काठमाडौँ- हरितालिका (तीज) पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूल ढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ ।
पशुपति क्षेत्र विकास कोषले विसं २०६५ देखि बन्द रहेको वाग्मती नदी किनार एवं आर्यघाट क्षेत्रको पूर्वी मूल ढोका यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन खोलेको थियो । लामो समयपछि पूर्वी ढोका खोल्दा कोटेश्वर–तीनकुने क्षेत्रबाट सिनामङ्गल–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने भक्तजनलाई सहज भएको हो । यसले गर्दा माथिल्लो मार्गबाट प्रवेश गर्ने भक्तजनको चापमा कमी आएको छ ।
पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने विसं २०६५ को घटनापछि पूर्वी ढोका बन्द गरिएको थियो । आक्कलझुक्कल यो ढोका खुल्ने गरे पनि भक्तजनकै लागि भने यसै वर्ष मात्र खुला गरिएको हो । यो ढोका अब नियमित रूपमा खोल्ने तयारी पनि कोषले गरेको छ ।
यस वर्ष कोटेश्वर–तीनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राम मन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ । यसले गर्दा बिहानैदेखि दर्शनार्थीलाई सहज रूपमा दर्शन गराउन सकिएको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए।
तीजमा दर्शन गर्ने भक्तजनका लागि यो सहित चार वटा लामको व्यवस्था गरिएको छ । दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शङ्कराचार्य मठअघिको क्षेत्रमा राख्ने गरी व्यवस्था गरिएको छ ।
तेस्रो लाम गौशाला–पिङ्गलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघरअघिको भाग राखिएको छ । ठाउँ–ठाउँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल सम्बन्धित स्थानमै राख्ने व्यवस्था गर्दा पनि सहज रूपमा दर्शन गरेर फर्कन सकिएको भक्तपुरबाट दर्शनमा आउनुभएकी पार्वती राउतले बताए।
चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गराइएको छ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता–चप्पल गुरु मन्दिरअघिको खुला भागमा राख्न लगाइएको छ । धेरै ठाउँबाट व्यवस्थित रूपमा दर्शनार्थी प्रवेश गराइएकाले चक्रपथको सवारी मध्याह्नसम्म बन्द गरिएको छैन ।
पशुपति क्षेत्रमा सुरक्षाका लागि चारवटै सुरक्षा निकायलाई संयुक्तरूपमा परिचालन गरिएको छ । बाहिरी भागमा पुरुष सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । मूल मन्दिरभित्र भने सुरक्षाकर्मी र स्वयंसेवक दुवै महिला नै परिचालन गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।
मूल मन्दिरमा तस्बिर खिच्नेलाई रु दुई हजार एक सयसम्म जरिवाना
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना सुरु गरिएकोे छ । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि नै तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाए जसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही सुरु गरिएको कोषले जनाएको छ ।
सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो नियम लागू गरेको हो । गर्भ गृहको तस्बिर खिचेमा रु दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा रु एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा रु पाँच सय जरिवाना गर्न थालिएको छ ।
पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गरिरहेको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले बताए।













प्रतिक्रिया