'क्यारेक्टर होइन, कथा नै बलियो हुनुपर्छ' | Khabarhub Khabarhub

‘क्यारेक्टर होइन, कथा नै बलियो हुनुपर्छ’



अभिनेता सौगात मल्ल अहिले सफल अभिनेतामा पर्छन् । प्रायः दर्शकले सौगात नाट्य क्षेत्र हुँदै फिल्म क्षेत्रमा कदम चालेको भनेर चिन्छन् । तर, उनको कला क्षेत्रको आगमन भने फरक छ। रंगमञ्चमा भन्दा पहिले उनले केही फिल्ममा काम गरेका थिए।

निर्देशक तथा निर्देशक आकाश अधिकारीको फिल्म ‘रणभूमि’ मा उनले पहिलोपटक क्यामेरा फेस गरेका थिए। पहिलोपटक क्यामेरा फेस गरेको फिल्म हेर्न पटक–पटक हल पुगेका सौगातले त्यसपछि ‘दाग’, ‘पन्छी’ जस्ता फिल्ममा पनि अभिनय गरे।

तर, आफूमा अभिनेताको कुनै गुण नदेखेपछि थियटरमा अभिनय सिक्ने सोच बनाएर उनी नाटकतर्फ मोडिए। सौगात अहिले सर्वाधिक खोजी गरिने अभिनेताको सूचीमा पर्छन्।

उनले फिल्म ‘लूट’ मा निभाएको हाकु कालेको चरित्र खुबै लोकप्रिय छ। हालै प्रदर्शनमा आएको कबड्डी सिरिजको फिल्ममा बमकाजीको चरित्र निर्वाह गरेका उनै हाकु काले उर्फ सौगात दर्शकमाझ चर्चामा छन्।

हाकु काले उपनाम पाएका सौगातले आफ्नो क्यारेक्टरमा जीवन भर्ने कोशिश गरिरहन्छन्। त्यसैले पनि हुन सक्छ, वास्तविकतासँग नजिक रहेर निर्माण गरिने फिल्ममा उनी मेकरको रोजाइमा पर्छन्। पछिल्लो समय सौगात ‘राधा’ फिल्ममार्फत निर्माता समेत बनेका छन्।

उनले अभिनय गरेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ अहिले प्रदर्शनरत छ। नेपाली फिल्ममा पहिलोपटक तीन दिनमा कुनै फिल्मले सात करोडको हाराहारीमा ग्रस व्यापार गरेको छ।

डिजिटलसँगै ब्राण्डसँगको सहकार्य र विदेशी राइट्सबाट लगानी सुरक्षित गरेको फिल्मले नेपालको हलबाट पाउने मुनाफा नै हो। फिल्ममा सौगात बमकाजीको भूमिकामा छन् । ‘कबड्डी’ कै परिवेशमा बमकाजीलाई लिएर उनको जीवनको कथा मात्र देखाउने तयारी निर्देशक रामबाबु गुरुङले गर्ने संकेत देखिएको छ ।

यसबारेमा निर्माण टिमले यसबारे अझै कुनै आधिकारिक जानकारी दिएको छैन । यद्यपि ‘कबड्डी ५’ पनि निर्माण हुने स‍केंत कबड्डी टिमले छोडेको छ । उनै ‘कबड्डी ४ : द फाइनल म्याच’ को सफलता दर्शकसँग साट्न विभिन्न हलमा पुगेका सौगातसँग खबरहबकर्मी प्रदीप कार्कीले कुराकानी गरेका छन् ।

‘कबड्डी ४’ को सफलता साट्न भ्याइनभ्याइ छ है ?

यसपटक त्यस्तै छ। दर्शकसँग हलमा पुगेर भेटघाट गरिरहेको छु। फिल्म प्रदर्शनअगाडि पनि केहि इभेन्टमा मोफसल (काठमाडौँ बाहिर) मा पनि गएर भेटघाट गरेको हुँ। यस किसिमको अनुभव मसँग धेरै छैन।

यद्यपि यसको छुटै रमाइलो छ। मैले आफ्नो भूमिकासँगै फिल्मको विषयमा दर्शकको विचार बुझेको छु। अन्तर्वार्ता गर्ने क्रममा तपाईंजस्ता सञ्चारकर्मीसँग पनि बुझिरहेको छु। हामीले थियटरमा लिने फिडब्याक यहाँ हलमा लिने हो। रमाइलो लागिरहेको छ।

बमकाजीलाई लिएर दर्शकको प्रतिक्रिया के छ ?

राम्रो नै छ। उहाँहरुले ‘बमे’ पनि भन्नु हुन्छ। त्यो भनेको माया हो। कसैले मलाई भिलेन देख्नुहुन्छ त कसैले हिरो । तर , म बमकाजी हो। मेरो कबड्डीमा आफ्नै जीवन छ। त्यही अनुसार अगाडी बढ्ने र आफूमा परिवर्तन ल्याउने प्रयास छ। र , त्यसलाई दर्शकले पनि रुचाउनु भएको छ। म खुशी नै छु।

बमकाजीको क्यारेक्टर कसरी तयार भयो ?

मलाई अफर गर्दा नै यो बमकाजी थियो। यसको बारेमा लेखिएको थियो। तर , यसलाई निर्देशकको सोचाइ अनुसार मैले पनि केही रुपमा तयार गरेँ। बमकाजीलाई कथासँगै अगाडि बढाउन त्यसै अनुसार तयार गरेका हौँ। मैले लागेको कुरा निर्देशकसँग शेयर गरेँ। उहाँले पनि सहमति दिएपछि यही स्वरूपमा दर्शकमाझ ल्याएका हौँ।

यसपटक त केवल बमकाजीमा समयसँगै देखिने परिवर्तन र उसले भोगेका भोगाइको बिम्बलाई थपेका छौँ।

तपाईंले क्यारेक्टर कसरी तयार गर्नुहुन्छ ?

मैले मात्र गरेर हुँदैन। लेखिएको क्यारेक्टरले भोग्ने कथा, रहने परिवेशले त्यसलाई तयार गर्छ। तर, मेरा क्यारेक्टरहरुमा म भोगाइलाई समावेश गर्ने गर्छु। परिवेश अनुसार भोगाइले तयार गर्ने पात्रलाई कल्पना गर्छु। निर्देशकले देख्ने र मैले बुझ्ने क्यारेक्टर मिलेपछि त्यसलाई पर्दामार्फत दर्शकसम्म पुर्‍याउने गरेका छौँ।

तपाईं स्क्रिप्टभन्दा पनि आफूले निर्वाह गर्ने क्यारेक्टरमा बढी केन्द्रित हुनुहुन्छ भन्छन् नि ?

पहिला हो। मलाई स्क्रिप्टभन्दा पनि आफूले गर्ने भूमिका सशक्त हुनुपर्छ भन्ने लाग्थ्यो तर त्यसो होइन रहेछ। कथा बलियो भए मात्र चरित्रको काम नोटिस हुने रहेछ। किनकि मलाई निकै मन परेका र निकै मेहनतले तयार पारेका क्यारेक्टरहरु पनि नोटिस भएका छैनन्। एक किसिमले भन्ने हो भने मैले भूमिका निभाएका हाकु काले र बमकाजी मेरा लागि सजिला क्यारेक्टर हुन् ।

यसमा मेहनत नगरेको होइन, तर यी हल्का छन्। तर, सबैको प्रिय छन्। किनकी कथा राम्रो हुँदा त्यहाँ प्रस्तुत हुने हरेक पात्र प्रिय बन्छन्। त्यसैले मैले आफूले निभाउने क्यारेक्टरसँगै स्क्रिप्टमा पनि उत्तिकै ध्यान दिन्छु। जसले गर्दा मलाई क्यारेक्टर तयार गर्न पनि मद्दत गर्छ।

तपाईंलाई क्यारेक्टर एडप्ट गर्न र त्यसबाट निस्किन कति समय लाग्छ ?

समय लाग्छ। जुन क्यारेक्टरमा केही समय बाचेका छौँ, त्यसलाई यत्तिकै छोड्न सकिँदैन। कमेडी र हल्काफुल्का क्यारेक्टरले त अप्ठ्यारो पार्दैन, तर गम्भीर किसिमका क्यारेक्टरले छोड्न मान्दैन। त्यो हामीलाई पनि थाहा हुँदैन।

जस्तै, मैले फिल्म ‘कथा’ मा ‘मुखौटा’मा निभाएको क्यारेक्टरबाट आफूलाई निकाल्न समय लागेको थियो। त्यसलाई जति मेहनत गरेर अपनाइन्छ, छोड्न पनि उत्तिकै समय लाग्छ ।

कहिलेकाहीँ त्यही भएर क्यारेक्टर अर्को फिल्ममा पनि उस्तैजस्तो लागेको हो ?

केही हदसम्म हो। मैले भनेको क्यारेक्टरहरु छोड्न समय लाग्छ। केही फिल्मकर्मीलाई भने हतार हुन्छ। त्यो समयमा फिल्म गर्दा त्यसको प्रभाव पर्छ नै। बोलीचालीदेखि हाउभाउसमेत उस्तै देखिन्छ। त्यसमा मसँगै मेरो निर्देशकको पनि कमजोरी हुन्छ। किनकि मैले गरेको अभिनयलाई मोनिटरमा हेरेर ओके र रिटेक भन्ने अधिकार निर्देशकमै हुन्छ। कहिलेकाहीँ लाउड सुनिने, क्यारेक्टर सिमिलर हुने यी सब त्यसकै कारण हुन्।

त्यस्तो हतारमा गरेका फिल्मले रिजल्ट राम्रो दिएका छन् त ?

केहीले दिएका पनि छन्। हुन त हामीलाई काम सकिँदासम्म फिल्मले ल्याउने रिजल्टको अनुमान भइसक्छ। डबिङसम्म त्यो लगभग कन्फर्म झैँ हुन्छ। हतारले काम बिगार्ने सम्भावना अधिक हुन्छ। मैले आफैले पनि गरेको फिल्मको ठूलो संख्या किन गरेँ भन्ने पनि लाग्छ।

किनकि कतिपय लेखिएका कुराहरुलाई भाव अनुसार पर्दामा ल्याउन नसक्दा त्यसले परिणाम सकारात्मक दिँदैन। अनि दर्शकले त्यो फिल्म ‘संख्या’ थप्न मात्र गर्‍यो भनेर बुझ्नुहुन्छ। तर हाम्रो प्रयास राम्रो फिल्म दर्शकसम्म पुर्‍याऔँ भन्ने नै हुन्छ।

त्यही भएर फिल्म निर्माता बन्नुभएको हो ?

त्यही त होइन। तर आफूले भन्न वा देखाउन खोजेका फिल्महरु थिए। जसलाई ‘राधा’ भन्न सकिन्छ। फिल्मको प्रि-प्रोडक्सनको प्रोसेसमा स्क्रिप्ट बनेपछि मलाई मन पर्‍यो। त्यही समयमा टिमलाई पनि सहकार्यको खाँचो थियो। त्यही भएर टिममा जोडिएको हुँ।

आफूलाई राम्रो लागेको स्क्रिप्ट मेरो सहभागिताले फिल्म बन्छ भने किन अगाडि नआउने भन्ने हो। र, मैले जानेको वा पाएको पनि त यही फिल्म क्षेत्रबाट नै हो नि।

फिल्ममा सेन्ट्रल क्यारेक्टरमा सृष्टि श्रेष्ठ हुनुहुन्छ भन्ने नामले बुझाउँछ। तपाईंको स्टारडम क्यारेक्टरमा हाबी हुन्छ जस्तो लाग्दैन ?

फिल्मको कथाले त्यो फिल हुन नै दिँदैन। म लगायत अन्य नाम चलेका केही कलाकारहरु हुनुहुन्छ। सबै हुँदा पनि त्यहाँ पात्रले थिच्छ।

पात्रले स्टारडम आभास हुन दिएको छैन भन्ने प्रतिक्रियाहरु पनि पाइरहेको छु। केहीले फिल्म हेर्नुभएको छ। स्क्रिप्ट देखि नै हामीले निकै ध्यान दिएको पक्ष पनि यही हो। एउटा राम्रो फिल्म बनाउने प्रयास गरेका छौँ। बाँकी त दर्शककै प्रतिक्रियामा भर पर्छ।

निर्माता त बन्नुभयो, अब निर्देशनतर्फको सोच के छ ?

त्यो सोच अहिले छैन। अहिले फिल्म मेकिङ र अभिनयमै फोकस छु। निर्देशन गर्छु वा बन्छु भन्ने सोच अहिलेसम्म आएको छैन। त्यसैले त्यसको विषयमा बोल्ने शब्द पनि मसँग छैन भन्दा हुन्छ। आउने समयमा पनि के कस्ता फिल्म गर्ने ? आफूले गरेका फिल्मलाई रिभ्यु गर्ने चाहिँ गर्नेछु। गरिसकेको गल्ती फेरी नहोस् भन्ने नै सोचेको हुन्छु। बरु, मिल्यो भने थियटर गरौँ जस्तो लाग्छ। किनकि त्यसको आफ्नै आनन्द छ।

‘बमकाजी’ कै कथामा कबड्डीको परिवेशलाई दर्शकले कहिले हेर्न पाउलान् त ?

त्यो अहिले भन्न सकिँदैन। किनकि मेरो पाइपलाइनमा केही प्रोजेक्ट छन्। निर्देशक रामबाबु गुरुङ पनि एउटा अर्को प्रोजेक्टमा काम गर्दै हुनुहुन्छ। बमकाजीलाई कबड्डीबाट बाहिर ल्याएर उसकै कथामा फिल्म तयार गर्न सहज छैन। किनकि दर्शकको अपेक्षा बढ्दो छ।

त्यसैले त्यसको स्क्रिप्टमा समय लाग्छ होला । स्क्रिप्ट तयार भइसकेको भए चाहिँ छिट्टै पनि हुनसक्छ। तर, अहिले बमकाजीको विषयमा केही कुराकानी भएको छैन। म आफै पूर्ण रुपमा जानकार भएपछि मात्र यसबारेमा बोल्छु।

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  ११ : ४९ बजे

दिक्तेल-चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ– मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन