एकपटक दामन घुम्न जाम « Khabarhub

एकपटक दामन घुम्न जाम

बादल, वर्षा, तुँवालो र मौसमको सम्मिश्रण


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दामन- यदि कोही मकवानपुरको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको बारेमा कुरा गर्छ भने त्यो दामन हुनुपर्छ। मकवानपुरमा दामनमात्रै होइन, चित्लाङ, सहिद स्मारक, मकवानपुरगढी लगायतका अरु ठाउँ पनि छन्।

यसरी घुम्नेका लागि दामन एक नम्बरमा पर्छ। पोखराको फेवाताल, कर्णालीको रारा, सुदूरपश्चिमको खप्तड, बुटवलको लुम्बिनी भनेझैँ मकवानपुरको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा दामनपर्छ। दामन किन यत्ति धेरै रुचाइन्छ ? किन मानिस दामन पुग्न चाहन्छन् ? पर्यटकको मन लुट्ने दामनमा आखिर त्यस्तो के छ ? यी प्रश्नको एउटै उत्तर हो, दामनको मौसम र रमणीय दृश्य। जसलाई दामनको दम भन्नुपर्छ।

यदि तपाईं जेठ वैशाखको महिना दामन पुग्नुभयो भने मंसिरको जस्तो चिसो अनुभूति गर्नुहुन्छ। यदि तपाईं साउन महिनाको झरीमा दामन पुग्नुभयो भने बादल, वर्षा, तुवाँलो र चिसो मौसमको सम्मिश्रण भेट्नुहुन्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा त दामन सदाबहार हो। गर्मीमा चिसो भइरहने दामन हिउँदमा भने हिउँ पर्छ। बसन्त ऋतुमा हरियाली छाइरहने दामनलाई हिउँदमा हिउँले सेताम्मे बनाउँछ। एकातिर चिसो मौसम र अर्कातिर रमणीय दृश्यले भरिएको दामनले मन लुट्छ।

दामन पुग्दा जति धेरै उत्साह हुन्छ। दामन पुगिसकेपछि त्यो उत्साह अविष्मरणीय पलमा परिणत हुन्छ। रहरले दामन पुग्नेहरू धोको फेरेर फर्कन्छन्। दामनको दम यति धेरै छ कि जसलाई पनि सजिलै आफ्नो सुन्दरता र मौसमी विशेषताबाट प्रभावित पार्न सक्छ।

दामनमा त्यस्तो के छ ?

दामनमा सबैभन्दा महत्वपूर्ण कुरा मौसम छ। त्यो पनि सदाबहार। गर्मीमा पनि दामनमा चिसो मौसम छ। काठमाडौँ र हेटौंडाको गर्मीलाई पनि दामनले सजिलै ज्याकेट लगाउनुपर्ने बाध्यतामा परिणत गरिदिन सक्छ। बढ्दो गर्मीबाट आकुलव्याकुल भएकालाई पनि दामनले चिसो हावाको झोक्काबाट फोक्सोलाई स्वच्छ बनाइदिन्छ।

दामनको अर्को विशेषता भनेको भ्युटावर हो। दामनको डाँडाबाट धेरै कुराको अवलोकन गर्न सकिन्छ। त्यसमध्येको पहिलो कुरा हो, हिमालको सजिलो दृश्यांकन। दामनबाट सगरमाथा पनि देख्न सकिने तर्क धेरैको छ। तर सजिलै देखिने हिमाल भने अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर हुन्।

उचाइकाे हिसाबले दामन समुन्द्र सतहदेखि दुई हजार ६ सय ८८ मिटरमा अवस्थित छ। यो उचाइ दामनको सबैभन्दा महत्वपूर्ण विशेषता हो। गर्मी तथा वर्षामा चिसोपनको महसुस र हिउँदमा हिउँ नै दामनको विशेषता हो।

दामनबाट हेर्दा वरिपरीका गाउँ रमाइला छन्। घरको अवस्थिती आफैँमा सुन्दर छन्। डाँडा र वन जंगल यति सुन्दर लाग्छ, दामनलाई कसैले पनि प्रभावित गर्न सक्दैन। दामनको बाटो पनि आफैँमा सुन्दर छ।

काठमाडौँबाट धादिङ नौबिसे वा हेटौंडाबाट दामन पुग्दा पनि धेरै आकर्षक बाटोमा यात्रा गर्न सकिन्छ। मोड, घुम्ती पार गर्दै आइपुग्ने दामन आफैँमा एक सुन्दर गन्तव्य हो। दामनसँगै चित्लाङ, सिमभञ्ज्याङ महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हुन्।

दामनमा सेतो लालीगुराँस पनि पाइन्छ। जुन अर्को आकर्षक कुरा हो। दामन घुमघाम, हाइकिङ, ट्रेकिङका हिसाबले धेरै महत्त्वपूर्ण छ। पुराना घर, गाउँको परिवेश, सुविधासम्पन्न होटल तथा रिसोर्ट दामन सजावटका थप विशेषता हुन्।

कसरी पुग्न सकिन्छ दामन ?
दामन पुग्न काठमाडौँ, धादिङ, चितवन, वीरगञ्ज वा हेटौंडाबाट सजिलै पुग्न सकिन्छ। काठमाडौंबाट दामन पुग्न थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गको ७५ किलोमिटर यात्रा तय गर्नुपर्छ।

बाटो घुम्ती र मोड भएकाले पनि विस्तारै आनन्ददायी यात्रा गर्न लाभदायक हुन्छ। यस्तै काठमाडौँबाट चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट पनि दामन पुग्न सकिन्छ। तर यो बाटोमा सास्ती छ।

दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङबाट पनि दामन पुग्न सकिन्छ। यो बाटो हिँड्दा आधा कच्ची र आधा पक्की बाटो हिँड्नुपर्छ। सबैभन्दा उत्तम विकल्प भनेको काठमाडौँ, नौबिसे, ओखरबजार, पालुङ हुँदै दामन पुग्नु हो।

यता चितवन, वीरगञ्ज हुँदै हेटौंडाबाट पनि दामन पुग्न सकिन्छ। हेटौंडा बजारबाट ३३ किलोमीटरको दूरीमा दामन पुग्न सकिन्छ। जुनसुकै मौसममा पनि एकपटक दामन पुगेर समय बिताएकालाई त्यो दमदार र अविष्मरणीय बन्छ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ५ : ३२ बजे

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु

अनलाइन घोटालाविरुद्ध विश्वव्यापी पहल

बैङ्कक– अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा