प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै | Khabarhub Khabarhub

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्दै


१४ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्न थालेको छ । शिक्षा हासिल गरेपछि सहज रुपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको हो । हालसम्म प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा रहेका छन् । प्राविधिक शिक्षा लिनका लागि देशका विभिन्न ठाउँबाट विद्यार्थी आउने गरेका छन् ।

विसं २०६९ मा स्थापना भएको यो शिक्षालयमा अहिले दार्चुला, अछाम, बाजुरा, सिराहा, सप्तरी, डडेलधुरालगायत ७७ वटै जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आउने गरेको सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख शङ्करदेव कोइरालाले जानकारी दिए ।

उनले भने, ‘यहाँ देशका ७७ वटै जिल्लाबाट शिक्षा लिन विद्यार्थी आउने गरेका छन् । विद्यार्थीहरूको  आकर्षण बढी भएकाले हामीले भर्ना अघि प्रवेश परीक्षा गरेर विद्यार्थीहरूलाई छनोट गर्दै आएका छौँ, छ जिल्लाका लागि हामीले आरक्षणको व्यवस्था गरेका छौँ, यसबाट पनि विद्यार्थीलाई केही सहज भएको छ ।’

जिल्लामा पहिलो पटक सदरमुकाममा स्थापना भएको सुम्निमा बहुप्राविधिक शिक्षालयमा तीन सय ५० विद्यार्थी रहेका छन् । स्थापनाकालमा प्राविधिक शिक्षा लिने विद्यार्थी सङ्ख्या न्यून भए पनि पछिल्लो समय यहाँ विद्यार्थीको चाप बढेको प्रमुख कोइरालाले बताए । उनले भने, ‘यो शिक्षालय स्थापना हुँदा विद्यार्थीमा प्राविधिक शिक्षाप्रति कम मात्र रुचि देखिन्थ्यो, तर अहिले विद्यार्थीहरूम मोह बढेको छ, शिक्षालाई थप गुणस्तरीय बनाउन प्रविधिमा पनि जोड दिएका छौँ ।’

सिभिल इन्जिनियर र बाली विज्ञानको पढाइ भोजपुर, धनकुटा, सङ्खुवासभा, खोटाङ, उदयपुर, तेह्रथुम गरी छ जिल्लाका विद्यार्थीले कोटाका आधारमा पढ्न पाउने शिक्षालयले जनाएको छ ।

यसबाहेक प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट अनुमति लिएर भोजपुर नगरपालिका–४ मा रहेको सिद्धेश्वर माध्यमिक विद्यालय, भोजपुर टक्सारमा रहेको यशोधरा मावि, पञ्चकन्या मावि भुल्के, पञ्चकन्या मावि च्याङ्ग्रे, षडानन्द नगरपालिकाको शारदा मावि झ्याउ पोखरी, शिक्षामा कन्या मावि बयाङलगायत विद्यालयमा प्राविधिक धारतर्फ बाली विज्ञान अध्ययन भइरहेको छ ।

यशोधरा माविका प्रधानाध्यापक धु्रवराज रेग्मीले भने, ‘सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएको छ, त्यही अनुसार हाम्रो विद्यालयमा पनि बाली विज्ञानको पढाइ भइरहेको छ, विद्यार्थीहरूमा आकर्षण बढी छ, जिल्लाका धेरै विद्यालयले प्राविधिक शिक्षाका लागि सुरुआत गरिरहेका छन् ।’

श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको ९५ प्रतिशत काम सम्पन्न

दुर्गम भेगमा विद्यार्थीलाई लक्षित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ आम्बोटेमा ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ निर्माण भइरहेको छ । राष्ट्रपतिको पहलमा यहाँ रु १४ करोड लागतमा निर्माण भइरहेको यो शिक्षालयको ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । यो शिक्षालयले पनि यस आवबाट भर्ना लिने जनाएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सिटिभिटी) बाट सम्बन्धन प्राप्त भएको यस शिक्षालयमा तत्कालीन रुपमा बाली विज्ञानको अध्ययन गराइने र माग भएमा आगामी दिनमा थप कार्यक्रम थप्दै लैजाने जनाइएको छ । विशेष गरेर दुर्गमका विद्यार्थीलाई प्राविधिक शिक्षाको सहज पहुँच विस्तार गर्न शिक्षालयको स्थापना गरिएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रले जनाएको छ । पचपन्न रोपनी क्षेत्रमध्ये संरचना बनेर बाँकी रहेको जग्गामा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालनका लागि प्रयोगमा ल्याइने जनाइएको छ ।

भोजपुर सदरमुकामबाट करिब १९ किलोमिटर दक्षिणमा रहेको यो ठाउँमा जिल्लासँगै बाहिरी जिल्लाका समेत विद्यार्थी आउने अपेक्षा रहेको शिक्षालयले जनाएको छ  । यो स्थान सडक सञ्जालसँग जोडिएको छ । कच्ची बाटो भएका कारण वर्षात्को समयमा भने यातायात सञ्चालनमा केही समस्या हुने गरेको स्थानीयको भनाइ छ । स्थानीय  जानकी पाण्डेले भने, ‘यो ठाउँ धेरै कारणले पछाडि थियो, तर यहाँ अहिले विकासको क्रम बढेको छ, वर्षौँदेखिको पानीको समस्या अन्त्य भएको छ, प्राविधिक विद्यालय बन्दैछ, अब सडक र एउटा सुविधा सम्पन्न अस्पताल बनिदिए जनताले धेरै राहत महसुस गर्न पाउने थिए ।’

सो शिक्षालयलाई राष्ट्रपति भण्डारीले ३७ रोपनी र उनका काकाले १८ रोपनी जग्गा निःशुल्क दिएका हुन्। शिक्षालय निर्माण भएपछि स्थानीय उत्साहित छन् । जग्गादाता स्थानीय सुरेन्द्र पाण्डेले भने, ‘शिक्षालय स्थापना भएपछि हामी उत्साहित भएका छौँ, यसले हाम्रो क्षेत्रको विकासमा टेवा पुग्छ, घरको खाना खाएर आफ्नै घरआँगनमा प्राविधिक शिक्षा लिने अवस्थाको सृजना भएको छ, शिक्षालय निर्माणले हाम्रो क्षेत्रका बालबालिकाको भविष्य उज्ज्वल हुने देखिएको छ, खास गरेर अब सरकारले जीवन उपयोगी प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।’

यहाँ प्राविधिक शिक्षालय स्थापना भएपछि प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हट्ने स्थानीयवासीको भनाइ छ । यहाँ एकेडेमिक भवन, छात्रछात्राका लागि होस्टल, स्टाफ क्वार्टर, कम्प्युटर ल्याब, प्रयोगात्मक कक्षा भवन लगायतको निर्माण हुने बताइएको छ ।

अहिले करिब डेढ रोपनी क्षेत्रफलमा बनिरहेको एकेडेमीक भवन निर्माण गरिएको छ । त्यस्तै महिला छात्रवाससँगै अन्य भवन निर्माण भएका छन् । शिक्षालयको निर्माण गत वर्षको फागुनबाट थालिएको थियो ।  

शिक्षालय निर्माणले यहाँका विद्यार्थीलाई प्राविधिक शिक्षा लिन सहजता थपिने रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले जानकारी दिए । शिक्षालयको विकास तथा विद्यार्थीलाई अध्ययनमा सहजता हुने गरी गाउँपालिकाले सहयोग गर्ने उनले जानकारी दिए ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ५ : २१ बजे

शिक्षकको मासिक तलब उपलब्ध गराउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक

राजनीतिक स्थायित्व कायम गर्न नयाँ सरकार गठन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र

जनकपुरलाई हराउँदै एनपीएलको फाइनलमा सुदूरपश्चिम

काठमाडौं- नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा जनकपुरलाई बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम

जनकपुर र सुदूपश्चिमको क्वालिफायर भिडन्त, हेर्नुस् १७ तस्बिर

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि राजदूत नियुक्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि