ज्ञवालीसँग हारको बदला लिँदै भण्डारी | Khabarhub Khabarhub

डेटलाइन गुल्मी-१

ज्ञवालीसँग हारको बदला लिँदै भण्डारी

ओलीले ठान्ने ‘बौद्धिक’ बफादारसँग ‘विद्रोही’ नेताको टक्कर



तम्घास – आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मीमा राष्ट्रिय राजनीतिमा ख्याती कमाइसकेका चार हस्तीबीच रोचक भिडन्त हुँदैछ।

दुई क्षेत्र रहेको गुल्मीमा चन्द्र चण्डारी, प्रदीप ज्ञवाली, रामकुमारी झाँक्री र गोकर्ण बिष्ट मैदानमा छन्। क्षेत्र-१ मा भण्डारी र ज्ञवाली भिड्दैछन् भने क्षेत्र-२ मा झाँक्री र विष्टबीच प्रतिस्पर्धा हुँदैछ।

२०७४ को निर्वाचनमा गुल्मीमा तीन निर्वाचन क्षेत्र थिए। अहिले गुल्मीमा दुई निर्वाचन क्षेत्र कायम गरिएको छ। गुल्मी-१ यस्तो क्षेत्र हो। जहाँ कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीले पालैपालो चुनाव जित्दै आएको इतिहास छ।

२०५६ सालको निर्वाचनमा ज्ञवालीले नेपाली कांग्रेसका चन्द्र केसीलाई हराएका थिए। २०७० को निर्वाचनमा भने ज्ञवालीलाई कांग्रेसका चन्द्र भण्डारीले हराए। २०७४ को निर्वाचनसम्म आइपुग्दा यो क्षेत्रको चुनावी परिस्थिति केही बदलियो। वाम गठबन्धनका साझा उम्मेदवार भएका ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए।

२०७९ सम्म आइपुग्दा चुनावी परिवेशमा पुनः फेरबदल आएको छ। यसपाली एमालेको माधव नेपाल समूह विभाजित भएर एकीकृत समाजवादी पार्टी गठन भइसकेको छ भने वाम गठबन्धन पनि भत्किएको छ। यसले सत्ता गठबन्धनसँग चोंचोमोचो मिलाएकाले एमालेको मतको ढिक्का पनि फुटेको छ।

२०५६ सालको निर्वाचनमा ज्ञवालीले नेपाली कांग्रेसका चन्द्र केसीलाई हराएका थिए। २०७० को निर्वाचनमा भने ज्ञवालीलाई कांग्रेसका चन्द्र भण्डारीले हराए।

सत्ता गठबन्धनका साझा उम्मेदवार भण्डारीलाई परास्त गर्न ओली सरकारका परराष्ट्रमन्त्री ज्ञवालीलाई यसपाली निकै पापड बेल्नुपर्ने देखिन्छ। २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर भण्डारीलाई हराएका थिए। वाम गठबन्धन हुँदा पनि भण्डारीले त्यो बेला ३० हजार दुई सय ५६ मत प्राप्त गरेका थिए। अर्थात त्योबेला ज्ञवाली र भण्डारीबीचको मतान्तर ७ हजार ५ सय ५८ मात्र थियो।

यसपाली यो अंक गणितमा ठूलो फेरबदल आएको छ। हालैको स्थानीय निर्वाचनको मत परिणामको आंकलन गर्दा पनि सत्ता गठबन्धन एमालेभन्दा अघि देखिन्छ। स्थानीय निर्वाचनमा कांग्रेसका वडा अध्यक्षले कुल ३१ हजार २ सय ९४ मत ल्याएका छन् भने एमालेका वडा अध्यक्षले कुल ३५ हजार ७ सय १ मत ल्याएका छन्।

माओवादी केन्द्रका उम्मेदवारले पाएको चार हजार ९ सय ७० र एकीकृत समाजवादीले ल्याएको चार सय ९७ मत जोडदा सत्ता गठबन्धन मतका हिसाबले एमालेभन्दा अगाडि देखिन्छ। खासगरी एमाले नेता ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादीले कब्जा जमाएको छ भने एमालेकै पकड भएको मानिने चन्द्रकोट गाउँपालिकामा एमाले कमजोर भएको छ।

१२ नगरपालिकामध्ये एमालेले तीन वटामा मात्र जित हासिल गरेकाले सत्ता गठबन्धनको चाप थेग्न ज्ञवालीलाई यसपाली सहज छैन।

आफ्नै भूमिकाले संकटमा प्रदीप
२०७४ को निर्वाचनको तुलनामा गुल्मी-१ का एमाले उम्मेदवार प्रदीप ज्ञवालीको छवी अहिले निकै खस्किसकेको छ। खासगरी ओली सरकारमा परराष्ट्रमन्त्री हुँदा निर्वाह गरेको भूमिकाका कारण उनको साख घटेको हो।

२०७४ चैत २ गते परराष्ट्रमन्त्री नियुक्त हुनासाथ ज्ञवालीकै पहलमा काठमाडौंमा कोरियाली युनिफिकेसन चर्चको कार्यक्रम आयोजना गरियो। प्रधानमन्त्री केपीलाई सात दिनसम्म होटल सोल्टीमै राखेर ‘होली-वाइन काण्ड’समेत रचाइयो, जसको त्योबेला व्यापक आलोचना भएको थियो।

राजदूत नियुक्तीमा ज्ञवालीले विधि, पद्धति र कूटनीतिक मर्यादासमेत मिचे। बारम्बार विदेश भ्रमणमा गइरहने उनको शैली कूटनीतिक क्षेत्रमै आलोचनाको विषय बनेको थियो।

हालवाला मन्त्री विदेश भ्रमणमै लम्पट भएपछि परराष्ट्र मन्त्रालयका कर्मचारीमाझ पनि विस्तारै ज्ञवालीको ओज घटन थाल्यो। शक्ति राष्ट्रले पनि उनलाई खासै महत्व दिन छाडेको देखिन्छ।

मन्त्री भएको पहिलो आठ महिनामा ज्ञवालीले करीब ७० दिन त विदेश यात्रामै बिताएको रेकर्ड छ। विशेष कुनै प्रयोजनबिना पनि उनी विदेश भ्रमणमा जान्थे। जुन देशमा गयो, त्यहाँ कम्ती आठ-दश दिन बिताउँथे। विदेशमा रहेका आफन्त र भातृ संगठनका नेता÷कार्यकर्ताको आतिथ्यता स्वीकार्दै रस रमाइलो गर्न उनी चुकेनन्।

यति मात्र हैन, सरकारी खर्चमा घुमघाम गर्ने ज्ञवालीले विदेश भ्रमणबाट बचेको रकम लेविबापत एमाले पार्टीलाई बुझाएको तथ्य आफैले सार्वजनिक गरेका थिए। जसले उनको कथित सादगीपूर्ण र इमानदार छवीमा दाग लागेको थियो।

बहालवाला मन्त्री विदेश भ्रमणमै लम्पट भएपछि परराष्ट्र मन्त्रालयका कर्मचारीमाझ पनि विस्तारै ज्ञवालीको ओज घटन थाल्यो। शक्ति राष्ट्रले पनि उनलाई खासै महत्व दिन छाडेको देखिन्छ।

खासगरी ओली सरकारका पालामा नेपाल-भारत सम्बन्धमा समस्या उत्पन्न हुँदा परराष्ट्रमन्त्रीका हैसियतले उनले भारत समक्ष पत्र पठाएका थिए। भारतीय पक्षले त्यो पत्रको जवाफै पठाएन। अर्थात उनलाई भारतले खासै महत्त्व दिएन।

नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदनसमेत उनले आफैले बुझाउन सकेनन्। भारतसँग वार्ता गर्ने आँटसमेत उनमा देखिएन। मन्त्री कमजोर भएपछि तात्कालीन परराष्ट्र सचिव शंकर बैरागीले सोझै प्रधानमन्त्रीसँग सल्लाह गरेर कूटनीतिक क्षेत्रका प्रकृया अगाडि बढाउन थालेका थिए।

कूटनीतिमा आफूलाई सघाएबापत प्रधानमन्त्री ओलीले शंकर बैरागीलाई मुख्य सचिव नै बनाइदिएको घटना मन्त्री ज्ञवालीका लागि लज्जाको विषय थियो। तात्कालीन मुख्य सचिव लोकदर्शन रेग्मीलाई भने बेलायतको राजदूत बनाएर पठाइयो, मन्त्री ज्ञवाली लाचार छायाजस्ता भए।

परराष्ट्र मन्त्रालयमा ज्ञवालीको भूमिका कहाँसम्म कमजोर हुन गयो भने प्रधानमन्त्रीले आफ्ना परराष्ट्र सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिवमार्फत् कूटनीतिक सम्बन्ध अघि बढाए। कहाँसम्म भने बिमस्टेक सम्मेलन हुँदा धेरै महत्वपूर्ण निर्णयमा मन्त्री ज्ञवालीको सल्लाहसमेत लिइएन।

परराष्ट्र मन्त्रीका रुपमा उनले न चीनसँगको पारवहन सन्धि अगाडि बढाउन सके, न भारतसँगको सम्बन्ध नै सुधार्न सके। अमेरिका भ्रमणबाट फर्किन नपाउँदै उनको त्यो भ्रमण पनि विवादमा आयो। मन्त्रीका रुपमा खरो उत्रन नसकेका ज्ञवालीले पार्टीमा प्रधानमन्त्री ओलीकै पक्षपोषणमा आफूलाई केन्द्रित गरे। ओलीले चालेका हरेक असंवैधानिक र अलोकतान्त्रिक निर्णयको पक्षमा उभिए।

‘ओलीको दौराको फेर समातेपछि राजनीतिको वैतरणी तर्न सकिन्छ’ भन्ने मान्यतामा विश्वास गर्दै आएका ज्ञवालीले यसपाली यी यावत प्रश्नहरुको जवाफ मतदातालाई दिनुपर्नेछ।

ज्ञवालीजस्ता बफादारकै उक्साहटका कारण ओलीले पनि एकपछि अर्को अप्रिय कदम चाल्दै गए। उनलाई समयमै उचित सल्लाह दिएर रोक्ने काम ज्ञवालीबाट भएन। फलस्वरुप दुई तिहाईको कम्युनिष्ट सरकार धराशायी भयो। नेकपा मात्र होइन एमालेसमेत विभाजित भयो। ‘ओलीको दौराको फेर समातेपछि राजनीतिको वैतरणी तर्न सकिन्छ’ भन्ने मान्यतामा विश्वास गर्दै आएका ज्ञवालीले यसपाली यी यावत प्रश्नहरुको जवाफ मतदातालाई दिनुपर्नेछ।

तैपनि ज्ञवाली भने एमालेको बलियो संगठन र सत्ता गठबन्धनभित्रको असन्तुष्ट पक्षको जोडघटाउको प्रतिफल आफैले जित्नेमा ढुक्क देखिन्छन्। तटस्थ मतदाता, कांग्रेसको असन्तुष्ट पक्ष र आफूले गुल्मीको विकासमा दिएको योगदान नै जितको आधार भएको ज्ञवालीले दाबी गर्दै हिँडेका छन्।

यद्यपी, चुनाव जितेर गएपछि काठमाडौंमै व्यस्त र अझ विदेश भ्रमणमा रमाएका ज्ञवालीले आफ्नो क्षेत्रको विकासका लागि नयाँ ठोस कुनै काम नगरेको स्थानिय बासिन्दाको गुनासो छ।

पहिले नै अघि सारिएका विकास योजना र भौतिक पूर्वाधार संरचनाको शिलान्यास र उद्घाटन गर्नुबाहेक ज्ञवालीबाट गुल्मीको समग्र विकासको दीर्घकालीन योजना कुनै नआएकाले पनि यसपाली उनको अवस्था खासै बलियो देखिदैन।

विकास भजाउँदै भण्डारी

गुल्मी-१ मा सत्ता गठबन्धनका तर्फबाट खडा भएका कांग्रेस उम्मेदवार चन्द्र चण्डारी र एमालेका प्रदीप ज्ञवालीको व्यक्तित्व, कार्यशैली र सोचमा आकाश जमीनको अन्तर देखिन्छ।

ज्ञवाली एमाले अध्यक्षको लाचार छायाजस्तो भइरहँदा भण्डारी भने नेतृत्वकै गलत क्रियाकलापको खुलेर विरोध गर्ने नेताका रुपमा चर्चित छन्। पार्टीमा ‘विद्रोही नेता’को छवी बनाएका भण्डारीले युवा पुस्ताको संवेदशीलतालाई गहिरो ढंगले बुझेका छन्।

कम्युनिष्ट पार्टीको तुलनामा कांग्रेस केही हदसम्म उदार पार्टी भएकाले पनि हुनसक्छ, ज्ञवालीले ओलीको पक्षपोषण गरिरहँदा भण्डारी भने आफ्नै सभापति शेरबहादुर देउवाको आलोचना गर्नसमेत पछि पर्दैनन्।

नयाँ नेतृत्व, नयाँ अनुहार आउनुपर्ने, भ्रष्टाचारको समुल अन्त्य हुनुपर्ने, राजनीतिमा विचारको बाहुल्यता हुनुपर्ने र असल संस्कारले ओतप्रोत राजनीतिले मात्र देशको कायापलट गर्नसक्ने मान्यतामा उनी लामो समयदेखि अडिग रहँदै आएका छन्।

बुटवल-पाल्पा सडक खण्डमा सिद्धबाबा मन्दिरनेरको पहिरोका कारण वर्षेनी जनधनको क्षति हुँदै आएको छ। त्यसकै विकल्पका रुपमा सालझण्डीबाट गुल्मीसम्म पुग्ने दुई लेनको सडक विस्तार भएको थियो, जसलाई मतदाताले अहिले पनि सम्झिरहेकै छन्।

पार्टीको आन्तरिक राजनीतिमा जुनसुकै कित्तामा रहे पनि आफ्नो क्षेत्रमा भने भण्डारीको लोकप्रियता बरकरार छ। खासगरी २०७० सालमा चुनाव जितेपछि उनले गुल्मीको विकासको जुन बिउँ रोपे, अहिले त्यो हुर्किएर झाँगीएको देखिन्छ। उतिबेला भण्डारीकै पहलमा सालझण्डी-खर्जयाङ-शान्तिपुर सडक निर्माण सुरु भएको थियो।

बुटवल-पाल्पा सडक खण्डमा सिद्धबाबा मन्दिरनेरको पहिरोका कारण वर्षेनी जनधनको क्षति हुँदै आएको छ। त्यसकै विकल्पका रुपमा सालझण्डीबाट गुल्मीसम्म पुग्ने दुई लेनको सडक विस्तार भएको थियो, जसलाई मतदाताले अहिले पनि सम्झिरहेकै छन्।

यसैगरी लामो समयको सपना साकार पार्दै भण्डारीकै पहलमा गुल्मीमा विमानस्थल निर्माण भएको छ। यसैगरी रिडी-बुर्तीवाङ तथा चोरकाटे-शान्तिपुर सडक विस्तारमा भण्डारीको योगदान कसैबाट छिपेको छैन।

यतिमात्र होइन, संघीय संरचना निर्माणताका भण्डारी ‘अखण्ड लुम्बिनी प्रदेश आन्दोलन’मा सक्रिय भए। उनकै नेतृत्वमा तराईंबाट पहाडी जिल्ला अलग गर्ने चलखेल रोकिएको थियो। यस्ता अनेक योगदानलाई मतदाताले कदर गर्ने र यसपाली आफ्नो विजय पक्का भएको भण्डारीले बताएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १० : ०७ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको