दिनभर आज : सम्मानमा सुन र महंगी घटाउनेदेखि निजगढ एयरपोर्ट बनाउनेसम्म | Khabarhub Khabarhub

दिनभर आज : सम्मानमा सुन र महंगी घटाउनेदेखि निजगढ एयरपोर्ट बनाउनेसम्म


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 11 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारले विभूषणमा सुन घटाउने

सरकारले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने निर्णय गरेको छ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै आज सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनावट हेरफेरका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

बैठकले उपत्यकाभित्रका प्रसारण लाइन तथा सबस्टेशनहरुमा संरचनागत सुधार, स्तरोन्नति र विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ । त्यस्तै सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली–२०७९ को मस्यौदा उपर लोकसेवा आयोगको परामर्श लिने र मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको लागि बन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै बैठकले कार्बन उत्सर्जन न्यूनिकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने र भेडेटार स्काई वाक निर्माणका लागि राष्ट्रिय बन क्षेत्र प्रयोग गर्न दिने भएको उहाले बताए । । मन्त्रीपरिषद्ले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा धनुषाका शितल शाहुलाई नियुक्त गर्ने निर्णय गरेको छ भने श्रेणीविहीन स्थायी कार्यलय सहयोगी पदका कर्मचारीहरुको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

सर्वोच्चले निजगढको बाटो खोल्यो
सर्वोच्च अदालतले न्यून वातावरणीय क्षति हुनेगरी र वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गराएर मात्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न परमादेश जारी गरेको छ । यस्तो विमानस्थल निर्माण गर्ने स्थानबारे भने सर्वोच्च बोलेको छैन । सो फैसलामा फरक राय दिने दुई न्यायाधीश हरिकृष्ण कार्की र मनोजकुमार शर्माले भने निजगढमा नै कम वातावरणीय क्षति हुने गरी बनाउनुपर्ने उल्लेख गरेका छन् ।

तर तीन जना न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र प्रकाशमानसिंह राउतले भने ठाउँको बारेमा केही बोलेका छैनन् । तीनजना न्यायाधीशहरु ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत विकल्प खोज्नुपर्ने पक्षमा छन् भने हरिकृष्ण कार्की र मनोज शर्माले निजगढमै विमानस्थल बनाउन उपयुक्त विकल्प खोज्न सकिने राय दिएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणविरुद्ध परेको मुद्दाको फैसलाको आज पूर्णपाठ सार्वजनिक गरेको हो । बहुमतको फैसला कार्यान्वयन हुनेछ ।

महंगीबारे उद्योग मन्त्रीको पत्रकार सम्मेलन
सरकारले हरेक क्षेत्रमा भएको अस्वभाविक मूल्यबृद्धि नियन्त्रणका लागि देशभर एकीकृत रुपमा बजार अनुगमन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सवै तहको संयन्त्र परिचालन गरि एकै पटक एकै समयमा मूल्यबृद्धि नियन्त्रणका लागि एकीकृत अनुगमन गरिने जानकारी दिएका हुन् ।

पेट्रोलियम पदार्थको मूल्यबृद्धिलाई बहाना बनाएर अस्वभाविक मूल्यबृद्धि गर्नेमाथि अंशुक लगाउदै जनतालाई राहत दिनका लागि एकीकृत अनुगमनको योजना बनाइएको उहाले बताए । मन्त्री बडूले खाद्यान्न, औषधि र अत्यावश्यक सेवाको मूल्यमा गरिएको मूल्य वृद्धिमाथि हस्तक्षेप गर्नुपर्ने र यसमा नियमक निकायसंगको पनि सहकार्य आवश्यक देखिएकाले जिल्ला अनुगमन अधिकारी, प्रहरीका साथै सवै पालीकाका प्रतिनिधिहरुसहितको संयुक्त टोलीले अनुगमन गर्ने जानकारी दिए ।

उनले उपभोक्ताले थाहा पाउने गरि अनुगमनको जानकारी सात सात दिनमा सार्वजनिक गरिने बताए । त्यस्तै मन्त्री बडूले पेट्रोलियम पदार्थको कर घटाउने कुरा अर्थ मन्त्रालयको भएको भन्दै यसमा आवश्यक सहजीकरण समेत अर्थमन्त्रालयले नै गर्नुपर्ने स्पष्ट पारे ।

विपद्मा खटिन गृहमन्त्री खाँणको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

सिंहदरबारमा आज मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा गृहमन्त्री खाँणले विपद् जोखिम न्यूनीकरणका लागि पर्याप्त पूर्वतयारीसहित एकीकृत प्रयास गर्नुपर्ने भन्दै सवै प्रकारको तयारीमा रहन निर्देशन दिए । विपद्का कारण सडक अवरुद्ध हुँदा भौतिक तथा आर्थिक विकासमा समस्या आउने भएकाले अवरुद्ध सडक तत्काल सञ्चालन गर्ने गरी उपकरणलाई तयारी अवस्थामा राख्न पनि उनले निर्देशन दिएका हुन् ।

उनले सबै निकायले एकीकृत ढङ्गबाट विपद्को सामना गर्नुपर्ने उल्लेख गरे । उनले जटिल खालका भौगोलिक बनावटका कारण हुने विपद् जीउधन र पूर्वाधारको सुरक्षाका लागि चुनौती भएको धारणा राखे । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणका लागि एकीकृत रुपले परिचालन हुनुपर्नेमा जोड दिएका थिए ।

ओलीको नयाँ बोली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका छन् । धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले आज भक्तपुरमा आयोजना गरेको रोपाई कार्यक्रममा ओलीले कृषिप्रधान देश नेपालमा कृषिजन्य बस्तुको आयात धेरै हुनु दुखद बिषय भएको भन्दै कृषियोग्य जमिनको सदूपयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले जमिनको प्लटिङका कारण नै कृषियोग्य जमिन मासिदै गएको जिकिर गरेका हुन् ।

ओलीले धानका लागि जमिन हावापानी सवै अनुकुल रहेकाले उत्पादकत्व बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा ओलीले मेशिनका माध्यमबाट रोपाई गरेका थिए ।

कम्युनिष्ट आन्दोलनबारे झलनाथको चिन्ता
नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा बहस गर्ने धेरै बिषयहरु रहेको बताएका छन् । ललितपुरमा आज वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले जहा उभियो त्यही नै बहस गरेर कम्युनिष्ट आन्दोलन अघि नबढ्ने समेत बताएका हुन् ।

उनले कम्युनिष्ट आन्दोलन बहस गर्ने उचित फोरह अहिलेसम्म बन्न नसकेको जिकिर गरे । हतियार उठाएर मात्रै क्रान्ति नहुने भन्दै खनालले परिस्थीतिको मूल्याङ्कन गरेर समाजलाई अघि बढाउन सकिने बताएका हुन् ।

उनले नेपाली आन्दोलनमा वामपन्थी नेता सिद्धिलालले गर्नुभएको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा एमालेका नेता घनश्याम भुसालले राजनीतिलाई नीजि र सजिलोे आयको माध्यम बनाउदा समस्या देखिएको बताए । उनले एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउहरु नउम्रिने रैगाने बीउ भएको भन्दै अव हाइब्रिड बीउको आवश्यकता रहेको तर्क गरे ।

यसअघिको नेकपा हाइब्रिड बीउ भएको भएपनि वुद्धि पुगेन भकारीमा आगो लगाइएको उनको भनाई छ । कार्यक्रममा अन्य कम्युनिष्ट नेताहरुले कम्युनिष्ट आन्दोलनमा सिद्धिलाल सिंहले खेल्नुभएको भूमिकाको चर्चा गरेका थिए ।

प्रचण्डको माओवादी चिन्ता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समाजवादको यात्रातिर देशलाई डोर्याउन माओवादी आन्दोलनलाई एकीकृत गर्नुपर्ने बताएका छन् । माओवादी कार्यलय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा दाहालले देशमा समाजबादको आधार तय गर्दै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउनका लागि सवै माओवादी घटकहरुले आफ्नो कमजोरी आत्मसमिक्षासाथ एकीकृत हुनुपर्ने बेला आएको बताएका हुन् ।

दाहालले बिप्लव, धमेन्द्र बास्तोला, मोहन बैद्य लगाएतका नेताहरुलाई एकै ठाँउमा ल्याउने प्रयास भइरहेको जानकारी पनि दिए । त्यस्तै उनले तत्कालिन नेकपामा केपी ओली प्रवृति नेतृत्वमा रहदा प्रतिगमतर्फ जाने खतरा भएकाले आफुहरुले बिद्रोह गर्नुपरेको तर्क गरेका थिए ।

एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डो¥याउन सकिने आफ्नो तीन बर्षको अनुभव रहेको उनले बताए । आफूहरुले नेकपा एमालेमा समाजवादको बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने समेत दाहालले बताए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका थिए ।

बेरुजुमा राष्ट्रपतिको चाँसो
राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फछ्र्याैटलाई अभियानका रुपमा अघि बढाइनुपर्ने बताएकी छन् । महालेखा परीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा महालेखा परीक्षको प्रतिवेदनले बेरुजु बढिरहेको देखाएकाले बेरुजु फछ्र्याैटलाई अभियानका रुपमा अघि बढाउदै आर्थिक अनुशासन पालना गर्नुपर्ने बताएकी हुन् ।

महालेखापरीक्षकको प्रतिवेदनमार्फत् उठेका विषयलाई केन्द्रीय संसद्, प्रदेशसभा, र स्थानीयसभाले गम्भीर रुपमा दिनुपर्ने उनले बताइन् । सार्वजनिक वित्तीय व्यवहारमा पारदर्शीता अहिलेको आवश्यता भएको उनको भनाई छ ।

राष्ट्रपति भण्डारीले मुलुकमा विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सम्पूर्ण निकायको समन्वयात्मक प्रयास हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले बेरुजु फछ्यौटलाई सरकारले प्रयास गरिरहेको भन्दै वित्तीय व्यवस्था सुधारलाई प्राथमिकतामा राखिएको बताइन् ।

सार्वजनिक संस्थाहरूमा आर्थिक अनुशासन कायम गराउन पनि सरकार प्रतिवद्धत रहेको उनको भनाइ छ । कार्यक्रममा महालेखापरीक्षक टङ्कमणि शर्माले यस वर्षदेखि विद्युतीय प्रणालीबाट गरिएको लेखापरीक्षणको प्रतिवेदन आउने क्रममा रहेको जानकारी गराइन् ।

उनले यसबर्ष बेरुजु फछ्र्यौटमा उत्साहजजनक काम हुन नसकेको बताइन् । उनले सार्वजनिक निकायको सुशासन बहालीका लागि महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी हुन् ।

असार १५ अर्थात धान दिवस
असार १५ अर्थात धान दिवस मनाइएको छ । असार १५ मा खेतमा काम गरी दहीचिउरा खाएर मनाउने चलन छ । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपालमा १५ लाख हेक्टर जमिनमा बर्सेनि झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यसै अवसरमा सरकारले राष्ट्रिय बाली बिज्ञान अनुसन्धान केन्द्र, खुमलटार फार्म परिसरमा १९ औं धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेको थियो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मेशिनबाट रोपाई गरेका थिए । मन्त्री यादवले नेपालमा धान उत्पादनका लागि सधै युरिया मल अभाव देखिएको बताए । उनले अन्तराष्ट्रिय बजारमा मलको मूल्यबृद्धि हुदा नेपालमा मल आपूर्तिको समस्या देखिएको धारणा राखे । कृषि कारखाना स्थापना, मलको स्वचालित मूल्य वा जिटुटी नै सहज मल आपूर्तिको माध्यम भएको उनको भनाई छ । नेपालको कूल ग्राहस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको विवरण केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।

त्यस्तै भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ । त्यस्तै सोहि अवधिमा रु १५ अर्बभन्दा बढीको धान आयात भएको छ ।

राजस्व अनुसन्धान विभाग
राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो ।

मालवस्तु पठाउँदा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश लगायतका राजस्व नतिरेको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँ बराबर बिगो माग दावी गर्दै जरिवानासहित ४४ करोड ३८ लाख रुपैयाँ सजाय माग गरिएको छ । मुद्दा दायर गरिएकाहरुमा पशुपति रोड क्यारियर्सका संचालकहरु महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता र कर्मचारीहरु उपेन्द्रकुमार सिंह, अन्जियन आलम छन् ।

त्यस्तै मनकामना सप्लायर्सकी प्रोप्राइटर रेखा जैसवाल, कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ ।

काठेखोलाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बाग्लुङ काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित ६ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचारको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा अधिकृत विक, तत्कालीन सब–इञ्जिनियर नवीनकुमार दास, असिस्टेन्ट सब–इञ्जिनियर सनोज उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष रनबहादुर थापा, सचिव टेकनारायण पुन र कोषाध्यक्ष पार्वती थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।

उनीहरूले नालढुङ्गा खानेपानी योजनामा नापी किताबअनुसारको पाइप प्रयोग नगरेको, डुडियाघाट तथा लामाबगरस्थित ह्युमपाइप निर्माणमा कमसल सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । लामाबगर ह्यूमपाइप आयोजनामा र डुडियाघाट ह्यूमपाइपमा जम्मा ४ लाख ९० हजार २२७ रूपैयाँ ७७ पैसा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

उपभोक्ता समितिका पदाधिकारीले लामाबगर र डुडियाघाट ह्यूमपाइपमा सम्झौताबमोजिम ह्यूमपाइप राख्दा गर्नुपर्ने पिसिसी, ढुङ्गाको पर्खाललगायतका लगत इष्टिमेटमा तोकिएका काम गर्नुपर्नेमा नगरी स्थलगत रुपमा नभएको र नगरेको कामको समेत झुट्टा बिल भरपाई बनाएको पुष्टि अख्तियारको दाबी छ ।

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो
निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । आज साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई सुरक्षीत रहन आग्रह गरिएको छ । लगातार परेको पानीका कारण सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहितका जिल्लाको दक्षिणी क्षेत्रका बस्तीहरू बढी प्रभावित भएको छ । सप्तकोसी साथै चुरेसँग जोडिएको खाँडो, महुली, सुन्दरी, जिता, खडक, बलान लगायतका खहरे खोलामा आएको बाढीका कारण केही वस्ती डुबानको जोखिममा परेको स्थानीयहरू छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरो
नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षासँगै ती मध्ये सात ठाउँमा साना–ठूला पहिरो खसिसकेको छ । डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिम देखिएको छ । ती ठाउँमा यस वर्ष पहिरो खसेर दुःख दिइरहेको छ ।

तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिनतर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिनुभयो । त्यसका साथै सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेको छ । ती १७ ठाउँमा गएको वर्ष पहिरो खसेको थियो ।

बढ्यो कोरोना संक्रमण
नेपालमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ पिसिआर परिक्षणका क्रममा ५१ जना र ६ सय १२ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १९ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१४ जनामा हैजाको संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखिआजसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । ललितपुरमा संकलन गरिएको १८ वटा नमुनामध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ ।

हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

शिक्षण अस्पतालमा विमा
काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै (हिजो) सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम १५ असारदेखि पनि निरन्तरता दिएको जनाएको छ । स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

अस्पताल प्रशासनका अनुसार सरकारले बीमामार्फत अस्पताललाई ८ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । । कयसअघि सरकारबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले १५ असारदेखि स्थगित गर्ने निर्णय गरेको थियो ।

७ सय १६ ग्राम कस्तुरीको धलो सहित एक जना पक्राउ
प्रहरीले ७ सय १६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलोसहित एक जना कोरियन नागरिकलाई पक्राउ गरेको छ ।कोरियन एयरको उडानद्वारा कोरिया जान लागेका यात्रु जुङ जोन जुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षको ह्याण्ड व्यागेज चेकिङ एरियामा सुरक्षा खानतलासी गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको दुवै जुत्ता भित्र सेतो रंगको प्लास्टिक र टेपले बेरेर कस्तुरीको विना जस्तो देखिने २ पोका धुलो फेला परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार, काठमाडौंमा पठाइएको छ ।

मृत्यु भएका विद्यार्थीलाई क्षतिपूर्ति दिने सहमति
मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट मृत्यु भएका विद्यार्थीको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु इंग्लिस बोर्डिङ स्कुलको बसको ठक्करबाट हिजो पाँच वर्षीय रिपिक मण्डलको मृत्यु भएको थियोे ।

सोहीस्कुल बसले विद्यालयका विद्यार्थी मण्डलको मृत्यु भएपछि विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । पीडित पक्ष र रंगेली नगरप्रमुख दिलिप अग्रवालसहित आज बसेको सर्वपक्षीय बैठकले मृतक र घाइते विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको हो ।

घटनामा अर्की पाँच वर्षीया विद्यार्थी सोनमकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

भन्सार नाका सहज बनाउन माग
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले चीनसँग जोडिएका नेपाली भन्सार नाकामा नेपाली व्यवसायलाई सहज रुपमा आवतजावतको व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ । आज काठमाडौंमा चीनका लागि नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठलाई विदाई एवं सम्मान गर्दै महासंघले केरुङ, तातोपानीलगायतका नाकामा आवतजावतका लागि सहजीकरणका लागि पहल गर्न आग्रह गरेका हुन् । सो क्रममा राजदूत श्रेष्ठले व्यवसायीलाई परेको समस्या आम देशवासीको समस्यालाई प्राथमिकतामा राख्ने बताए ।

नाकाभित्र रहेका समस्या समाधान गरी नाकालाई सहज बनाउन आफ्नो प्रयत्न हुने उहाको भनाई छ । उहाले भिसा समस्या समाधानका लागि पनि आफुले छलफल गर्ने जिकिर गरे । महासङ्घले चीनबाट आयात गरिने आधिकारीक ब्राण्डेड सामान तथा औषधिजन्य कच्चापदार्थको सहजीकरण गर्नुपर्ने, कृषिजन्य रासायनिक मल तथा बीउबिजनको आयातमा सहजीकरणका साथै व्यवसायीलाई सहज रुपमा भिसाका लागि पनि पहल गरिदिन आग्रह गरेको छ ।

सेयर बजार परिसुचक
लगातार दुई दिन घटेको सेयर बजार परिसुचक नेप्से आज भने हरियाली छाएको छ । नेप्से आज ४१ दशमलव ३९ अंकले बढेर १ हजार ९ सय ६२ दशमलव ७१ विन्दुमा पुगेको हो । आज २२८ म्पनीको ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता शेयर कुल १ अर्ब ४३ करोड १४ लाख ६ सय ४१ रुपैँयामा कारोबार भएको छ ।

सबै समूहको शेयर बढेकोमा व्यापार, जलविद्युत्, विकास बैंक, उत्पादन बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । लघुवित्त, सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्ेका छ । यस्तै बरुण हाइड्रोपावरको ९ दशमलव ४ ,सप्तकोसी विकास बैंकको ८.६ र ग्रीन भेन्चरको मूल्य ८.२ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आज ङादी ग्रुप, एसियन लाइफ, नेपाल पुनर्बीमा कम्पनी, अरुणभ्याली र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहेका छन् ।

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा
नेपाली शिक्षा परिषद्ले सवारी साधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि) को प्रयोग अनिवार्य गर्न माग गरेको छ । सवारी साधनमा जोडिने (विशेष संख्या पाता) इम्बोस्ड नम्बर प्लेटमा रोमन लिपि (अंग्रेजी) मा रहने निर्णय सच्याउन परिषद्ले माग गरेको छ ।

परिषद्ले एक विज्ञप्ति जारी गर्दै सरकारले सवारी साधनमा विशेष संख्या पाता (इम्बोस्ड नम्बर प्लेट) जडान गर्ने र सो पातामा अंक र अक्षर देवनागरी लिपि (नेपाली) नभई रोमन लिपि (अंग्रेजी) मा रहने निर्णयप्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अमेरिकाले चीन र पाकिस्तानसहित
अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै जो वाइडेन प्रशासनले चीनका थप पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो । यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरेको थियो ।

वासिङटनले रूस, संयुक्त अरब इमिरेट्स, लिथवानिया, पाकिस्तान, सिङ्गापुर, संयुक्त अधिराज्य, उज्वेकिस्तान र भियतनामका ३१ कम्पनीलाई कालोसूचीमा राखेको अलजजिराले जनाएको छ । तीनवटा चिनियाँ कम्पनीले रूसी सेनालाई सहयोग गरेका थिए । रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि ती देशका कम्पनीले रूसलाई सामग्री आपूर्ति गरेका थिए । आजको कारबाहीले रूसलाई सहयोग गर्न खोज्ने विश्वभरका कम्पनी तथा व्यक्तिमाथि शक्तिशाली सन्देश दिएको र रूसलाई सघाउनेहरूको नियति पनि त्यस्तै हुने चेतावनी वासिङटनले दिएको छ ।

अमेरिकी नीति र कानूनको पालना नगर्ने संसारका जुनसुकै देशका कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि वासिङटनले दिएको छ ।

बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मकालाई खोप
बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको देखिएपछि बालबालिकाको सुरक्षाका लागि खोप लगाउने निर्णय गरिएको अधिकारीहरूले जनाएका छन् ।

बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जाहिद मालिकीले आगामी महिनादेखि बालबालिकालाई खोप लगाउन थालिने आज जानकारी दिए । बालबालिकाका लागि खोपको व्यवस्था गर्ने प्रक्रिया चलिरहेको र बाँकी तयारीको काम पनि भइरहेको उनले बताए ।

बालबालिकाको जन्मदार्ता हेरेर त्यसैका आधारमा खोप लगाइने मन्त्री मालिकीले जानकारी दिनुभयो । सरकारले मास्क लगाउने कार्यलाई पनि उच्च प्राथमिकतामा राखिरहेको छ । सरकारले जारी गरेको निर्देशनमा रहेका नागरिकले मास्क लगाउनै पर्ने उल्लेख गरिएको छ ।

बङ्लादेशमा अहिलेसम्म १९ लाख ६९ हजार ३६१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये दुई हजार ८७ जना पछिल्लो एक दिनमा भएका हुन् । त्यसैगरी कोरोनाका कारण अहिलेसम्म बङ्लादेशमा २९ हजार १४५ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

पुलिस क्लबको लगातार दोस्रो जित

बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउदेस्यीय कभर्डहलमा आज भएको पहिलो खेलमा पुलिसले परोपकार महिला होस्टेललाई २५–६, २५–६, २५–११ ले पराजित गरेको हो । राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका अधिकांश सेटका खेलाडीविना पुलिसले सहज जित पाएको हो ।

लगातार दोस्रो पटक जित निकालेको पुलिसले ६ अंक जोडेको छ । यता, लगतार दोस्रो खेलमा पराजित भएको परोपकार अंक जोड्न सकेको छैन । यसअघि परोपकार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा पराजित भएको थियो । राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अष्ट्रेलियाविरुद्ध श्रीलंकाको मध्यम प्रदर्शन
अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट खेलको पहिलो दिन श्रीलंकाले ् मध्यम प्रदर्शन गरेको छ । श्रीलंकाको गालेमा भएको खेलमा पहिलो इनिङ्समा घरेलु टोलीले केवल २ सय १२ रन बनाउन सफल भयो । श्रीलंकाले ५९ ओभर मात्र २ सय १२ रन बनाउन सफल भयो ।

उसका लागि निरोशन डिकवेलाले ५८ रन र एन्जेलो म्याथ्युले ३९ रन जोडे । घरेलु टोलीलाई सस्तैमा समेट्न अष्ट्रेलियाका नाथन लियोनले ५ तथा मिचेल स्वेप्सनले ३ विकेट लिए । पहिलो इनिङ्स सुरु गरेको अष्ट्रेलियाले आजको खेल समाप्तिमा ३ विकेटको क्षतिमा ९८ रन बनाउन सफल भयो ।

यसका लागि उस्मान ख्वाजाले नट आउट ४७ रन बनाए भने डेभिड वार्नरले २५ रन जोडे । श्रीलंकाका रमेश मेन्डिसले २ विकेट लिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ९ : ०९ बजे

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६

धादिङ र तनहुँमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित त्रिशूली नदी किनारामा हाल नाम, थर

बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई ‘बाइपास’ गर्न खोज्दा काठमाडौंको बजेट झन् अन्योलमा

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्रोत अनुमान तथा बजेट सीमा

बेलायती राजदूत रोब फेनद्वारा सिप मेलाको अवलोकन 

काठमाडौं– नेपालका लागि संयुक्त राज्य बेलायतका राजदूत रोब फेनले टुँडिखेलमा