मानुषीलाई ‘बाबुरामकी छोरी’ हुनुको लाभ | Khabarhub Khabarhub

मानुषीलाई ‘बाबुरामकी छोरी’ हुनुको लाभ

राजनीतिमा स्थापित हुन ‘वंशवाद’ सहज आधार



काठमाडौं : नेपाली राजनीतिमा वंशवादको नयाँ संस्करणका रुपमा काठमाडौं क्षेत्र नम्बर–७ को निर्वाचनमा सत्ता गठबन्धनबाट मानुषी यमी भट्टराई खडा भइरहँदा पँक्तीकारलाई रन्जु दर्शनाको स्मरण भइरहेछ ।

२०७४ सालको स्थानिय निर्वाचनमा दर्शना काठमाडौं महानगरपालिकाको मेयर पदमा खडा भएकी थिइन् । तात्कालीन विवेकशील साझा पार्टीबाट खडा भएकी दर्शनाले २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् ।

भर्खर २१ वर्ष उमेर टेक्दै गरेकी दर्शनाले आफ्नै व्यक्तित्व र मेहनतका भरमा काठमाडौँवासीको मन जितेकी थिइन् र राजनीतिको पहिलो पाइलामै त्यतिका मत ल्याएकी थिइन् ।

दर्शना कुनै ठूलो दलका शीर्ष नेताकी छोरी पनि हैनन् । न त उनको परिवारका कुनै सदस्य दलको उच्च ओहोदामा छन् । तैपनि उनले ल्याएको मत नितान्त उनको निजी पौरख थियो ।

अब मानुषीको कुरा गरौँ । उनी पूर्व प्रधानमन्त्री एवं माओवादीद्वारा सञ्चालित दश वर्षे हिंसात्मक विद्रोहका एक सूत्रधार डा. बाबुराम भट्टराईकी छोरी हुन् । बाबुरामकी छोरी भएकै कारण उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार भएकी छिन् ।

प्रश्न उठ्छ, के मानुषी पनि रञ्जु दर्शना झैं हुन्थिन् भने उनलाई सत्ता गठबन्धनले सहयोग गथ्र्यो ? पक्कै गर्ने थिएन । ठिक त्यसैगरी जसरी दर्शनालाई २०७४ मा कुनै ठूला दलले सहयोग गरेनन् । उनी नेताकी छोरी थिइनन् नी त ।

मानुषी यदि बाबुरामकी छोरी नभएको भए उनले सायद काठमाडौंबाट चुनाव लड्ने आँट पनि गर्दिन थिइन् । काठमाडौंमा त्यस्ता पनि उम्मेद्वार छन्, जसका पिताको नामसमेत मतदातालाई थाहा छैन ।

उदाहरणका लागि काठमाडौं–५ बाट खडा भएका पत्रकार शैलेन्द्र बस्नेतकै कुरा गरौँ । ठूला भनिने मिडियामा बस्नेतको उम्मेदवारीको कुनै चर्चा छैन । उनी एमालेका घगडान उम्मेद्वार ईश्वर पोखरेलकै क्षेत्रबाट खडा भएका छन् । तर, बस्नेत आफ्नै बलबुतामा काठमाडौं–५ का जनताको घरदैलो पुगिरहेका छन् ।

टेलिभिजन होस् या अनलाइन पोर्टलहरू नै किन नहून्, जताततै मानुषीकै अन्तर्वार्ता र चर्चा छाइरहेको छ । यसको एउटै आधार हो, उनी बाबुरामकी छोरी हुनु ।

वंशवाद सहज आधार

निम्न पुँजीवादी र सामन्तवादी संस्कार अझै नहटीसकेको हाम्रोजस्तो मुलुकमा वंशवादका आधारमा राजनीतिमा आउन नेताका छोरा, छोरी, बुहारी, श्रीमती, भाइ, भतिजा आदिलाई निकै सहज छ ।
राष्ट्रिय राजनीतिमा स्थापित भइसकेका र कार्यकारी प्रमुखसम्म भइसकेका नेताका छोरा–छोरीलाई त राजनीतिमा स्थापित हुन खासै कठिन पनि छैन । बस बाबु आमाको नाम भजाए पुग्यो । सामन्ती संस्कार न हो, पिताको चाकडी गर्नेले पुत्र या पुत्रीका पनि उस्तै चाकडी गरिहाल्छ

भारतमा पण्डित जवाहरलाल नेहरुले छोरी इन्दिरा गान्धीलाई एकाएक कांग्रेस अध्यक्ष बनाइदिए । त्योबेला लालबहादुर शास्त्रीसमेत चकित परेका थिए । काँग्रेस नेतृत्वले नेहरु–गान्धी परिवारबाट हालै मात्र मुक्ति पाएको छ र मल्लिकार्जुन खडगे अध्यक्ष भएका छन् । तर, करिब सत्तरी दशकसम्म कांग्रेसमा नेहरु–गान्धी परिवारकै हालीमुहाली रह्यो ।

बिबिसीमा लामो समय कार्यरत मार्क टेलीले आफ्नो एक लेखमा उल्लेख गरे अनुसार कांग्रेस बैठकमा नयाँ अध्यक्षका रुपमा इन्दिरा गान्धीको नाम प्रस्तावित हुँदा शास्त्रीले ‘उनी त बिरामी छिन्, कसरी चलाउँछिन् ?’ भनेका थिए । उनका शब्द भुईँमा खस्न नपाउँदै पिता जवाहरलाल नेहरुले भनेका रहेछन्, ‘हैन उनी तन्दुरुस्त छिन्, मजाले पार्टी चलाउन सक्छिन् ।’

नेहरुले यति भनेपछि कांग्रेसका अन्य सबै नेताहरू मौन रहे । त्यसपछि भारतको राजनीतिमा हावी भएकी इन्दिराले संकटकाल लगाउनेदेखि बंगलादेश टुक्रयाउनेसम्मका के के हर्कत गरिन्, त्यो जगजाहेरै छ ।

बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजीबर रहमानपछि उनकै छोरी शेख हसीना बाजेद, पाकिस्तानमा जुल्कीकर अली भुट्टोपछि बेनजीर भुट्टो मात्र हैन, श्रीलंकामा त सिंगै परिवारले नै सत्तामा रजाई गरिरहेको तथ्य उजागर नै छ ।

नेपालमा पनि वंश परम्परालाई निरन्तरता दिँदै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई राजनीतिमा अगाडि बढाएनन् मात्र, परराष्ट्रमन्त्रीसमेत बनाए ।

पञ्चायतकालमा जर्मनमा जोस्ट थरका पतिसँग जीवन बिताइरहेकी सुजाता एकाएक पिता प्रधानमन्त्री भएपछि २०४८ सालतिर नेपाल आएकी थिइन् । नेपालमा शुष्मा कोइराला मेमोरियल ट्रस्ट सञ्चालन गर्दै आएकी उनलाई कोइराला कोटरीले राजनीतिमा आउन उत्प्रेरित गरेको थियो ।

सुरु सुरुमा गिरिजाप्रसाद कोइराला भन्ने गर्थे, ‘सुजाताले राजनीतिमा आउने बेला भएको छैन ।’

तर, ‘पुत्री मोह’ मा कोइराला पनि परीहाले । सुजाताको राजनीतिक यात्राका प्रारम्भिक दिनको एउटा घटनामा पंक्तिकार पनि संलग्न थियो, जसलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक होला ।

यो २०५४ सालतिरको कुरा हुनुपर्छ । हाल रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला र यो पंक्तिकार मिलेर ‘नयाँ पुस्ता’ नामक मासिक पत्रिका निकाल्ने जमर्को गरेका थियौं । पहिलो अंक दमदार हुनुपर्छ भन्ने सल्लाह बमोजिम आवरण सामाग्रीका रुपमा सुजाता कोइरालाको अन्तर्वार्ता र स्टोरी प्रकाशन गर्ने भइयो ।

धमला र यो पंक्तिकार मिलेर सुजाताको अन्तर्वार्ता लिइयो । सोही सन्दर्भमा धमलाको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग पनि भेटघाट भएछ ।

गिरिजाप्रसादको ‘ग्रीन सिग्नल’ र बालुवाटार कोटरीको ‘सेन्सर’पछि पत्रिका प्रकाशित भयो । आवरणको शीर्षक थियो, ‘सुजाता राजनीतिमा आउने ।’

‘नयाँ पुस्ता’ पत्रिका बालुवाटार, प्रधानमन्त्री निवासमा पनि पुग्यो । चुरोटको सर्को तान्दै प्रधानमन्त्रीले सुजाताबारे प्रकाशित सामाग्री पढेछन् । अनि आफ्ना स्वकीय सचिवलाई भनेछन्, ‘राजनीतिमा आउने नै हो भने आओस्, कार्यकर्ताको यही सोच हो भने म के भनुँ ?’

खासमा प्रम कोइराला पनि सुजातालाई राजनीतिमा ल्याउन चाहन्थे । अन्यथा धमलालाई त्यो सामाग्री नै नराख्न भन्थे होलान् । सुजाता राजनीतिमा आउने हल्ला त्यसपछि देशव्यापी भयो । चाबहीलनेरको निवासबाट महाराजगंज निवाससम्म पुग्दा सुजाताको वरिपरि कार्यकर्ताको भिड लाग्न थालिसकेको थियो ।

पुत्री हुनुको फाइदा

दश वर्षे हिंसात्मक विद्रोहका नायक पुष्पकमल दाहालले छोरी रेणु र बुहारी बिनादेखि अन्य नातागोता सबैलाई राजनीतिक र अन्य लाभका पद दिलाइसकेका छन् । दाहालको ‘पुत्री मोह’ पनि आलोचनाको विषय बन्दै आएको हो ।

आम रुपमा ‘पुत्री मोह’बाट कुनै पनि पिता अछुतो रहन सक्दैन । यो सामान्य मानवीय स्वभाव पनि हो । तर, दाहाल या बाबुरामको हकमा चाहिँ यो छुट छैन ।

किनकी, बाबुराम त्यस्ता नेता हुन्, जसले वंंशवादमा आधारित राजतन्त्रको अन्त्यको लागि दश वर्षसम्म हिंशात्मक विद्रोहको नेतृत्व गरे, जुन विद्रोहमा हजारौं नेपालीको ज्यान गयो ।

अहिले मानुषीले खेप्दै आएको एउटा आक्षेप त्यति कमजोर पनि हैन । हिंसात्मक विद्रोहताका माओवादीले बुर्जुवा शिक्षा बहिष्कार भन्दै गाउँमा सरकारी स्कुल पढिरहेका सयौँ विद्यार्थीलाई ‘जनयुद्धमा होमेकै हो ।

लडाकुहरूलाई क्रान्ति नै पाठशाला हुने, क्रान्तिले नै सबैलाई सिकाउने र ‘जनयुद्ध’ पछि वैज्ञानिक शिक्षासमेत प्रदान गर्ने आश्वासन दिइएको थियो । माओवादीले जनवादी शिक्षाको दुहाइ दिइरहेका बेला मानुषी यमी भने विदेशमा त्यही ‘बुर्जुवा शिक्षा’ अध्ययन गरिरहेको तथ्य पनि गलत हैन ।

शान्ति प्रकृया सुरु भएपछि लडाकुहरूलाई पढाउने कुनै योजना ल्याइएन । बरु, सेना समायोजनका क्रममा उही ‘बुर्जुवा शिक्षा’ पढेकाहरुकै बोलबोला देखियो । अन्य विभिन्न लाभका पदहरूमा नेताका टाठाबाठा आफन्त र नातागोताले नै मौका पाए ।

मानुषीले पनि ‘बुर्जुवा शिक्षा’ नै पढेकी हुन् । उनले कुनै जनवादी शिक्षा पढेकी हैनन् । उनको प्रारम्भिक शिक्षा दिक्षा काठमाडौंको स्वर्णीम स्केलबाट भएको हो, नर्सरीदेखी केजीसम्म । कक्षा १ र २ उनले कोटेश्वरस्थित नवज्योति स्कुलमा पढेकी हुन्, जुन माओवादीको आँखामा ‘बुर्जुवा स्कुल’ नै थियो ।

आमा हिसीला यमी जब उच्च शिक्षाका लागि बेलायत गइन्, मानुषी पनि आमासँगै जानु स्वभाविकै हो । आमासँग बेलायतमा दुई वर्ष बस्दा उनले कक्षा ३ र ४ उतै पढिन् । उनले बेलायतको हट्सपर स्कुल र न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कुलमा पढेको रेकर्ड अहिले पनि हेर्न सकिन्छ । कक्षा ५ भने उनले काठमाडौंमा पढिन् ।

कक्षा ६ र ७ उनले भारतको नैनितालस्थित सेन्ट जोन्स स्कूलमा पढीन् भने कक्षा ८ देखि १० सम्मको पढाई उनले दार्जिलिङ, पेदोङस्थित सेन्ट जर्जेज स्कुलबाट पुरा गरिन्

कक्षा ११ र १२ को पढाई दिल्लीस्थित नवयुग स्कुलबाट पुरा गरेकी उनले स्नातक तह दिल्ली विश्वविद्यालय अन्तर्गत लेडी श्रीराम कलेजमा पढेकी हुन् । त्यसपछि काठमाडौँ आइन् र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गरिन् ।

सन् २०१६ मा दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट राजनीतिक अध्ययन विषयमा एमफील पुरा गरेकी हुन् । जेएनयु त्यही विश्वविद्यालय हो, जहाँबाट उनका पिताले पनि पिएचडी गरेका थिए ।

यसरी हेर्दा मानुषीले मध्यमिक तहसम्म क्रिश्चियन मेशिनरीले सञ्चालन गरेका र धनीका छोराछोरीहरूले पढ्ने महङ्गा स्कुलमै पढेको देखिन्छ । उच्च शिक्षा पनि उनले दिल्लीका प्रतिष्ठित विश्वविद्यालयबाटै आर्जन गरेको देखिन्छ । यस्तो सौभाग्य रोल्पा, रुकुम, जाजरकोट र सल्यान मात्र हैन, गोरखाकै अन्य छोराछोरीलाई सायदै प्राप्त होला ।

यसै कारण ‘जनताका छोराछोरीको पढाई छुटाएर युद्धमा होम्ने बाबुरामले आफ्नी छोरीलाई विदेशमा पढाए’ भन्ने आक्षेप बारम्बार लाग्ने गरेको हो । यसको चित्तबुझ्दो जवाफ स्वयं मानुषीसँग पनि छैन ।

बरु, उनी अहिले आएर भन्दैछिन्, ‘मैले पढेर जे जति ज्ञान हासिल गरेँ, त्यसलाई देश र जनताको सेवामा लगाउँछु भनेर राजनीतिमा आएकी हुँ ।’

अर्को दृश्य हेरौं त । कथित युद्धमा लाग्दा पढाई बिथोलिएका कारण स्वदेशमा सरकारी या अन्य जागिर नपाएपछि माओवादीका थुप्रै कार्यकर्ता विदेश पलायन हुन बाध्य भए ।

‘अयोग्य लडाकुहरू खाडी मुलुकमा पचास डिग्री तापक्रम सहँदै अग्ला भवनका भित्ताहरूमा झुन्डिएर रंग पोतिरहेका छन् । यता, मानुषी चाहिँ संसद्को जस्केलोबाट छिर्दै राज्यको उच्च तहसम्म पुग्ने सपनाको विस्कुन पसार्दैछिन्, काठमाडौं–७ को आँगनमा ।

हो त सांसद, मन्त्री या प्रधानमन्त्री नै बनेपछि त हाइसुक्ख हुन्छ । भिआइपीहरुको सुरक्षामा खटिएका शसस्त्र प्रहरीलाई आफ्नो कपाल काटनसमेत लगाउन सकिन्छ । अनि आमालाई पनि फेसबुकमा स्टाटस लेख्न सजिलो हुनेछ, ‘मानुषीको कपाल एपीएफ भाइले काट्दै, जेकेन्द्र कपाल कटाइको निगरानी गर्दै ।’

हेक्का रहोस्, सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरायसी कामका लागि प्रयोग गर्नु सामन्ती संस्कार मात्र हैन, श्रम शोषण पनि हो ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  २ : ०७ बजे

चिसो बढेपछि लिमी प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

हुम्ला– हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी

जूनको उज्यालोमा मकै सुकाउने पर्व

गोरखा– गोरखामा जूनको उज्यालोमा मकै सुकाउने पर्व मनाइएको छ ।

मादीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति

तनहुँ– निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको

संसारमा नै विकराल बनेको सुडानको गृहयुद्ध

सुडान विगत वर्षदेखि नै गरिबी र दुःखको पर्याय देशको रूपमा

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

नवलपरासी– कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा