अडियो सुन्नुहोस्ः
राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण जारी रहँदा किभमा विष्फोट, एक पत्रकारको मृत्यु
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युक्रेनको राजधानी किभको भ्रमण गर्दैगर्दा विष्फोट भएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला शान्ति स्थापनाको पहलस्वरूप राष्ट्रसंघ महासचिव किभमा रहेको समयमा त्यहाँ रकेट आक्रमण भएको बताइएको छ ।
किभ शहरका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राष्ट्रसंघ महासचिव किभमा रहेका बेला शहरको मध्य भागमा रहेको शेभचेन्को क्षेत्रमा रकेट आक्रमण भएका थिए । रकेट आक्रमणबाट एकजनाको मृत्यु भएको र अरु केही घाइते भएको बताइएको छ ।
घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ ।
यसअघि राष्ट्रसंघ महासचिवले टर्की र रुसको पनि भ्रमण गरेका थिए । रुस र युक्रेनबीच मध्यस्थता गरिरहेको टर्कीमा रहँदा उनले त्यहाँका शीर्षस्थ नेताहरूलाई भेटी युद्ध अन्त्यबारे छलफल गरेको जनाइएको छ ।
त्यस्तै, रुस भ्रमणका क्रममा गुटरेजले त्यहाँका विदेशमन्त्री सर्गेइ लाभ्रोभ र राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।
यसैबीच, युक्रेनको राजधानी किभमा रुसी फौजले आक्रमण गर्दा एकजना पत्रकारको मृत्यु भएको छ । रुसी फौजको आक्रमणमा रेडियो लिबर्टीमा कार्यरत रेडियो पत्रकार भेरा हिरिच मारिएको बीबीसीले जनाएको छ ।
रेडियो लिबर्टीले विज्ञप्ति जारी गर्दै जनाएअनुसार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्र उनी बस्ने घरमा विष्फोट भएको थियो ।
उनले सन् २०१८ देखि रेडियो लिबर्टीका लागि काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि किभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणमा एकजनाको मृत्यु भएको बताएका थिए । यद्यपि त्यसबेला उनले मारिनेको पहिचान भने खुलाएका थिएनन् ।
रुसले किभमा आक्रमण गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । हाल रुसले आक्रमण गरेको स्थानमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ ।
युद्ध रोक्न सुरक्षा परिषद् असफल भएको राष्ट्रसंघ महासचिवको स्वीकारोक्ति
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले आफ्नै संगठनको सुरक्षा परिषद युक्रेनमा युद्ध रोक्न असफल भएको स्वीकार गरेका छन् ।
युद्ध अन्त्य तथा शान्ति स्थापनाको पहलस्वरुप युक्रेन भ्रमणका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रसंघ महासचिव गुटरेजले यस्तो बताएका हुन् ।
‘म स्पष्ट हुन चाहन्छ, (यसले) युद्ध रोक्न वा अन्त्य गर्नका लागि असफलता देखायो ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘यो ठूलो निराशा, कुण्ठा र क्रोधको श्रोत हो ।’
विश्वमा शान्ति स्थापना र सुरक्षाको जिम्मा पाएको १५ सदस्यीय सुरक्षा परिषद्ले आक्रमणका विरुद्ध कुनै कदम चाल्न असफल भएको भन्दै यसको चर्को आलोचना हुने गरेको छ ।
सुरक्षा परिषद्को स्थायी सदस्य मुलुक रुसले सुरक्षा परिषद्मा युद्धका विषयमा आएका प्रस्तावमा बेलाबेला आफ्नो विशेषाधिकार भिटो पनि प्रयोग गर्दै आएको छ ।
यद्यपि उनले हार नमान्ने टिप्पणी गरे । ‘म यहाँ राष्ट्रपति र युक्रेनी जनतालाई भन्न चाहन्छु, हामी हार मान्नेवाला छैनौँ ।’
उत्तर कोरियालाई गोप्य सूचना चुहाउने दुई जना दक्षिण कोरियामा पक्राउ
उत्तर कोरियालाई गोप्य सैनिक सूचना चुहाएको आरोपमा दक्षिण कोरियामा दुई जना पक्राउ परेका छन् । उत्तर कोरियालाई गोप्य सूचना चुहाएको आरोपमा पक्राउ पर्नेमा एकजना भर्चुअल मुद्रा कम्पनीका प्रमुख र एकजना सैनिक अधिकारी रहेको जनाइएको छ ।
उनीहरूलाई यही महिनाको शुरुमा पक्राउ गरिएको र उनीहरूको पहिचान गोप्य राखिएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाली अधिकारीहरूले भर्चुअल मुद्रा कम्पनीका प्रमुखको नाम ली र सैनिक अधिकारीको नाम क्याप्टेन बी राखेपनि उनीहरूको अन्य विवरण उपलब्ध गराइएको छैन ।
उनीहरूले स्मार्ट घडीबाट जासुसी गर्ने गरेका थिए । बीबीसीले जनाएअनुसार लीले ‘घडीजस्तो गोप्य क्यामेरा’ क्याप्टेन बीलाई पठाएका थिए । सोही घडीबाट क्याप्टेन बीले उत्तर कोरियाका लागि जासुसी गर्ने गरेको बताइएको छ ।
त्यसबाहेक लीले यूएसबीजस्तो ह्याकिङ उपकरण पनि क्याप्टेन बीलाई उपलब्ध गराएका थिए । यसबाट अन्य विद्युतीय उपकरणको डेटामा पनि क्याप्टेन बीले सहजै पहुँच पुर्याएका थिए ।
गोप्य सूचना दिएको बदलामा उत्तर कोरियाले उनीहरूलाई ठूलो परिमाणमा पैसा उपलब्ध गराएको बताइएको छ । अभियोजनकर्ताले दिएको जानकारी अनुसार सूचना चुहाएबापत क्याप्टेन बीले झण्डै ३८ हजार डलर र लीले साढे ५ लाख डलर क्रिप्टोकरेन्सीमार्फत प्राप्त गरेका थिए ।
पक्राउ परेकाहरूलाई राष्ट्रिय सुरक्षा कानून अनुसार कारवाही गरिने दक्षिण कोरियाली समाचार संस्था योन्हापले जनाएको छ ।
क्वाडको बैठकमा बाइडेनले रुसी आक्रमणको कुरा उठाउने
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना टोकियोमा हुने क्वाड शिखर सम्मेलनमा रुसविरुद्धको एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने भएका छन् ।
सो अवसरमा युक्रेनलाई सहयोग गर्न वाशिङटनले चालेका कदमबारे अद्यावधिक जानकारी पनि दिइनेछ ।
ह्वाइट हाउसले बताएअनुसार जापानले मे २४ मा टोकियोमा क्वाड्रिलेटरल सेक्युरिटी डायलग (क्वाड) राष्ट्रका नेताहरूको शिखर सम्मेलनको घोषणा गरेपछि यो कुरा आएको हो ।
बाइडेनले रुसलाई एकीकृत प्रतिक्रियाको मुद्दा उठाउने कि नउढाउने भन्ने प्रश्नको जवाफमा ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले भनिन् ‘हामी यस बैठकमा पनि त्यही भावना व्यक्त गर्नेछौँ ।’
‘अब, यो बैठक केही हप्ता टाढा छ त्यसैले यस बीचमा धेरै कुरा विकसित हुन पनि हुन सक्छ’ साकीले भनिन् ‘निश्चय पनि, राष्ट्रपतिले हामीले के गर्दैछौँ र त्यस समयमा घटनाक्रम कहाँ खडा हुने छन् भन्ने बारे बताउनु हुनेछ ।’
अमेरिका र दुई राष्ट्रबीचको सहकार्यलाई बढावा दिन बाइडेनले दक्षिण कोरिया र जापानको भ्रमण गर्ने समेत ह्वाइट हाउसले घोषणा गरेको छ।
टोकियोमा राष्ट्रपति बाइडेनले अष्ट्रेलिया, जापान, भारत र संयुक्त राज्य अमेरिकाका क्वाड समूहका नेताहरूसँग पनि भेट गर्नेछन् ।
‘हामी यस यात्राको बारेमा छिट्टै थप विवरणहरू सार्वजनिक गर्न तत्पर छौँ’ ह्वाइट हाउसले जनाएको छ।
गत वर्ष सेप्टेम्बरमा राष्ट्रपति बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ह्वाइट हाउसमा क्वाडको पहिलो शिखर सम्मेलनमा स्वागत गरेका थिए ।
रुसी नियन्त्रित युक्रेनी क्षेत्रमा रुसी मुद्रा प्रचलनमा ल्याइने
रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसले आफ्नो रुबल मुद्रा प्रचलनमा ल्याउने भएको छ । रुसी नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको खेर्सन क्षेत्रमा रुसले रुबल मुद्रा प्रचलनमा ल्याउने भएको हो ।
रुसी नियन्त्रणमा रहेको खेर्सनका सैनिक एवम् नागरिक प्रशासक किरिल स्ट्रेमोसेभलाई उद्धृत गर्दै रुसको रिया नोभोस्ती समाचार संस्थाले जनाएअनुसार आगामी १ मे देखि सो क्षेत्रमा रुबल मुद्रा प्रचलनमा ल्याइनेछ ।
‘मे १ देखि हामी रुबल क्षेत्रमा प्रवेश गर्नेछौँ ।’ उनलाई उद्धृत गर्दै रिया नोभोस्तीले जनाएको छ ।
समाचारमा जनाइएअनुसार चार महिनासम्म सो क्षेत्रमा रुबलका साथै युक्रेनी मुद्रा रिभ्नियालाई पनि चल्न दिइनेछ । यद्यपि चार महिनापछि भने सो क्षेत्रमा रुबलमात्र प्रयोग हुने जनाइएको छ ।
उनको भनाइको रुसी पक्षबाट आधिकारिक पुष्टि हुन भने बाँकी रहेको छ ।
यता युक्रेनी पक्षले भने लामो समयसम्म सो क्षेत्रलाई आफ्नो कब्जामा लिन रुसले यस्तो कदम चालेको टिप्पणी गरेको छ ।
युक्रेनी मानव अधिकारवादी निकायकी लुदमिला डेनिसोभाले यो योजनाको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुने टिप्पणी गरेकी छिन् ।
अमेरिकाले युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्ने
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलरको सहयोग घोषणा गरेका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला राष्ट्रपति बाइडेनले नयाँ सहायताको घोषणा गरेका हुन् ।
उनको सहायता प्याकेजमा २० अर्ब सैन्य सहयोग, साढे ८ अर्ब आर्थिक सहायता र ३ अर्ब मानवीय सहायता समेत रहेको बीबीसीले जनाएको छ ।
उनले यसबारे कांग्रेसलाई आग्रह गर्ने जनाइएको छ ।
‘यो सस्तो छैन ।’ बाइडेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘तर आक्रमण सहेर बस्नु अझ महङ्गो हुनेछ ।’
राष्ट्रपति बाइडेनले युक्रेनमा परिचालित हरेक रुसी ट्यांकलाई मार हान्न १० वटा ट्यांकभेदी हतियार अमेरिकाले सहयोग गरेको समेत जानकारी दिए ।
कठोर बयानबाजीका बावजुद राष्ट्रपति बाइडेनले अमेरिकाले रुसमाथि आक्रमण गरेको हिसाबमा यसलाई लिन नहुने समेत बताए । ‘हामीले रुसी आक्रमणबाट रक्षा गर्न युक्रेनलाई सहयोग गरेका हौँ ।’ बाइडेनले भने ।
यसअघि गत बुधबार रुसी विदेश मन्त्रालयले पश्चिमा मुलुकहरूले युक्रेनलाई हतियार सहयोग गरेको खण्डमा त्यसले युरोपेली महादेशकै सुरक्षामा खतरा उत्पन्न गर्ने चेतावनी दिएको थियो ।
चीनमा कोरोना संक्रमित बढ्दै
चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरूको संख्या बढिरहेको छ । चीनका अधिकारीहरूले दिएको जानकारीअनुसार चीनमा ३४ घण्टामा ५ हजार ६४६ जना संक्रमित भेटिएका हुन् ।
पछिल्लो समयमा चीनको सांघाइ सहरमा धेरै संक्रमित देखिएका छन् । यस सहरमा मात्र गएको २४ घन्टायता ५ हजार ४८७ जना संक्रमित फेला परेका छन् ।
चीनका विभिन्न सहर र राजधानी बेइजिङमा थप संक्रमितहरू देखिने क्रम जारी नै रहेको बताइएको छ । चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरू अपनाउने गरेको भए पनि संक्रमितहरू भने प्रत्येक दिन देखिएका छन् ।
पछिल्ला हप्ताहरूमा चीनको सांघाइ सहरमा सबैभन्दा धेरै संक्रमितहरू देखिन थालेका हुन् । सांघाइ सहरमा पछिल्लो समयमा संक्रमितहरू अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ ।
त्यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरू देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमित भएका हुन् ।
इलोन मस्कले ट्विटर किन्न टेस्लाको शेयर बेचे
सामाजिक सञ्जाल ट्विटर खरिदका लागि विश्वकै धनाढ्य इलोन मस्कले टेस्ला कम्पनीको शेयर बिक्री गरेका छन् । उनले टेस्लाको ४४ लाख शेयर बिक्री गरेको समाचार संस्था एपीले जनाएको छ ।
८७२ डलरदेखि ९९९ डलरसम्म प्रतिशेयर बिक्रीबाट उनले ४ अर्ब डलर संकलन गरिएको बताइएको छ । उनले अधिकांश शेयर गत मंगलबार बिक्री गरेका हुन् । मंगलबार टेस्लाको शेयरमा १२ प्रतिशतको भारी गिरावट आएको थियो ।
यद्यपि उनले टेस्लाको अरु शेयर बिक्री नगर्ने बताएको एपीले जनाएको छ ।
केही समयअघि मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई ट्विटरको बोर्डले सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बाँकी पैसा जुटाउनका लागि उनले साढे २५ अर्ब ऋण लिन सक्ने एपीले जनाएको छ ।
इन्डोनेशियाको सुन खानीमा गएको पहिरोमा १२ कामदारको मृत्यु
इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा पहिरोमा परी सुन खानीमा काम गर्ने १२ महिला कामदारको मृत्यु भएको छ । घटनामा अरु दुई जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त सुन खानी अवैध रुपमा सञ्चालित रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मण्डैलिङ नाताल क्षेत्रको बन्दर लिमाबुङ गाउँमा पहिरो जानुअघि अवैध सुन खानीमा केही व्यक्ति काम गरिरहेका थिए ।
अचानक चट्टानको एक भाग भत्किएको र यसमा परी खानीमा काम गरिरहेका महिलाहरू मारिएका जिल्ला प्रहरी प्रमुख रजा चेरुलले स्थानीय सञ्चारमाध्यमलाई बताए ।
दुर्घटनाको छानबिन भइरहेको पनि उनले जानकारी दिएका छन् । खानीमा काम कुल १४ जना पहिरोमा गाडिएका थिए ।
ती मध्ये दुईजना बाँचेको र मृतकको शवलाई प्रहरीले परिवारलाई फिर्ता गरेको जनाइएको छ । इन्डोनेशियामा धेरै खानीहरू बिना इजाजतपत्र सञ्चालनमा रहेको बताइएको छ ।
गतवर्ष त्यहाँको सुलावेसी प्रान्तमा अवैधानिक रुपमा सञ्चालन भएको सुन खानीमा गएको पहिरोमा परी ६ जना कामदारको मृत्यु भएको थियो ।
प्रतिक्रिया