समाचार

मधेस संसदीय दलको नेताको आकाङ्क्षी बढे

By खबरहब

December 29, 2022

धनुषा – मधेस प्रदेशसभा सचिवालयले भोलि प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको छ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ। तर प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता चयन गर्न सकेका छैनन्।

एमालेका मधेस प्रदेश सहइञ्चार्ज सुमनराज प्याकुरेलले गठबन्धन दलको सहमति र समीकरणमा नै प्रदेश सरकार नेतृत्वको टुङ्गो लाग्ने जानकारी दिए। एमाले प्रदेश संसदीय दलको नेता यसै साताभित्र छनोट गर्ने गृहकार्य भइरहेको उनले बताए।

एमालेमा प्रदेश संसदीय दलको नेता बन्ने आकाङ्क्षी पनि थपिँदै गएका छन्। एमालेभित्र रामचन्द्र मण्डल, सरोजकुमार यादव, राजकुमार लेखी थारु, हरिनारायण महतो, महम्मद समिर र शारदादेवी थापा दलको नेता बन्न आकाङ्क्षी छन्।

त्यसैगरी जसपा वा जनमत पार्टीको नेतृत्वमा पनि प्रदेश सरकार बन्न सक्ने आकलन गरिएको छ। जसपामा पाँच वर्ष मुख्यमन्त्री रहिसकेका लालबाबु राउत तथा सरोजकुमार यादव, मनिषकुमार सुमन र रामआशिस यादव दलको नेता बन्न आकाङ्क्षी छन्।

जनमतमा पनि सतीशकुमार सिंह, महेशप्रसाद यादव, त्रिभुवन साह, चन्दनकुमार सिंह र वसन्तकुमार कुशवाहालगायत दलका नेताका लागि आकाङ्क्षी देखिएका छन्। दलको नेता छान्न सकस देखिएपछि सोको जिम्मेवारी पार्टी अध्यक्ष डा सीके राउतलाई दिइएको छ।

यता प्रदेशमा दोस्रो ठूलो दल नेपाली कांग्रेसले दलको नेता छान्न समिति नै गठन गरेको छ। कांग्रेसमा रामसरोज यादव, रामकृष्ण यादव, वीरेन्द्र सिंहलगायत आकाङ्क्षी छन्। अन्य दल पनि दलको नेता छान्न गृहकार्यमा लागेका छन्।