'स्वास्थ्यलाई हानी हुने गरी तीजमा व्रत बस्नु हुँदैन' | Khabarhub Khabarhub

‘स्वास्थ्यलाई हानी हुने गरी तीजमा व्रत बस्नु हुँदैन’

तीजमा व्रत बस्दा शरीरलाई फाइदा र बेफाइदा कति ?



काठमाडौँ- हरितालिका तीज नेपाली हिन्दु महिलाहरूको महान् चाड हो। तीजमा विवाहित महिलाहरू आफ्नो जन्म घर माइत फर्कने र मिठा मिठा परिकारहरू खाँदै नाचगान गरेर रमाइलो गर्ने परम्परा छ ।

तीजमा अर्को पनि एउटा महत्त्वपूर्ण परम्परा छ, त्यो हो व्रत अथवा उपवास बस्नु। विवाहित तथा अविवाहित महिलाहरू तीजको दिनमा व्रत बस्ने परम्परा रहेको छ । तीजको अवसरमा व्रत बसेमा आफ्ना मनोकामना पूरा हुने जनविश्वास पनि रहँदै आएको छ ।

सामान्यतया तीजको दिनमा पानीसमेत नखाई भगवान् शिवको पूजापाठ गर्ने गरिन्छ । कतिले यसलाई धार्मिक महत्त्वका रूपमा लिने गर्छन् भने कतिले आफ्ना अभिभावकको देखासिकी गरेर पनि व्रत बस्ने गर्छन्। व्रत बस्नुको धार्मिक महत्त्व त आफ्नै ठाउँमा छ तर मेडिकल विज्ञानले पनि व्रत बस्नुलाई केही हदसम्म राम्रो मानेको छ ।

व्रत बस्नुको धार्मिक महत्त्व
व्रत बस्नु भनेको नयाँ परम्परा नभई परापूर्व कालदेखि नै चलिआएको चलन हो । ‘पार्वतीले व्रत बसेर भगवान् शिवलाई पतिको रूपमा पाएको कुरा पुराणमा लेखिएको छ। त्यसै परम्पराअनुसार व्रत बस्नेले अखण्ड सौभाग्य पाउने तथा रोग व्याधी निको हुन्छ भन्ने मान्यता छ ।

विवाहित महिलाले व्रत बस्दा पतिको आयु लामो हुने तथा सन्तान प्राप्ति हुने र अविवाहित नारीले व्रत बसे भगवान् शिव जस्तै आफूले चाहे अनुकूल वर पाउने विश्वास रहेको छ ।

आज भगवान् शिवलाई बेलपत्र, भाङ, पञ्चामृत तथा १६ प्रकारका व्यञ्जनहरू चढाएर पूजाआजा गर्ने गरिन्छ । व्रत बस्दा स्वस्थ महिलाले पानी पनि नखाई निर्जल व्रत बस्ने चलन भए पनि अशक्त र बिरामीहरूले फलफूल खाएर व्रत बस्ने चलन रहेको छ ।

मेडिकल विज्ञानले व्रतलाई कसरी हेर्छ ?
व्रतले शारीरिक रूपमा फाइदा वा बेफाइदा के  पुर्‍याउँछ भन्ने कुरा व्रतको प्रकारमा भर पर्ने फिजिसियन डा. युवराज शर्माले बताए । लामो समयसम्म केही पनि नखाई बसिने व्रतले शरीरमा नकारात्मक प्रभाव पार्ने र कहिलेकाहीँ २४ देखि ४८ घण्टासम्म बसिने व्रतले शरीरलाई केही हदसम्म फाइदा नै पुर्‍याउने डा.शमाले बताए ।

‘लामो समयसम्म व्रत बस्दा शरीरमा आवश्यक पौष्टिक तत्त्वहरूको कमीले गर्दा विभिन्न स्वास्थ्य समस्याहरू देखिन सक्छन्। अझ पानीको कमीले डिहाइड्रेसन भयो भने त मिर्गौलाले काम नगर्नेसम्म पनि हुन सक्छ,’ डा. शर्माले भने, ‘तर ६ महिना अथवा वर्ष दिनमा एक दुई पटक व्रत बस्दा भने शरीरलाई फाइदा नै गर्छ। यो शरीरलाई केही समय आराम दिए जस्तै हो ।’ निरन्तर व्रत बस्दा यसले ग्यास्ट्रिक निम्त्याउने र कालान्तरमा त्यो अल्सरमा परिणत हुन सक्ने सम्भावना हुन्छ ।

समय समयमा बसिने व्रतले शरीरमा सुगरको मात्रा नियन्त्रण हुने भएकाले यसले मधुमेहको जोखिमबाट बचाउने उनको भनाइ छ । फलफूलहरू खाएर व्रत बस्दा स्वस्थ जीवनयापन हुने भएकाले यसले मुटुलाई पनि स्वस्थ बनाउने उनले बताए । मोटोपना भएका मानिसहरूले व्रतलाई तौल घटाउने उपायको रूपमा पनि लिन सक्ने उनी बताउँछन्।

व्रत बस्नु सबैको लागि भने उपयुक्त नहुने उनी बताउँछन्। मधुमेह भएका, मिर्गौलाको समस्या भएका तथा लो ब्लड सुगर भएकाहरुका लागि व्रत बस्नु घातक हुन सक्ने उनको भनाइ छ। यस्ता बिरामीहरूले व्रत बस्नुअघि चिकित्सकको सल्लाह लिनुपर्ने उनले बताए।

कसले व्रत बस्नु हुँदैन ?
आफ्नो शारीरिक अवस्था बुझेर मात्रै व्रत बस्ने उचित हुन्छ । लामो समयदेखि औषधि सेवन गर्दै आएका शारीरिक रूपमा अशक्त र कमजोर महिलाले व्रत बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। प्रायजसो दीर्घरोग भएका महिलाले व्रत बस्दा समस्या थप बल्झन सक्ने खतरा हुन्छ ।
विशेषगरी न्यून रक्तचापका बिरामी महिला, मुटुसम्बन्धी समस्या भएका महिला र मृगौलासम्बन्धी समस्या भएका महिलाले पनि व्रत बस्नु हुँदैन । यस्ता समस्या भएका महिलाहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले व्रत बस्दा स्वास्थ्य अवस्था झन् बिग्रन सक्छ ।

यस्ता प्रकृतिका समस्या भएका महिला व्रत बसे रिंगटा लाग्ने, कमजोरी महसुस हुने, शरीर थाक्ने, मांसपेशी दुख्नेलगायतका समस्या निम्तिन सक्छन्। रोग प्रतिरोधक क्षमता कमजोर भएका महिलालाई स्वस्थ माहिलाका तुलनामा बढी भिटामिन र खनिज तत्त्व आवश्यक हुन्छ ।

सामान्य मानिसमा पनि पोषक तत्त्व पूर्ति नभए कमजोरीपन महसुस हुन्छ भने दीर्घ रोगी महिला खाली पेटमा नाच्दा शारीरिक श्रमका कारण बेहोस हुने सम्भावना बढी रहन्छ। व्रत बसे पनि निराहार व्रत बस्नु धेरैका लागि राम्रो नहुन सक्छ। व्रत बसेकै बेला पनि फलफूल र पानी खाने गर्नुपर्छ।

रोगी महिला मात्रै नभएर निरोगी महिलाले पनि तीजको व्रत बस्दा धेरै कुरामा ध्यान दिनुपर्छ। व्रतको अघिल्लो दिन टन्न दर खाने र अर्को दिन निराहार व्रत बस्नाले पनि स्वास्थ्यमा समस्या निम्त्याउँछ । बजारमा पाइने बोतलको पेय पदार्थमा चिनीको मात्रा बढी हुने भएकाले सकेसम्म फ्रेस फलफूलको जुस पिउने गर्नुपर्छ। जुसमा शरीरलाई चाहिने पोषण पाइने भएकाले बजारी पेय पदार्थ विस्थापन गरेर जुसमा जोड दिनुपर्छ ।

तीज धार्मिक आस्थासँग जोडिएको हुँदा मन्दिर जाने र पूजा गर्ने गछौँ, तर सबैभन्दा ठूलो मन्दिर हाम्रो शरीर हो । त्यसकारण पनि बिरामी महिलाहरू, लामो समयदेखि औषधि सेवन गर्ने महिलाले जबसम्म शरीरलाई चाहिने सन्तुलन व्यवस्थापन गर्न सक्दैनन्, तबसम्म शरीरभित्रको ईश्वरलाई खुसी हुँदैनन्। शरीरका देवता खुसी नभई मनकामना पूरा नहुने भएकाले शरीर चाहिँ स्वस्थ रहन आवश्यक हुन्छ । त्यसैले पहिले आफ्नो स्वास्थ्य स्वस्थ बनौँ अनि, बल्ल व्रत बसौँ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : ०३ बजे

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार