मानिसलाई आत्महत्याबाट रोक्ने उद्धेश्यले काम गर्छौँ | Khabarhub Khabarhub

मानिसलाई आत्महत्याबाट रोक्ने उद्धेश्यले काम गर्छौँ

‘म आफैँ विभेदमा परेपछि संस्था खोलेर अगाडि बढेकी हुँ’


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, दुःखले मान्छेलाई बलियो बनाउँछ । अनि भोगाइले मान्छेलाई अनुभवी बनाउँछ । नेपालमा पनि आफूले भोगेर अरुले त्यस्तो दुःख र भेदभाव सहन नपरोस् भन्ने हेतुले अभियानमा होमिएका उदाहरणीय व्यक्ति थुप्रै छन् । यसै मध्येकी एक हुन्, शर्मिला बस्नेत । उनी जन्मने बित्तिकै विभेदमा परिन्। नातिको रहर गरेर बस्नुभएका हजुरबुवाले शर्मिलाको जन्म भएपछि उनलाई हेर्न चाहनु भएन । शर्मिलाका कारण बुवा आमाले समेत हजुरबुवाको खटपट सहनु पर्‍यो। त्यसपछि घरबार राम्रो बनाउनलाई शर्मिलालाई सानैमा मामाघर हजुरआमासँग लगेर छोडियो । मामाघरमै पालनपोषण भयो । मामाघरबाटै सानै उमेरमा उनको बिहे गरिदिए। उनको बिहे हुँदा जम्मा १७ वर्षकी रहेको उनी सुनाउँछिन्। सानै उमेरमा बिहे भएपनि खुसी साथ चलेकै थियो । बिहे गरेको वर्षमा छोरा पनि जन्मियो । तर छोरा १५ महिनाको हुँदा उनले श्रीमान गुमाउनु पर्‍यो। कलिलो उमेरमै एक्लो हुनुपरेको पीडासँगै छोरो हुर्काउने जिम्मेवारी पनि थपिएको थियो । तर फेरी उनले परिवारबाटै उनकै कारणले श्रीमानको मृत्यु भएको लाच्छना सहनुपर्‍यो । तर उनले ससुरा बुबाले भने त्यो समयमा आफूलाई निकै सहयोग र माया गरेको पनि बताइन् । आफूलाई सहयोग गरेका कारण ससुराले समेत अनेक लाच्छना सहनुपरेको उनी सम्झिन्छिन्। ससुराकै सहयोगमा विभिन्न समूह र संघ संस्थामा आवद्ध हुँदा उनले एचआइभी एड्सको क्षेत्रमा काम गर्ने अवसर पाएको सुनाइन् । यसका लागि एउटा संस्थाको स्थापना पनि भयो । त्यो हो, समृद्धि नेपाल । प्रस्तुत छ, समृद्धि नेपालकी अध्यक्ष शर्मिला बस्नेतसँग खबरहबका लागि यमुना रानाले गरेको कुराकानीको सम्पादित अंशः

समृद्धि नेपालले अहिले के कस्तो काम गरिरहेको छ ?

हामीले अहिले मानसिक स्वास्थ्यमा काम गरिरहेका छौँ । हुन त हामीले घरेलु हिंसा, विपद् व्यवस्थापन र एचआइभी एड्सको बारेमा पनि काम गछौँ । तर यी समस्यामा परेकाहरू अन्त्यमा आएर मानसिक स्वास्थ्यको समस्याबाटै गुज्रिने भएकाले हामीले मानसिक स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर काम गरिरहेका छौँ ।

मानसिक स्वास्थ्य अलिकति जटिल विषय पनि मानिन्छ । किनभने झट्टै यस्तो समस्या भएको मानिसहरुले थाहा पाउँदैनन् । यहाँहरूले यो विषयमा कसरी काम सुरु गर्नुभयो ?

कोभिड महामारीको समयमा मानिसहरु मानसिक समस्याबाट गुज्रिनु पर्‍यो। मानिसहरुले आफ्नो गरिरहेको काम, रोजगारी, व्यापार व्यवसाय गुमाउनुपर्दा हाम्रै वरपर यस्तो समस्या भोगेर आत्महत्या गर्ने घटनाहरुसम्म भए । यस्तो घटनाहरु देख्दा मानसिक स्वास्थ्यको समस्यामा काम गर्नुपर्छ भन्ने लाग्यो । र, साथीहरूसँग कुराकानी हुँदा सरसल्लाह हुन्थ्यो । त्यतिकैमा हामीले एउटा अनौपचारिक संस्था अर्थात ‘लुज ग्रुप’ बनाएर सक्ने काम सुरु गर्‍यौँ। हामी ग्रुपमा रहेका मानिसहरूलाई मानसिक स्वास्थ्यको बारेमा कुराकानी गर्ने र म मेडिटेसन पनि गराउने गथ्र्यौ । पछि त्यही समूहलाई एउटा संस्थाको रुप दिएर औपचारिक रूपमा यसमा काम गर्न सुरु गर्‍यौँ ।

त्यसअघि के के गर्नुभयो ?

त्यसअघि मैले एचआइभी एड्सको क्षेत्रमा लगभग १५ वर्ष काम गरेँ । त्यहाँ काम गर्दा जतिपनि एचआइभी संक्रमितहरु हुनुहुन्थ्यो, उहाँपछि विस्तारै मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएको देखेँ । त्यहाँ काम गर्दा पनि मैले मानसिक स्वास्थ्यमा काम गरेँ । तर त्यहाँ अलि बढी फिजिकल स्वास्थ्यलाई जोड दिएर काम गरिन्थ्यो । त्यहाँ काम गर्दाखेरी नै मानसिक स्वास्थ्यमा काम गर्नुपर्ने रैछ भन्ने अनुभुति गरेकी थिँए । त्यो संगसंगै कोभिड महामारी सुरु भयो । त्यो बेला घरेलु हिंसामा परेका महिलाहरू, एचआइभी संक्रमित साथिहरुसँग लुज ग्रुप बनाएर कुराकानी भइरहेको थियो । त्यो समयमा उहाँहरूलाई रोजगारी नहुँदा खाना, औषधीको समस्या भएको थियो । त्यो विपद्लाई पनि व्यवस्थापन गर्न सकिन्छ भनेर हामी दुई चार जना साथीहरू मिलेर हामीले हाम्रो सम्पर्कमा रहेका दातृ निकाय तथा व्यक्तिगत रूपमा सहयोग संकलन गरेर समस्यामा परेकाहरुलाई वितरणको काम गर्‍यौँ । त्यो समयमै अब मानसिक स्वास्थ्यको समयमा लागि हालौँ भन्ने लागेर हामीले औपचारिक रूपमा सुरु गर्‍यौँ।

समृद्धि नेपाल सुरुवात गर्दा कस्ता व्यक्तिहरुलाई समेटेर सुरु गर्नुभयो ?

एचआइभी संक्रमित, घरेलु हिंसामा परेका महिला र बालबालिका तथा कोभिडको कारणले विपद्मा परेर जोडिनुभएका व्यक्तिहरू हुनुहुन्थ्यो । सबैको सल्लाहमा काम सुरु गरेका हौँ । सुरुमा हामी १० देखि १५ जनाले सुरु गरेका हौँ । अहिले चाहिँ डेढ सय जना छौँ । अझै बढ्ने क्रम छ ।

सेवा विस्तार कसरी गर्नु भएको छ ?

हामीले विभिन्न संघ संस्थाको सहयोगमा कार्यक्रमहरू गरेर सेवा दिने प्रयास गरिरहेका छौँ । मानसिक स्वास्थ्यमा चाहिँ ‘द स्कुल अफ साइकोलोजी’ नेपालले टेक्निकल रूपमा सहयोग गर्नुभएको छ । त्यहाँ साइकोलोजिष्ट, काउन्सिलरहरुको समूह छ । उहाँहरूले भोलेन्टियर रूपमा हाम्रो संस्थाको सदस्यहरूलाई परामर्श दिनुको साथै मानसिक स्वास्थ्यको बारेमा जनचेतनामूलक कार्यक्रमहरूमा सघाउनुहुन्छ । हामीले हाम्रा सबै सदस्यलाई भेला गरेर हरेक साता यो कार्यक्रम गरिरहेका छौँ । अनि हाम्रा सदस्यहरूलाई त्यो परामर्श र कार्यक्रमहरू राम्रो लागेपछि उहाँहरूले आफूजस्तै समस्यामा परेका व्यक्तिहरूलाई शेयर गर्नुहुन्छ । हामी त्यसो गर्न भन्छौँ । पनि त्यसरी पनि हाम्रो सदस्यहरू बढ्दै हुनुहुन्छ । साथै हाम्रो सामाजिक सञ्जालहरूमा पनि मानसिक स्वास्थ्य सम्बन्धी गरिएका गतिविधि राख्ने गछौँ । त्यो हेरेर पनि हामीलाई सम्पर्क गरेर आउनुहुन्छ ।

समृद्धि नेपालमा आवद्ध सबै जना कुनै न कुनै रूपले पीडित अथवा समस्यामा परेका व्यक्तिहरू हुनुहुन्छ हो ?

एकदमै हाम्रा संस्थाका सदस्य भनेको घरेलु हिंसामा परेका, एचआइभी एड्स संक्रमित, विपद्मा परेका व्यक्ति तथा मानसिक स्वास्थ्यमा समस्या देखिएका व्यक्तिहरू नै हाम्रो सदस्यहरू हुनुहुन्छ ।

तपाईंहरु विभिन्न ४ विषयमा रहेर काम गर्दै हुनुहुन्छ भन्ने सुन्यौँ । सबैभन्दा बढी कुन समस्या भएको पाउनु भएको छ ?

मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएको व्यक्तिहरू नै बढी हुनुहुन्छ । यो हुनुमा अस्वस्थ खानपान, जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा जस्ता कारणले गर्दा मानिसहरू बढी यो समस्यामा परेको देख्छु । झनै कोभिड महामारीले यो समस्या बढायो ।

घरेलु हिंसाको अवस्था कस्तो पाउनु भएको छ ?

अहिले घरेलु हिंसाका घटनाहरू बढेको देखिन्छ । घरेलु हिंसामा विशेषगरी महिलाहरू नै पर्नुहुन्छ । त्यसमा पनि बढी जसो श्रीमानबाटै पीडित भएको पाएका छौँ । भर्खरै मात्रै पनि यस्तो एउटा केस हामीसम्म आयो । त्यसमा एक जना महिलालाई श्रीमानले कुटपिट, मानसिक यातनासँगै यौन दुर्व्यवहार पनि खेप्नुपर्‍यो । उहाँ त्यो सबै यातना सहन नसकेर आत्महत्या गर्ने सम्ममा पुग्नुभएको थियो । हामीसम्म घटना आएपछि अहिले उहाँलाई निरन्तर परामर्शमा राखेको छौँ । त्यस्तै कतिपय हिंसामा परेर घरबास समेत गुमाएका पीडितहरूलाई हामीले भेट्छौँ । हाम्रो भर्खरै नयाँ भएको हुनाले जनचेतनाको काम मात्रै गरिरहेको हुँदा सेल्टरको व्यवस्थापन गर्न सकेका छैनौँ । तर, अरू मानसिक स्वास्थ्यमा काम गर्ने संघ संस्थाहरूसँग समन्वय गरेर त्यहाँसम्म लगिदिन सहयोग गछौँ ।

अहिलेसम्म यस्ता समस्या देखेर कतिजना व्यक्तिहरू आइपुग्नु भयो ?

अहिलेसम्म दुई सय जना जति पुग्नुभयो होला । त्यसमध्येमा एकदमै जटिल केशहरु आएका छन् । जो केही व्यक्ति त आत्महत्या गर्ने अवस्थासम्म पुगिरहेका छन् । १५ जना व्यक्तिहरूलाई साइकोलोजिष्ट डाक्टरहरु संस्थामै आएर परामर्श गरिदिनु हुन्छ । त्यसले उहाँको अवस्था सुधार आएको छ ।

तपाईंहरुले गरिरहेको काममा एचआइभी एड्सप्रति मानिसहरूको दृष्टिकोण अझै परिवर्तन भएको छैन । एड्स संक्रमित मानिस खुल्न नसक्दा उनीहरुसम्म तपाईं कसरी पुग्नुहुन्छ ?

एचआइभी संक्रमित धेरै व्यक्तिहरू हामीसँग जोडिनुभएको छ । तर, यो विषय आफैँमा संवेदनशील विषय छ । संक्रमितहरु समाजमा खुल्न अझै गाह्रो छ । किनभने यसको उपचार हुने भएपनि म संक्रमित हुँ भन्यो भने समाजमा भेदभाव त भई नै रहन्छ । त्यसले गर्दा मानिसहरू यो आफैमा सीमित राखेर बस्न बाध्य छन् । यसले संक्रमण त छँदैछ तर आफ्नो रोगबारे समाजमा खुल्न नसक्दा अर्को मानसिक तनाव हुन्छ । यसले मानिसलाई पुर्‍याउने भनेको मानसिक स्वास्थ्य समस्यामा नै हो । अर्को कुरमा यसको औषधि नियमित खानुपर्ने हुन्छ । कहिलेकाहीँ मानिलाई नियमित औषधि सेवनले पनि डिप्रेसनको सिकार बनाउँछ ।

जतिपनि नियमित रूपमा एचआइभी एड्सको औषधी सेवन गर्ने व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूमा ‘डबल डिजिज’ देखिने समस्या बढेको छ । जस्तो एचआइभी प्लस क्यान्सर, एचआइभी प्लस डाइबेटिज, एचआइभी प्लस डिप्रेसन देखिने गरेको छ । त्यस्तो अवस्थामा हामीले परामर्शको साथै परामर्शले नपुग्ने अवस्थामा थेरापेटिकल कक्षाहरू पनि दिन्छौँ । हामीसँग डा.नरेन्द्र ठगुन्ना र स्टाफ नर्स माया चौधरी हुनुहुन्छ । उहाँहरूको निःशुल्क सेवाका कारण पनि अझ संक्रमितहरु हामीसँग जोडिदै जानु भएको छ ।

तपाईंहरुले दिने सेवा कहाँ कहाँ विस्तार भइरहेको छ ?

खासमा कार्यालय भक्तपुरमा भएकाले त्यहाँकै स्थानीय अलि बढी हामीसँग जोडिनु भएको छ । त्यही अनुसार सेवा पनि पाउनु भएको छ । तर अरु ठाउँबाट पनि आउनुभएको खण्डमा हामी देशभरकै सबै व्यक्तिहरूलाई हामी सेवा दिन्छौँ । त्यसमध्ये महिलालाई हामीले अलि प्राथमिकता दिएर काम गछौँ ।

संस्थामा आवद्ध हुन के गर्नुपर्छ ?

एअचाइभी संक्रमित, घरेलु हिंसामा परेका, मानसिक स्वास्थ्य समस्या भएका र विपद्मा परेका व्यक्तिहरूले सदस्यता लिन सक्नुहुन्छ । महिला बढी प्राथमिकतामा राखेका छौँ । तर महिला पुरुष दुवैले सदस्यता लिन सक्छन् ।

त्यसो भए तपाईं आफैँ पनि सुरुमा पीडित भएर नै यति धेरै काम गर्ने प्रेरणा पाउनु भएको हो ?

मेरो सानै उमेरमा बिहे भएको थियो । बिहे भएर छोरो जन्मिएको १५ महिनामा श्रीमान् गुमाउनु पर्‍यो। १५ महिनाको छोरो अहिले २० वर्षको भयो । त्यो छोरोलाई यत्रो वर्ष हुर्काउन एकल महिलालाई कति समस्या हुँदो रहेछ भन्ने कुरा भोगेँ । समाजमा एक्लै हुर्काउनलाई एकदमै संघर्ष गर्नुपर्‍यो । त्यो समयमा कहिलेकाहीँ आफूलाई पनि मानसिक रूपमा विक्षिप्त पाउँथे । म आफू संघ संस्थामा आवद्ध भएर काम नगरेको भए म पनि मानसिक स्वास्थ्य समस्याको सिकार हुन्थेँ होला । समाजले हेर्ने, परिवारले हेर्ने दृष्टिकोण, त्यसमाथि बच्चाको लालनपालन र शिक्षाको जिम्मेवारी । तर मेरो काम, अध्यात्म र योगले त्यता जान दिएन । आफूलाई पनि त्यस्तो समस्याबाट गुज्रिएको र समाजमा व्याप्त त्यस्ता समस्या देखेकाले गर्दा काम सुरु गर्नलाई प्रेरणा मिल्यो ।

संस्थाका भावी योजना र उद्धेश्य के छन् ?

यसको सेवा अझै विस्तार गरेर धेरै व्यक्तिहरूलाई मानसिक स्वास्थ्य समस्या भोगेर सुसाइड नगरोस् भन्ने हाम्रो उद्देश्य हो । केही गरि समस्यामा परेर, मानसिक स्वास्थ्य समस्या झेलिरहेकाहरुलाई समाधानका लागि प्रेरणा दिएर आत्महत्या गर्नबाट जोगाउने योजना र उद्धेश्य राखेका छौँ ।

हिंसामा परेर विस्थापित भएकाहरूको व्यवस्थापनमा पनि काम गर्नुहुन्छ नि ?

हामीले गरेका छौँ । हामी हिंसा अथवा जुनसुकै केसको प्रकृति हेरेर हामी परामर्श दिने, हिंसामा परेको हो भने घटना भएका स्थानमा गएर पिडकहरूलाई पनि भेटेर लिगल प्रोसेसमा पनि सहयोग गछौँ । गत साता मात्रै पनि घरेलु हिंसाको केश आएको थियो ।

तपाईंहरुले यसरी काम गरिरहँदा सरकारी निकायबाट कत्तिको सहयोग पाउनु भएको छ ?

प्राय धेरै कुरामा सहकार्य गरेका छौँ । सबै सहयोग त सरकारी निकायबाट पाइन्छ । कहिलेकाहीँ केही समस्या पनि हुन्छ । तर पनि सहकार्य गर्नुहुन्छ । स्थानीय निकायहरूबाट तालिमहरू दिन बजेटहरू दिनुहुन्छ । साथै कोभिड महामारीको समयमा पनि हाम्रो समन्वयमा समस्यामा परेका हाम्रा संस्थामा आवद्ध सदस्यहरूलाई राहत दिएका थियौँ । अरु पनि सहयोग हुन्छ । भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  २ : ५८ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको