आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

 संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस युक्रेन भ्रमणमा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस युक्रेन पुगेका छन् । रुसको राजधानी मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग वार्ता गरेपछि गुटरेस युक्रेनको राजधानी किभ पुगेका हुन् ।

महासचिव गुटरेसले ट्वीट गरेर आफू मस्कोपछि युक्रेन पुगेको जानकारी दिँदै मानवीय सहयोग विस्तार गर्न र द्वन्द्वग्रस्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा लैजाने कामजारी राख्ने बताएका छन् ।

मस्को भ्रमणका क्रममा महासचिव गुटरेसले रुसलाई मानवीय उद्धारको काममा संयुक्त राष्ट्रसङघ र रेडक्रसको संलग्नताका लागि सहमत गराएका छन् ।

युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने पुटिनको चेतावनी

युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्नेलाई ‘विजुलीको गतिमा’ जवाफ दिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । ‘हामीसँग सबै उपकरणहरू छन्, जुन कसैले घमण्ड गर्न सक्दैन … आवश्यक परेमा हामी तिनीहरूलाई प्रयोग गर्नेछौँ’, राष्ट्रपति पुटिनले भने ।

उनको पछिल्लो भनाइलाई ब्यालिस्टिक मिसाइल र आणविक हतियारहरूको प्रयोगसँग जोडिएको छ ।

ती उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने निर्णय पहिले नै भइसकेको उनले बताए । तर, त्यसबारे पुटिनले विस्तृत रूपमा भने खुलाएनन् ।

यसअघि रुसले आणविक हमला गर्न सक्ने चेतावनी दिएको थियो । युक्रेनका सहयोगीहरूले हतियारको आपूर्ति बढाएका छन् । युक्रेनले रुसी सेनालाई पराजितको सुनिश्चित गर्ने अमेरिकाले वाचा गर्दैै आएको छ । पूर्वी युक्रेनमा आफ्नो प्रयासमा रुसी सेनालाई बाधा अड्चन आएको पश्चिमी अधिकारीहरूले बताएका छन् ।

राजधानी किभबाट फर्किएपछि गत साता रुसले दोसनबास क्षेत्रलाई नियन्त्रण गर्न प्रमुख हमला गरेको थियो । तर, युक्रेनी फौजलाई पराजित गर्न कठिन भइरहेको र त्यहाँ पनि रुसले क्षति सामना गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

ईयूद्वारा युरोपमा रूसी इन्धनको युग समाप्त हुन लागेको चेतावनी

युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो ।

रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाइन ।

यसअघि वार्सासोफियाका राजनीतिक नेताहरूले रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए ।

पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ । रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए ।

बुधबार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिदिएको थियो । रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि कम्पनीले उक्त कदम चालेको थियो ।

बुधवार जारी एक विज्ञप्ति जारी गर्दै ग्याजप्रोमले राष्ट्रपति पुटिनले जारी गरेको आदेशअनुसार पोल्याण्ड र बुल्गेरियामा पूर्ण रूपमा ग्यास आपूर्ति रोकिएको जनाएको थियो ।

६ वर्ष मुनिका बालबालिकालाई विद्यालय नपठाउन भारतीय सर्वोच्च अदालतको आदेश

भारतको सर्वोच्च अदालतले ६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउन आदेश दिएको छ ।

न्यायाधीश सञ्जय किशन कौल र एमएम सुन्दरेशको इजलासले केन्द्रीय विद्यालयमा कक्षा १ मा विद्यार्थी भर्नाको न्यूनतम उमेर ६ वर्ष पुर्‍याएको छ । यसअघि, न्यूनतम उमेर पाँच वर्ष थियो ।

विद्यालयमा भर्नाका लागि न्यूनतम उमेर ५ बाट ६ वर्ष पुर्‍याउने केन्द्रीय विद्यालय संगठनको निर्णयविरुद्ध अभिभावकहरूले रिट दायर गरेका थिए । यही रिटको सुनुवाइ गर्दै कम उमेरमा विद्यालय नपठाउन अदालतले आदेश दिएको हो ।

कम उमेरमा विद्यालय पठाउनु बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्यका लागि उचित नहुने अदालतको तर्क छ ।

बालबालिकालाई विद्यालय पठाउन हतार गर्न आवश्यक नभएको भन्ने कुरा अनुसन्धानहरूबाट खुलेको समेत अदालतको जिकिर छ ।

ग्याँसको व्यापारलाई रुसले हतियार बनाएको जेलेन्स्कीको आरोप

रुसले ग्यासको व्यापारलाई हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

नियमित भिडियो सन्देश जारी गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले ग्यासको व्यापारलाई हतियार बनाएको आरोप लगाएका हुन् ।

पोल्याण्ड र बुल्गेरियालाई ग्यासको आपूर्ति रोक्ने रुसी घोषणापछि युक्रेनी राष्ट्रपतिले यस्तो टिप्पणी गरेका हुन् ।

सन्देशका क्रममा उनले ‘यसबाट युरोपमा कसैले पनि रुससँग आर्थिक साझेदारीको अपेक्षा गर्न नसक्ने’ टिप्पणी गरेको बीबीसीले जनाएको छ ।

‘रुसले ग्यासमात्र होइन जुनसुकै व्यापारलाई पनि हतियारको रुपमा बुझेको छ । उ अर्को कुनै व्यापारलाई पनि (हतियारका रूपमा) प्रयोग गर्न सही समय कुरेर बसिरहेको छ ।’ उनले भने ।

यसअघि युरोपेली युनियनले पनि बुल्गेरिया र पोल्याण्डलाई ग्यासको आपूर्ति रोकेर रुसले ब्याकमेल गरिरहेको टिप्पणी गरेको थियो । 

अफगानिस्तानको कोइला खानीमा आक्रमणमा परी ५ जनाको मृत्यु

अफगानिस्तानमा बन्दुकधारीको आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको को सामाङ्गन प्रान्तस्थित कोइला खानीमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अज्ञात बन्दुकधारीहरूको आक्रमणमा परी मारिनेमा उक्त कोइला खानीमा कार्यरत ५ कामदार रहेको बताइएको छ ।

अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानका स्थानीय अधिकारीहरूका अनुसार उक्त घटना अफगानिस्तानको बाल्ख प्रान्तको सिमानामा रहेको दारा–ए–सोफ जिल्लाको कोटल रेगी क्षेत्रमा भएको थियो ।

सरकार सञ्चालित बख्तार समाचार एजेन्सीको रिपोर्ट अनुसार खानीमा काम गर्नेहरूलाई शुरुमा लुटिएको थियो त्यसपछि गोली हानिएको थियो । सबै मारिनेहरू जिल्लाका स्थानीय बासिन्दा हजारा समूहका रहेको बताइएको छ ।

उक्त घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसले जनाएको छ । पछिल्लो समय विश्व समुदाय अफगानिस्तानमा आतङ्कवादको पुनरुत्थानको बारेमा चिन्तित रहेको बताइएको छ ।

अफगानिस्तानमा तालिबान सरकारले बारम्बार विजयको दाबी गरेको र अफगानिस्तानमा शान्ति र स्थायित्वको आश्वासन दिए पनि धेरै शहरहरूमा बम विस्फोट र आक्रमणहरूको शृङ्खलाले त्यसलाई थप चिन्तित तुल्याएको छ।

हालैका दिनहरूमा भएका आक्रमणहरूको क्रमले संयुक्त राष्ट्र संघ, पूर्व अफगान राजनीतिज्ञहरू साथै मानवअधिकार समूहहरू लगायत विश्व समुदायले निन्दा गरेका छन् ।

म्याक्रोंमाथि गोलभेँडा प्रहार

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंमाथि गोलभेँडा प्रहार भएको छ । राष्ट्रपति पदमा आइतबार पुनः निर्वाचित भएपछि सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोंमाथि गोलभेँडा प्रहार भएको बेलायती अखबार डेली मेलको अनलाइन संस्करणले जनाएको छ । 

राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्रोंले फ्रान्सेली जनतालाई धन्यवाद दिन पेरिस नजिकैको सेर्जी नगरको भ्रमण गर्ने बेला भीडबाट कसैले उनलाई गोलभेँडाको झोलाले प्रहार गरेको थियो ।

तर, राष्ट्रपतिलाई गोलभेँडाले लागेन । म्याक्रोंलाई प्रहार गरेको गोलभेँडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलेँभडाले लागेपछि ती सुरक्षाकर्मी अत्तालिएर चिच्याएका थिए ।

तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोंलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष छाता खोलेर म्याक्रोंलाई ढाकेका थिए ।

दादुरा रोगका घटना ८० प्रतिशतले बढ्यो

यस वर्ष विश्वभर दादुराका घटनाहरू लगभग ८० प्रतिशतले बढेको राष्ट्र संघले जनाएको छ । रोग वृद्धिले अन्य रोगहरूको प्रकोप बढ्ने सम्भावना तर्फ संकेत गरेको पनि राष्ट्र संघले चेतावनी दिएको छ ।

कोरोना भाइरस महामारीले विश्वभर गैरकोभिड रोगहरूका लागि खोप अभियानहरू अवरुद्ध भएको र यसले लाखौं बालबालिकाको जीवनलाई जोखिममा पार्न सक्ने राष्ट्रसंघीय बाल कोष युनिसेफ र विश्व स्वास्थ्य संगठनले जनाएका छन् । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार जनवरी र फेब्रुअरीमा विश्वभर १७ हजार ३ सय ३८ जनामा दादुरा देखिएको छ । गत वर्ष सोही अवधिमा ९ हजार ६ सय ६५ जनामा यो रोग देखिएको थियो । 

पछिल्लो १२ महिना यता दादुराका २१ वटा ठूला प्रकोप देखिएका छन् । तीमध्ये अधिकांश अफ्रिका र पूर्वी भूमध्यसागरमा देखिएको बताइएको छ ।

फिनल्याण्ड र स्विडेनलाई न्यानो स्वागत गरिने नेटो महासचिवको टिप्पणी

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव येन्स स्टोल्टेनबर्गले स्विडेन र फिनल्याण्डले सदस्यताका लागि आवेदन दिए स्वागत गर्ने टिप्पणी गरेका छन् ।

स्टोल्टेनबर्गलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार सदस्यताका लागि आवेदन दिएको खण्डमा नेटोले फिनल्याण्ड र स्विडेनलाई खुला हृदयले स्वागत गरिनेछ ।

‘यो उनीहरूको निर्णय हो । तर यदि उनीहरूले आवेदन दिने निर्णय गरेको खण्डमा फिनल्याण्ड र स्विडेनलाई नेटोमा न्यानो स्वागत गरिनेछ र मेरो आशा छ, यो प्रक्रिया चाँडै सकिनेछ ।’ स्टोल्टेनबर्गलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

यद्यपि उनले ती मुलुकहरू नेटोमा पूर्ण रुपमा आबद्ध हुन कति समय लाग्छ भन्नेबारे कुनै विवरण नदिएको जनाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला फिनल्याण्ड र स्विडेनले नेटोमा सदस्यताका लागि आवेदन दिन लागेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला स्टोल्टेनबर्गको यस्तो टिप्पणी आएको हो ।

केही दिनअघि स्विडेन र फिनल्याण्डका अखबारहरुले अर्को महिना दुई मुलुकले सदस्यताका लागि आवेदन दिनेबारे सार्वजनिक घोषणा गर्ने खुलासा गरेका थिए ।

युक्रेनमा युद्ध जारी रहेका बेला रुस र अमेरिकाबीच बन्दी साटासाट

युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिका र रुसबीचको सम्बन्ध चिसिरहेका बेला दुई मुलुकले बन्दी साटासाट गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार दुई मुलुकले बन्दी साटासाट गरेका हुन् ।

रुसले जेलमा रहेका अमेरिकी मरिन फौजका पूर्व सैनिक ट्रेभर रिडलाई रिहा गरेको र बदलामा अमेरिकाले पनि रुसी पाइलट कन्स्टन्टाइन यारोश्चेन्कोलाई रिहा गरेको हो ।

उनीहरुलाई टर्कीमा साटासाट गरिएको रिडका पिता जोइ रिडलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

रिडलाई धेरै रक्सी खाएर प्रहरीमाथि हातपात गरेको आरोपमा सन् २०१९ मा रुसले नियन्त्रणमा लिएको थियो । यता यारोश्चेन्कोलाई अवैध लागूऔषध कोकेन तस्करी गर्ने षड्यन्त्र गरेको आरोपमा अमेरिकामा पक्राउ गरिएको थियो ।

रिडलाई रुसमा ९ वर्षको कारावास सजाय सुनाइएको थियो भने यारोश्चेन्कोले अमेरिकामा २० वर्षको सजाय पाएका थिए ।

अमेरिकी प्रशासन ह्वाइट हाउसले बन्दी साटासाट भएको घटनाको स्वागत गरेको जनाएको छ । यद्यपि बन्दी साटासाट गर्ने कदमले दुई मुलुकबीचको सम्बन्धमा तत्कालै कुनै ठूलो परिवर्तन आइहाल्ने सम्भावना नरहेको एपीले जनाएको छ ।

युक्रेनमा युद्ध सुरु भएयता जर्मनीले रुसबाट ९ अर्बभन्दा धेरैको इन्धन खरिद गरेको खुलासा

युक्रेनमा रुसी आक्रमण शुरु भएयता रुसबाट जर्मनीले ९ अर्ब १० करोड डलर भन्दा धेरैको खरिद गरेको तथ्यांक सार्वजनिक भएको छ ।

स्वतन्त्र शोध समूह सेन्टर फर रिसर्च अन इनर्जी एण्ड क्लिन एअरका अनुसार युक्रेनमाथि आक्रमण थालेको दुई महिनामा जर्मनीले ९ अर्ब १० करोड डलरको रुसी इन्धन खरिद गरेको हो ।

समग्रमा भने रुसले गत फेब्रुअरी २४ यता ६६ अर्ब ५० करोड डलरको इन्धन निर्यात गरेको तथ्यांकमा उल्लेख छ ।

पानीजहाजको गतिविधिको विश्लेषण, पाइपलाइनमार्फत तेल आपूर्तिको निगरानी र ऐतिहासिक मासिक व्यापारको अनुमानका आधारमा तथ्यांक सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

एपीका अनुसार यसबारे जर्मन पक्षले टिप्पणी गर्न अस्वीकार गरेको छ ।

मध्य अफ्रिकी गणतन्त्रले बिट्कोइनलाई कानुनी मान्यता दियो

मध्य अफ्रिकी गणतन्त्रले बिट्कोइन क्रिप्टोकरेन्सीलाई औपचारिक मुद्राका रुपमा कानूनी मान्यता दिएको छ ।

बिट्कोइनलाई कानूनी मान्यता दिन सांसदहरूले सर्वसम्मत निर्णय गरेको त्यहाँको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीबीसीका अनुसार उक्त निर्णयले मुलुकलाई संसारको ‘सबैभन्दा साहसिलो र भविष्यदर्शी देशहरूको मानचित्रमा’ पुर्‍याएको विज्ञप्तिमा लेखिएको छ ।

यससँगै मध्य अफ्रिकी गणतन्त्र बिट्कोइनलाई कानूनी मान्यता दिने दोश्रो मुलुक बनेको बीबीसीले जनाएको छ । यसअघि गत वर्ष सेप्टेम्बर महिनामा ल्याटिन अमेरिकी मुलुक एल साल्भाडोर बिट्कोइनलाई कानूनी मान्यता दिने विश्वकै पहिलो देश बनेको थियो ।

हिरा, सुन र युरेनियम जस्ता प्रचुर खनिज पदार्थ भएपनि यो मुलुक विश्वकै सबैभन्दा गरिब मुलुकको सूचीमा पर्छ ।

त्यहाँ अहिले फ्रान्सका अन्य पुराना उपनिवेशहरूमा जस्तै फ्रान्सले समर्थन गरेको सीएफए फ्र्याङ्क मुद्रा प्रचलित छ ।

बीबीसीका अनुसार केही विश्लेषकहरूले बिट्कोइनलाई कानूनी मान्यता दिने मध्य अफ्रिकी गणतन्त्रको निर्णय सीएफएलाई तिरस्कार गर्ने प्रयासस्वरूप भएको ठानेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  ९ : २७ बजे

एनसेलको शेयर बिक्रीमा नेपालका नेताको पनि संलग्नता छ : सांसद सिंह

काठमाडौं – स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले सरकारको स्वामित्वमा आउन

सरकारको स्वामित्वमा आउन नदिन एनसेलको शेयर बिक्री भयो : सांसद सिंह

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सरकारको स्वामित्वमा आउन नदिन

विकासका लागि सरकारमा एमाले चाहिन्छ : ओली

दैलेख – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनको कुरा

जलवायु र विपद् जोखिमको मूल्याङ्कन र व्यवस्थापन गर्न एडीबीले नेपाल र भुटानलाई सहयोग गर्ने

काठमाडौं- एसियाली विकास बैंक एडीबीले हिन्दुकुश हिमालय क्षेत्रमा उत्पन्न हुने

नेप्से परिसूचकमा सामान्य गिरावट

काठमाडौं- यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज