काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर संगठन विस्तारका लागि देश दौडाहामा छन् ।
काठमाडौँको राष्ट्रिय सभागृहबाट पार्टी घोषणा गरेका उनले पार्टीको नाम र चुनाव चिह्न पाइसकेपछि आक्रामक रुपमा संगठन विस्तार गरिरहेका छन् ।
वाग्मती प्रदेशको चितवनमा पहिलो प्रदेश भेला राखेका उनले क्रमिक रुपमा प्रदेश नम्बर १ को विर्तामोड, मधेश प्रदेशको मोरङ, गण्डकी प्रदेशको पोखरा लगायतमा कार्यक्रम गरिसकेका छन् ।
हालसम्मको उनको कार्यशैली हेर्दा उनी प्रदेश केन्द्रित तयारीमा रहेको स्पष्ट हुन्छ । क्रमिक रुपमा उनी लुम्बिनी प्रदेशको बुटवल र दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको मुकाम धनगढी, महेन्द्रनगर लगायतका ठाउँमा कार्यक्रम गर्ने तयारीमा छन् ।
मुलुकका विकृति र विसंगतिलाई पत्तासाफ पार्छु भन्दै स–साना कुरा गरेर जनताको वाहवाही र ताली पाएका उनले मुलुक विकास गर्ने पार्टीको लाइन, मार्गदर्शन र सिद्धान्तबारे खास कुरा सार्वजनिक गर्न सकिरहेका छैनन् ।
त्यसैले लामिछानेले राजनीति गर्न जान्दैनन् भन्ने तप्का बढिरहेको छ । यति मात्र होइन, उनको अहिलेको खर्च कसरी जुटेको छ ? अनेकन प्रश्न उनीमाथि तेस्रिरहेका छन् ।
अस्पष्ट राजनैतिक दर्शन र विचार
रवि लामिछानेले अहिलेसम्म आफ्नो पार्टीको विचार, दर्शन मार्गदर्शक सिद्धान्त यो नै हो भन्न सकेका छैनन् । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद नेपाली कांग्रेसको मार्गदर्शक सिद्धान्त हो ।
मुलुकको प्रमुख शक्ति नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टी वामपन्थी पार्टी हुन् भने मधेशवादी पार्टी पनि वामपन्थी धारमा छन् । राष्ट्रिय जनमोर्चाबाहेक अरु पार्टीले संघीयता स्वीकार गरेका छन् ।
राप्रपा र राप्रपा नेपालले गणतन्त्र स्वीकार गरेको स्थिति छैन । उनीहरु अझै पनि हिन्दू राज्य र संवैधानिक राजसंस्था चाहन्छन् । निर्वाचन आयोगमा दर्ता भएका राष्ट्रिय र अरु पार्टीका पनि आ–आफ्नै मार्गदर्शक सिद्धान्त छन् ।
निर्वाचन आयोगमा दर्ता भएर प्रमाणपत्र ग्रहण गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै मार्गदर्शक सिद्धान्त के हो भन्ने जनतालाई थाहै छैन । उनी भन्छन्, हामी संघीयता, गणतन्त्र पनि स्वीकार गर्दछौँ । तर बाहिरी भाषणमा भने उनी वर्तमान राज्य व्यवस्था र प्रणालीमाथि तीव्र वितृष्णा व्यक्त गरिरहेका छन् ।
पोखराको एक कार्यक्रममा सनातन धर्मलाई पनि उनीहरुले अंगिकार गरेको देखिन्छ । त्यसैले उनको खास राजनैतिक लाइन के हो भनेर बुझ्न सकिने अवस्था छैन । त्यसैले पनि उनले राजनीति गर्न जान्दैनन् भनेर बेलाबेलामा टिप्पणी भइरहेका छन् ।
मुलुक बनाउन पार्टीको खास दर्शन चाहिन्छ । त्यही दर्शनको आधारमा जनताले चुनावमार्फत भोट दिने हुन् । लामिछानेका भाषणलाई केलाउने हो भने उनलाई राजनीति गर्न आउँदैन तर विदेशमा अलपत्र पारिएका व्यक्तिको रिपोर्ट बनाएर ब्रोडकास्ट गर्न राम्ररी आउँछ ।
‘मलाई राजनीति आउँदैन तर बदमास र ठगलाई कसरी तह लगाउने भन्ने आउँछ । मलाई राजनीति आउँदैन तर भ्रष्टचारीलाई कारबाही गर्न आउँछ ।,’ उनको यो भाषण जनताका लागि सुन्न त ठिकै होला तर देश बनाउन भने योग्य छैन ।
अहिले उनीसँग यो मुलुकको भविष्य र यति वर्षमा यस्तो बनाउँछु भन्ने स्पष्ट रोड म्याप छैन । उनी अहिले आफू सांसद बन्न चाहिरहेको स्पष्ट देखिन्छ । त्यसैले उनी भन्छन्– ‘मलाई सिंहदरबार छिर्न दिनुहोस्, समानुपातिक मत दिनुहोस् । पूरा व्यवस्था बदल्छु । अवस्था बदल्छु ।’
चुनाव जिते पनि रवि एक्लैको बलले केही परिवर्तन हुँदैन । त्यसको लागि उनले आफ्नो बहुमतको सरकार बनाउनुपर्दछ । त्यसका लागि उनलाई धेरै वर्ष लाग्न सक्छ ।
चुनावी अभियानका लागि उठेको खर्चको स्रोतबारे अस्पष्टता
अर्को प्रश्न उनीमाथि यत्रो देश दौडाहाको खर्च कहाँबाट संकलन भइरहेको छ भन्ने पनि छ । आफ्नो करिअरको २० वर्षभन्दा लामो सञ्चार अनुभव बोकेका उनी केही वर्ष अमेरिकामा बसे ।
त्यहाँ उनले कति कमाए, कमाएनन् त्यसको हिसाब किताब नगरौँ । त्यसपछि उनी नेपाल आएर लामो समय नै टेलिभिजन कार्यक्रम चलाए । टिभी खोले ।
अहिले राजनैतिक पार्टी खोलेर बसुन्धरामा पार्टी कार्यालय पनि सञ्चालनमा ल्याएका छन् । अहिले देशव्यापी उनको दौडधूप छ । यो सारा खर्च उनले कसरी धानिरहेका छन् । देशभर होटेलहरुमा गरिने कार्यक्रमको खर्च कहाँबाट जुटिरहेको छ?
पार्टी कार्यालयको घर आफ्नै सम्पत्ति भए त ठिकै छ । होइन र भाडा तिर्नुपर्दछ भने त्यो भाडा र त्यहाँका कर्मचारीको खर्च कहाँबाट पुगिरहेको छ? उनको खर्चको स्रोत के हो? प्रश्न उठ्न थालेको छ ।
उनले अमेरिकाबाट कमाएर ल्याएको पैसाले यो सारा गर्दैछन् कि टेलिभिजन कार्यक्रमबाट यो सारा सम्पत्ति कमाए? टेलिभिजन कार्यक्रमबाट मानौँ उनले मासिक २ लाख नै कमाए भने पछिल्लो दश वर्षमा यसको हिसाब सबैले गर्न सक्छन्?
तर नेपालमा एउटा कार्यक्रम चलाएर कति कमाइन्छ भन्ने कुरा छर्लङ्ग छ । के त्यो कमाइले उनको यो सारा खर्चको हिसाब मिलिरहेको छ? यति धेरै जम्बो टिम उनले कसरी चलाइरहेका छन् ? या सबै स्वयम् सेवक हुन्?
जनतालाई मिडियामार्फत समयमै जवाफ दिनुपर्छ । उसो त पार्टीको विधि बनाउँदा उनले कहिँकतैबाट चन्दा नलिने उनको घोषणा छ ।
उनी विकृति विसंगति, भ्रष्टाचारविरुद्ध खरो उत्रन्छन् भने आफ्नो आर्थिक पारदर्शिताबारे जनतालाई भन्नैपर्छ । यदि उनले खर्च विवरण सार्वजनिक गर्न सक्दैनन् भने उनको व्यक्तित्वमा पनि खोट लुकेको छ भन्न सकिन्छ ।
अर्को उनको पार्टीको झण्डाको विषयमा पनि अनेकन टिप्पणी आइरहेका छन् । झट्ट हेर्दा रविको पार्टीको झण्डा अन्तर्राष्ट्रिय दातृ निकाय युएनडीपीको जस्तो छ । अर्थात् कलर ब्राण्डिङमा उनले युएनडीपीको कपी गरेका छन् ।
यो कलर म्याचिङमा कुनै रहस्य त छैन भनेर आजभोलि चर्चा हुन्छ । यसबारे पनि प्रश्न उठिसकेपछि उनले भन्न सक्नुपर्छ।
लामिछानेको चरित्रमाथि पनि बारम्बार प्रश्न उठ्ने गर्छ । उनले बहुविवाह गरेका छन् । परिवार चलाउन र सन्तुलनमा राख्न असफल पात्र मुलुक चलाउन कसरी सक्षम हुन्छन् भनेर पनि बारम्बार उनले आरोप खेपिरहेका छन् ।
कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध यस्तै खाले आरोप लगाएर चुनाव लड्ने घोषणा गर्नुले पनि उनीमाथि नैतिक खोट देखिन्छ । १ सय ७५ निर्वाचन क्षेत्रमध्ये रवि जहाँबाट उठ्छन्, त्यहाँबाट लड्ने उनको घोषणा गर्दै उनले रविमाथि विभिन्न आरोप लगाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘एक नाबालिग छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरू र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने । ! त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ ।’
न्यूज २४ टेलिभिजन च्यानलमामा रहँदा लामिछानेले टेलिभिजनको दुरुपयोग गरेको आरोप पनि उनले लगाएका छन् । भण्डारीले रविमाथि किन यस्तो आरोप लगाए ? यो कति सत्य हो आम नागरिकलाई केही पनि थाहा छैन । तर उनले यसबारे जनतालाई उत्तर भने दिनैपर्ने स्थिति देखिएको छ ।
हो, रविले टेलिभिजनबाट जनस्तरमा राम्रो छवि बनाए । त्यसैको क्रेडिट नै अहिलेको उनको चित्र हो । उनी नैतिक रुपमा गलत नहोलान् । सही नियत नै राखेर आगामी चुनावको तयारी गरेका होलान् ।
उनी जुन उद्देश्य लिएर हिँडेका छन् । पूरा गरुन् पनि । तर उनको चरित्र पारदर्शी हुनैपर्छ । टेलिभिजनको पर्दामा उनी जसरी यहाँको व्यवस्था र पात्रमाथि कड्किरहेका छन्, म त्यस्तै छैन भनेर उनले जनतालाई प्रमाण दिन सक्नुपर्छ ।
त्यसैगरी उनले पार्टीको स्पष्ट धारणा, कुन धारको पार्टी हो लोकतान्त्रिक, कम्युनिष्ट, राजावादी या हिन्दू ? यसको उत्तर नदिइकन मुलुकका सानातिना विकृति विसङ्गति अन्त्यको कुरा गरेर जनताको असन्तुष्ट मत बटुल्न खोज्नु एउटा ब्ल्याकमेलिङ गर्ने योजना मात्र हो ।
यदि उनी साँच्चिकै भ्रष्ट छैनन् भने उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्दछ र अहिले भइरहेको खर्चको बारेमा जनतालाई छर्लङ पार्नुपर्दछ । झण्डाको रङको विषयमा पनि कुरा उठिसकेपछि उनले यसबारे सार्वजनिक रुपमा प्रष्टसँग भन्न सक्नुपर्दछ । त्यसपछि मात्र उनलाई सबैले विश्वास गर्ने वातावरण बन्नेछ ।
प्रतिक्रिया