आज असार १४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्
अमेरिकामा ४६ आप्रवासी मृत फेला
अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमाकम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्धारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्रयाक नजिक लरी फेला परेको थियो ।
न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् । सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २५० किलोमिटर टाढा छ । टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिएका छन् । उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उनले दाबी गरेका छन् ।
मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताए । मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी नगरेको बीबीसीले जनाएको छ । सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ । सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सिय थियो ।
सोनिया गान्धीका सचिवविरुद्ध बलात्कारको आरोप
भारतमा कंग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ । एक २५ वर्षीय युवतीले यस्तो आरोप लगाएकी हुन् । दिल्ली प्रहरीले २५ वर्षीया महिलाको उजुरीमा गान्धीका निजी सचिव पीपी माधवनविरुद्ध बलात्कार र आपराधिक धम्कीको मुद्दा दर्ता गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
आफूलाई जागिर दिने प्रलोभन देखाएको र विवाहको आश्वासन दिएको पीडितले माधवन विरुद्ध आरोप लगाएकी छन् । पीडितलाई कथित रूपमा बलात्कार गरेको र घटनाबारे सार्वजनिक गरेमा आरोपितले गम्भीर परिणाम भोग्ने धम्कीसमेत माधवनले दिएको एक प्रहरी अधिकारीले बताएका छन् ।
श्रीलंकामा दुई साताका लागि इन्धन बिक्रीमा रोक
आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाबाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ ।
तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ । ‘सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्रीहुने छैन, किनकि हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं’, सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले भने ।
अभावका लागि उनले उपभोक्तसँग माफीसमेत मागे। ‘मानिसहरुमा पर्न गएको असुविधाप्रति खेद प्रकट गर्दर्छो’, उनले अगाडि भने । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र पाएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ । इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादनआयतका लागिसमेत रकम तिर्न सकेको छैन् ।
युक्रेनको सपिङ मलमा रुसी क्षेप्यास्त्र आक्रमण, १६ जनाको मृत्यु
युक्रेनको क्रेमेन्चुक सहरमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । मिसाइल हमलामा ५९ जना घाइते भएका युक्रेनको आपतकालीन सेवाका प्रमुखले बताएका छन् ।
‘अहिलेसम्म हामीलाई १६ जनाको मृत्यु र ५९ जना घाइते भएको थाहा छ । तीमध्ये २५ जना अस्पतालमा भर्ना छन्’, आपतकालीन सेवाका प्रमुख सर्गी क्रुकले भने । सपिङ सेन्टरमा हमलापछि भग्नावशेष हटाउने र आगो निभाउने कार्य भइरहेको उनले बताए । आक्रमणको समयमा हजारौँ सर्वसाधारण उक्त सपिङ मलमा रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका थिए ।
‘मलमा आगो लागेको छ, उद्धारकर्ताहरू आगो निभाउने क्रममा छन् । पीडितहरूको संख्या कल्पना गर्न असम्भव छ’, जेलेन्स्कीले फेसबुकमा लेखेका थिए । क्रेमेन्चुक सहरको जनसंख्या २ लाख २० हजार छ ।
४३ क्यानेडियाली रुसको कालो सूचिमा
यूक्रेनमा रूसले आक्रमण गरेको आरोपमा ओटावाले लगाएको प्रतिबन्धको जवाफमा रूसले सोमबार थप ४३ जना क्यानेडियालीलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ ।
रूसी विदेश मंत्रालयद्वारा प्रकाशित नयाँ कालो सूचीमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीका नेता सुजान कावन र क्यानेडियाली तथा बेलायती केन्द्रीय बैंकका पूर्व गभर्नर मार्क कार्नी समावेश रहेका छन् । रूसले वरिष्ठ निजामती कर्मचारी, उच्चअधिकारीका राजनीतिक सल्लाहकार र नागरिक समाजका सदस्यहरूलाई पनि दण्डित गरिएको जनाएको छ । मस्कोको विदेश मन्त्रालयले ट्रुडो सरकारको ‘रूसोफोबिया’ को आलोचना गरेको छ ।
यूक्रेनमा आफ्नो आक्रमणको सुरुवातदेखि नै रूसले आफ्नो इलाकामा प्रवेश गर्न सोमबार घोषणा गरिएका लगायत ७०० भन्दा बढी क्यानेडियालीहरूलाई प्रतिबन्ध लगाएको छ । मे महिनामा क्रेमलिनले क्यानेडियाली राष्ट्रिय सार्वजनिक प्रसारक सीबीसी÷रेडियो–क्यानडाको मस्को कार्यालय बन्द गरी आफ्ना पत्रकारको भिसा र मान्यता पास रद्द गरेको थियो ।
यो कदम मार्चमा रूसी राज्य सञ्चालित सञ्चारमाध्यम आरटीमा प्रतिबन्ध लगाउने क्यानाडाको निर्णयको बदलामा भएको बताइएको छ ।
म्यान्मारमा आधा अर्ब डलरभन्दा धेरैको लागूऔषध नष्ट
म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागूऔषध नष्ट गरिएको छ। लागूऔषध उन्मूलन गर्ने प्रयासस्वरूप म्यानमारका अधिकारीहरूले ठूलो परिमाणमा लागूऔषध नष्ट गरेका हुन् । लागूऔषध दुरुपयोग र अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ को अवसरमा ठूलो परिमाणको लागूऔषध नष्ट गरिएको हो ।
म्यामारमा मेथाम्फेटामाइन किर्तिमानी स्तरमा उत्पादन हुँदै आएको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ। लगभग दुई टन हेरोइन र ६३० मिलियनभन्दा बढी मेथ चक्कीहरू म्यानमारको व्यापारिक केन्द्र यांगुन, मन्डलेको मध्य सहर र उत्तरमा सान राज्यमा विविध समारोहबीच जलाएर नष्ट गरिएको अधिकारीहरू जनाएका छन् । राष्ट्रसंघका अनुसार म्यानमारको सान राज्य लागुऔषध मेथका लागि दक्षिण पूर्वी एसियाको प्राथमिक स्रोत हो । विद्रोहीको केन्द्र मानिने उक्त राज्यमा बारम्बार हिंसा हुने गरेका छन् । तर, गतवर्ष म्यानमारको सेनाले सत्ताकब्जा गरेपछि अपेक्षाकृत रूपमा त्यहाँ कम हिंसा भएको छ ।
लागूऔषध नष्टले म्यानमारको अर्बौं डलर बराबरको लागूऔषध उद्योगको बारेमा‘ दशक लामो भ्रम’ को प्रतिनिधित्व गर्ने स्वतन्त्र विश्लेषक डेभिड म्याथिसन बताउँछन् ।
बुल्गेरियाका प्रधानमन्त्रीद्वारा राजीनामा
बुल्गेरियाका प्रधानमन्त्री किरिल पेटकोभले अविश्वासको प्रस्ताव पारित भएपछि आफ्नो गठबन्धन सरकारको तर्फबाट राष्ट्रिय सभामा सोमबार राजीनामा बुझाएका छन् । संसदको प्रेस कार्यालयले जनाएअनुसार विश्वासको मत लिन नसकेपछि राजीनामा दिनुपर्ने संवैधानिक प्रावधान छ । पेटकोभको सरकारले नयाँ मन्त्रिपरिषद्को निर्वाचन वा नियुक्ति नभएसम्म काम चलाउको हैसियतमा काम गर्नेछ ।
सत्तारुढ गठबन्धनका चार साझेदार मध्येको एक जनता पार्टीले गत डिसेम्बरमा निर्वाचित भएको सरकारमा आफ्नो सहभागिता फिर्ता लिएको दुई सातापछि बुधबार मन्त्रिपरिषद् विघटन गरिएको थियो ।
प्रतिक्रिया