्त्रका साथै युद्धविमानलाई मार हान्न सक्ने ५ सय स्टिङ्गर क्षेप्यास्त्र पठाउने निर्णय गरेको थियो ।

बेलायती एन्टीट्याङक क्षेप्यास्त्र प्रहार गर्दै युक्रेनी सैनिक l तस्बिर एपी

युरोपेली युनियनले रुसी हवाई जहाजलाई युरोपेली आकास प्रयोग गर्न नदिने निर्णय समेत गरेको छ । ‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियनको आकाशमा बन्द गराएका छौँ ।’ युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लाइनको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ ।

रुसविरुद्ध प्रतिबन्धको घोषणा गर्दै युरोपेली कमिसनकी अध्यक्ष उर्सुला भोन डेर लाइन l तस्बिरगेटी इमेज

यस्तै, रुसी मिडियाहरु पनि अन्तर्राष्ट्रिय प्रतिबन्धको शिकार भएका छन् । फेसबुकले रुसको टेलिभिजन च्यानल आरटीको पेजमा विज्ञापनको सुविधामाथि बन्देज लगाइदिएको छ भने युरोपेली युनियनले पनि युरोपभर आरटी, स्पुत्निकजस्ता रुसी मिडियामाथि बन्देज लगाइदिएको छ ।

अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टन शहरमा रुसविरुद्ध प्रदर्शनमा प्रयोग भएको प्लकार्ड l तस्बिर न्यूयोर्क टाइम्स

यता रुसलाई अन्तर्राष्ट्रिय बैंकिङ सञ्जाल स्विफ्टबाट निकाल्ने विषय पश्चिमा मुलुकहरुमा चर्चामा रहेका बेला रुसमा बैंकमा पैसा निकाल्ने मानिसहरुको लाम लाग्न थालेको छ । कुनै पनि बेला स्विफ्टबाट रुस बाहिरिन सक्ने र यसबाट रुसी मुद्रा रुबलको भाउ घट्ने भयका कारण रुसमा मानिसहरु बैंकबाट पैसा निकाल्न हतारिएका हुन् । राजधानी मस्को र सबैभन्दा ठूलो शहर सेन्ट पिटर्सबर्गसहित मुलुकका विभिन्न शहरहरुमा एटिएम र बैंकबाट पैसा निकाल्न सयौँ मानिसहरु लामबद्ध भएर बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पैसा निकाल्न एटीएम मेसिनअगाडि लाइन लागेर उभिएका रुसी सर्वसाधारण l तस्बिर एपी

त्यस्तै, रुसको केन्द्रीय बैंकले सम्भावित अन्तर्राष्ट्रिय प्रतिबन्धलाई ध्यानमा राख्दै ब्याजदर ह्वात्तै बढाएको छ ।
अन्तर्राष्ट्रिय नाकाबन्दी र प्रतिबन्धबाट देशको अर्थतन्त्रमा पर्नसक्ने नकारात्मक असरबाट जोगिन भन्दै रुसको केन्द्रीय बैंकले ब्याजदर ९.५ प्रतिशतबाट बढाएर २० प्रतिशत पु¥याएको हो ।

रुसी बैंक प्रवेश गर्दै एक युवा l तस्बिर एपी

उता युक्रेनी सुरक्षा परिस्थितीबारे छलफल गर्न संयुक्त राष्ट्रसंघ महासभाको आकस्मिक बैठक बस्दैछ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले युक्रेनमा जारी लडाईँका विषयमा छलफल गर्न महासभाको आकस्मिक बैठक डाकेको हो ।

युक्रेनमाथि रुसी आक्रमणबारे छलफल गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् l तस्बिर एएफपी

अपेक्षाअनुसार सफलता हासिल गर्न नसकिरहेका बेला रुस युक्रेनसँग वार्ता गर्न राजी भएको छ । यसअघि युक्रेन सरकारलाई नव नाजीको संज्ञा दिएको रुसले युक्रेनसँग वार्ता गर्न अनिच्छा प्रकट गर्दै आइरहेको थियो । वार्ता गर्नका लागि युक्रेनी वार्ता टोली बेलारुस आइपुगेको बताइएको छ ।

बेलारुसको विदेश मन्त्रालयले सार्वजनिक गरेको वार्ता स्थलको l तस्बिर श्रोत बेलारुसको विदेश मन्त्रालय ट्वीटर

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  ५ : ५१ बजे

व्यावसायिक योजनाबिनै दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइयो : अध्यक्ष लिङ्देन

भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गौतमबुद्ध

तीन दिनदेखि जारी तनाव कम गर्दै अन्ततः अमेरिकी मध्यस्थतामा भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं– तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान

पूर्वाधार निर्माणमा पर्यावरणको मापदण्ड पालना गरौँ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वाधार निर्माणका क्रममा पर्यावरणको मापदण्ड

भारतले पनि गर्‍यो पाकिस्तानबीच युद्धविरामको पुष्टि

काठमाडौं– पाकिस्तानसँग युद्धविराम गर्न सहमत भएको भारतीय पक्षले पनि पुष्टि

तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तटस्थ स्थानमा वार्ता गर्न भारत र