फाइल तस्वीर

देश/प्रदेश

वीरगञ्ज महानगरले अव्यवस्थित तार व्यवस्थापन गर्दै

By खबरहब

December 30, 2022

काठमाडौँ- वीरगञ्जको घण्टाघर क्षेत्रमा अव्यवस्थित रुपमा रहेको तार महानगरपालिकाले व्यवस्थापन गरेको छ । नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्ने अभियानअनुरुप महानगरले विद्युत् तथा टेलिकमका खम्बामा गुजुल्ट्याएर राखिएका तार हटाएको हो ।

महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केबल टिभीका प्रतिनिधिसहितको टोलीले घण्टाघर चोकदेखि जिल्ला प्रहरी कार्यालय अगाडिसम्मका खम्बामा रहेका अव्यवस्थित तार हटाएको छ ।

जथाभावी टाँगिएका तारका कारण नगरको सौन्दर्य बिग्रिनुका साथै दुर्घटनाको जोखिमसमेत देखिएकाले व्यवस्थित गर्न महानगरले सेवाप्रदायकको सहमतिमै व्यवस्थापन गर्न थालेको हो ।

यसअघि टोलीले आदर्शनगर क्षेत्रका खम्बामा टाँगिएका तार काटेर हटाएको थियो । महानगरका प्रमुख राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन निर्देशन दिएसँगै तार व्यवस्थान गर्ने अभियानले गति लिएको छ ।

इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधिको उपस्थितिमा नै तार काटेर हटाइएको महानगरका सूचना प्रविधिक शाखाका बृजेश प्रधानले जानकारी दिए । महानगरले अहिले अभियान चलाएर तार व्यवस्थित गर्ने काम गरिरहेको र आउँदा दिनमा तार लगाउँदा तोकिएको व्यवस्थाअनुसार मात्रै लगाउन सूचना जारी गरेको छ ।