बुवाको पदचाप पछ्याएर संगीतकार बनेका सन्दीप « Khabarhub

बुवाको पदचाप पछ्याएर संगीतकार बनेका सन्दीप


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 9 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली सांगीतिक क्षेत्रमा बहुआयामिक पहिचान बनाउँदै आएका सैक्सोफोन बादक सन्दिप कार्की गायनमा निरन्तर लागिरहेका छन् । विगत १५ वर्षदेखि सांगीतिक क्षेत्रलाई व्यवसायिक रूपमा पनि सक्रियता देखाउँदै आएका सन्दिप कार्कीले गीतहरुमा आफ्नै संगीत र त्यसको संयोजन गर्दै आएका छन् ।

कार्की बाल्यकालदेखि नै सांगीतिक माहोलमा हुर्किएका हुन् । जसकारण यस क्षेत्रमा उनको विशेष लगाव छ । कार्की २०४५ साल असार २८ गते काठमाडौँको बागबजारमा जन्मिएका हुन् । हाल उनी काठमाडौँको जोरपाटीमा बस्दै आएका छन् । उनको परिवारमा अहिले आमा र बहिनी छन् । उनको बुवा बितेको ६ महिना भयो ।

उनले १२ कक्षासम्म मात्र अध्ययन गरेका छन् । त्यो पनि पत्रकारिता विषय । अहिले उनी सांगीतिक क्षेत्रमा छन् । यसमा पनि उनले धेरै तालिमहरु लिएका छन् । तर अथोराइज भनेर चाहिँ कुनै कोर्स गरेका छैनन् । उनले यस सांगीतिक क्षेत्रमा व्यावसायिक काम गर्न थालेकै १५ वर्ष भयो ।

सानैदेखि उनको पृष्ठभूमि नि सांगीतिक नै छ । उनको बुवा पनि संगीतमै पीएचडी होल्डर थिए । उनले सांगीतिक माहोल घरबाटै पाएका थिए । बुवा आर्मी ब्याण्ड र नेपाल प्रहरी ब्याण्डमा आवद्ध भएर काम गर्थे । उनी आफ्नो प्रेरणाको स्रोत बुवालाई मान्छन् ।

पारिवारिक हौसला नै प्रेरणाको स्रोत
संगीतमै परिवारको उनी पाँचौँ पुस्ता हो । सांगीतिक क्षेत्रलाई नै व्यवसाय बनाएर लागेको परिवार हो । उनको बुवाको प्रोफेसन आर्मी ब्याण्ड, नेपाल प्रहरी ब्याण्ड, रेडियो नेपाल र नेपालको धेरै पाँच तारे होटेलहरुमा शो हुन्थ्यो । त्यही देखेर उनको रुचि पनि नचाहँदा नचाहँदै संगीततिर मोडियो ।

उनी अहिले चार पाँच वटा बाजाहरु बजाउँछन् । र, उनका बाबाले पनि त्यही नै बजाउँथे । बाबाको पनि ‘ओरिजिनल सैक्सोफोन’ भनेर इन्स्टुमेण्ट थिएन । तर सैक्सोफोन चाहिँ बाबाले नै बढी सिकाउने गर्थे ।

‘सानोमा मलाई यो एउटा बाबाको काम हो भन्ने लाग्थ्यो । तर पछि बुझ्दै जाँदा बाबालाई देखेर गर्व लाग्थ्यो,’ उनी भन्छन्, ‘सबै कलाकारहरू आउने बाबाको साथीहरु कलाकार देखिने, टेलिभिजनतिर पनि बाबालाई देखिने, टिभी नै नहुँदा पनि बुवाहरुको शोहरु हुँदा एकदमै खुसी लाग्थ्यो । बाबा एउटा संगीतकार नै हुनुहुन्थ्यो ।’

हाल उनी एउटा रेकर्डिङ स्टुडियो सञ्चालन गरिरहेका छन् । नाम हो, साइराम पिक्चर्स । संगीत सम्बन्धी कामहरू नै बढी गर्छन् । त्यसमा पनि म्युजिक अरेन्ज्मेण्ट, ब्याकराउण्ड साउण्ड म्युजिकहरु, म्युजिक कम्पोजिसन अनि यस्तै म्युजिकल भेटघाटमै उनी अलिकति व्यस्त छन् । अझै भनुम उनको दिनचर्या सांगीतिक नै छ । समय बिताउने उनको तरिका यस्तै छ ।

संगीत देखेको त्यो पहिलो दिन
‘जब मैंले आँखा खोलें वरिपरी बाजा नै मात्र देखें’ उनी आफ्नो जीवनको पहिलो संगीत बुझाईप्रति भन्छन्, ‘किन की मेरो बाबा नै संगीतकार हुनुहुन्थ्यो । वरिपरी किबोर्ड, भायोलिन, सैक्सोफोन हुन्थ्यो ।’

उनी आफ्नो सम्झनामा फ्रान्सको पेरिस देख्छन् । जहाँ विश्वविद्यालयको एउटा सांगीतिक कार्यक्रम थियो । विभिन्न देशहरुको सांस्कृतिक कार्यक्रम थियो । विश्वविद्यालयमा पढ्ने र अध्ययन गर्न उनीहरुले नेपालबाट, पाकिस्तानबाट संगीतकारहरुको एउटा छुट्टै समूह बनाउने प्रावधान रहेछ ।

पहिला पनि उनका बुवा टुर गरिरहेका हुन्थे । जुन ठाउँ होल्नाड, नर्वे थियो । सन् २००४ मा चाहिँ फ्रान्समा हुने रहेछ । त्यतिबेला चाहिँ एउटा विश्वविद्यालयमा भएको थियो । त्यहाँ त्यहाँ तीन महिना बस्दा उनको जीवनमा संगीतले धेरै गहिरो छाप छाड्यो ।

त्यसपछि त्यहाँबाट नेपाल आएपछि उनी संगीतमा धेरै सिक्न थाले । उनका बुवाले आफूलाई फ्रान्स लिएर संगीतबारे गहिरोसँग बुझोस् भन्ने चाहना राखेको पनि उनले थाहा पाएका थिए ।

‘बाबाले फ्रान्स लग्नुको कारण चाहिँ एउटा फेबर गरेर छोरालाई लिएर जाउँ भन्ने भन्दा पनि मैंले त्यहाँ गएर बुजोस् भन्ने नै रहेछ’ उनले भने, ‘मैंले त्यो पछि मात्र बुझें । बाबाले मलाई त्यहाँ लैजानुको कारण चाहिँ संसारकै संगीतकारहरुसँग र विश्वको संगीतहरु कसरी चलिरहेको छ । तिमीले एउटा विश्वलाई प्रतिनिधित्व गर्न सक्छौ भन्ने रहेछ । मलाई त्यो एउटा आँट दिनु भयो भन्ने लाग्छ ।’

मुख्य त विदेशीहरुले मैंले देखेको चाहिँ उनीहरु डेडिकेशन, अनुशासन  खोज्ने रहेछन् । सानो सानो कुरामा ध्यान दिएर उनीहरु निकै पारखीका साथ काम गर्न रुचाउँछन् ।

उनी उदाहरण दिँदै भन्छन्, ‘जस्तो कि मैले सैक्सोफोन बजाउन सिक्न खोजें भने उहाँहरुले सैक्सोफोनको कोर, खास सैक्सोफोन किन सिक्ने भन्ने कुरा त्यहाँ पाएको छु । नेपालमा पनि नराम्रो त भनेको होइन । तर हामी त्यति गहिराईमा जाँदैनौँ । यता चाहिँ एउटा म्युजिकमा बजाउन पाए हुन्छ जस्तो गर्छन । एउटा इन्स्टु्रमेन्टमा थोरै जानकारी पाए । त्यसमा पोख्त भन्ने चलन छ । तर बाहिर देशमा गीत बजाएर मान्यता दिदैनन् । संगीतबारे गहिरोसँग बुझ्नुपर्ने रहेछ ।’

उनी थप अगाडि भन्छन्, ‘संगीतको मज्जा त एउटै हो । जता बजाए पनि । तर, कोठामा बसेर बजाउनु र मासमा बजाउनुको मज्जा अझ फरक हुन्छ । मलाई अहिले घरमा तिमि बेलुका बजाउन छाड भन्नुहुन्छ आमाले । तर मलाई नसा नै भईसक्यो भन्छु । जब मैंले कसैलाई हेरी राखे र उहाँले पनि मलाई हेरी राख्नु भयो भने हामी एक अर्कामा कनेक्सन हुन्छौं हो । त्यस्तै जब म लाइभ बाजा बजाउँछु मैंले बजाएको बाजाले दर्शकलाई हेरिरहेको जस्तो लाग्छ ।’

उनी आफ्नो संगीतमा दर्शक झुमेको देख्दा खुशी हुन्छन् । यो खुशी नै उनको प्रेरणाको स्रोत हो । यसैले उनलाई संगीतमा निरन्तर लागिरहन प्रेरित गरेको छ ।

भन्छन्, ‘जस्तो संगीत मैंले बजाउँछु । त्यही संगीतको भाइब्रेसनले अरुको मन मस्तिष्कमा छुने हो । अनि जुन म्युजिक बजाउन खोज्छु । त्यो उहाँहरुबाट निस्केको भाइब्रेसन्ले आउने हो । मैंले मात्र बजाएर त्यो माहोल सिर्जना भएको होइन । मैंले बजाई रहँदा तपाईंको टाउको हल्लेको भएर नै मलाई बजाउन मन लागिरहेको हुन्छ ।’

त्यतिबेला दर्शकले ताली बजाउँदा राम्रो सुर आउँदैन । मात्रै टाउको हल्लाउँदा जति आनन्द र संगीतमा नयाँ ल्याउन प्रेरणा दिन्छ । उनी यसैगरि आफ्नो संगीतमा दर्शकको तादम्यता खोज्छन् ।

अहिलेसम्म उनले आठ सय गीत एरेन्ज गरेका छन् । १५ देखि २० ओटा गीतमा संगीत भरेका छन् । केही गीत आफैँले पनि गाए । तीमध्ये तीन वटा गीत त युट्युबमै अपलोड भएका छन् ।

संगीतमा पहिले र अहिलेको फरक
उनले संगीत सुरु गर्दा खेरिको समय फरक थियो । उनको पारिवारिक माहोल सांगीतिक थियो । त्यति बेला संगीत सुन्ने माध्यम रेडियो नेपाल मात्र थियो । तर, अहिले टेक्नोलोजीले धेरै फड्को मारिसकेको छ । त्यति बेला गीत गाउँन, एल्बम निकाल्न कठिन थियो । कारण अहिलेका जस्ता स्टुडियोहरु पर्याप्त थिएनन् । संगीत सिक्न यहाँ अवसर नै थिएन । बाहिरै जान पथ्र्यो । अहिले त गुगलबाट पनि धेरै कुराहरु सिक्न सकिन्छ ।

अन्य क्षेत्रमा जस्तै संगीत क्षेत्रमा पनि स्थापित हुन गाह्रो छ । संघर्षको बेला  टिकेर निरन्तर लागी पर्‍यो भने एक दिन सफलता पाइन्छ । सुरुमै त कुन क्षेत्रमा पो सफलता पाइन्छ र ? तर व्यावसायिक होइन  रहर पुरा गर्न मात्र हो भने त कुनै पनि क्षेत्र सुनिश्चित छैन । सुरक्षित छैन । उनी यस्तै कुरालाई जोड दिन्छन् । आत्मविश्वास र निरन्तर मेहनत भयो भने अवश्य सफलता पाइने उनको बुझाई छ ।

अरुलाई प्रेरणा र सुझाव
मानिसहरुको संघर्ष महत्वपूर्ण हुन्छ । मानिस हरेक क्षणमा सफल हुन्छ भन्ने छैन । त्यसमा उनी केही पनि भन्न चाहन्छन् । उनीहरुको बाध्यता, उनीहरुको परिस्थिति, गरेको कामको कतै रिजल्ट नआएको भएर त्यो फिल पनि भएको होला । उनी भन्छन्, बाध्यतामा होइन आवश्यकता र रचनात्मक काममा छिटो अघि बढ्न सकिन्छ ।

‘आफुले दिन पर्ने समय संगीतलाई कति दिनु भएको छ ? कसरी दिनु भएको छ ? त्यसमै भरपर्छ’ उनी सुझाव दिँदै अगाडि भन्छन्, ‘तपाईंले धेरै म्युजिक सिकेर धेरै टाइम हुँदा नि तपाईंले त्यो आफ्नो टयालेन्टलाई सही ठाउँमा प्रयोग नगर्दा खेरि सफलता नपाउनु भएको हो कि ?’

संगीत क्षेत्रमा अगाडि बढ्दा आफैले आफैँलाई मूल्यांकन गर्नुपर्ने उनी सुझाउँछन् । सुरुमा उनी आफैँलाई पनि संगीत एरेन्ज गर्न आउँदैनथ्यो । तर प्रयास गर्दै जाँदा उनी आज राम्रो म्युजिक एरेन्ज गर्छन ।

‘सुरुमा मैले यो भोगिरँहदा म्युजिकको सफ्टवेरहरु चलाउन ज्ञान नभएर हो कि अझ मेरो स्वभाव नमिलेको हो कि भन्ने लाग्थ्यो’ उनले भनेका छन्, ‘आफूँले के गरेको छु भन्ने कुराले फरक पार्छ । त्यो चिजहरु गरिरहेको छैन कि ? त्यसले पनि असर पार्ने रहेछ । यो सबै कुरालाई म्यानेज गरेर लैजानुभयो भने संगीत नराम्रो पेशा हुँदै हुँदैन ।’

संघर्ष र सफलताको उतारचढाव
जीवनमा संगीत क्षेत्रमा अगाडि बढ्दै जाँदा संघर्ष र उतारचढावका घटना धेरै छन् । उनलाई यस्तै लाग्छ । त्यसमाथि पारिवारिक माहोलमा संगीत क्षेत्रमा अगाडि बढ्दा केही दबाब हुन्छ नै । जुन कुरामा उनको भोगाई यस्तो छः

‘बुवा नै मेरो संगीतमा हुनुभयो । मलाई दुई वटा खालको प्रेसर हुन्थ्यो । यत्रो पीएचडी गरेको बाउको छोराले म्युजिक पनि नबजाउने भन्ने कुराको प्रेसर र म्युजिक बजाएपनि कस्तो झुर बजाएको बाबालाई नै बजाउन पर्‍यो नि त भन्ने प्रेसर । म्युजिकमा लागे पनि म एकदमै राम्रो हुनपर्ने । त्यो एउटा घरको प्रशंसा त छँदै थियो । अनि पछिल्लो समय फ्रान्स गएर आइसकेपछि मेरो घरमा चाहिं कस्तो खालको माहोल थियो भने बाबाले सबै गर्दिनु हुँदैनथ्यो ।

हामीले बुझोस् भनेर बाजा छोडदिने । नसिकाउने गर्न थाल्नुभयो । मलाई चाहिं पहिला पहिला किन नसिकाएको होला जस्तो लाग्थ्यो अनि रिस पनि उठ्थ्यो । तिमी कति समयसम्म यसमा प्रतिबद्ध भएर लाग्छौ म हेर्छु भन्नुहुन्थ्यो ।

अनि मात्र म तिमीलाई सिकाउँछु भन्नु हुन्थ्यो । अनि म जुन संगीतको सामग्रीमा बढी प्रतिबद्ध हुन्थे । त्यहि बाजाहरुको सीप र त्यसको सिद्धान्त सिकाउनुहुन्थ्यो ।

मध्यम वर्गीय परिवारमा हुर्केको हामी अनि फ्रान्सबाट फर्किसकेपछि आएर एसएलसी दिएको मैंले । अनि स्कुल तिरपनि ओहो तँ त फ्रान्स गएर आएको, खतरा मान्छे भन्थे । यत्रो सानो उमेरमै यूरोप घुमेर आइसकेको । स्कुलमा म अब हिरो भनुम न । गितार सितार बजाउने साथीहरु पनि सबै जनाले माया गर्ने । म फेरी मान्छे पनि बोलाइलो, रमाइलो छु । फ्रान्स गएर आएपछि मेरो भाउ पनि चुलियो ।

त्यसपछि म ठमेलमा बजाउन जान्थे । अनि कति मान्छेले ठमेल भन्छन्, के हुन्छ ठमेलमा डान्स बार, के के भन्ने पनि छ । तर म ठमेललाई एकदमै मान्छु, म आज जे छु ठमेलमा बजाएर नै छु। त्यहाँ मैले बजाउन जान्थे। म सानोमा जे जे सोच्थ्ये मेरो जीवनमा त्यहि कुराहरु भैरहेको छ, यो चाहिं एउटा भगवानको कृपा हो कि ।

म स्कुल पढ्दा खेरि ठूलो भएसी होटेलमा बजाउने हो अनि बिहान स्कुल पढाउँछु भन्ने सोच्थे । दिउँसो स्टुडियो चलाउंछु । यति भएसी घर चलाउन बाबा ममी हेर्न पुगिहाल्छ नि भन्ने सोच्थ्ये । अहिले हेर्नु न स्टुडियो पनि छ । पढाउँछु पनि अनि बेलुका होटेलमा बजाउन पनि जानु छ । बच्चामा भनेको कुरा सबै मिल्या छ । बिहान उठेदेखि राति १२ बजे सम्म म्युजिक बाहेक केही सोच्नै पाउँदिन ।

म बेलुका ६/७ बजेदेखि ११/१२ बजेसम्म होटेल मै हुन्छु । बाबा बिरामी हुन् थाल्नु भयो। स्वास्थ्यले साथ् दिएन । अनि बाबाले जागिरहरु छोड्नु पर्‍यो। बाबाले जागिर छोड्ने बित्तिकै मलाई एउटा कस्तो प्रेसर आयो भने अब बाबाले काम गरिरहनु भएको ब्याण्डमा चाहिँ को राख्ने त । बाबाले तिमि नै जाउ भन्नुभयो। बाबाको साथीहरुले पनि मलाई सहयोग गर्नुभयो। बाबाको साथीहरुले नि तिमि राम्रो बजाउछौ भन्नु हुन्थ्यो। राम्रो बजाउने भएर नै राम्रो भन्नु भएको होला । अनि तिमी चाहिँ हाम्रो ब्याण्डमा आउन पर्‍यो भनेर मैंले १६ बर्षदेखि नै बजाउन थाले ।

पहिलो चोटि बजाएर २०० रुपैयाँ दाम
मलाई मेरो पहिलो पारिश्रमिक वा दाम एकदमै याद छ । २०० रुपैयाँ लिएको थिएँ । र, त्यो पैसा चाहिँ मैंले मम्मीलाई दिएँ । आजसम्म पनि म हरेक केही कमाउँछु नि मम्मीलाई नै दिन्छु पहिला । मम्मीलाई दिने बानि मेरो। अनि आफुलाई चाहिँदा मम्मीबाट नै लिन्छु। बिहान घरबाट निस्किन्दा मम्मीसंग मागेर हिंड्ने हो ।

यसले गर्दा साथीहरु चाहिँ कति तँ कन्चुस भन्छन्। म खर्चै गर्दिन। मलाई मैंले यो कामकै मम्मीको लागि भन्ने छ। घरपरिवार चलाउन कै लागि जस्तो लाग्छ। किन कि बाबाले पनि त्यसरी नै घर परिवार चलाको देख्या नि त । त्यसैले अहिले बजाएर कतैबाट ५०० रुपैयाँ पाएँ भने मम्मीलाई नै दिन्छु बरु चाहियो भने त्यो ५०० नै लिन्छु ।

अनि साथिहरु तँ कमाउँछस पनि तर खर्च गर्न चाहिँ कहिल्यै पैसा हुन्न भन्छन् । हुँदैन मम्मीले लिनुहुन्छ छैन भन्छु । तँ बाठो छस भन्छन् । अघि जीवनमा जटिलता सोध्नु भयो नि ? त्यो मैंले सोच्नै पाइन । मैंले दुख नै पाइन । कति वर्ष मैंले प्रोग्रामको पैसा नै नपाएको पनि छ, वर्ष नै । त्यसै बजाउन लगाउनु हुन्थ्यो ।

इन्टर्न भन्ठान्थे म । म इन्टर्न गरिरहेको छु नि त यसले नै त म पछि राम्रो गर्न सक्छु भन्ने सोच्थ्ये । म नाम लिन्न । तर धेरै नाम चलेको ब्याण्डहरुले त्यस्तो गर्नु हुन्थ्यो । त्यतिबेला चाहिँ मलाई रिस उठ्थ्यो मलाई प्रयोग मात्र गरिरहेका छन् ।

उनीहरु पैसा लिएर जाने, मलाई चाहिँ नदिने भनेर । त्यति बेला मैंले पैसा भन्दा धेरै चिज कमाइ सकेको रहेछु के । अहिले म आत्मविश्वास बढाएर बोल्न पाइरहेको छु । दुई वर्ष बजाउन प्ल्याटफर्म पाउनु अनि मेरो लागि ठूलो अवसर थियो । पैसा हुँदैन थियो अनि म हिड्दै आउँथे । ठमेलबाट जोरपाटीसम्म ।

मम्मीले दिएको ५० रुपैयाँले एउटा दुनोट किन्थ्यो । रमाइलो कुरा के छ भने त्यतिबेला ठमेलमा म एउटा दुनोट किनेर हिडिरहेको हुन्थ्यो । सडक बच्चाहरु आएर चक्कु देखाउने, पैसा निकाल भन्ने, मसंग पैसा नै हुन्नथ्यो । म फुच्छे देख्ने अनि पैसा लेराएको छ होला भने थर्काउने गर्थे। त्यहि दुनोट दिएर हिन्थे। उनीहरु त्यो पनि खान्थे र धन्न छोडिदिए भनेर हिन्थे। पछि पछी त म २÷३ ओटा दुनोट नै लिएर हिन्ने गर्थे। कसरी यिनीहरुलाई माया गर्ने भनेर। पछि त मेरो साथी भए उनीहरु पनि। अहिले पनि कति साथी हुनुहुन्छ स्ट्रिट बोइ पनि। मैँले त्यो माहोलको पनि अनुभव गर्न पाएँ ।

त्यो मेहनतले पनि अहिले मैंले ५ स्टार होटेलहरुमा बजाउन पाएको छु । मैंले त्यो समयलाई दुख, स्ट्रगल सोचिन । गोल्डेन टाइम हो मेरो लागि त्यो। । अहिले चाहिँ कन्ट्रयाकमा चाहिँ कुनै होटेलमा पनि छैन । तर हाल २ वर्ष नेपालमा भर्खरै खुलेको राम्रो मेरियट होटेलमा दुई वर्ष काम गरें ।

अनि प्राय अहिले म कर्पोरेट इभेन्टहरु बढी गरिरहेको हुन्छु । कति कम्पनीहरुको सेमिनारहरु भैरहेको हुन्छ । त्यसमा म्युजिक खोज्नु हुन्छ । त्यो खोज्दा खेरि मलाई चुज गर्नुहुन्छ । तिमि डिसेन्ट छौ, तिम्रो म्युजिक चाहिँ लेबलको छ भन्नुहुन्छ । त्यो कारणले पनि म आफैँ पनि ज्ञानी हुँदै गैरहेको हुँ ।

ठमेलमा तपाईं बियर उठाएर खाइरहनु भएको छ भने मलाई रक गीत गाउन मन लाग्छ । कोहि मान्छे चाहिँ राम्रोसंग वेल सुनिरहेको छ भने मलाई उसलाई राम्रो म्युजिक सुनाइदिम जस्तो लाग्छ ।

एकदमै खुसिको पल चाहिँ मैंले संगीत गरेर मेरो ममी बुवाको मुहारमा हाँसो, खुसि देखेको छु । म जीन्दगीमा सबै भन्दा खुशि जस्तो बेलुकी एरेजमेन्ट गर्छु, म्युजिकल शोहरु गर्छु अनि बाबालाई लगेर देखाउन्छु भिडियो । बाबा आज मेरो यो रेकर्डिङ भयो । अहिले त हुनुहुन्न । मेरो दैनिक काम नै त्यहि हुन्थ्यो । अरुलाई पनि सोध्ने गर्छु तपाईं दुख पर्दा के गर्नु हुन्छ? भनेर उहाँहरु दुखी गीत सुन्छु भन्नुहुन्छ । खुसि भएर घरमा बिहेको माहोल छ भने म त्यहि अनुसारको संगीत सुनाउँछु । कुटुमा कुटु बजाएर नाच्छु । मान्छे सुख दुखमा संगीत सुन्ने रहेछ ।

म संगीत बनाउने मान्छे म त दुखी र सुखी केहि पनि हुनु नै हुन्न । दुइटै म त झन् कति इंजोय गर्न सक्छु होला जस्तो लाग्छ । म आफैँ त संगीतकार मान्छे । मलाई त दुखले पनि छुदैन र सुखले पनि छुदैन । मलाई दुख पर्दा संगीतले नै त्यसलाई किल गर्छु। मान्छेले आफ्नो व्यवहार मिलाउन सक्यो भने आफ्नो वरिपरीको मान्छेलाई खुशि राख्न सक्यो भने नै त खुसि हुने हो ।

यो सबै म्यानेज गर्न मैंले संगीतबाट नै सकिरहेको छु । म अहिले पनि हरेक पल सिकिरहेको हुन्छु । इभन ठमेलमा सारंगी बजाउने दाईहरुलाई हेरेर कसरी बजाईरहनु भएको छ भनेर सिक्छु । अध्ययनलाई चाहिँ म त्यसरी लिन्छु। मैंले सर्टिफिकेट पाउने गरि चाहिँ स्टडी गरेको छैन। मलाई भोगाइले नै धेरै सिकाउँदै छ ।

नयाँ पुस्तालाई विशेष सुझाव
म्युजिकमा आउन चाहने र अहिले लागिरहनु भएका साथिहरुलाई मेरो अनुभवमा के भन्छु भने म्युजिक राम्रोसँग बुझेर सिकेर जस्तै तपाईं केहि गर्न सिक्न चाहनु हुन्छ भने त्यसको कोरमा जानुपर्छ ।

सर्टिफिकेट नै चाहिन्छ भन्ने छैन तपाईंको सिप, ज्ञान, तपाईंको अनुभवले नै तपाईंलाई संसार चलाउन सक्नु हुन्छ । हरेक क्षेत्रमा पनि त्यहि र संगीतमा पनि एकदमै जीष्टबाट आउनु भयो गाह्रो छैन। तपाईंले म्युजिक व्यवसायिक रुपले गर्न चाहनु भएको हो कि हैन यो मेरो सोक हो भनेर लाग्नु भएको हो कि त्यो कुरा छुट्याउनुहोस् । र, तपाईंले व्यवसायिक हुनलाई गर्न पर्ने काम के हो ? सोखिन हुन गर्न पर्ने काम के हो ? त्यो छुट्टाएर काम गर्नु भयो भने यो क्षेत्र धेरै राम्रो छ ।

तपाईंलाई कुनै कुराको तनाव पनि हुँदैन । कतिपय मान्छेहरु संगीतमा लागेर भविष्य नै छैन भन्नुहुन्छ यो कुरालाई त्यस्तो कुराहरुलाई कील गर्नुपर्छ भनेर र संगीतलाई आफ्नो तर्फबाट कसरी उत्थान गर्न सकिन्छ भनेर लागेको छु । संगीत क्षेत्रलाइ नराम्रो धारणा राख्ने जुन समुदाय हुनुहुन्छ । उहाँहरुलाई पनि विश्वास दिलाउन सकिन्छ भनेर हामी सबैले काम गर्नुपर्छ जस्तो लाग्छ । यो क्षेत्रमा लागेर जीवन बन्छ भन्नेहरु लाई त झन् हामी संगीत क्षेत्रमा लागेका सबैले गरेर देखाउनुपर्छ जस्तो लाग्छ । यसो गर्यौ भने संगीतलाई इन्टरनेशनल लेबलमा लैजान केहि गाह्रो नै छैन ।

जुनै क्षेत्रमा पनि आफुले निरन्तरता दिन सके सफलताको शिखरमा अवश्य पुग्न सकिने उनले बताए । त्यसैले नयाँ प्रतिभाले यस क्षेत्रलाई एक शौखको रुपमा मात्र नभएर यसैमा भविष्य बनाउछु भन्ने मानसिकता लिएर अघि बढ्न जरुरी छ । तर मेरो उमेर चाहिँ धेरै भएको छैन, अझ भनुम्न सानै देखि लागेको भएर यति गर्न सफल भएको छु ।’

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ११ : ४६ बजे

ब्याजदरमा हस्तक्षेप गर्ने सरकारको संकेत

काठमाडौँ – सरकारले बैंक ब्याजदरमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको

उद्योग व्यवसाय समृद्धिको आधार : मुख्यमन्त्री राई

काठमाडौँ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्योग

सुदूरपश्चिमका शक्तिपीठमा सामूहिक रुपमा राखियो जमरा

कैलाली – हिन्दू नेपालीको महान चाड बडादसैँ आजदेखि सुरु भएको

गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर– गाउँघरमा दसैँतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको

डडेल्धुरामा चुनाव लड्न चन्दा उठाउदै सागर ढकाल

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट