काठमाडौंमा बढ्दो संक्रमणले डेंगुको प्रकोप फैलिने डर | Khabarhub Khabarhub

काठमाडौंमा बढ्दो संक्रमणले डेंगुको प्रकोप फैलिने डर

अस्पतालका सबै शैय्यामा झुल प्रयोग गर्न निर्देशन



काठमाडौं – काठमाडौं उपत्यकासँगै देशका धेरै ठाउँमा डेंगु ज्वरोका बिरामी बढेका छन्। लामखुट्टेमा धेरै पाइने तराई–मधेशमा हुने रोग भनेर चिनिएको डेंगु अहिले पहाडी क्षेत्रमा प्रकोपको रुपमा फैलिएको छ।

यही डेंगु रोगको संक्रमणमा परेका छन्, पाल्पाका दशरथ शर्मा। पाल्पाबाट काठमाडौंमा छोरालाई भेट्न आएका शर्मालाई आएको भोलिपल्ट नै थाम्न नसक्ने गरी ज्वरो आयो। हरेक पटक सिटामोलले सन्चो हुने उनको ज्वरो यो पटक भने सन्चो हुने अवस्था थिएन।

जाँच गर्दा उनलाई डेंगु संक्रमण भएको पुष्टि भयो। तीन दिनसम्म सितापाइलामा बसेका उनी चौंथो दिन छोराको सहारामा टेकु अस्पताल पुगे। अस्पतालमा बिरामीको भीड देख्दा उनलाई बाँच्ने आश पनि हराएको थियो।

‘६५ वर्षीय पुगिसके अहिलेसम्म ज्वरोले यति धेरै गलाएको थिएन। तर, अहिले सातो खायो’, उनले भने। उनको अवस्था गम्भिर भएकाले अस्पतालमै बस्नु पर्ने भयो। कारण उनलाई डेंगु पुष्टी भएको थियो।

काठमाडौंको टेकु अस्पताल मात्रै होइन। अरु अस्पतालमा पनि दशरथ शर्मा जस्ता धेरै बिरामी अस्पतालको शैय्यामा छटपटाउनु परेको छ। विशेषगरी जनघनत्व बढी भएको काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेंगु ज्वरोका बिरामी बढिरहेका छन्।

यसपटक काठमाडौंमा डेंगुका बिरामी धेरै देखिएको वीर अस्पतालका निमित्त प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले पनि बताएका छन्। ‘यहाँ सबैभन्दा धेरै डेंगुका बिरामी भर्ना भइरहेका छन्’ उनले भने, ‘यसरी नै बढ्दै जाने हो भने प्रकोपकै रुप लिन सक्छ। त्यसैले घर वरपर सफा राख्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्दछ।’

डेंगु कुन भाइरसबाट कसरी सर्छ ?
विशेषगरी साँझ बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण फैलिने गर्छ। नेपालमा सन् २००४ मा पहिलो पटक डेंगुको बिरामी फेला परेका थिए। त्यसयता डेंगुको सङ्क्रमण देखिँदै आएको छ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन सन् २००६, २०१०, २०१२, २०१३, २०१७ र २०१९ मा डेंगु बढेको बताउँछन्। त्यसपछि अहिले नै डेंगुका बिरामी बढेको उनको भनाइ छ। बीचका वर्षमा पनि डेंगुका फाट्टफुट्ट बिरामी भेटिइरहे। तराई–मधेशमा बढी देखिने डेंगु २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा प¥यो।

‘उपत्यकामा लामखुट्टे बढेको र डेंगुका बिरामी पनि उपत्यका प्रवेश गरेका छन्’, उनले भने, ‘ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेंगुका बिरामी बढी देखिएका हुन्।’

पुरै शरीर दुख्ने, उच्च ज्वरो आउने, टाउको दुख्ने, लक्षण लिएर बिरामी परीक्षणका लागि आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. पुनले बताए। यस्ता लक्षण लिएर आउने धेरैलाई डेंगु भएको उनले बताए।

काठमाडौंकै निजामती कर्मचारी अस्पतलामा पनि डेंगुका बिरामी भर्ना हुन थालेका छन्। अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले अस्पतालमा अहिलेसम्म २० जना बिरामीको उपचार भइसकेको जानकारी दिए। अस्पतालले डेंगुबाट बच्नका लागि सबै शैय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ।

उनका अनुसार साउनदेखि असोजसम्म बढी गर्मी र पानी पर्ने भएकोले डेंगुको संक्रमण जोखिम बढी हुने गरेको छ। सरुवा रोग विशेषज्ञ डा. पुनका अनुसार समुदायस्तरमा १० हजार मानिस डेंगुबाट सङ्क्रमित भए भने एक हजार जनामा लक्षण देखापर्छ। जसमध्ये पाँच सय जना भाइरल ज्वरोले संक्रमित हुन्छन् भने अर्को पाँच सय जनामा डेंगु ज्वरोका लक्षण देखिन्छन्।

फरक लक्षण र बढ्दो संक्रमण
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेंगुका लक्षण हुन्।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार पुस यता दुई हजार एक सय आठ जना डेंगुका बिरामी देखिएका छन्।

जेठयता काठमाडौँमा दुई सय ३३, ललितपुरमा छ सय २३ र भक्तपुरमा ३८ जना डेंगुका बिरामी भेटिएका छन्। साउनमा मात्रै काठमाडौँमा एक सय ९६, भक्तपुरमा ३५ र ललितपुरमा पाँच सय २३ बिरामी भेटिएको उनले जानकारी दिए।

अहिलेदेखि फैलिन सुरु भएको डेंगुको सम्भावित प्रकोप रोक्न लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान चलाउन पर्ने विज्ञले बताएका छन्।

डेंगुबाट बेच्न के गर्ने ?
– हाम्रो घर, विद्यालय, बजार वरिपरि जम्मा भएको पानी हटाउनुपर्छ।

– एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेंगु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ। त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन।

– स्कुल तथा समुदायमा जनचेतनाका कार्यक्रम चलाउनुपर्छ। यो सिजनमा धेरै पानी पर्ने भएकाले घर वरिपरि पानी जम्न दिनु हुँदैन।

– डेंगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। साँझ–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ।

– घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ।

– लामखुट्टेले टोक्ने ठाउँमा फुल कपडा लगाएर वा सावधानी अपनाएर मात्र जानुपर्छ। डेगुंको जस्तो केही लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्दछ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ५७ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै