काठमाडौँ– नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रियता, सङ्घीयता, लोकतन्त्र, संविधानमाथि खतरा हुन थालेपछि पाँच दलीय गठबन्धन गर्नु परेको बताएका छन् ।
गठबन्धनले आज तुलसीपुरमा गरेको प्रशिक्षण तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा प्रवक्ता महराले लोकतन्त्र, संविधान, राष्ट्रियताका लागि गठबन्धनको आवश्यकता परेको बताएका हुन् ।
उनले भने, ‘व्यक्तिको भन्दा पनि राष्ट्रको हितका लागि गठबन्धन हो ।’
प्रशिक्षण कार्यक्रममा उपस्थित कार्यकर्तालाई प्रवक्ता महराले ढुक्क भएर पाँच दलीय गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले मुलुकमा तानाशाही प्रवृत्ति रहेको भन्दै यसको अन्त्यका लागि नै यो गठबन्धन भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तुलसीपुर उपमहानगरपालिका प्रमुखका उम्मेदवार गेहेन्द्र गिरी, उपप्रमुखका उम्मेदवार जोगबहादुर राणा, एकीकृत समाजवादीका केन्द्रीय सदस्य हिराचन्द्र केसी, जनमोर्चाका नेता भर भण्डारीलगायतले मन्तव्य राखेका थिए ।
प्रतिक्रिया