एमालेको चुनावी प्रधानमन्त्रीमा ओलीको प्रतिगमन रुप | Khabarhub Khabarhub

एमालेको चुनावी प्रधानमन्त्रीमा ओलीको प्रतिगमन रुप

गल्ती सच्याएर परिणाम ल्याउनेभन्दा खोक्रो राष्ट्रवाद भजाउने धृष्टता


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा एमालेले केन्द्रीय समितिको बैठकबाट अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको छ । शनिबार सकिएको बैठकले ओलीलाई नै फेरि एकपटक निर्विकल्प प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

तर एमालेकै नेतृत्वबाट भएको गम्भीर गल्तीलाई बेवास्ता गर्दै भावी प्रधानमन्त्री तोक्नु तत्कालको अवस्थामा प्रमुख प्रतिपक्षी दल जनताबाट थप आलोचित भएर नैराश्यता थप्नु बराबर हो ।

दुई दिनसम्म च्यासलमा चलेको एमाले केन्द्रीय कमिटीको बैठकले भावी प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओली मात्रै देखिएका पात्र हुन् । यो निर्णय ओलीका लागि सुखको विषय हो । किनकि उनले फेरि आफ्नो खोक्रो राष्ट्रवादलाई बेस्सरी उचाल्ने निश्चित छ ।

कम्तीमा आफ्नै कदमले प्रतिपक्षीमा खुम्चिएको पार्टीले प्रधानमन्त्री तोक्न हतार गर्नुपर्ने आवश्यकता थिएन । विगतका दिनमा ओलीको व्यक्तिगत निर्णयले गर्दा पार्टीमा परेको गम्भीर असरलाई समीक्षा गर्न चुकेको एमालेले फेरि त्यही गल्ती दोहोर्‍याउँदा भोलिका दिनमा गम्भीर संकटमा पर्न सक्ने चिन्तातर्फ एमाले सचेत हुन आवश्यक थियो ।

त्यसमाथि एमालेबाटै राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी साँठगाँठमा संसद् विघटनजस्तो गम्भीर निर्णय गर्दा त्यसको दोष केही हदसम्म आफूले लिनुपर्नेमा फेरि आफैँलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्दा दाँत देखाएर हाँस्नु सिंगो एमालेकै लागि क्षति हो ।

देशमा नयाँ र स्वतन्त्र उम्मेदवारको लहर चलेका बेला ओलीले कम्तीमा आफूलाई चुनावपछि मात्रै प्रधानमन्त्री हुने बुझाई स्पष्ट गरी रणनीतिगत रुपमा चुनावमा जानु आवश्यक थियो । तर त्यसलाई बेवास्ता गर्दै ओलीले आफैँलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानु तत्कालका लागि कम्तीमा कम्युनिस्ट राजनीतिमा सुहाउँदो विषय भने होइन ।

ओली किन आफैँलाई प्रधानमन्त्री तोक्न बाध्य छन् ?

अहिले एमालेमा नेतृत्व र अभिभावकीय हिसाबले एकमात्रै ‘बा’ रुपमा ओली छन् । चितवनमा सकिएको महाधिवेशनबाट अध्यक्षमा निर्विकल्प रुपमा जित हासिल गरेका ओली बराबर अर्को नेता छैन । पार्टीमा रहेका माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम निस्किएपछि एमाले ओलीमय छ ।

ओलीले जे भन्यो, हस् भन्दै कार्यकर्ता कुद्ने गरेका छन् । किनकी उनलाई चुनौति दिने, उनको विकल्प दिने र उनको निर्देशन नमान्ने नेता र कार्यकर्ताले एमालेमा ठुलै मूल्य चुकाउनुपर्ने थुप्रै दृश्य यसअघि देखिएकै छन् । एमालेले दुई तिहाई बहुमत पाउँदा ओली जसरी दम्भले फुलेका थिए । अहिले त्यो अवस्था छैन । तर व्यक्तिगत अह्मका कारण ओली अझै पनि विशेष मानिन्छन् । कम्तीमा एमालेका लागि उनी अहिले पनि ‘बा’ नै हुन् ।

एकहोरो पेलान र प्रचण्डसँग साँठगाठ गरेर पार्टीलाई सत्ताबाट बाहिर निकालेको भन्दै ओलीले माधव नेपाल, झलनाथ र वामदेवलाई एमालेबाट निस्किन बाध्य पारे । माधव नेपालले नेकपा एकिकृत समाजवादी पार्टी खोलेर नयाँ राजनीतिक कोर्समा प्रवेश गरिसकेका छन् ।

माधव नेपालको पछि लागेका १० भाई नेता एमालेमै बसेपनि उनीहरुको स्वर पहिलेको जस्तो चर्को छैन । अहिले भीम रावलले त्यसको नेतृत्व गरेपनि त्यो सतहमा देखिदैन । अर्थात एमाले नेता कार्यकर्ताले त्यसले ठूलो विकल्प मानेको छैन । जुन ओलीका लागि केवल ‘हल्लाखोर’ मात्रै मानिन्छन् ।

यस्तो अवस्थामा ओलीले आफूनिकट कार्यकर्ताको भेलाबाट आफैलाई भावी प्रधानमन्त्री घोषणा गर्नु अन्यथा होइन । तर एउटा प्रतिपक्षमा रहेको पार्टीले, त्यसमाथि गम्भीर गल्तीका रुपमा संसद विघटनका कारण सत्ताबाट हुत्तिएको पार्टीले शानदार ढंगबाट निर्विकल्प चुनावी प्रधानमन्त्री घोषणा गर्नु हास्यास्पद हो ।

अहिले सीमानाका, नेपालको नक्सा, त्यसमाथि आएको नागरिकता विधेयकले ओली फेरि आफूलाई राष्ट्रवादी नेता भजाउन सक्छन् । त्यो भजाई उनका लागि कुनैबेला फलिफाप थियो । तर अहिले ओलीको नेता र भाषण मात्रै पत्याउने आधार छैन । किनकी ओलीको भाषणलाई पत्याएर जनताले भोट हाल्दा बदलामा संसद् विघटन, भ्रष्टाचार जस्ता अनेकौ प्रकरण भोगेका छन् ।

यस्तोमा ओली र प्रतिपक्षी दल एमाले संयमित हुनुपर्नेमा झनु भावी प्रधानमन्त्रीको हल्ला गर्नु जनतालाई जिस्क्याउनु बराबर हो ।

सत्ता गठबन्धनलाई दबाब

प्रतिपक्षबाट एमालेले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सारेपछि अब सत्ता गठबन्धनमा पनि दबाब बढेको छ । सत्ता गठबन्धनभित्र अहिले प्रधानमन्त्री शेरबहादुर देउवा वा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने चर्चा छ ।

भावी प्रधानमन्त्रीमा देउवा पत्नी आरजुको पनि दाबी छ । उनको दाबीले पनि सत्तारुढ गठबन्धनमा कसलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भन्ने सकस छ । त्यसमाथि अहिले स्वतन्त्र उम्मेद्वारको लहर र केही स्थानीय तहका जितेका कारण गगन थापाले पनि पनि चुनावपछि आफू प्रधानमन्त्रीको दाबेदार हुने बताएका छन् ।

चर्चा धेरैको भएपनि कम्तीमा सत्ता गठबन्धनबाट देउवा र प्रचण्डमध्ये एक जना भावी प्रधानमन्त्री हुने निश्चित छ । यस्तो अवस्थामा गठबन्धनले पहिल्यै प्रधानमन्त्री टुंग्याउने सम्भावना छैन । अहिले भावी प्रधानमन्त्री भनेर चर्चा गर्दा गठबन्धनमै असन्तुष्टि र असन्तुलन हुने निश्चित छ । त्यसैले गठबन्धन दबाब भएपनि भावी प्रधानमन्त्री कसैलाई तोक्न चाँहदैन ।

केवल सिट बाँडफाँड गरेर उम्मेद्वारी दिने र चुनाव जितेपछि सहमतिका आधारमा प्रधानमन्त्री बन्ने एवं बनाउने कुरामा बालुवाटार स्पष्ट देखिन्छ । तर खुमलटारबाट प्रचण्ड भने चुनावअघि नै आफू प्रधानमन्त्री हुने कुरामा देउवाबाटै सहीछाप चाहेका छन् । त्यसका लागि पनि आन्तरिक रस्साकस्सी जारी छ ।

चुनाव प्रजातन्त्रको उत्सव मानिएकाले सबै मिलेर एकसाथ लड्ने कुरामा शंका देखिदैन । तर प्रतिपक्षबाट एमालेले भावी प्रधानमन्त्री तोक्नु र सत्ता गठबन्धनले ओलीलाई हेरेर थप नयाँ रणनीति बनाउनु आगामी चुनावमा सहजै देखिने दृश्य फरक लाग्ने छैनन् । यसमा को दल कसरी चुनावी मैदानमा उत्रिन्छ, त्यसैले नतिजामा पनि फरक पार्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ०२ बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर