फाइल फोटो

देश/प्रदेश

सेतो मच्छेन्द्रनाथको महास्नान, शनिबार घाममा राखिने

By खबरहब

December 30, 2022

काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल अष्टमीका दिन गरिने सेतो मच्छेन्द्रनाथको महास्नान सम्पन्न गरिएको छ ।

नियमित राख्ने स्थानबाट बाहिर डबलीमा निकालेर सेतो मच्छेन्द्रनाथलाई महास्नान गराउने परम्परागत विधि छ । सेतो मच्छेन्द्रनाथलाई लगाइएको सबै कपडा फुकालेर शोभाभगवतीस्थित निर्मल तीर्थबाट ल्याइएको जलले महास्नान गराइएको मन्दिरका पुजारी एवं काठमाडौँ महानगरपालिका वडा नं २५ का पूर्ववडाध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

महास्नान कार्यक्रममा वसन्तपुरस्थित कुमारी घरबाट जीवित देवी कुमारीलाई पनि मच्छेन्द्रबहालमा ल्याउने विधि छ । वैदिक सनातन हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले सेतो मच्छेन्द्रनाथको पूजा आराधना गर्छन् । हिन्दुले हरिहर र बौद्ध धर्मावलम्बीले आर्यावलोकितेश्वरका रूपमा सेतो मच्छेन्द्रनाथको पूजा आराधना गर्छन् ।

सेतो मच्छेन्द्रनाथलाई महास्नान गरिएको भोलिपल्ट घाम ताप्ने व्यवस्था गरिने विधि पनि रहेको उनले बताए । आज महास्नान गरेपछि पौष शुक्ल पूर्णिमासम्म दश कर्म गर्ने विधि छ । पौष शुक्ल पूर्णिमाका दिन सेतो मच्छेन्द्रनाथलाई नयाँ पहिरन लगाइदिने गरिन्छ ।