विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१४ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १४ भदौ, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ३०, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिएसँगै इराकमा हिंसा भड्कियो, २४ जनाको मृत्यु

इराकका एकजना प्रभावशाली शिया धर्मगुरुले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेपछि उनका सयौँ क्रुद्ध अनुयायीले राजधानी बग्दादमा हिंसात्मक प्रदर्शन गरेका छन् ।

केही दिनअघिमात्रै शिया धर्मगुरु एवम् इराकी राजनीतिमा निकै प्रभावशाली मानिने मोक्तदा अल सदरले राजनीतिबाट सन्न्यास लिने घोषणा गरेका थिए ।

उनको घोषणासँगै उनका अनुयायी एवम् समर्थक र सुरक्षा बलबीच भएको झडपमा २४ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । दोहोरो झडपमा दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन् ।

धर्मगुरु मोक्तदा अल सदरप्रति वफादार प्रदर्शनकारीहरूले सरकारी भवनबाहिर तोडफोडसहित हिंसात्मक प्रदर्शन गरेपछि इराकको सेनाले राष्ट्रव्यापी निषेधाज्ञा जारी गरेको छ । यद्यपि हिंसात्मक गतिविधि भने रोकिएका छैनन् ।

यसैबीच, युरोपेली सङ्घले इराकमा भइरहेको हिंसात्मक प्रदर्शनप्रति चिन्ता व्यक्त गरेको छ । सङ्घले सबै पक्षलाई संयमित रहन र हिंसात्मक गतिविधि रोक्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

युरोपेली सङ्घले इराकका सबै राजनीतिक शक्तिलाई संवैधानिक ढाँचा भित्र रचनात्मक राजनीतिक संवादको माध्यमबाट समस्या समाधान गर्न आह्वान पनि गरेको छ ।

इराकका कुर्द राजनीतिज्ञ मसुद बर्जानीले पनि दलहरूलाई द्वन्द्व समाधानका निम्ति हतियार र हिंसाको भाषा प्रयोग नगर्न तथा संयमित हुन आग्रह गरेका छन् ।

उत्तरी इराकको अर्ध–स्वायत्त कुर्दिश क्षेत्रका पूर्व राष्ट्रपति र शासक कुर्दिस्तान डेमोक्र्याटिक पार्टीका प्रमुख बरजानीले सबै पक्षलाई इराकी जनताको भलाइ हुने समाधानबारे सोच्न तथा उनीहरूको हित ख्याल गर्न अनुरोध गरेका छन् ।

छिमेकी देश टर्कीले भने आफ्ना नागरिकलाई बगदादको भ्रमण नगर्न आग्रह गरेको छ । टर्कीले इराकमा जारी सङ्कट समाधान गर्न समावेशी वार्ताका लागि आह्वान गरेको छ ।

इराकमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै टर्कीको विदेश मन्त्रालयले वर्तमान राजनीतिक द्वन्द्व शान्तिपूर्ण र समावेशी वार्ताका माध्यमबाटै समाधान हुने तथा इराकी जनताको शान्ति एवम् भलाई सुनिश्चित हुने बताएको छ ।

त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सम्बन्धित सबैलाई हिंसात्मक गतिविधि परित्याग गर्न तथा मतभेद विर्सेर वार्तामा बस्न आह्वान गरेका छन् ।

पाकिस्तानमा वर्षासँगै आएको बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ३६ पुग्यो

पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् ।

हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएको जनाइएको छ । बाढीले पाकिस्तानको एक तिहाई क्षेत्र डुबानमा परेको छ । गत जुन महिना यता आएको बाढीले एक तिहाई भूभाग डुबानमा परेको हो ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य घटनामा परेर हालसम्म एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु एक हजार छ सय ३४ जना घाइते भएका छन् ।

पछिल्लो २४ घण्टामा २८ जनाको ज्यान गएको जनाइएको छ । पाकिस्तानका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी पहिरोबाट बढी प्रभावित भएका छन् ।

बाढी पहिरोका कारण तीन हजार चार सय ५७ किलोमिटर सडक बगाएको, एक सय ५७ पुल भत्काएको, २० लाख एकडमा लगाएको बाली नष्ट भएको, एक सय ८० पसल बगाएको, नौ लाख ४९ हाजर आठ सय ५८ भन्दा घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन् ।

हालसम्म ५१ हजार दुई सय ७५ जनालाई उद्धार गरिएको तथा चार लाख ९८ हजार चार सय ४२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

वर्षासँगैको बाढी र पहिरोका कारण देशमा आपतकाल घोषणा गरिएको छ । साथै सरकारले बाढीपहिरो प्रतिकार्यसमबन्धी कामलाई संस्थागतरूपमा सम्पादन गर्न समन्वय केन्द्र स्थापना गरेको छ ।

बाढीले निम्त्याएको भीषण परिस्थितिको सामना गर्न तथा क्षति भएका भौतिक संरचनालाई पुनः स्थापना गर्न प्रयास भइरहेको छ ।

यसैबीच, पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु हुनुका साथै अन्य १३ जना बेपत्ता भएका छन् ।

कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै जाँदै गर्दा प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ ।

उद्धार टोलीले सात जनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् भने नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको जनाइएको छ ।

रुसी नागरिकलाई पर्यटक भिसा नदिनेबारे ईयूका सदस्य राष्ट्रबीच मत बाझियो

रुसी नागरिकलाई पर्यटक भिसा नदिनेबारे युरोपेली युनियन ईयूका सदस्य राष्ट्रबीच मत भिन्नता देखिएको छ । केही ईयू सदस्य राष्ट्रले रुसी नागरिकलाई ईयूले पर्यटन भिसा जारी गर्न रोक्का गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

ईयूका उत्तर एवम् पूर्वी सदस्य राष्ट्रहरु यस्तो प्रस्तावको पक्षमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यता फ्रान्स र जर्मनीले भने यस्तो गरिएको खण्डमा यो प्रत्युत्पादक हुने जनाएका छन् ।

‘रुसी पक्षको तर्कलाई बल पुग्ने गरी एवम् अन्जानमा रुसी नागरिकलाई एउटै ध्वजामुनी एकत्रित गर्नसक्ने अवस्था र रुसको भावी पुस्तालाई हाम्रोविरुद्ध जान नदिनका लागि हामी हाम्रो भिसा नीतिमा व्यापक बन्देज लगाउने विषयविरुद्ध चेतावनी दिन्छौँ ।’ फ्रान्स र जर्मनीको संयुक्त मस्यौदालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

चेक गणतन्त्रको राजधानी प्रागमा ईयूका विदेशमन्त्रीहरुको बैठकका क्रममा यसबारे कुरा उठेको रोयटर्सले जनाएको छ । यसबाहेक उक्त बैठकमा रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई गर्ने सहयोगबारे पनि छलफल भएको जनाइएको छ ।

सुरक्षा जोखिमलाई मध्यनजर गर्दै भिसा आवेदनपछिको प्रक्रियालाई अझ व्यापक बनाउन तयार रहेको भएपनि यी दुई मुलुकले रुसी नागरिकलाई भिसा जारी गर्न भने बन्देज लगाउन नहुने जनाएका छन् ।

‘रुसी समाजमा रहेका लोकतन्त्रवादी तत्वहरुलाई गर्दै आएको समर्थनलाई हामी त्यसै छाड्न सक्दैनौँ ।’ उक्त मस्यौदामा उल्लेख गरिएको छ, ‘हाम्रो भिसा नीति पनि त्यस्तै हुनुपर्छ र युरोपेली नागरिक एवम् रुसी सरकारसँग नजोडिएका नागरिकबीचको सम्बन्धलाई कायमै राख्नुपर्छ ।’

यसअघि गत साता डेनमार्कका विदेशमन्त्री येपे कोफोडले युक्रेनी नागरिकहरु रुसी सेनाविरुद्ध लडिरहेको अवस्थामा रुसी नागरिकहरु भने युरोपेली समुद्र तटमा रमाएकोमा आफू आक्रोशित बनेको टिप्पणी गरेका थिए ।

‘तपाईं दक्षिणी युरोपका समुद्र तटमा रुसी मानिसहरु देख्न सक्नुहुन्छ यति नै बेला १८ देखि ६० वर्षका युक्रेनी नागरिकहरुले देश छाड्न पाएका छैनन्, उनीहरु स्वतन्त्रताका लागि लडिरहेका छन्, मेरा लागि निकै उत्तेजक कुरा हो ।’ डेनिस विदेशमन्त्री कोफोडलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘मेरो विचारमा युरोपमा हामीले एकसाथ रुसबाट आउने पर्यटकलाई सीमित गर्नु उपयुक्त हुन्छ र यसले पुटिनलाई स्पष्ट सन्देश दिनेछ ।’

एकजना युरोपेली कूटनीतिज्ञलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार ईयूले रुसी नागरिकलाई दिँदै आएको भिसा प्रक्रियामा भने केही संशोधन गर्न सक्नेछ । यसअनुसार रुसी नागरिकको भिसा प्रक्रियामा लाग्दै आएको समय बढ्न सक्ने एवम् यसअघि ईयू भिसाका लागि ३५ युरो लाग्दै आएकोमा त्यसलाई बढाएर ८० युरोसम्म पु¥याउन सकिने युरोपेली कूटनीतिज्ञले जनाएका छन् ।

रुसी पर्यटकहरु युरोपेली युनियनका अन्य सदस्य राष्ट्रतर्फ इस्टोनिया, लात्भिया, लिथुएनिया, फिनल्याण्डजस्ता मुलुकको स्थल नाका भएर जाने गरेको बताइन्छ । यसअघि लिथुएनियाका विदेशमन्त्री ग्राबिएलस ल्याण्डस्बेर्गिसले ईयूले रुसी पर्यटकलाई दिने भिसामा बन्देज नलगाएको खण्डमा यी मुलुकहरुले आफैँ एकलौटी यस्तो निर्णय गर्नसक्ने चेतावनी दिएका थिए ।

यता रुसले भने आफ्ना नागरिकलाई दिने भिसामाथि बन्देज लगाउनेबारे ईयूमा जारी बहसप्रति आक्रोशित टिप्पणी गरेको छ । यस्तो प्रस्ताव तर्कसंगत नरहेको र यसले पश्चिमा मुलुकको रुसविरोधी एजेन्डा उजागर गरेको टिप्पणी गरेको छ ।

६० लाख अफगान नागरिक भोकमरीको जोखिममा

अफगानिस्तानमा आर्थिक सङ्कट एवम् अत्यावश्यक वस्तुको चरम अभाव गहिरिदै जाँदा त्यहाँका ६० लाख नागरिक भोकमरीको जोखिममा पर्नसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

चरम गरिबी झेलिरहेका अफगानिस्तानका नागरिकलाई तत्काल आर्थिक सहयोग नगरे उनीहरू भोकमरीको जोखिममा पर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको हो ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुखले अन्तर्राष्ट्रिय समुदाय तथा दातृ निकायहरूलाई अफगानिस्तानको आर्थिक विकासका लागि कोष पुनःस्थापना गर्न तथा आगामी शिशिर याम अगावै त्यहाँका अतिविपन्न वर्गलाई सहयोग गर्न तत्काल ७७ करोड डलर आवश्यक भएको जानकारी दिएका छन् । साथै उनले अफगानहरुलाई सहायताका निम्ति आह्वान समेत गरेका छन् ।

सुरक्षा परिषद्को बैठकमा सहायता रकम चीन वा रूस कसले व्यहोर्ने भन्नेबारेमा बहस पनि भएको छ । बैठकमा अमेरिकाले उक्त सहायता राशि कसले तिर्ने भन्ने प्रश्न गरेको जनाइएको छ ।

मानवीय सहायतासम्बन्धी राष्ट्रसङ्घका प्रमुख मार्टिन ग्रिफिथले अहिले अफगानिस्तानले मानवीय, आर्थिक, जलवायु, भोकमरी र वित्तीय धेरै सङ्कटहरूको सामना गरिरहेको बताउँदै द्वन्द्व, गरिबी, खाद्य असुरक्षालागयत लामो समयदेखिको दुःखद वास्तविकताबाट कोही अनभिज्ञ नरहेको स्मरण गराएका थिए ।

एक वर्षअघि तालिबानले सत्ता कब्जा गरेपछि उल्लेख्यरूपमा बाह्य सहायता अफगानिस्तान नआएपछि त्यहाँको अवस्था नाजुक बनेको उनले बताए ।

अफगातिस्तानको आधाभन्दा बढी जनसङ्ख्या अर्थात् दुई करोड ४० लाख जनालाई सहयोग आवश्यक भएको तथा करिब एक करोड ९० करोड सर्वसाधारण चरम खाद्य असुरक्षाको सामना गरिरहेका बताउँदै उनले परिस्थिति अझ भयावह हुने तथा पहिलेदेखि नै बढेको इन्धन एवम् खाद्यान्नको मूल्य र कठ्याङ्ग्रिने चिसोले आकाशमा छुने समेत टिप्पणी गरे ।

उनले अनेक चुनौतीको सामना गर्दै राष्ट्रसङ्घीय निकाय तथा सम्बद्ध गैरसरकारी संस्थाहरू दुई करोड ३० लाख अफगानीहरूको सेवामा जुटेको समेत जानकारी दिए ।

उनले ओढ्ने, न्याना कपडा, आवास मर्मतसम्भारका लागि तत्काल ६१ करोड ४० लाख डलर तथा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको आपूर्तिका निम्ति १५ करोड ४० लाख अमेरिकी डलर आवश्यक भएको बताए ।

मानवीय सहायता प्रमुख ग्रिफिथले मानवीय सहायताले देश भरका चार करोड नागरिकलाई पु¥याउन नसकिने उल्लेख गर्दै तालिबानसँग लगानी गर्ने बजेट नभएको परिस्थितिमा विकास सहायता जुटाउन अपरिहार्य भएकामा जोड दिए ।

सत्तरी प्रतिशतभन्दा बढी अफगानहरू ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएकाले कृषि र पशुधन उत्पादनलाई सुरक्षित गर्नु उत्तिकै महत्वपूर्ण भएको उनको भनाइ छ ।

लाखौँको जीवन र जीविकोपार्जनलाई जोखिमबाट जोगाउन तथा देशको खाद्यान्न उत्पादनलाई निरन्तरता दिन पनि बाह्य सहायता अत्यावश्यक भएको उनले बताए । उनले मुलुकको बैङ्किङ तथा तरलता सङ्कट र अन्तर्राष्ट्रिय वित्तीय कारोबारको चरम कठिनाइलाई पनि सम्बोधन गर्नुपर्ने बताए ।

अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा रूसले संयुक्त सुरक्षा परिषद्को बैठक बोलाएको थियो ।

बैठकमा संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूत भासिली नेबेन्जियाले अमेरिकाको नेतृत्वमा उसका नेटो साझेदार मुलुकहरुले अफगानिस्तानलाई अपमानजनक २० वर्षसम्म कब्जामा लिएको भन्दै आलोचना गरेका थिए ।

अफगानिस्तानको समस्या तालिबान नभएर पश्चिममा मुलुकको गम्भीर गल्ती भएको उनको आरोप छ । आफ्ना गल्तीहरू स्वीकार गर्नु र ध्वस्त देशको पुनर्निर्माणमा सहयोग गर्नुको सट्टा उनीहरूले अफगानिस्तानका वित्तीय स्रोतहरू अवरुद्ध गरेको उनको भनाइ छ ।

गौतम अडानी बने विश्वकै तेस्रो धनी व्यक्ति

भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।

विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ ।

ब्लुमवर्गको अति धनाड्यको सूचीको ११ औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ ।

ब्लुमवर्गको धनाढ्यको सूचीमा तीन जना एशियाली उद्योगपतिलाई समावेश गरिएको यो पहिलोपटक हो । अडानीभन्दा अगाडि एलन मस्क र जेफ बजोस छन् ।

एलन मस्कसँग दुई खर्ब ५१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ भने जेफ बजोस एक खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको कुल जायजेथा छ ।

उडिरहेको विमानको ककपिटभित्रै झगडा गर्ने दुई पाइलट बर्खास्त

उडिरहेको विमानको ककपिटभित्रै झगडा गर्ने दुई पाइलटलाई फ्रान्सेली हवाई सेवा प्रदायक एअर फ्रान्सले बर्खास्त गरेको छ ।

गत जुन महिनामा स्विट्जरल्याण्डको जेनेभाबाट फ्रान्सको राजधानी पेरिसका लागि उडेको विमानभित्रै दुई पाइलटबीच विवाद उत्पन्न भएको थियो । विवादका क्रममा दुबै पाइलटले एक अर्कामाथि मुक्का प्रहार गरेको स्विस समाचार संस्था ल ट्रिब्युनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

ककपिटमा दुई पाइलटबीच झगडा परेको थाहा पाएपछि विमानका अन्य चालक दलका सदस्यहरुले सम्झाइबुझाइ गरेका थिए । विमान सुरक्षित रुपमा अवतरण नभएसम्मका लागि माहौल शान्त पार्न एक सदस्य ककपिटभित्रै बसेका थिए ।

यस घटनाले विमानको उडान एवम् अवतरणमा कुनै असर नपरेको जनाइएको छ ।

फ्रान्सका अनुसन्धानकर्ताहले घटनाबारे प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदनमा अनुसन्धानकर्ताहरुले एअर फ्रान्समा सुरक्षाको मापदण्डहरु कडाईका साथ पालना नगर्ने चलन रहेको औल्याएका थिए ।

मानव सभ्यतालाई कायमै राख्न तेल र ग्यास चाहिन्छ : मस्क

टेस्ला कम्पनीको संस्थापक इलोन मस्कले मानव सभ्यतालाई कायमै राख्नका लागि अझै तेल र ग्यासको आवश्यकता रहेको जनाएका छन् ।

नर्वेमा भएको एक सम्मेलनका क्रममा उनले मानव सभ्यताका लागि तेल र ग्यासको आवश्यकता अझै रहेको जनाएका हुन् ।

‘यथार्थ भन्दा, मेरो विचारमा हामीले छोटो समयका लागि अझै तेल र ग्यासको प्रयोग गर्नु आवश्यक छ, किनकी नत्रभने मानव सभ्यता नै धराशायी हुनेछ ।’ नर्वेको दक्षिणी सहर स्टाभेङ्गरमा आयोजित उर्जासम्बन्धी सम्मेलनमा मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

तेल एवम् ग्यासजन्य खनिज पदार्थका लागि युरोपमै धनी मानिने ‘नर्वेले ग्यास र तेल उत्खननलाई निरन्तता दिनुपर्छ ?’ भन्ने प्रश्नमा मस्कले भने, ‘मेरो विचारमा अहिलेको समयमा (तेल र ग्यासका लागि) केही खोजबिन हुनु आवश्यक छ ।’

‘दीगो ऊर्जा एवम् दिगो अर्थतन्त्रतर्फको परिवर्तन विश्वले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो चुनौतिमध्येको एक हो ।’ उनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ, ‘यो पूरा हुन केही दशक लाग्नेछ ।’

सन्तोषजनक ब्याट्रीका साथ नर्वेको तटपारी उत्तर सागरमा राखिएका हावाबाट बिजुली निकाल्ने यन्त्र ऊर्जाको महत्वपूर्ण स्रोत हुने समेत उनले बताए । ‘यसले हिउँदमा बलियो, दीगो ऊर्जाको स्रोत प्रदान गर्नेछ ।’

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलबार  ७ : ५९ बजे

सत्तापक्षले सदन कब्जा गर्न खोज्नु लज्जास्पद : पुष्पकुमार शाही

काठमाडौं– नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन

भागबन्डा नमिल्दा कोशी सरकार बिस्तार अन्योलमा, आर्थिक मामिलामा अड्कियो हलो

विराटनगर– सत्ता साझेदार दलहरूबीच भागबन्डामा कुरा नमिल्दा कोशी प्रदेशको मन्त्रिमण्डल

कांग्रेसको निर्णय : रविलाई बोल्न दिने, विपक्षीले सामुहिक प्रतिवाद गर्ने

शुक्रबार बिहान आयोजित का‌ंग्रेस संसदीय दलको बैठक काठमाडौं- नेपाली कांग्रेस

संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात हुन्छ : प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट