देशभर के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

देशभर के के भयो दिनभर ? (अडियोसहित)


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

गभर्नरले निरन्तर काम गर्ने बाटो खुल्यो
सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । यो आदेशसँगै गभर्नर अधिकारीले निरन्तर काम गर्न पाउने भएका छन् । आज न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको नेतृत्वमा सर्वोच्च अदालतको पूर्वन्यायाधीश रहने प्रावधानमाथि व्याख्या हुनुपर्ने भन्दै गभर्नरलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

एउटै पार्टीबाट परेका पुरुष उम्मेदवारी बदर
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताएका छन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपालले आज काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरूका अभिमुखीकरण कार्यक्रममा थपलियाले कानूनमा स्पष्ट रुपमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था भएपनि ऐनको दफालाई नजरअन्दाज गरेर दिएको उम्मेदवारी भएकाले दुवै उम्मेदवारी बदर गरिएको उनले बताए ।

निर्वाचन आयोगले उम्मेदवारी फिर्ताका लागि दिएको समय सकियो
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि परेका उम्मेदवारी फिर्ता लिन दिएको समय सकिएको छ । आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि स्थानीय पालिकाको विभिन्न पदका लागि परेको उम्मेदवारी फिर्ता लिन चाहे आज साँझ ५ बजेसम्मको समय दिइएको थियो । यो बीचमा केही उम्मेदवारहरूले मनोनयन दर्ता फिर्ता लिएका छन् भने केही स्थानमा गठबन्धन दलबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

भरतपुरमा गठबन्धनका बागी उम्मेदवारसँग प्रतिस्पर्धा हुने
चितवनको भरतपुरमा गठबन्धका बागी उम्मेदवारसँग प्रतिस्पर्धा हुने भएको छ ।  महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । आज ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने अन्तिम समय थियो । दिनभर आफ्नो घर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा समर्थक माझ बसेका पौडेलले उम्मेदवारी फिर्ता लिने समय सकिए लगत्तै संक्षिप्‍त कोणा सभालाई सम्बोधन गरेका छन् । सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल हुँदा भरतपुर महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेपछि चितवन कांग्रेसमा असन्तोष चुलिएको थियो । गठबन्धनबाट मेयर पदमा माओवादी केन्द्रबाट रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।

पोखरामा गठबन्धनमा परेको दुई उम्मेदवारी फिर्ता, एक जनाले लिएनन्
पोखरामा महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले मनोनयन फिर्ता लिएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दुवैले आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन फिर्ता लिएका हुन् । अर्का बागी विमलबहादुर कार्कीले भने उम्मेदवारी फिर्ता लिएनन् ।

जनकपुरधाममा कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिएनन्
उता जनकपुरधाम उपमहानगरपालिकामा पनि कांग्रेसबाट बागी उम्मेदवार मनोज साहले उम्मेदवारी फिर्ता लिएनन् । कांग्रेसबाट प्रमुखमा बागी उम्मेदवार रहेका मनोज साहलाई फकाउन दुई दिनअघि कांग्रेस नेता विमलेन्द्र निधि जनकपुर पुगेका थिए । यस्तै, धनुषाकै मिथिला नगरपालिकामा एमालेका बागी बनेका हरिनारायण महतोले भने उम्मेदवारी फिर्ता लिएका छन् । आज बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका महतो उम्मेदवारी फिर्ता लिन राजी भएका थिए । 

उम्मेदवारलाई मनोनयन फिर्ता गर्न धम्की नदिन निर्वाचन आयोगको चेतावनी
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकाहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्कीलगायतका हर्कत नगर्न राजनीतिक दल, तिनका भातृ संगठन र सरोकारवालाहरूलाई चेतावनी दिएको छ । चितवनको भरतपुर महानगरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वप्रधानन्यायधीश गोपालप्रसाद पराजुलीलगायत कांग्रेसका नेताहरूले उम्मेदवारी फिर्ता गराउन जबरजस्ती गरिरहेको घटना सार्वजनिक भइरहेको बेला आयोगले यस्तो चेतावनी दिएको हो ।

मतगणनास्थलमा सीसी क्यामरा राख्न निर्देशन
निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७५३ वटै स्थानीय तहका गतगणना स्थलमा अनिवार्य रुपमा सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिएको छ ।मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि समेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ ।

चुनावी तालमेल तत्काल खारेज गर्ने निर्णय गठबन्धन बैठकको निर्णय
सत्तारुढ गठबन्धनले अन्य दलहरूसंग भएको चुनावी तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरूसंग भएको तालमेल तत्काल खारेज गर्ने र तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारवाही गर्ने निर्णय गरेको हो । त्यस्तै गठबन्धनबीच भएको सहमति विपरित विभिन्न दलका प्रतिनिधिहरू स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरू तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १० : ११ बजे

अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन

भोजपुर – अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका

प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध छः मुख्यमन्त्री सिंह

धनुषा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलाडीले मेहनत गरेर

फेवाताल किनारमा ३६० सीमा स्तम्भ गाडिए

कास्की – पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ