काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि बंगलादेशका महामहिम राजदूत सलाहुद्धीन नोमन चौधरीले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा शुक्रबार भएको भेटघाटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो।
छलफलमा महामहिम राजदूतले माननीय मन्त्रीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई दिदैँ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । महामहिम राजदूतले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्यमार्फत थप सुदृढ गर्न सकिने विचार व्यक्त गरेका थिए ।
यसैगरी उनले नेपाल बंगलादेश बीचको सौविध्यपूर्ण व्यापार सम्झौताको छलफललाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली वस्तुहरूको बंगलादेश निर्यातमा सहजीकरण गर्न बंगलादेश सरकार तत्पर रहेको कुरा उल्लेख गरे । महामहिम राजदूतले गत वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका पक्षबारे चासो राख्दै ऊर्जा विकास, व्यापार, पर्यटनलगायतका क्षेत्रमा बंगलादेशले नेपालमा लगानी गर्न चाहेकोले त्यसका लागि लगानीमैत्री वातावरण र लगानी सुरक्षाको विषयमा मन्त्रीबाट नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
त्यस अवसरमा मन्त्री बडुले कोभिड-१९ महामारीमा बंगलादेशले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गरे ।
यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको बताउँदै मन्त्री बडुले द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरी दुबै देशले अधिकतम पारस्परिक लाभ उठाउनसक्ने विचार व्यक्त गरे ।
नेपाल र बंगालदेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष प्रवेशको अवसरमा राजदूत चौधरीमार्फत बंगलादेश सरकार र त्यहाँका जनतालाई शुभकामना व्यक्त गर्दै उनले आगामी दिनमा दुई देशबीच वाणिज्य, पर्यटन, ऊर्जालगायतका क्षेत्रमा थप सहकार्य हुने विश्वास व्यक्त गरे ।
यसैगरी मन्त्री बडुले दुई देशबीच हुने सौविध्यपूर्ण व्यापार सम्झौताका लागि छलफल भइरहेको र यसबाट दुवै देशलाई फाइदा हुने गरी व्यापार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । यससम्बन्धी बंगलादेश सरकारबाट प्राप्त प्रस्तावमा विभिन्न तहमा छलफल तथा विश्लेषणको काम भइरहेकोले चाँडै बंगलादेश पक्षलाई नेपालको राय पठाउने जानकारी गराउँदै उनले नेपालमा ऊर्जा, पर्यटन र विकास पूर्वाधारका क्षेत्रमा हुने लगानीको संरक्षण र सहजीकरण गर्न नेपाल सरकार तयार रहेको समेत आश्वस्त पारे ।
कार्यक्रममा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायतका कर्मचारीहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।
प्रतिक्रिया