फाइल फोटो

समाचार

पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा

By खबरहब

March 30, 2022

काठमाडौँ- नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता ‘पूर्णविक्रम शाह’ पल शाहको निवेदन न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पुगेकाे छ । थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै शाहले मंगलबार दिएका रिट बुधबार पेसी सूचीमा चढेको हो ।

मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीबाट न्यायाधीश राजभण्डारीको इजलासमा परेको बताइएकाे छ ।

एक नाबालिग गायिकालाई विवाह गर्छु भनी ललाईफकाई प्रेममा पारी जबरजस्ती करणी गरेको अभियोगमा बालिकाकै बुवाको जाहेरीका आधारमा गत फागुन ११ गते तनहुँ प्रहरी र त्यसको केही दिनमा नवलपुर प्रहरीमा जाहेरी परेको थियो ।

उक्त जाहेरीपछि पक्राउ परेका शाहविरुद्ध तनहुँ जिल्ला अदालत र नवलपुरमा मुद्दा दायर भएको थियो । नवलपुरको गैँडाकोटमा भएको एक गीतको म्युजिक भिडियो सुटिङका क्रममा शाहले पहिलोपटक जबरजस्ती करणी गरेको र त्यसपछि पनि विभिन्न मितिमा विभिन्न स्थानमा करणी गरेको जाहेरीमा उल्लेख छ ।

आफूविरुद्ध उजुरी परेपछि शाह १५ फागुनमा आफैँ प्रहरीसमक्ष पुगेका थिए ।