धनगढी- कैलाली र कञ्चनपुरमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् ।
घरबाट छोडिएका पशु चौपाया सडकमा आउँदा त्यसले सवारी दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाई छ । ‘छाडा पशु चौपायालाई किसानले गाउँमा पस्नै दिँदैनन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहले भने, ‘किसानले लखेटेका चौपाया जङ्गली जनावरबाट बच्न सडकमा आउने र त्यसले सवारी दुर्घटना हुने गरेको छ ।’ स्थानीय निकायले पशु चौपाया व्यवस्थापनमा ध्यान नदिँदा यस्तो समस्या भएको उनको भनाई छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष कैलालीमा छाडा पशु चौपायाका कारण ३७ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । पशु चौपायाका कारण भएको सवारी दुर्घटनामा गत वर्ष २८ चौपायाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालले बताए । उनका अनुसार गत वर्ष पशु चौपायासँग सवारी ठोकिँदा ४२ मानिस र ९ पशु चौपाया घाइते भएका थिए ।
पशु चौपाया कारण रातिको समयमा बढी सवारी दुर्घटना हुने गरेको सूचना अधिकारी पालले बताए । ‘दिउँसो जङ्गलमा गएका चौपाया पनि रातको समयमा सडकमा आउने गरेको देखिएको छ,’ सूचना अधिकारी पालले भने, ‘सवारीको गति पनि राति नै बढी हुन्छ, चौपाया नदेखेर वा नजिकै पुगेपछि मात्रै चौपाया देख्दा सवारी रोक्न नसकेर दुर्घटना हुने गरेको छ ।’
स्थानीय जनप्रतिनिधि भने छाडा पशु चौपायाको समस्या समाधानका लागि कैलाली, कञ्चनपुरका सबै पालिकाले साझा धारणा बनाउनु आवश्यक रहेको बताउँछन् । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले छाडा पशु चौपाया व्यवस्थापनका लागि सामुहिक प्रयास अपरिहार्य रहेको बताए । ‘हिजोका जनप्रतिनिधिले पनि छाडा पशु चौपाया व्यवस्थापनका नाममा लाखौँ खर्च गरेकै थिए,’ मेयर हमालले भने, ‘तर त्यसको परिणाम देखाउन सकेनन्, अहिले पनि सबैले बजेट छुट्टाएकै होलान्, तर सामुहिक प्रयास नगरी यो समस्या समाधान हुन सक्दैन ।’ जिल्ला समन्वय समिति कैलालीको बैठकमा पनि छाडा पशु चौपायालाई व्यवस्थापनका लागि संयुक्त प्रयास गर्नुपर्ने सुझाव दिएको मेयर हमालले बताए ।
‘स्थानीय तहले विगत देखिनै छुट्टाछुट्टै रूपमा पशु चौपायाको व्यवस्थापनका लागि काम गर्दै आएका छन्,’ कैलालीको गौरिगंगा नगरपालिकाका मेयर देविदत्त कडेलले भने, ‘तर एउटा पालिकाले पशु चौपाया नियन्त्रण गर्न जति प्रयास गरे पनि त्यो सार्थक भएको देखिएको छैन, कैलाली कञ्चनपुरका २१ वटै पालिकाले संयुक्त काम गरे मात्रै यसको दिगो व्यवस्थापन हुन सक्दछ ।’
छाडा पशु चौपायाको विषयमा जिल्ला समन्वय समिति कैलालीको बैठकमा पनि कुरा उठेको उनले बताए । ‘शुक्रबार बसेको पालिका स्तरिय जिल्ला समन्वय बैठकमा पनि यो कुरा उठेको छ,’ उनले भने, ‘सबै पालिकामा एउटा÷एउटा काञ्जिहाउस निर्माण गरेर जाने भन्ने निर्णय पनि भएको छ, तर त्यसका लागि बजेट अभाव रहेको छ ।’
छाडा पशु चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने उनको भनाई छ । ‘यहाँ मन्दिर बनाउन करोडौँ खर्च भइरहेको छ,’ उनले भने, ‘त्यो पैसा छाडा पशु चौपाया लगानी गरेको भए यो समस्या विकराल बन्ने थिएन होला तर प्रदेश सरकारको त्यति ध्यान गएको देखिँदैन ।’
गौरिगंगा नगरपालिकामा मात्रै कम्तीमा ११/ १२ सय छाडा चौपाया रहेका उनले बताए । तत्कालका लागि ती चौपाया व्यवस्थापन गर्न दुई वटा काञ्जिहाउस निर्माण गरिन थालिएको उनी बताउँछन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा भने छाडा चौपाया व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको बताए । तत्कालका लागि दुई वडा सामुदायिक वनसँग समन्वय गरेर काञ्जिहाउस निर्माण गरिएको बताउँदै उनले ती काञ्जिहाउस व्यवस्थापनका लागि दुई/दुई बिगाह जमिनमा घाँस लगाउने तयारी भइरहेका बताए । मेयर ओझाले छाडा पशु चौपाया व्यवस्थापनका लागि वडा स्तरबाटै घर पालुवा र छाडा पशुमा ट्याग लगाउने तयारी भइरहेको बताए । ट्याग लगाएपछि कसले छाडा चौपाया छोड्यो भन्ने जानकारी हुने बताउँदै उनले भने, ‘आफूले पालेका चौपाया छोड्ने घरवालालाई कारबाही गर्ने छौँ ।’
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा भने पशु चौपाया व्यवस्थापनका लागि कैलाली कञ्चनपुरकै संयुक्त पहल आवश्यक रहेको बताउँछन् । अहिले कञ्चनपुरका पालिकाले आ–आफ्नै तरिकाले छाडा पशु चौपायाको व्यवस्थापन गरिरहेका भए पनि उक्त प्रयास सफल हुन नसकेको बताउँदै उनले सबै पालिकाले सहकार्य गरेमा समस्या केही हद सम्म समाधान हुने बताए । छाडा पशु चौपाया व्यवस्थापनको साझा धारणा बनाउन जिसस कैलालीसँग पनि छलफल भइरहेको उनले बताए ।
तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु
धनगढी । कैलाली कञ्चनपुरमा छाडा पशु चौपायाका कारण तीन वर्षमा ६९ सवारी दुर्घटना हुँदा ६ मानिस र ५७ चौपाया मरेका छन् । तीन वर्षमा छाडा चौपायाका कारण भएको दुर्घटनामा ८२ मानिस र १५ चौपाया घाइते भएका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा चौपाया कारण १० वटा सवारी दुर्घटना भएका थिए । सो वर्ष भएका दुर्घटनामा परी ७ चौपाया मरेका थिए भने १० मानिस घाइते भएका थिए ।
आर्थिक वर्ष २०७७/०७८ मा छाडा चौपाया कारण १८ सवारी दुर्घटना हुँदा २ मानिस, १७ चौपाया मरेका थिए भने, २५ मानिस र १ चौपाया घाइते भएका थिए ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपेन्द्र पालका अनुसार गत आर्थिक वर्षमा पशु चौपायाका कारण ३७ सवारी दुर्घटना हुँदा ३ मानिस र १८ चौपायाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा भएका दुर्घटनामा परी ४२ मानिस र ९ चौपाया घाइते भएको उनले बताए । चालु आर्थिक वर्षको साउनमा मात्रै पशु चौपाया सँग ठोक्किएर ४ सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी १ मानिस र ५ चौपाया मरेका छन्, भने ५ मानिस र २ चौपाया घाइते भएका छन् ।
प्रतिक्रिया