तीजको व्रतमा छैन लिङ्ग विभेद « Khabarhub

तीजको व्रतमा छैन लिङ्ग विभेद


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने शास्त्रीय ग्रन्थमा उल्लेख छ। तर, सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने भनी हुने गरेको छ।

व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमको भनाइ छ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीलाई विष्णुसित विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। यसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। तर, यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् गौतमले सुनाए। “निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ”उनले भने। “सर्वतः आत्मानं गोपायेत्” अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन्। यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ। आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ। व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन्।

तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ। तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको पनि उहाँहरुले सुनाउनुभयो।
महिलाले घर लगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ। प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन्।

तीजमा विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन्। दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने शास्त्रीय विधान छ। महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन्। तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन्। पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक आएको छ। दुई महीना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको छ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद् एवं धर्मशास्त्रीहरुले जोड दिएका छन्।

एक महीना अघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थालेपनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रुपमा तोकिएको छ। सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ।

यस अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा वर्तालु भक्तजनको भीड लाग्छ। दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिरमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। रासस

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : २९ बजे

परराष्ट्र भन्छ : मध्यपूर्वका लाखौँ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा छ

काठमाडौं- परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका लाखौं नेपालीहरूको सुरक्षा नेपाल सरकारको

बहराइनको मानामास्थित चर्चित होटलमा इरानी आक्रमण, ठूलो भौतिक क्षति

मानामा- बहराइनको गृहमन्त्रालयले राजधानी मानामास्थित क्राउन प्लाजा होटल इरानी आक्रमणको

ओलीलाई मत माग्न झापा पुगिन् गायिका ज्योति मगर

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मत माग्न झापा

इरान आक्रमणपछि एसियन फुटबल क्लब नकआउट स्थगित

काठमाडौं- इरानमा अमेरिका र इजरायलको आक्रमणपछि एसियन फुटबल कन्फेडेरेसन (एएफसी)

‘प्रधानमन्त्रीको दौडमा रहेकाबीच देश बनाउने योजनामा बहस हुन नसक्नु दुर्भाग्य’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको उम्मेदवार भनेर